Sunday, April 28, 2024

-->

पाल्पाको बेग्लै होली: लालपाटीमा रंग लगाएर मनाइयो

पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ।

पाल्पाको बेग्लै होली लालपाटीमा रंग लगाएर मनाइयो
तस्वीरहरू: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

पाल्पा– पाल्पाका कतिपय स्थानमा ऐतिहासिक परम्पराअनुसार फागु पर्व मनाइएको छ। पाल्पाको ऐतिहासिक स्थल माडीको लालपाटी, चिदीपानी, रिब्दीकोटको भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहराको सोमादी सर्देवामा मौलिक फागु पर्व मनाउने गरिन्छ।

परम्परादेखि नै स्थानीयहरू भेला भएर बगनासकाली–२ को लालपाटीमा रङ लगाएर फागु पर्व मनाउने प्रचलन छ। लालपाटीमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त तथा साथीभाइ भेट भएर रमाइलो गर्ने, व्यापार गर्ने तथा रङ लगाउने प्रचलन कायम रहेको छ।

माथागढी गाउँपालिकाको चिदीपानीमा परम्परागत मौलिक फागु नाच टोलटोलमा देखाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताए। फागु पर्वको मौलिकतामा ह्रास आएको र चाडपर्वमा आयातित संस्कृति हाबी हुँदै गएको भन्दै मौलिक संस्कृति जगेर्ना गर्न फागुविशेष कार्यक्रमको आयोजना गरिएको उनले बताए।

पाल्पाकै तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभन्ज्याङ लगायतका स्थानमा पनि टेम्को, ढोलक, खैजडी, मजुरा लगायत बजाएर फागु नाचिएको छ। पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पुर्णिमाको चार पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ। तर पछिल्लो समयमा कतिपय स्थानमा खेल्नै छाडेका छन्।


सम्बन्धित सामग्री