Wednesday, May 08, 2024

-->

मेरो भ्वाइस र डान्स युनिभर्सको फाइनल शनिबार: कसले जित्ला १ करोड पुरस्कार?

विभिन्न देशमा रहेका नेपालीबीचको आपसी सद्भाव र नेपाली भाषा तथा संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

मेरो भ्वाइस र डान्स युनिभर्सको फाइनल शनिबार कसले जित्ला १ करोड पुरस्कार

काठमाडौँ– सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ। 

यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन्। इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र तृतीयले २० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। 

नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। गायनतर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा संखुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईं अन्तिम पाँचमा छन्। 

यस्तै, नृत्यतर्फ सिक्किमका मिङा डि लेप्चा, थाइल्यान्डका खुसी कार्की, बेल्जियमका देवी गर्वुजा मगर तथा महोत्तरीका नेशन सुस्लिङ मगर र गोरखाका स्वस्तिक अर्याल फाइनलमा पुगेका छन्। 

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीबीचको आपसी सद्भाव र नेपाली भाषा तथा संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। 

गायनतर्फ निर्णायकमा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अन्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा छन्। नृत्यतर्फ भने अभिनेत्री मिथिला शर्मा, शंकर बिसी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक छन्।


सम्बन्धित सामग्री