काठमाडौँ– नेपाली इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू भएको छ। हिजो (सोमबार) बेलुका चन्द्रमाको दर्शन गरेसँगै पर्व शुरू भएको हो।
यो पर्व अब एक महिनासम्म चल्नेछ। यस अवधिमा रोजा (उपवास) बस्ने तथा तरावी अर्थात् विषेश नमाज पढ्ने गरिन्छ। अबको एक महिनापछि सूर्य अस्ताएसँगै इफ्तार (साँझको खाना) खाएर यो पर्व समाप्त गरिन्छ।
के हो रमजान पर्व?
रमजानलाई इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने पर्व हो। वास्तवमा इस्लाम धर्मको पात्रो हिजरीअनुसार आजबाट नवाैँ महिना शुरू भएको हो। जसलाई रमाजान वा रमादान पनि भनिन्छ। यसै महिनामा धार्मिक ग्रन्थ कुरानको जन्म भएकाले इस्लाम धर्मावलम्बीले १२ महिनामध्ये यस महिनालाई पवित्र महिनाको रूपमा लिने गर्दछन्। उनीहरूले यो समयलाई आफ्नो पाप पखाल्ने तथा बढी भन्दा बढी पुण्य कमाउने समयको रूपमा पनि लिने गर्दछन्। यस समयमा बिहान सूर्य उदाएपछि र बेलुकी सूर्य अस्ताउनुअघिसम्म पानीसम्म नखाइ उपवास (रोजा) बस्ने चलन छ। यहाँसम्म कि जानाजान थुकसम्म पनि निल्न नहुने अन्यथा रोजा तोडिने विश्वास गरिन्छ। केही देशका इस्लाम धर्मावलम्बीले यसअघि नै रोजा शुरू गरे पनि नेपालमा भने आजदेखि शुरू भएको हो।
कसरी मनाइन्छ यो पर्व?
रमजान महिना अवधिभर दिनभर भोको रहेपछि बेलुकी सूर्य अस्ताएसँगै सामूहिक रूपमा इफ्तार (साँझको खाना) खाने गरिन्छ। त्यस्तै बिहान सूर्य उदाउनुअघि नै सेहरी अर्थात् बिहानको खाना खाएर दिन शुरू हुन्छ। यस एक महिनाको अवधिमा दिनभर पानीसम्म नखाइ रोजा अर्थात व्रत बस्ने गरिन्छ। समान्यता दिनमा पाँच पटक नमाज पढ्ने गरिन्छ। रमजानमा भने पाँच पटक नमाज पढेसँगै बेलुकी ८ बजेदेखि तरावी अर्थात् विषेश नमाज पढ्ने गरिन्छ। जसमा कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले महिनामा ३० खण्डमा रहेको कुरान पढाउने गरिन्छ। कुरान पढ्न नआउनेहरूले पनि यो समय कुरान सुनेर समेत पुण्य कमाउन सक्ने जानकार बताउँछन्।
एक महिना लामो चल्ने यो पर्वको मुख्य आकर्षण रोजा र तराबीलाई मानिन्छ। प्रत्येक नाबालक/बालिका, अशक्त बाहेक इस्लाम धर्म मान्ने सबैले अनिवार्य रोजा बस्नुपर्ने प्रचलन रहिआएको छ। रमजानमा रोजा बस्नाले अन्य समयको भन्दा ७० गुणा बढी पुण्य मिल्ने विश्वास रहेको काठमाडौँको जामे मस्जिदका मुफ्ती काजी अबुबकट सिद्धिक कासमी बताउँछन्।
उनी भन्छन्, “११ महिनामा जति हामीले पुण्य कमाउँछौ त्यसको ७० गुणा बढी पुण्य यो एक महिनामा प्राप्त गर्न सकिन्छ। त्यसैले यो सबैले लिनुपर्ने महत्वपूर्ण रोजा हो।”
कस्तो अवस्थामा रोजा बस्नु पर्दैन?
यस पर्वलाई इस्लाम धर्मावलम्बीले अल्लाहको आदेशको रूपमा लिने गर्दछन्। उनीहरू यो रोजा तोड्नु वा सक्ने भए पनि रोजा नबस्नु भनेको पाप गरेसरह मान्दछन्। तर शारीरिक रूपले अशक्त, नाबालक/बालिका, यात्रामा रहेकाहरूको हकमा भने रोजा नबस्न सक्छन्। यी अवस्थामा रोजा बस्दा लाग्ने खर्च गरिब दुःखीलाई दान दिएमा रोजा बसे सरह मानिने विश्वास छ।
महिला महिनावारी भएको खण्डमा भने रोजा तोडिन्छ। साथै महिनावारीको समय सकिएपछि निरन्तरता दिन सकिन्छ। महिनावारी हुँदा जति दिन रोजा तोडिन्छ त्यति नै दिन बाँकि ११ महिनाभित्रमा बसेर तिर्न सकिने जामे मस्जिदका सचिव मन्सुर हुसेन बताउँछन्। “यो समयमा महिलाहरूले चाहिँ जति दिन महिनावारी चल्छ त्यति दिन तोडेर रमजानपछिका ११ महिनामा तिरिसक्नु पर्छ,” उनी थप्छन् “अन्य समयमा भए सबै रोजा भंग भएको मानिन्छ तर महिनावारी प्राकृतिक भएकाले अल्लाहले माफी दिन्छन्।”
हुसेनका अनुसार यो महिना रोजा बस्न नसक्नेले गरिबहरूलाई दानदक्षिणा दिएर पनि पुण्य कमाउन सकिने विश्वास रहिआएको छ। यस महिनामा वर्षभरि आर्जन भएको धनमाल तथा सम्पत्तिको साढे दुई प्रतिशत भने जकात दिने अर्थात दान गर्ने चलन छ। हुसेनका अनुसार यो चलन पनि अनिवार्य रहेको छ। उनीहरूले यसलाई धार्मिक कर्तव्यको रूपमा लिने गर्दछन्। इस्लाम धर्मअनुसार मानिसको पुँजी वास्तवमा ईश्वरको देन हो र दान दिनाले धनमालको सुरक्षा हुन्छ भन्ने धार्मिक विश्वास छ। साथै यो पर्वले मानव जातिलाई दयालु र अनुशासित बनाउने हुसेन बताउँछन्। उनी भन्छन् “यो पर्वले भाइचारा बढाउने मात्र होइन मानिसलाई दयालु अनुशासित साथै कुलत तथा नराम्रो विचारबाट बचाउँछ। त्यसैले हामी यसलाई विशेष र पवित्र मान्छौँ।”
रमजानको अन्तिम दिन इदुल फित्रको नमाज पढेसँगै एक महिना लामो रोजा समापन हुन्छ। जसलाई इद पनि भन्ने गरिन्छ। त्यस दिन सामूहिक रूपमा विभिन्न परिकार खाने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ। यसरी नै विधिवत रूपमा रमजान पर्वको समापन हुन्छ।
के छ धार्मिक विश्वास?
अरबी भाषामा ‘साहरू रमाजाना साहरूल्लाह’ भन्ने गरिन्छ, जसको अर्थ रमाजान अल्लाहको महिना हो भन्ने हुन्छ। त्यसैले यसलाई पवित्र र फलदायी महिनाको रूपमा लिने गरेका छन्। यो महिना अल्लाहले आफ्नो उपासना गर्न आदेश दिएको महिना हो। अल्लाहको उपासना गरे फल प्राप्त हुने विश्वाससहित यो पर्व मनाउने गरिएको छ। उनीहरूका अनुसार पृथ्वीको प्रारम्भदेखि इस्लाम धर्म यस धर्तीमा रहेको मानिन्छ।
विभिन्न इस्लाम धर्मग्रन्थअनुसार अल्लाहले धर्तीमा मनुष्यलाई सही मार्गदर्शन दिन समय समयमा कुनै न कुनै व्यक्तिलाई आफ्नो दूत बनाएर पठाएका थिए। ती दूतहरू पनि मनुष्य जाति नै हुन्थे र अल्लाहको बारेमा मानव जातिलाई बयान गर्दथे। त्यहीँबाट कुरान ग्रन्थको आएको मानिन्छ।
इस्लाम मान्यताका अनुसार अल्लाहले पहिलोपटक जिब्रहिल अलेही सलाहमार्फत कुरानलाई पैगम्बर हजरत मुहम्दसम्म पुर्याएका थिए। त्यसपछि अलि अलि गरेर २३ पटकसम्म उनलाई कुरानको ज्ञान दिएको धार्मिक विश्वास रहेको छ। पछि सन् ६३२ मा पैगम्बर मोहम्मदको निधन भएपछि खलिफा हजरत अबु बकरले सन् ९३४ पछि कुरानलाई एक ग्रन्थको रूपमा आकार दिएको पनि भनिन्छ। तर कुरान ठ्याक्कै कहिले लेखिएको हो भन्नेमा मतभेद रहेको छ।