Sunday, May 12, 2024

-->

काठमाडौँमा कर्णाली चिनाउने संग्रहालय

डा. गोविन्द नेपालीले २०५५ सालमा क्याम्पस पढ्न थाल्दै कर्णाली सभ्यता चिनाउने सामग्री संकलन शुरू गरेका थिए। त्यसको २६ वर्षपछि स्थापित संग्रहालयमा कर्णाली क्षेत्रबाट लोप भइसकेका सामग्री पनि हेर्न पाइन्छ।

काठमाडौँमा कर्णाली चिनाउने संग्रहालय
तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– बानेश्वरबाट पूर्वतर्फ १५ किलोमिटरको यात्रा पार गरेपछि पुगिने भक्तपुरको सूर्यविनायक–९ स्थित काठमाडौँ फन भ्यालीलाई धेरैले पौडीलगायतका मनोरञ्जन खेल खेल्ने ठाउँका रूपमा चिन्छन्। तर फन भ्यालीभित्र काठमाडौँमा कर्णालीको सभ्यता चिनाइरहेको एउटा संग्रहालय कर्णाली म्युजियम पनि छ। कर्णालीको करिब ३०० वर्ष पुरानो सभ्यता र अनेक सामग्री यहाँ देख्न पाइन्छ।

संग्रहालयका संस्थापक डा. गोविन्द नेपालीको लामो समयको परिश्रमले यो संग्रहालय स्थापना भएको हो। उनी आफैँ पनि कर्णालीको जुम्लाका हुन्। संग्रहालय स्थापनाको लामो कहानी उनको जीवनको संघर्षसँग पनि जोडिन्छ।

अहिले पनि कर्णालीमा विभेद छ, गरिबी छ। कुराकानी शुरू गर्नेबित्तिकै उनले विभेदकै घटना अगाडि राखे, जसले उनको मस्तिष्क घोचिरहन्छ।

“अस्ति मात्र जुम्ला गिडीखोलामा जात नमिलेपछि घर जलाइदिए, अहिलेको समाजको कुरा। त्यतिबेला कस्तो थियो होला? स्कुलमा पानी छोएकै कारण कुटाइ खानुपर्थ्यो। म कक्षा ९ मा पढ्दाको कुरा, एकदम प्यास लागेको बेला बेन्च छेउमा राखेको पानी स्कुलको जगमा खाएँ। पछि पानी छोएको भन्दै कुटाइ खानुपर्‍यो।” 

जुम्लाको चन्दननाथ माविबाट २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका गोविन्दको भोगाइ हो यो। यस्तै विभेदका कारण उनका कतिपय साथीले पढाइ छाडे। त्यतिबेला माओवादी युद्ध शुरू भइसकेको थियो, उनका केही साथी युद्धमै होमिए। कोही विदेश लागे।

डा. गोविन्द नेपाली।

भुरकोट कोटेसाँघुबाट प्राथमिक शिक्षा पूरा गरेका उनी निरन्तर विद्यालय गइराखे। तत्कालीन माओवादीले ‘बुर्जुवा शिक्षा’ भने पनि उनले पढ्न छाडेनन्। शिक्षाको उज्यालोले मात्र समाज परिवर्तन हुने ठान्थे। तर दलित समुदायका विद्यार्थीलाई पढ्न पनि सहज थिएन। यद्यपि, उनले संघर्ष जारी राखे र राम्रो अंक ल्याएर एसएलसी उत्तीर्ण गरे। 

उनले राम्रो नम्बरमा एसएलसी उत्तीर्ण गर्दा घरपरिवारमा भने समस्या भयो। परिवारको रुचि डाक्टर वा इन्जिनियर पढाउने थियो, तर आर्थिक अभाव बाधक बन्दियो। उनी घरबाटै हिँडेर आवतजावत गर्न मिल्ने कर्णाली प्राविधिक शिक्षालय (केटीएस)मा सब–ओभरसियर पढ्न थाले।

घर डाँडाकोटबाट शिक्षालय घुघुत्ती पुग्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्थ्यो। त्यहाँ दुई वर्षे पढाइ पूरा गरेपछि युनाइटेड मिसन टु नेपाल (यूएमएन)मा जागिरे भए। यही सिलसिलामा गोविन्दलाई जुम्लाका विभिन्न क्षेत्रमा पुग्ने अवसर मिल्यो। जुम्लाकोटदेखि पातारासीसम्मका कला र संस्कृतिसँग घुलमिल भए। त्यही समय गोविन्दले कर्णालीको कला र संस्कृति चिनाउने योजना बुनेका थिए।

गोविन्दको योजना आफूभित्रै मात्र सीमित भएन। उनले २०५५ सालदेखि पुराना सामग्री संकलन गर्न थाले। तर माओवादी युद्धका बेला त्यस्ता सामग्री संकलन गर्न सहज थिएन। तैपनि धेरथोर सामग्री जुटाइरहे।

२०५७ सालतिर माओवादीले यूएमएनको जुम्ला कार्यालयमा आगो लगाइदिए। कार्यालय नरहेपछि जागिर पनि रहेन। संग्रहालयका लागि संकलित सामग्री घरमा राखेर फेरि पढाइलाई निरन्तरता दिन नेपालगन्ज पुगे।

त्यहाँ उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे। घरबाट पैसा आउने अवस्था थिएन। कमाउँदै पढ्नुपर्ने बाध्यता थियो।

त्यहाँको पढाइ सकिएपछि स्नातक गर्न काठमाडौँ पुगे। पाटन क्याम्पसबाट समाजशास्त्रमा स्नातक गरे। विभिन्न गैरसरकारी संस्थामा काम गर्दै स्नातकोत्तर पनि सकाए। समाजशास्त्रको अध्ययन र समुदायसँग घुलमिल हुने जागिरले गर्दा कला र संस्कृतिप्रतिको रुचि बढ्दै गयो।

यूएमएन, बारबारा पिस फाउन्डेसनलगायत संस्थामा ‘फिल्ड सुपरभाइजर’देखि ‘कन्ट्री डाइरेक्टर’सम्म भए। १० वर्षको अवधिमा गोविन्दले जागिरे जीवन मात्र बिताएनन्, नेपालका ६६ जिल्ला पुगेर कला र संस्कृतिको अध्ययन तथा अनुसन्धान पनि गरे। त्यही अनुभव, अनुसन्धान र संकलनले उनलाई काठमाडौँमा कर्णाली देखाउन प्रेरणा मिलेको छ। उनले २०७१ सालमा काठमाडौँमा कर्णाली म्युजियम खोले।

एक्लो प्रयासमा स्थापित यो संग्रहालयमा सयौँ वर्षअघिका कला–कृति र कर्णालीको सभ्यता सुरक्षित गरिएको उनी बताउँछन्। “यता मल्लकाल चलिरहँदा उता शक्तिशाली सिँजा राज्यसहित अनेक सभ्यता कर्णालीसँग जोडिएको छ। विश्वका चार सभ्यतामा कर्णालीको खस सभ्यता पनि पर्छ। यो ठाउँ खस भाषाको उद्गमस्थल पनि हो। मूलतः कर्णालीको सभ्यतालाई उजागर गर्ने उद्देश्य हो,” गोविन्द भन्छन्।

कर्णाली म्युजियममा अहिले त्यस भेगसँग सम्बन्धित १३७ सामग्री हेर्ने पाइन्छ। महिलाले लगाउने गहनादेखि बाइसे–चौबिसे शासनताका लडाइँमा प्रयोग भएका रैठा (ढाल)सम्म राखिएको छ। कतिपय सामग्री ३०० वर्षभन्दा पुराना छन्। संग्रहालय हेर्न दैनिक ४०० भन्दा धेरै अवलोकनकर्ता यहाँ आउँछन्। 

संग्रहालयमा राखिएको रैठा २७८ वर्ष पुरानो हो। “यी सामग्री संकलन गर्न करिब २०/२५ वर्ष लाग्यो। मिर्गको छालाबाट बनेको रैठा ल्याउन लामो समय खर्चिनु पर्‍यो” उनले भने, “यी सामग्रीहरू कर्णालीमा लोप भइसके। हामी भने जोगाउँदै छौँ। अहिले पनि कर्णालीको माथिल्लो भेगमा छालाको जुत्ता दोचा पाइन्छ, जुन हिउँमा लगाइन्थ्यो। त्यो काठमाडौँले देख्न पाएको थिएन। म्युजियममा भएका सामग्रीहरूले पुरातात्त्विक महत्त्व बोकेका छन्।”

गोविन्दले त्रिभुवन विश्वविद्यालयबाट दिगो विकास र कला संस्कृतिमा विद्यावारिधि गरेका छन्। उनी भन्छन्, “कला संस्कृति जगेर्ना गर्न निकै कठिन हुन्छ। मैले झन्डै  तीन दशक लगाएर अनुसन्धान गरेँ। पछिल्लो समय कर्णालीको कलाकृति संरक्षणमा लाग्नुपर्छ भन्ने मान्छे घट्दै गएका छन्, यो चिन्ताको विषय हो। कर्णालीलाई संस्कृति र कलाका रूपमा विश्वमा चिनाउन जरुरी छ।”

संग्रहालय स्थापना गर्न कानुनीदेखि अन्य धेरै काममा अप्ठ्यारो सामना गरेको उनी बताउँछन्। यसमा समय मात्र व्यतीत नभएर पुँजी लगानी पनि उत्तिकै भएको उनको भनाइ छ। “सबैसँग लड्दैभिड्दै कर्णाली चिनाउन संग्रहालय स्थापना गर्नु महत्त्वपूर्ण कुरा हो,” उनी भन्छन्, “काठमाडौँलाई हामी कर्णाली देखाइरहेका छौँ। अब विश्वमा कर्णालीको सभ्यता पुर्‍याउने लक्ष्य छ। कर्णालीको सीप, सांस्कृतिक र ऐतिहासिक पक्षहरूलाई जोगाउन जरुरी छ।”

यहाँ कर्णाली चिन्न चाहनेहरू मात्र नभई अध्ययन अनुसन्धान र पारिवारिक जमघटका लागि पनि आउँछन्। विदेशीहरू र विद्यार्थीहरू पनि पुग्ने गरेका छन्। यो वर्ष साउनसम्ममा ६२२ स्कुलहरूले अवलोकन भ्रमण गरिसकेको संग्रहालयको तथ्यांक छ।

दुई वर्षअघि फिनल्यान्डका एक नागरिकले नेपाल आएर जुम्लामा पाइने भोजपत्रबारे स्नातकोत्तर गरेका थिए। संग्रहालयमा उक्त भोजपत्र पनि राखिएको छ। “पहिला त दैनिक दुई हजारदेखि २५ सय मान्छे आउँथे। तर कोभिडले अवलोकनकर्ता घटे। अवलोकन गर्न धेरै आउनुहुन्छ, चिन्ताको विषय संरक्षण गर्नु हो। यसमा चुनौती छ,” उनी भन्छन्। 

कला र संस्कृतिसँगै गोविन्द साहित्य र अन्य धेरै विधामा समेत रुचि राख्छन्। उनी साहित्यतर्फको मोती पुरस्कार, खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय प्रतिभा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानमर्यादा पुरस्कार, तुलसीचन्द्र स्मृति पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। उनका ‘तिम्रो जित मेरो हार’ गजल संग्रह, ‘फाटो कोट’ नाटक संग्रह, ‘पालुवा’ कविता संग्रह, ‘सिकर्मी सीप’ प्राविधिक पुस्तक, ‘परिश्रमको फल’ गीति नाटक, ‘पढाइका लागि कदम’ मनोविज्ञानसम्बन्धी पुस्तकलगायत कृति प्रकाशित छन्।

उनी भन्छन्, “मेरो जीवनमा जेजति काम गरे पनि मुख्य कुरा कर्णालीको कला र संस्कृति बचाइरहनुपर्छ भन्ने उद्देश्य हो। यो कुरा पछिल्लो पुस्ताले पनि मनन गर्नुपर्छ।”


सम्बन्धित सामग्री