Friday, April 26, 2024

-->

‘बर्बरतामाथि जरुर प्रश्न उठ्छ, उठिरहनुपर्छ’

मानिस सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।

‘बर्बरतामाथि जरुर प्रश्न उठ्छ उठिरहनुपर्छ’ 

कवि गजलकार विवेक ओझाको ‘ऐँठन’ उपन्यास हालै बजारमा आएको छ। यसअघि उनको पहिलो उपन्यास ‘ऐलान’ प्रकाशित भएको थियो। संक्रमणकालीन न्याय, अदालती मुद्दा उपन्यासभित्रका विषयवस्तु हुन्। पाँच वर्षपछि प्रकाशित ऐँठन र उनको लेखन यात्राबारे लेखक विवेक ओझासँग उकालोले गरेको कुराकानी:

एक महिनाअघि ऐँठन पुस्तक विमोचन गर्नु भयो। यसबीच संक्रमणकालीन न्यायको चर्चा चलिरहेको छ। उपन्यास र हालको चर्चा उठान हुँदा पुस्तक पठन, समीक्षा तथा प्रतिक्रियामा कतिको सान्दर्भिकता महसुस गर्नुभएको छ?
मैले लामो समय उपन्यासको गृहकार्यमा नै बिताएँ। पुस्तक प्रकाशनको पनि आफ्नै प्रक्रिया हुन्छ। त्यस अर्थमा संक्रमणकालीन न्यायको, अदालती मुद्दा र उपन्यास ऐँठनको चर्चाको सान्दर्भिकता सुन्दर संयोग हो। तर, म यो कुरामा सधैँ पक्का थिएँ, गला रेटिएको र आगोले जिउँदै पोलेको बर्बरतामाथि जरुर प्रश्न उठ्छ र उठिरहन्छ। अनि उठिरहनुपर्छ। जस्तो उपन्यासमा मेरा पात्र बबनकुमारले भनेका छन्– समयको एक परिधिमा युद्ध सकिनेछ। तर युद्धउप्रान्तको सन्नाटा मौन रहने छैन। त्यसले हजारौँ आँसु, हजारौँ प्रश्न जपिरहेको हुनेछ। प्रत्येक लासमाथि कोरस धुन बजिरहनेछ। प्रत्येक रगतको थोपाले इतिहासको तराजु मागिरहनेछ।

द्वन्द्वकालीन समय भएको कारण यसका आफ्नै सान्दर्भिकता होलान्। तर, कतिपय पाठक जो आख्यानमा रुचि राख्दैनन्। त्यस्ता पाठकका लागि पुस्तक कतिको पठनीय हुनसक्छ?
युद्धले समयको रेखामा दाग छाडेर गएको हुन्छ। मानवताका लागि त्यो कहिल्यै पुरानो हुँदैन। त्यसको सान्दर्भिकता सधैँ रहिरहन्छ नै। र भनिन्छ नै, कुनै पनि इतिहास बुझ्नका लागि त्यो समयको आख्यान छाडियो भने त्यो अधुरो रहन्छ। हामी सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।

कुरा यसरी गरौँ, ...हामीले बुझ्नुपर्ने कुरा के छ भने, जुन संख्यामा राज्य पक्षका र विद्रोही पक्षका हतियारधारी मारिए त्योभन्दा दोब्बरको संख्यामा निहत्था मानिस मारिएका छन्। दुवैतर्फका हतियारधारीको तर्फबाट वीर गाथाहरू त सुन्न र पढ्न पाइन्छ तर के त्यही मात्र थियो त वास्तविकता। निहत्था सर्वसाधारण जो लाखौँको संख्यामा प्रभावित बने र हजारौँ मारिए के तिनका कुरा छैनन्? हो ‘ऐँठन’ तिनै निहत्था र निर्दोष मानिसको आँखाबाट लेखिएको कथा हो। म के कुरामा विस्वस्त छु भने, ‘ऐँठन’ले धेरै हदसम्म त्यही निर्दोष आँखाबाट त्यो समयको चित्रण गर्ने कोसिस गरेको छ। युद्ध र समाजलाई थप नजिकबाट नियाल्ने मनसाय छ भने, ‘ऐँठन’ले केही न केही रूपमा जरुर मद्दत गर्नेछ। 

गजल, कविता हुँदै उपन्यास लेखनीको यात्रा सहज वा असहज कस्तो हुँदै छ? ऐँठनसम्म आइपुग्दाको अनुभव कस्तो रह्यो?
लेखकले आफूलाई पोख्न अनेक बाटो खोजिरहेको हुन्छ। कुन माध्यमबाट आफूलाई पोख्न सहज हुन्छ त्यो विधातिर ढल्किइँदै गइँदो रहेछ। यस अर्थमा मैले आफूलाई प्रयोग गर्न आख्यानमा नै सहज पाएँ। पहिलो उपन्यास ‘ऐलानी’ले पाएको चर्चा र प्रेमले पनि ‘ऐँठन’ लेख्ने धीरता मिल्यो। हेर्नुस्, जीवन नै यात्रा हो। जसरी प्रत्येक दिन नयाँनयाँ कुरा सिक्दै अघि बढ्दै गइन्छ र विगतका अनुभवहरू काम लाग्दै जान्छन् ठिक त्यस्तै हो, गजल र कविताबाट सिकेका कुरालाई आत्मसात् गर्दै, थप नयाँनयाँ कुरा सिक्दै आख्यान लेखिरहेको छु। त्यो अर्थमा रोमाञ्चक र मजा नै लागिरहेको छ। 

तपाईंले पुस्तक लेख्न पाँच वर्ष लाग्यो भन्नुभएको छ। प्रायः लेखक उपन्यास लेख्न समय लागेको बताउँछन्, लेखाइ सकसपूर्ण भएर हो कि लामो समय लगाउने लेखकको रणनीति नै हुन्छ?
हिमाल चढ्दा शरीरलाई कति सकस हुन्छरु तर, हिमालको टुप्पोबाट ‘चट्ट’ वरिपरि हेर्दा जुन आनन्द छ त्यसले आरोहणको सकसलाई मेटाइदिन्छ। ठ्याक्कै लेखनमा पनि त्यही हुने हो, जो लेखिरहँदाको सकस छ त्यो लेखिसकेर पढ्दा, सुनाउँदा अझ कसैले त्यसले चर्चा गर्दा, लेखिरहँदाको सकसलाई निलिदिन्छ र सकस आनन्दमा रूपान्तरण हुन्छ। मलाई के लाग्छ भने लेखन सकसपूर्ण नै हुनुपर्छ र सकसपछिको साहित्य नै सुन्दर हुन्छ। किनकि कुनै पनि कुराको जन्म त्यति सहजै हुँदैन। जस्तो, बच्चा जन्मिँदाको आमाको प्रसव पीडा। तर आमाले सन्तानको अनुहार हेरेसँगै पीडा बिर्सिन्छिन्, हो ठ्याक्कै लेखनीको सकस र आनन्द मानसिक हिसाबले त्यस्तै हुन्छ भन्ने लाग्छ।

जहाँसम्म लेखकले लागेको समयको कुरा गर्छन्, त्यसलाई निकै सामान्य किसिमले हेरिनुपर्छ, किनकि कुनै पनि कार्यले मूर्तरूप पायो भने त्यसमा खर्च भएको ऊर्जा र समयको कुरा त हुन्छ नै।

प्रायः लेखकहरूको उपन्याससम्मको यात्रा कविता या गजलबाट शुरू भएको हुन्छ। त्यसपछि कविता या गजलमा निरन्तरता दिएको कमै पाइन्छ। यसका कारण के होला?
शुरूमै भनिहालूँ, जुनै विधाको उत्कृष्ट सिर्जना गर्नु उत्तिकै गाह्रो कुरा हो। संरचनाको हिसाबले कविता छोटो भएकाले लगभग लेखनको प्रारम्भ कविताबाटै हुन्छ, यो विश्वव्यापी प्रचलनभन्दा पनि फरक नपर्ला। कविता लेखिहाल्न लामो समय खर्चिनु पर्दैन, गुणत्वको सवाल फरक होला। तर विधा रूपान्तरण लेखकमा निहित कुरा भयो। ऊ आफूलाई पोख्न उपयुक्त विधातर्फ ढल्किँदै जान्छ। र जब लेखकले आफूलाई पोख्ने उपयुक्त विधा भेट्टाउँछ, ऊ अन्य विधामा कलम नचलाउन सक्छ। यसलाई व्यावहारिक किसिमले हेर्दा उपयुक्त होला।

तपाईंलाई पढ्नका लागि मन पर्ने विधा के हो? कस्तो लेखनशैली मनपर्छ?
नढाँटी भन्नुपर्दा मलाई कल्पना गर्न, सुन्न र पढ्न मजा आउँछ। त्यो सुविधा सबैभन्दा बढी आख्यानले नै दिन्छ, त्यही कारण मलाई आख्यान नै मनपर्ने विधा हो। शैलीको प्रसंगमा मेरो एकरूपता छैन, मेरो हृदयलाई छुनुपर्‍यो, बस्।  

लेखनमा आगामी योजना के के छन्?
थुप्रै योजना छन्। यदि ती कुरा लेख्नमा मात्र समय दिएँ भने पनि थुप्रै दशक चाहिन्छ। तत्काललाई भने मसँग दुई वटा पुस्तकको ‘ड्राफ्ट’ पहिल्यै तयार छन्। तिनको पुनर्लेखन गर्नुपर्ला। ठ्याक्कै अहिले चैँ पढ्दै, फिल्म हेर्दै र भर्खरैको मेरो बच्चासँग खेल्दै समय बिताइरहेको छु।


सम्बन्धित सामग्री