Thursday, May 09, 2024

-->

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा (तस्वीर/भिडियो कथा)

थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा तस्वीरभिडियो कथा

काठमाडौँ– विगत १६ वर्षदेखि व्यावसायिक थांका चित्रकारितामा तल्लीन छन् दिलबहादुर लामा। पाटनको कोवहलमा प्रायः रङ र क्यानभासमा थांका कोरिरहने उनी यो काम जति सिक्दै गयो, उति गहन हुँदै जाने बताउँछन्। भन्छन्, "शुरूमा अब सबै आयो जस्तो लागेको थियो, तर जति कोर्दै गयो उति नयाँ गर्ने हुटहुटीले गाह्रो बनाउँदै लैजाने रहेछ।"

दिलको पुर्ख्यौली थलो रामेछाप हो। उनको तीन पुस्ता धान्दै आएको थांका चित्रकारिताले हजुरबुबाको पालादेखि निरन्तरता पायो। हजुरबुबाका लागि यो नितान्त नयाँ सीप थियो। "उहाँले निकै दुःख गरेर थांका सिक्नुभएको रहेछ जसलाई बुबाले निरन्तरता दिनुभयो र मलाई पनि सिकाउनुभयो। तर, मेरो छोराको यसमा चासो छैन, मैले पनि सिकाएको छैन," थांका चित्रले लेखेको तीनपुस्ते पारिवारिक इतिहास अन्त्य नजिक पुगेको सुनाउँदा दिलको अनुहार पनि अँधेरियो।

दिलका बुबाले करिब २० वर्षसम्म भक्तपुर र पाटनमा बसेर थांका चित्र बनाए। बुबाको जस्तै उनको भावना पनि थांकासँग जोडिन पुग्यो। २०५५ सालमा रामेछापकै एक विद्यालयबाट एसएलसी पास गरेर आईए पढ्न उनी काठमाडौँ आएका थिए। तर, उनको समय पढाइभन्दा घर आउजाउमै धेरै बित्यो।

दिलले २०५८ सालमा बुबासँग थांका चित्रकारिता सिके र हातमा सीप हुनासाथ ०५९ सालतिर मागी विवाह गरे। "घरबारे भएपछि जिम्मेवारी बोध हुँदो रहेछ," उनले हाँस्दै भने।

२०६० सालदेखि निरन्तर रूपमा थांका चित्र बनाउँदै आएका उनले यसैलाई मूल व्यवसाय बनाएको चाहिँ २०६४ देखि हो। एउटा थांका चित्र पूरा गर्न ३ दिनदेखि लगातार ४५ दिनसम्म लगाएका दिललाई आफ्ना हातहरूले अहिलेसम्म कति क्यान्भास रंगाए त्यो चाहिँ  याद छैन।

थांका चित्रको प्रादुर्भाव बौद्ध धार्मिक परम्पराबाट आएकाले उनले सबैभन्दा बढी संख्यामा शाक्यमुनि बुद्धको थांका चित्र बनाएका छन्। वज्रयान बौद्ध परम्परामा विभिन्न 'इदम‍्'का मण्डलहरूको थांका चित्रअगाडि बसेर बोधिज्ञान प्राप्तिका लागि साधना गर्ने पद्धति छ। यसैअन्तर्गत पर्ने कालचक्रमण्डलको थांका पनि प्रशस्त बनाएको दिल बताउँछन्।

थांका चित्र कोर्ने सीप उनले आफूमा मात्र सीमित राखेनन्। "विवाह गरेको अलि समयपछि नै थांका कोर्न श्रीमतीलाई पनि सिकाएँ। उनी पनि मसँगै थांका कोर्दैछिन्," दिल भन्छन्। अहिले उनको परिवारमा नयाँ पुस्ता बाहेकका सबै सदस्य थांका चित्र बनाउन पोख्त छन्।

पहिले उनी कोठामा बसेर चित्र बनाउँथे र बेच्ने काम अरूलाई दिन्थे। तर, आफूले कला खिपेर बनाएका थांकाचित्र आफ्नै हातले ग्राहकसम्म पुर्‍याउन पाए सन्तुष्टि र आम्दानी दुवै थपिने सोचेर उनले २०७४ सालमा कोठानजिकै पर्ने कोवहालमा पसल खोले। शुरूआती दुई वर्ष पसलले राम्रो आम्दानी दिएको थियो। तर, २०७६ को अन्त्यतिर कोभिड-१९ को विश्वव्यापी महामारी शुरू भएपछि उनको पसल त्यसको असरबाट अछुतो रहने कुरै भएन।

लगातार दुई वर्षसम्म पूरै बिथोलिएको थांका चित्रको व्यापार त्यसपछि उकासिनै सकेन। अहिले कोभिडपछिको जनजीवन सामान्य अवस्थामा फर्किइसक्दा पनि थालनीका दुई वर्षको तुलनामा व्यापार केवल १० प्रतिशतमा सीमित भएको दिलले निराश भावमा सुनाए। "व्यापार नभएपछि चित्र कोर्ने र पसलमा बस्ने जाँगर पनि मर्दोरहेछ। पहिले रातदिन नभनी गरेको काममा अहिले पटक्कै ऊर्जा छैन," उनले भने।

जतिबेला औधी जाँगर चल्थ्यो त्यसबेला उत्साहका साथ बनाएका कैयौँ चित्रहरू अहिले त्यत्तिकै थन्किएका छन्। पसलमा बस्दा आफ्ना तिनै चित्रहरूले आफैलाई गिज्याइरहेझैँ लाग्छ उनलाई। तर, यो अवस्थाबाट दिलले पूरै हार खाइसकेका भने छैनन्। किनभने उनको मात्र नभई सम्पूर्ण थांका पसलहरूको यस्तै हालत दिलले देखेका छन्।

थांका चित्रका ग्राहक घट्नु व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल। कलाको विरासत यसरी खिइँदै जानुलाई उनले पुस्तौँपुस्ता पछिसम्म पूर्ति नहुने घाटाका रूपमा देखिरहेका छन्।

थांकाका पारखीहरूको संख्यामा कमी आउनुको अर्को अँध्यारो पाटो पनि नियालिरहेका छन् उनी। "थांकाले बजार नपाउँदा कति चित्रकारहरू 'फ्रस्टेसन' र 'डिप्रेसन'मा जाँदैछन्। यसमा टिक्न नसकेर चटक्कै पेशा छाड्नेहरूलाई भन्दा यही काम गरिरहन चाहनेलाई बढी सकस भइरहेको छ," हँसिला दिल भावुक सुनिए।

आधुनिक पुस्तामाझ थांकाको महत्व फिका हुँदै गएकोमा दिलको दिल दुखेको छ। "मानिसहरूमा थांका चित्र र कलाको चेत हराउँदै गएको देख्छु। केही सौखिन मानिसले मात्रै थांका किन्छन्," अहिलेको परिवेशलाई चित्रण गर्दै उनी  भन्छन्, "सरकारले राम्रो काम गर्न नसकेकाले होला, थांका किन्ने विदेशी पर्यटकको संख्या घट्दै गएको छ। कहिले कोभिड, कहिले आर्थिक मन्दी त कहिले राजनीतिक अस्थिरताले देशमा तनाव छ। यस्तो अवस्थामा कतिञ्जेल यो पेशामा टिक्ने हो थाहा छैन।"

पुस्तैनी पेशाका रूपमा १६ वर्षदेखि अंगालेको थांका चित्रकारितामा उनले दर्शाएको ताजा दृश्य कलाप्रेमी र त्यसमाथि पनि परम्परागत थांका पारखीहरूका लागि अप्रिय  खबर हो। बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार थांकाचित्रको प्रचलन १८ सय वर्षअघि पाँचौँ शताब्दीबाट शुरू भएको पाइन्छ। यति प्राचीन इतिहास बोकेको परम्परा बचाउन खोज्दा आफ्नै परिवार पाल्न संघर्ष गर्नुपर्ने अवस्थाबाट कलाकार गुज्रिने दिन चाँडै अन्त्य होस् भन्ने चाहन्छन् दिल।


सम्बन्धित सामग्री