Thursday, May 09, 2024

-->

दायित्व वाङ्‌मय प्रतिष्ठानद्वारा ३ पुरस्कारको निर्णय

यी पुरस्कार मंसिर ९ गते काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।

दायित्व वाङ्‌मय प्रतिष्ठानद्वारा ३ पुरस्कारको निर्णय 

काठमाडौँ– दायित्व वाङ्‌मय प्रतिष्ठान नेपालले तीन पुरस्कारको निर्णय गरेको छ। 

प्रतिष्ठानको कार्यसमिति बैठकले यस वर्षको ‘शंकर कोइराला आख्यान पुरस्कार’ आख्यानकार नारायण ढकाललाई दिने निर्णय गरेको छ। 

यस्तै, ‘कुमार–सरस्वती पुरस्कार’ समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई र ‘चूडामणि व्याकरण–कोश पुरस्कार’ शरद्चन्द्र वस्तिलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव यादव भट्टराईले जानकारी दिए। 

 शंकर कोइराला आख्यान पुरस्कार र कुमार–सरस्वती पुरस्कारको राशि जनही २५ हजार र चूडामणि व्याकरण–कोश पुरस्कारको राशि ५१ हजार १११ रुपैयाँ छ। 

कोशकार तथा भाषा व्याकरणका क्षेत्रमा योगदान गरेका चूडामणि गौतमले शब्दकोश लेखन तथा नेपाली व्याकरणका क्षेत्रमा योगदान गर्ने एक जनालाई प्रदान गर्ने गरी प्रतिष्ठानमा आठ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन्। 

शंकर कोइराला आख्यान पुरस्कार आख्यानकार शंकर कोइराला र कुमार–सरस्वती पुरस्कार समालोचक प्रा.डा. कुमारबहादुर जोशी र उनकी पत्नीका नाममा स्थापित पुरस्कार हो।

यी पुरस्कार मंसिर ९ गते काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।


सम्बन्धित सामग्री