Saturday, April 20, 2024

-->

रंगमञ्च
लिजा डाल्टन, माइकल चेकभ र विश्व रंगमञ्च दर्पण

जीवन र नाटकबीचको भिन्नता भनेको हामीले समयको गतिमा निर्वाह गर्दै जाने एउटा चरित्र र भन्ने एउटा कथा हो। नाटक भनेको एउटा प्रस्तुति हो। तर जिन्दगी, जिउनको लागि हो र अरू धेरै पनि।

लिजा डाल्टन माइकल चेकभ र विश्व रंगमञ्च दर्पण

कोभिडको भयलाई परास्त पार्न हामी अनलाइन नाटक कार्यशालामा छौँ। लिजा डाल्टन र उनका सहयोगीहरूले अमेरिकाबाट वर्कसप सञ्चालन गरेका छन्। भूगोलभरिबाट ३५ जना सहभागी छौँ। मलाई ‘माइकल चेकभ’तिर आकर्षित गर्ने लिजा नै हुन्।

दिन एक
हाम्रो घरसमाजमा लिजाको उमेरका मानिस वुद्ध भत्ताको ब्याज हिसाब गर्दै परिवारका सदस्यसँग ठुस्किँदै बस्छन्। ६० वर्षमा पनि उनी निकै उर्जावान छिन् र ‘माइकल चेकभ’लाई धेरै देशमा फैलाउन तल्लिन पनि।

मलाई कोभिडकालकै कुरा स्मरणमा आयो।

साटाले आयोजना गरेको ‘भर्चुअल थिएटर फेस्टिबल’मा काठमाडौँका धेरैजसो रंगकर्मी र लिजालाई पनि बोलाएँ। महोत्सवमा मन्डला थिएटरको नाटक थियो, अनुप बरालले निर्देशन गरेको। अमेरिकाबाट लिजा सहभागी भइन्। 

म लिजाकोे सिर्जनशीलता, कार्यक्षमता, इच्छा शक्तिको ‘फ्यान’ भएँ, अनि उनको व्यक्तित्वप्रति आकर्षित पनि। उनी ‘माइकल चेकभ’ विधि खेलमार्फत सिकाउन थालिन्। क्यामेराको उचित समायोजनले अनलाइन कक्षाजस्तो लाग्दैन। उनको कुराले चित्त बुझेर मुस्कुराएँ। तर अरू सबै उनले दिएको अभ्यास दोहोर्याउन ध्यानमग्न रहेछन्! लिजालाई पछ्याएँ। ‘माइकल चेकभ’लाई मनको केन्द्रमा राखेर लिजाले खेलाएका केही खेलहरू खेल्न ढिला गरेनौं। 

खेल केही समयलाई रोकिएको मौकामा गुगललाई प्रश्न गरें, “लिजा डाल्टन को हुन्?’”

अभिनेत्री, लेखक, प्रशिक्षक, निर्देशक, फिल्म निर्माता, लिजा डाल्टन १९५३ अक्टोबर १६ मा जन्मिएकी रहिछन्। उनी नेशनल ‘माइकल चेकभ एसोशिएसन’की अध्यक्ष हुन्। ‘माइकल चेकभ’लाई फैलाउने क्रममा उनी संसारका विभिन्न देशको भ्रमण गरिसकेकी छिन्। यसकै निरन्तरता हो उनको नेपाल भ्रमण! यो लेख उनै जादूगर लिजामा समर्पित गर्न चाहन्छु। 

विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदर्शन भएका थुप्रै डकुमेन्ट्री, फिल्महरूमा लिजाले सहनिर्माता भएर काम गरिन्। अभिनेत्री, सफल प्रशिक्षक, ‘क्लाउन’ र ‘स्टन्टवुमन’ लिजाले अभिनय कलालाई जीवन जिउने कला, उत्प्रेरणात्मक मन्त्र, आध्यात्मिक हाउभाउमार्फत व्यवसायिक र मानवीय स्वास्थ्यको हितका निमित्त प्रयोग गर्छिन्। यो क्षमताले उनलाई निकै चर्चित ‘लाइफ कोच’ र ‘स्पिकर’को परिचय पनि दियो। 

आदेश पालना गर्न गुगल खप्पिस छ। उनीबारे छापिएका लेख पढ्दा पढ्दै बोल्ने अध्याए शुरू गरिन् लिजाले। यताउती लागेकाहरूले पनि अनुहार देखाए।

मि. चेकभ सिर्जित दुई खेल खेलिसकेपछि लिजाले फिल्म र रंगमञ्चमा अभिनयबारे बताउन समय लिइन्। लिजाको विश्लेषणमा फिल्ममा र रंगमञ्चमा अभिनय गर्नु दुवै महत्वपूर्ण रहेछन्! दुवै माध्यमबाट गरिने कथा वाचन प्रमुख हो। ‘कथा वाचन’बारे बुझाइन् केही कुरा।

जर्मनीबाट सहभागी पल ज्यादा बोल्छ। बेलाबेला लिजाले नै म्युट गरिदिन्छिन्। अहिले पनि त्यस्तै भयो। उनी बताउँदै गइन्। 

अहिलेको समयमा सञ्चारका अनेकौँ माध्यम कथावाचनका लागि सहयोगी साथी हुन्। एउटा दक्ष कलाकारले रंगमञ्चबाट फिल्ममा प्रवेश गर्ने सोच राख्नु बुद्धिमानी हो। रंगमञ्चमा जस्तो दर्शकको प्रत्यक्ष संलग्नता एवं प्रत्यक्ष प्रतिक्रिया फिल्ममा सम्भव हुँदैन। 

पलले फेरि क्यामेरा बन्द गर्याे। तर कसैले केही भनेनन्। म लिजाको भावभंगिमा पढिरहेको छु।

पीडा, खुशी, रोमाञ्चक, शान्ति जे छ उनीहरूसँगै अनुभूत गर्दै मञ्चमा अभिनय गरिरहँदा हामी दर्शकसँगै सास फेर्छाैं। दर्शकहरू ठ््याक्कै एउटै लयमा कलाकारसँगै सास फेर्छन् भन्ने कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन्। हामीले मञ्चमा सामूहिक रूपमा गरेको कामको विषेश प्रभाव दर्शकमा पर्छ नै, कलाकारले त्यतिबेलै दर्शकसँग मेलमिलाप आदानप्रदान गर्छन्। ‘माइकल चेकभ’ले लेखक, हाम्रा सहकर्मीहरू, मञ्चको प्रकाश, ध्वनी, संगीत र सहकलाकार, निर्देशक, निर्माता यी सबैका मिश्रित विचार दर्शकसामु प्रत्यक्ष रूपमा पुर्याउन उत्प्रेरणात्मक भूमिका खेल्छन्। यो सधैँभरि जिवित रहन्छ। कहिल्यै हराउँदैन। मानवताको यही पाटो हुर्किंदै अगाडि बढ्नु आवश्यक छ। 

रंगमञ्च वा नाटकको जस्तो नभएर फिल्मको प्रभावमा निकै उतारचढाव हुन्छ। एकै क्षणमा लाखौँ दर्शकसम्म पुग्छ र भविष्यको लागि वर्षाैंवर्षसम्म सुरक्षित रहन्छ। 

उनको आवाजले मोहित बनेको छु। बोलीसँगै उनको आकर्षक हाउभाउले बताउन खोजेको कुरा अभिनयात्मक छनक दिन्छ। हाम्रो ज्ञानको दायरा फराकिलो पार्न होला शायद, हलिउडको अवस्थाबारे बताउन थालिन्। 

हलिउड शब्द सुन्ने बित्तिकै पलले अनुहार देखायो। अरू कसैले पनि आउने जाने गरेका छैनन्।

हलिउडमा, जब तपाईं मञ्चमा धेरैभन्दा धेरै काम गर्नुहुन्छ। सामान्यतयाः ६ देखि आठ हप्ता वा एक महिनासम्मको पूर्वाअभ्यास अनुभव छ, तपाईं त्यसमै अभ्यस्त पनि हो भने, रंगमञ्चीय योगदानका आधारमा निर्देशक र निर्माताले चिनिहाल्छन्। रंगमञ्चको अनुभव तपाईंको व्यवसायिक क्षमतामा प्रस्टिन्छ। यही अनुभवले गर्दा नै अरूले आफ्नो समूहमा सामेल गराउने हुन्। रंगमञ्च फिल्मको भन्दा ‘लार्जर’ हुन्छ, रंगमञ्चबाट आएका कलाकारलाई काम गराउन गाह्रो हुने हो कि भन्ने भय भने रहन्छ। ‘माइकल चेकभ’मा गज्जबको कुरा भनेको यो सबै योजना र कक्षालाई उपयुक्त हुने अभिनय विधि हो। यो विधिले तपाईंलाई मानवीय सोचाइ, अनुभूती र इच्छा शक्तिको खेलाडी बन्न अनुमति दिन्छ। 

लिजाले खेलाडी शब्द उच्चारण गर्दा शरीरमा उज्यालो प्रकाशजस्तो बेग्लै उर्जा प्रवेश गर्याे। खेल, खेलाडीका केही उदाहरण प्रस्तुत गर्दा मैदानमा खेलमा भिडिरहेको खेलाडी जस्तै देखिइन् लिजा।

तपाईंले यो बुझ्नु जरुरी छ। ‘मारोल्ट स्टिभ’जस्ता कलाकारहरू रंगमञ्च र सांगीतिक नाटकबाट उदाए र फिल्ममा छाए। हलिउडमा धेरै कलाकारहरूले यो क्रमलाई पछ्याए पनि। हलिउडमा केही कलाकारहरू यसरी पनि चिनिएका छन्, जो मञ्चमा नाटक गरेर, अभिनय क्षमता देखाएर वा उत्कृष्ट चरित्र निर्वाह गरेर सफल भएका होइनन्। महिलाको हकमा उसको सुन्दरता र पुरुषको कुरा गर्दा शारीरिक बनोटका कारण पनि फिल्ममा काम पाउँछन्। उनीहरूले एउटै चरित्रमा पटकपटक अभिनय गर्छन्। 

धेरै फिल्मले उनीहरूलाई सफल बनाउँछ र पैसा पनि कमाउँछन्। तर पछि उनीहरूलाई आफ्नै काममा दिक्क लाग्नथाल्छ। आफ्नो क्षमता बढाउन अभिनय सिक्न चाहन्छन्। यसको उदाहरणको रुपमा ‘जुलियट रोर्बट’लाई लिन सकिन्छ। धेरै सफल कलाकारहरू, पछि फेरि अभिनयको यस्तो शैली सिक्न चाहन्छन्, जुन रंगकर्मीहरूले प्रयोग गरिरहेको आफूमा परिवर्तन ल्याउने कला हो। फिल्ममा दोहोरिएर आउने दर्शक हुन्छन्। यसको मतलब एउटै दर्शकले तपाईंको हरेक फिल्म हेरिरहेका हुन्छन्। उनीहरूले तपाईंले जे काम गर्नु भयो त्यही मन पराउँछन् वा हरेक काममा नयाँ तपाईं देख्न चाहन्छन्।  

मि. चेकभले भनेका छन्, ऊ नै तपाईंको गन्तव्य हो। तपाईंभित्रको एउटा सिर्जनशील कलाकारमा हुने क्षमता नै समाजलाई चाहिएको हो। 

“नेपालमा फिल्ममा प्रवेश गर्न चाहनेका लागि रंगमञ्चले भर्याङको काम गरिरहेको छ,” पहिलो दिनको समापनतिर लाग्दा मैले भनेँ। सबै सहभागीले आआफ्नो देशको अवस्था सुनाए। कक्षा सकियो।

दिन दुई
शुरूआतमा खेल खेल्यौँ, जसमा हामीले आफ्नो शरीरमा ‘काल्पनिक केन्द्र’ खडा गरेका थियौँ। यो अभ्यासले शरीरलाई आकाशतिर उचालेको जस्तो भान भयो। खेलपछिको फुर्सदमा गुगलले आँखा तान्यो।

२००६ मार्चदेखि लिजा टेक्सासमा बसाइँ सरेर आफना सिर्जनाहरू किताब, डीभीडी र इन्टेरनेटमार्फत प्रकाशित गर्न थालिन्। उनले तीस वर्षको उमेरमा अभिनेता ‘केन केरमन’सँग विवाह गरेकी हुन्। श्रीमानको चाँडै मृत्यु भयो। श्रीमानतिरका दुई सन्तान र चारजना नातिनातिना छन् अहिले। उनी च्यारिटीका लागि गल्फ खेल्छिन्। ‘चेकभ कनेक्सन एन्ड मास्टर टिचर अफ माइकल चेकभ एक्टिङ टेक्निक’की निर्माता, ‘रसिया टु हलिउड’ अर्वाड विजेता डकुमेन्ट्रीकी सहनिर्माता हुन्। उनलाई मोटरसाइकल चलाउन र केन्यामा आफूले पालेको हात्तीसँग रमाउन खुब मन पर्छ। 

सन् १९९४ देखि ‘युनिभर्सिटी अफ साउथर्न मेने’को विभागीय प्रमुख लिजा व्यवसायिक कलाकार, निर्देशक, शिक्षकहरूलाई ‘माइकल चेकभ’ विधिको प्रशिक्षण दिन्छिन्। चेकभसम्बन्धी सबैभन्दा लामो समयदेखि सञ्चालित नाट्य कार्यशाला हो। 

लिजाले हलिउड र अरू देशको सम्बन्धबारे बताउन थालिन्। सहभागीले जिज्ञासा राखे। साउथी अफ्रिकाकी दिक्ला हुन् अहिलेसम्म केही पनि नबोल्ने! एशिया र हलिउड सम्बन्धमा बोल्न थालेपछि मैले आफ्नो ध्यान खिचेँ। 

हलिउडले दक्षिण एशियालाई निकै नजिकबाट हेरेको जस्तो लाग्छ। बलिउडमा हामी ‘मार्सल आर्ट’ हेर्छौं अनि ‘सल्मडग मिलियिर’ पनि। डबिङको माध्यम भएर अमेजन, नेटफिल्क्सबाट दक्षिण एशियाका केही कार्यक्रमहरू आइरहेका छन्। जसले त्यहाँको संस्कृति बुझाउन मद्दत गर्छ। तर दक्षिण एशियाको कला बुझ्ने यो एकदमै सीमित माध्यम मात्रै हो। हामीलाई कथकबारे थोरै कुरा मात्रै थाहा छ। अंग्रेजी भाषामा कार्यक्रमहरू आउन थाल्यो भने धेरै मानिसले हेर्ने छन्। जसले दक्षिण एशियालाई बुझ्न मद्दत गर्छ।

मि. चेकभले हरेक मानिसको स्वास्थ्य र खुशीको लागि अभिनय विधि सिर्जना गरेका हुन्! यसको अर्थ, तपाईंमा आफू सिर्जनशील कलाकार हुँ, आफू प्रेम गर्ने कलाकै लागि जन्मिएको हुँ भनेर महसुस गराउनु। तपाईंको त्यही प्रेम जीवनभरि रहने ‘माइकल चेकभ’ विधिको मुटु हो। हरेक कुरा शरीरको माध्यमबाट व्यक्त गराउने अभ्यास गराउँछ यसले। मनमा आफूले सिर्जना गरेका तस्वीरहरू अरूलाई प्रवाह गर्न, त्यसैगरी अरूबाट पाउने खेल खेलाउँछ। यो विधिले आफ्नो सहकर्मीसँग, वरिपरिको वातावरणसँग, समुदायसँग बलियो नाता विस्तार गर्न अनि उत्प्रेरणा लिन सहज बनाउँछ। 

जीवन र रंगमञ्चमा फरक के हो भने, रंगमञ्चमा तपाईं अभिनय गर्नुहुन्छ, त्यो क्षणमा अमूर्त कला सिर्जना हुन्छ। अनि हरेक दिन तपाईं आफू चरित्र र कथामा जिउनु हुन्छ। 

आफ्नो जीवनमा तपाईं नै लेखक, निर्देशक, अभिनेता, निर्माता सबै हो। आफ्नो कथाको सन्देश के हो? रंगमञ्चमा जस्तै जीवनको कथा भन्नलाई हामी चेकभ विधि प्रयोग गर्न सक्छौं। रंगमञ्चमा तपाईं चरित्र हो। तपाईंको आफ्नो दैनिकी हैन। रंगमञ्चले भनेका हरेक कथाको स्पष्ट शुरूआत, मध्यम र अन्त्य हुन्छ। के जीवनका हरेक क्षण नाटक हुन् त? तपाईं सधैँ तपाईं नै हो। जीवनसँग खेल्न सक्नु हुन्न। तपाईं आत्मा र इच्छाशक्तिसँग बाँचिरहेको हुनुहुनेछ। मलाई विश्वास छ, जीवनमा कल्पनाशक्तिको प्रयोग गरेर मस्तीले बाँच्न सकिन्छ। 

बोल्ने क्रमलाई रोकेर लिजा खेल खेलाउन थालिन्। यो खेलमा हामीले आफ्नो शरीरलाई ठुलो पार्दै लैजाने र सानो बनाउँदै लैजाने गर्याैं। उनले सिकाएअनुसार ठूलो पार्दै जाँदा आफ्ना सुसुप्त अवस्था रहेका तन्तुहरू तन्काउँदै बिशाल बनेको कल्पनामा रमायौँ। सानो पार्दै जाँदा आफ्ना तन्तुहरूलाई खुम्च्याउँदै सानो केराउको दाना जत्रै बनेको भानसहित भुईंमा पल्टियौं।

खेलसँगै उनले जीवन र नाटकबारे बोलिन्। त्यसैले जीवन र नाटकबीचको भिन्नता भनेको हामीले समयको गतिमा निर्वाह गर्दै जाने एउटा चरित्र र भन्ने एउटा कथा हो। नाटक भनेको एउटा प्रस्तुति हो। तर जिन्दगी, जिउनको लागि हो र अरू धेरै पनि। कलामा केन्द्रित भएर यदि हामी हाम्रो जीवन असल, सत्य अनि सुन्दर बनाउन चाहन्छौँ र रंगमञ्चमा पनि उस्तै होस् भन्ने चाहना छ भने ‘माइकल चेकभ’ले हामीलाई मद्दत पुर्याउँछन्। 

‘माइकल चेकभ’ विधिले मानव जीवनको शरीर, मष्तिस्क, इच्छाशक्ति अनि आत्मालगायत हरेक पक्षलाई तालिम दिन्छ। यो मात्रै एउटा प्रणाली हो जसले अदृश्य मानवका भागहरूलाई जागृत गराउँछ। स्वतन्त्रता र सिर्जनाको विकास गर्न सहयोग गर्छ। सबैभन्दा महत्वपूर्ण चाहिँ यो पे्र्रम गर्ने कला हो। 

जब हामी प्रेमको प्रकृतिलाई हुर्किन दिन्छौँ, हामीले सिर्जिएका सबै सिर्जनामा प्रेम दर्शाउँछ। हामी पृथ्वीका सबै मानव जातिमा प्रेमको मात्रा बढाउछौँ। हामीले आफ्नो कर्म प्रेमपूर्वक गरेका छौँ भने निरन्तरता दिन सक्छौँ। तपाईंहरूलाई लागिरहेको प्रश्न यहाँ आएर प्रस्ट हुन्छ कि, मेरो उमेर र कामबीचको जादू भनेको यही मि.चेकभप्रतिको मेरो प्रेम हो। 

यो विधिले दर्शकको स्वास्थ्य र हितलाई मनको केन्द्रमा राख्छ। जब तपाईंहरू प्रेमको उच्चतम तहबाट काममा लाग्नु हुन्छ, त्यही हो संसारमा तपाईंलाई फैलाउने। यसले कल्पनाशक्तिलाई भौतिक शरीरको माध्यमबाट व्यक्त गर्न अभ्यस्त बनाउँछ। केही विधिले मष्तिकलाई मात्रै तालिम दिन्छन्, हाम्रो सोच्ने क्षमता, अनुभूति र इच्छा शक्तिलाई बिर्सिदिन्छन्। 

लिजाले सबै सहभागीलाई मुभमेन्ट गराउन सहयोगीलाई जिम्मा दिइन्। सहयोगी पनि आफ्नै घरमा थिए। मुभमेन्टमा आयो ‘मोल्डिङ’, ‘फोल्डिङ’ र ‘रेडिएसन’। यो अभ्याससँगै अनलाइन कार्यशालाको दोस्रो दिनको समापनतिर लागिन्। दोस्रो दिनसम्म आइपुग्दा उनीप्रति झन् मोहित भएँ।

दिन तीन 
तेस्रो दिनको कार्यशाला शुरू भइसक्यो। लिजा बोल्न थालिन्।

गुगलले बताउन छोडेन थप कुरा। लिजाले नाटक, फिल्म, विज्ञापन, टेलिचलचित्रबाट धेरै अवार्ड जितेकी छन्। उनले ५० भन्दा बढी नाटक, १०० भन्दा बढी विज्ञापन, फिल्म टेलिफिल्ममा काम गरिन्। थुप्रै फिल्म, टेलिभिजन कार्यक्रम, स्टेज कार्यक्रममा अभिनय प्रशिक्षकको रूपमा संलग्न भइन्। 

उनी नियमित योगा गर्छिन्। विभिन्न विश्वविद्यालयको तालिममा सहभागी भएकी छन्। रंगमञ्चका अनेक विधिको अनुभव छ। 

बाहिरतिरबाट सबै ध्यान हटाएर म लिजाको कक्षामा केन्द्रित भएँ। कक्षाको शुरूमा केही विषयमा बोलेपछि अभ्यासका खेल थाल्यौँ। 

उनले बोलेका कुरा हामी लेख्न थाल्यौँ।

बाली, टोकियो, कोरिया, ताईपेई, मुम्बई, जकार्ता हुँदै एशियातिर फैलिरहेको ‘माइकल चेकभ’ अभिनय विधि संसारभरि फैलिएको म देख्न चाहन्छु। अहिले पनि तपाईंहरू २७ वटा देशबाट सहभागी हुनु राम्रो संकेत हो। ‘माइकल चेकभ’को अभिनय शैली जब संसारभर फैलिने छ, त्यो नै सुनौलो दशक हुनेछ।

‘माइकल चेकभ’को अभिनय विधि धेरै संस्कृति र जनजातिहरूको पुरातन परम्पराबाट प्रेरित छ। यो विधिले सफल प्रस्तुतिमा कति उर्जा छ भनेर नियाल्छ। ती सफल प्रस्तुतिको शैली कसरी आर्जन गर्ने भन्ने कुरा सिकाउँछ। यही कारणले मि. चेकभ सबैतिर मानिएका हुन्। 

अभिनेता वा कलाकारले आफ्नो खुबी वा सिर्जनशीलता सीमित छ भन्ने महसुस गर्छन्। यसको कारण डर हो। यदि, कोही अभिनेताले तीन वर्षसम्म चरित्रमा बस्नुपर्छ वा परिवारबाट अलग्गै रहनुपर्छ वा चरित्रमा रहिरहनु पर्छ भने खाना खाँदा, लुगा लगाउँदा, तयार हुँदा तिनीहरू डरबाट प्रेरित भएर काम गरिरहेका हुन्छन्। अभिनय छोडेर म आमासँग कुरा गर्दा वा बालबच्चालाई चुम्बन गर्दा, फेरि आफ्नो चरित्र फेला पार्न सक्छु? यसरी डरमा रहेर गरिने अभिनय प्रस्तुतिमा नै प्रवेश गर्छ। यसले दर्शकलाई लामो सयमसम्म अदृश्यस्तरमा प्रभाव पार्छ। 

लिजाले हिँडाइबाट खेल शुरू गरिन्। शरीरमा ‘काल्पिनिक केन्द्र’ कल्पना गर्न जिम्मा दिएर आफूलाई फैलाउने र खुम्च्याउने अभ्यास दोहोर्याइन्। सबैले खुब उर्जावान भएर साथ दिए। केही खेलपछि बोल्ने कुरालाई निरन्तरता दिइन्। 

उच्च इच्छाशक्ति सिर्जना गर्नको लागि समाजलाई ‘माइकल चेकभ’ आवश्यक पर्छ। यो विधि छिटो र सजिलै चरित्रमा प्रवेश गर्न सहयोगी बन्छ। खोजी गर्दा वर्षाैंपछि पनि चरित्रमा पुग्न सकिन्छ। यो सम्पूर्ण मानवता र उच्च आध्यात्मिक शक्तिहरूको साथमा छ। ‘माइकल चेकभ’ विधि कहिल्यै पनि असान्दर्भिक हुँदैन। तर यसलाई ‘माइकल चेकभ’को शैली भनेर चिनिन्छ कि चिनिदैन, बेग्लै कुरा हो। हामीले मि.चेकभलाई भगवान मान्नु पर्दैन। हामीभित्र जागृत भएको इच्छाशक्तिको सिद्धान्त बुझे हुन्छ। अनि उच्च इच्छाशक्तिले अभिनयको बाटो बनाए हुन्छ। हामी संसारको उत्थान, शिक्षा र ज्ञान ल्याउन हाम्रो उच्च इच्छाशक्तिलाई पहुँचमा पुर्याउँछौं र चरित्रको माध्यमबाट प्रकट गर्दछौं।  

प्रत्यक्ष रूपमा भएका प्रस्तुतिहरू रेकर्ड गर्ने क्षमताको कारण, हामीसँग ‘लाइभ रंगमञ्च’को ऐतिहासिक रेकर्डहरू छन्। हामी प्रविधिको युगमा छौँ। धेरै मानिसहरू क्यामेराको अगाडि प्रत्यक्ष प्रस्तुतिहरू दिइरहेका छन्। घरैबाट भिडियो प्रस्तुतिहरू बनाउँछन्। जसले निकै छिटो संसारभरिका मानिसहरूसँग सम्बन्ध जोड्छ।

तीन दिनको कार्यशालालाई बिट मार्ने बेलामा केही खेल खेलाइन्। हामीभित्र मि.चेकभलाई पुर्नताजगी गराउनु उनको उद्देश्य रहेछ! अरूको बारेमा थाहा भएन, म चाहिँ थाकेँ। लिजा झन् उर्जावान् देखिइन्। केही समय विश्राममा पनि कोहीले साथ छोडेनन्। पलले चाहिँ क्यामेरा बन्द गर्याे।

ब्रोडवेले २० वटा प्रस्तुति बन्द गर्याे। दर्शकहरू फर्केर रंगमञ्चमा आउन छोडे। अमेरिकाका रंगमञ्चहरूमा सामान्यतया बुढाबुढीहरू आउँछन्। तिनीहरू पनि फिल्म हलमा, सार्वजनिक रंगमञ्च, नाटक हलमा कतै पनि दोहोर्याएर जान छाडे। हामीलाई थाहा छ ब्रोडवेको प्रस्तुति हेर्न मानिसहरू हजार डलरको टिकट काट्छन्। उनीहरू त्यो हेरेर के चाहन्छन्? जादूमयी प्रस्तुतिले आफूमा परिवर्तन! त्यसैले हामी नयाँ दर्शकहरू तथा मानिसहरूको समूह निर्माणतर्फ लक्षित हुनुपर्दछ। 

रंगकर्मीको रूपमा, हामीले दर्शकहरूलाई फिल्मबाट प्राप्त हुन नसक्ने अद्भुत आन्नद प्रदान गर्न सफल छौँ भन्ने कुरामा हामी ढुक्क हुन सक्नुपर्छ। त्यसकारण हो उनीहरू घरमा बस्न नसकेर रंगमञ्च खोज्दै आउने। जादूमयी रंगमञ्चीय प्रस्तुति सिर्जना गरेर त्यसलाई फैलाउनु हाम्रो जिम्मेवारी हो। हामी मि.चेकभसँगै मिलेर भोतिको लागि यो काम गर्न सक्छौँ।

लिजाको यो कुरा सुनिरहँदा भारतबाट सहभागी रंगकर्मी डा. दानी कर्माकारले थप जिज्ञासा राखे। लिजाले उसको चित्त बुझाउने कोशिश गरिन्।

श्रीलंकाका रंगकर्मी सचिथ्रा राहुबड्डाले पनि आफ्ना केही जिज्ञासा उठाए। कार्यशालको अन्तिम दिन भएको हुनाले धेरै जना बोल्न चाहन्थे। दुई दिन बोल्दै नबोलेकी दिक्ला पनि बोलिन्।

लिजाले कुराकानीको चरण रोकिन् र केही खेल खेलाउन थालिन्। यो खेलले ‘साइकोलोजिकल क्यारेक्टर’ निर्माण कसरी गर्ने भन्ने कुरा बतायो।

तपाईंले निर्वाह गर्नु पर्ने चरित्रको ‘साइकोलोजिकल क्यारेक्टर’ तपाईंले लगाउने पन्जा हो। हातमा जसरी पन्जा लगाउनु हुन्छ, त्यसैगरी तपाईं आफूले तयार गरेको ‘साइकोलोजिकल क्यारेक्टर’मा प्रवेश गर्नु हुन्छ। यसो गर्दा तपाईंको प्रस्तुतिमा कलात्मकता आउँछ। 

फेरि लिजाले हामीलाई खेलतर्फ नै आकर्षित गरिन्। खेल खेलाउन थाल्दा बच्चा जस्ती, बोल्न थाल्दा जवान केटी जस्ती, शारीरिक रुपमा वृद्ध हुन्। यहि रहेछ मि. चेकभको जादू!                         

यो संसारले कलाको महत्वलाई पूर्णरूपमा सम्मान गरिसकेको छैन। हाम्रो कर्तव्य उनीहरूलाई कलाको महत्त्व महसुस गराउने हो। २०औँ शताब्दीमा धेरै वर्ष अमेरिकाले विद्यालयहरूमा शिक्षा विषयबाट कलालाई हटाएर संगीत, आर्ट, नाटक, नृत्य नपढाइ विज्ञान, टेक्नोलोजी, अंग्रेजी, हिसाबलाई प्राथमिकता दियो।

अब चाहिँ हामीले रंगमञ्चलाई विज्ञान, टेक्नोलोजी, अंग्रेजी, कला र गणित विषयमा विस्तार गर्नुपर्छ। मानिसहरूले बुझे कि वैज्ञानिक र प्राविधिकलाई कल्पनाशक्तिको झन् धेरै आवश्यक छ। शरीर मष्तिस्कको संयोजन गर्नलाई सिर्जनशील क्षमता चाहिन्छ। सामाजिक हुनुपर्छ। उनीहरूलाई आवश्यक पर्ने यी खुबी रंगमञ्चीय क्रियाकलापबाट छिट्टै प्राप्त हुन्छ। यो रंगमञ्चीय क्रियाकलाप राजनीतिबाट भने टाढा भए बेस हुन्छ। कलालाई अगाडि बढाउनु पर्ने कुरा हामीलाई थाहा छ। कला साच्चै नै आर्थिक रूपमा संघर्षशील छ। तर, संसारमा शान्ति र मेलमिलाप बढाउन नभई पनि हुन्न। 

उनले सेतो बोर्डमा रंगीन मार्करले मि. चेकभका सिद्धान्तहरू गोलो चक्र बनाएर लेखेकी थिइन्। हरेक दिन त्यो गोलो चक्रभित्र हामीलाई प्रवेश गराउँथिन्। अन्तिम दिनमा त्यो चक्र सार्न लगाइन्।

‘माइकल चेकभ’को ‘साइकोलजिकल क्यारेक्टर’माथि अभ्यास गराउन रहेछ हामी सबैलाई उठ्न आग्रह गरिन्। 

यही अभ्यास जारी राख्दै तीन दिनको अनलाइन नाट्य कार्यशाला समापन गरिन्।


सम्बन्धित सामग्री