Saturday, April 20, 2024

-->

यसरी बन्यो नानीमैयाँमाथि ‘अपमानजनक’ आख्यान

तत्कालीन मन्त्रीमण्डलमा दोस्रो वरियताका गृहमन्त्री जोगमेहर श्रेष्ठभन्दा दोब्बर बढी मत ल्याएर राष्ट्रिय पञ्चायत सदस्य बनेकी नानीमैयाँ दाहाल ४१ वर्षदेखि ‘अप्रत्याशित जित’को बिम्ब बनेकी छन्।

यसरी बन्यो नानीमैयाँमाथि ‘अपमानजनक’ आख्यान
तस्वीर: गोविन्द खत्री/उकालो

काठमाडौँ– “नानीमैयाँ दाहाललाई जिताएको ठाउँ हो काठमाडौँ।”

काठमाडौँमा जबजब अप्रत्याशित चुनावी नतिजाको आकलन र सम्भावनाबारे बहस हुन्छ, बारम्बार यही प्रसंग उधिनिन्छ।

हुन त, काठमाडौँले धेरैलाई जिताइसकेको छ। धेरैपटक अप्रत्याशित नतिजा दिएको छ। २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा काठमाडौँ–१ बाट नेकपाका संस्थापक महासचिव पुष्पलाललाई हराएर नेपाली कांग्रेसका गणेशमान सिंह संसद् छिरे। २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले पराजित गरे।

यसपालिको स्थानीय तह निर्वाचनमा पनि काठमाडौँ महानगरवासीले अप्रत्याशित नतिजा दिए। स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह एमाले र कांग्रेसका ‘हेबिवेट’ उम्मेदवारलाई पाखा लगाउँदै भारी मतान्तरसहित नगरप्रमुखमा विजयी भए।

तर, अप्रत्याशित नतिजाको बहसमा यी माथिका नाम बिरलै आउँछन्,  जति नानीमैयाँ दाहालको आउँछ। मंसिर ४ गते पहिलो पटक मतदान गरिरहेका युवालाई थाहा नहुनसक्छ कि बारम्बार किन आइरहन्छ नानीमैयाँको नाम?

२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावी सभामा नानीमैयाँ।

नानीमैयाँको जितको चर्चा हुन थालेको ४१ वर्ष भइसकेको छ। २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावमा उनी भारी मतान्तरमा विजयी भएकी थिइन्।
यसअघि, उनी २०२८ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएकी थिइन्। 

नानीमैयाँ उमेरले अहिले ७६ वर्ष पुगिन्। उनलाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बन्ने रहर थियो। स्वास्थ्यले साथ दिएन। असोज १६ गते बौद्धस्थित उनको निवास पुग्दा डेंगी संक्रमणबाट बल्ल तङ्ग्रिँदै थिइन्। तर, राजनीतिप्रति चासो उस्तै थियो।

उनी दल र नेताप्रति असन्तुष्ट छिन्। “हामीले राजनीति गरेको काम गर्नका लागि थियो। तर, अहिलेको राजनीतिले देश दुर्गतितर्फ धकेलिरहेको छ,” नानीमैयाँ भन्छिन्, “हाम्रो पालामा जनताले जे भनेको थियो त्यही पुर्‍याएका थियौँ। हामीसँग भोट माग्ने आधार थियो र पो चुनाव लड्यौँ। यी नेता कसरी भोट माग्न जान्छन् होला?”

नानीमैयाँलाई सम्झाइरहने त्यो चुनाव
तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा गराएको जनमत संग्रहमा ‘सुधारिएको पञ्चायत’को जित भयो। त्यसपछि २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो। यो निर्वाचनमा धेरै जनसंख्या भएका जिल्लाबाट दुई जना निर्वाचित हुने व्यवस्था थियो।

निर्दलीय चुनाव भएको हुँदा व्यक्तिले निर्वाचन चिह्न पाउँथे। काठमाडौँबाट ३४ जनाको उम्मेदवारी परेको थियो। नानीमैयाँसहित ६ जना महिला थिए। उम्मेदवारी दिनेमा तत्कालीन गृह तथा पञ्चायतमन्त्री जोगमेहर श्रेष्ठ पनि थिए। उनको चुनाव चिह्न साइकल थियो।

नानीमैयाँको चुनाव चिह्न घडी थियो। उनी भारी मतसहित विजयी भएकी थिइन्। काठमाडौँमा खसेकोमध्ये एक लाख १५ हजार ७१६ मत सदर भएको थियो। नानीमैयाँले ६५ हजार ७७७ मत पाएकी थिइन्। गृह तथा पञ्चायतमन्त्री जोगमेहर दोस्रो भएर निर्वाचित भएका थिए। उनले २९ हजार ७४१ मत पाएका थिए। तेस्रो भएर पराजित भुवनमान सिंह १९ हजार १४९ मत थियो।

यही क्षेत्रबाट २०१५ सालपछि गठित पहिलो संसद्को माथिल्लो सदन, महासभाको उपाध्यक्ष भइसकेकी कमल राणा पनि उम्मेदवार बनेकी थिइन्। त्यसैगरी, लामो समय नेपाली कांग्रेसको राजनीति गरेका र २०१४ सालमै काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित प्रयागराज सिंह सुवाल पनि उम्मेदवार थिए। तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा ‘कू’ गरेपछि उनी जेल पनि परेका थिए। पछि २२ दिनसम्म अनसन बसेर छुटेका सुवाललाई राजा वीरेन्द्रले २०२९ सालपछि पटकपटक मन्त्रीसमेत बनाएका थिए।

लामो समय वामपन्थी राजनीतिमा संलग्न रहेका तथा पत्रकारिता गरेका मदनमणि दीक्षित समेत उम्मेदवार थिए। अन्य उम्मेदवारमा श्रीमती उर्मिला श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, हरिबहादुर थापा, कनकमान शाक्य, प्रेमबहादुर शाक्यलगायत थिए। पञ्चायतको उच्च पदमा पुगेकादेखि सामाजिक क्षेत्रमा नाम चलेका व्यक्ति उम्मेदवार बनेका थिए।

नानीमैयाँ दाहाल ‘लो प्रोफाइल’ उम्मेदवार थिइन्। उनले ५ कक्षासम्मको मात्र अध्ययन गरेकी छन्। तर, उनको ‘लडाकु’ स्वभाव थियो। २०४३ सालमा उद्योगी अरुण चौधरी (विनोद चौधरीका भाइ)लाई तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गाको चार किल्ला सिफारिस दिन नमान्दा वडासदस्य नवराज शर्मालाई थुनाइएको थियो। तर, नानीमैयाँ दाहालले जुलुसै लिएर गएर उनलाई रातारात छुटाएकी थिइन्।

“मलाई राजा वीरेन्द्रका भाइ, धीरेन्द्रका एडीसी भरत गुरुङले धम्क्याउन थाले। म असुरक्षित भएँ। घरको कौसी पनि भत्काइदिए,” उनी भन्छन्, “गुरुङले मलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न लगाए। तर, नानीमैयाँ दाहालले डाङडुङ गरेर एकै रातमा निकाल्नुभयो।”

नानीमैयाँ दाहालबारे अर्को किस्सा पनि छ। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। कुनै कामले नानीमैयाँ दाहाल प्रधानमन्त्री कार्यालय गएकी थिइन्। प्रधानमन्त्री थापाले उनको काम गर्न अस्वीकार गरेपछि उनले चेतावनी दिइन्, “तपाईंको अघि म लुगा च्यातिदिऊँ?” त्यसपछि थापाले उनको काम गरिदिए।

उनी सरकारी कार्यालय गएर सर्वसाधारणको काममा ढिलाइ गर्ने कर्मचारीको कहिले त कठालै समात्थिन्। त्यसैले उनी परिचित हुँदै गएकी थिइन्। तर, ‘झगडालु स्वभाव’को परिचय बनाएकी थिइन्। उनी ‘ठाउँको ठाउँ न्याय दिने’ शैलीमा प्रस्तुत हुने लेखक तथा राजनीतिकर्मी नारायण ढकाल बताउँछन्। “कोही हत्या गरेको मान्छेले ‘अन्यायमा परेँ’ भन्यो भने पनि नानीमैयाँ उसकै पक्षमा लागिहाल्थिन्,” ढकाल भन्छन्, “खासमा उनले पाएको मत पञ्चायतविरुद्ध घृणाको मत हो। अव्यवस्थाको विरोध हो। त्यसपछि २०४३ सालमा भएको निर्वाचनमा त नानीमैयाँको जमानत जफत नै भयो।”

पञ्चायतको चुनावलाई निरर्थक साबित गर्न कांग्रेस समर्थक विद्यार्थीहरूले पनि नानीमैयाँलाई सहयोग गरेको सीके लाल बताउँछन्। कांग्रेसले निर्वाचन बहिस्कार गरेको हुनाले नेताहरूले औपचारिक रूपमा उनको पक्षमा नबोलेको त्यसबेला कांग्रेस समर्थक रहेका लालको भनाइ छ। दमननाथ ढुंगाना, कुसुम श्रेष्ठमार्फत सूचना पाएर पार्टीकै लाइनअनुसार नानीमैयाँलाई सहयोग गरिएको उनी बताउँछन्।

अझै महत्त्वपूर्ण चाहिँ राजदरबारसँग नजिक रहेका उदार र अनुदारवाला पञ्चहरूको द्वन्द्वका कारण नानीमैयाँको जित भएको सिके लालको भनाइ छ। उदार पञ्चको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए र उनकै मन्त्रिमण्डलमा दोस्रो वरीयतामा जोगमेहर श्रेष्ठ थिए। लोकेन्द्रबहादुर चन्दले अनुदार पञ्चको नेतृत्व गर्थे। जोगमेहरलाई हराउन नानीमैयाँलाई मत धेरै हालिएको उनको भनाइ छ।

तत्कालीन राजा वीरेन्द्रसँग नानीमैयाँ।

त्यसैगरी, तेस्रो भएका व्यापारी भुवनमान सिंह पनि बलिया उम्मेदवार थिए। तर, उनलाई काठमाडौँकै व्यापारीले मन पराउँदैन थिए। त्यहीकारण भुवनमानलाई हराउने पक्षले समेत नानीमैयाँलाई नै मत दिएको सिके लाल बताउँछन्।

नानीमैयाँ पनि आफूलाई गणेशमान सिंह, बीपी कोइराला, सुवर्ण शमशेर, मनमोहन अधिकारीजस्ता दिग्गज व्यक्तित्वले समर्थन गरेको कारण जित हासिल भएको बताउँछिन्। “उहाँहरूलाई विश्वास थियो, म ठाउँमा पुगेँ भने काम गर्न सक्छु भन्ने,” उनी भन्छिन्, “यसअलावा मेरा लागि विद्यार्थीहरू र आमजनतासम्मले ट्वाकमा पैसा संकलन गरेर प्रचारप्रसारमा सहयोग गरे,” उनी भन्छिन्। 

वास्तवमा, काठमाडौँवासी पञ्चायती व्यवस्थासँग दिक्क भइसकेका थिए। यद्यपि, एक वर्षअघि २०३७ सालमा भएको जनमत संग्रहमा काठमाडौँमा बहुदलको पक्षमा ६८ हजार १४० र पञ्चायतको पक्षमा ८३ हजार ८८४ मत खसेको थियो। तर, बहुदलवादी नेता धाँधली गरेर पञ्चायतलाई जिताइएको बताउँछन्। जनमत संग्रहमा नानीमैयाँले बहुदलको पक्षमा प्रचार गरेकी थिइन्।

तर, नानीमैयाँ राजनीतिमा ‘ठूलो नाम’ थिइनन्। नेवार समुदायको बाहुल्यता रहेको काठमाडौँमा त्यही समुदायबाट पञ्चायतको उच्च तहमा पुगेका नेता उम्मेदवार हुँदा उनले अत्यधिक मतसहित जित्नु अप्रत्याशित थियो। उनको जितलाई पञ्चायती व्यवस्थाको ‘नेगेटिभ भोट’ मान्ने धेरै छन्। 

यद्यपि, नानीमैयाँ दाहाल त्यो जितलाई अप्रत्याशित मान्दिनन्। जोगमेहर मात्र नभई अरू धेरै हस्तीलाई आफूले पराजित गरेको उनको भनाइ छ। “उम्मेदवार सबै प्रभावशाली थिए। भुवनमान सिंह, प्रयागराज सिंह सुवाल, कमल  राणाजस्ता भिआइपीसँग चुनावी मैदानमा थिएँ म,” उनी भन्छिन्।

राजनीतिक यात्रा
नानीमैयाँको जन्म काठमाडौँको बौद्ध पिपलबोटस्थित अर्जेल गाउँमा भए पनि पढ्ने अवसर पाइनन्। तत्कालीन समाजमा महिलाले पढ्नु हुन्न भन्ने धारणा भएको कारण आफूले कक्षा ५ भन्दा माथि पढ्न नपाएको उनी बताउँछिन्। 

सानैदेखि हक्की र निडर स्वभावकी नानीमैयाँ त्रिभुवन ग्राम विकासको सभापति बन्दा आफू १० वर्षको मात्र थिइन्। उनी २०१९ सालमा महिला संघमा आबद्ध भइन्। 

२०२१ सालमा राजा महेन्द्रले भूमि सुधार ऐन ल्याएपछि विभिन्न कार्यक्रम लागू भयो। त्यसमा उनले भूमि सुधार अधिकारी वासु ग्वाछाको मातहतमा स्वयंसेवक भएर काम गरेकी थिइन्। उनी २०२८ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भइन्। २०३८ सालमा राष्ट्रिय पञ्चायतमा निर्वाचित भएकी उनी २०४३ सालमा पराजित भइन्।

२०४८ र २०५१ सालको चुनावमा उम्मेदवार हुने रहर भए पनि गणेशमान सिंहले कांग्रेस प्रवेश गराउने भनेपछि आफू पछि हटेको उनी बताउँछिन्। २०१९ सालमा महिला संघमा आबद्ध हुँदादेखि नै गणेशमानसँग चिनजान भएको उनको भनाइ छ। २०५६ सालको निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार भएकी थिइन्। तर, उनले जम्मा ८६ मत मात्र पाएकी थिइन्। 

समर्थन स्वतन्त्रलाई
नानीमैयाँलाई न अहिलेका नेताहरूको काम मन परेको छ, न त परिपाटी। दलहरूले गठबन्धन बनाएको पनि उनलाई चित्त बुझेको छैन। “यो गठबन्धन संस्कार बनाएर भूत र भविष्यको समेत तलब खाएर देशमा नेताहरूले जात्रा गरिरहेका छन्,” उनी भन्छिन्, “वर्तमान सरकार, मन्त्रीमण्डल, प्रशासनदेखि निर्वाचन आयोग सबै खारेज गर्नुपर्छ।”

जनताले निर्वाचन चुनावका लागि नयाँ मन्त्रिमण्डल ल्याउनु पर्ने उनको धारणा छ। तर, त्यस्तो मन्त्रिमण्डल कसरी बनाउने उनले बताइनन्। “हरेक क्षेत्र अनि तहमा आफ्ना अनुकूलमा मानिस घुसाएका छन्। यही कारण यी चुनाव कहिल्यै निष्पक्ष र स्वच्छ हुने देखिँदैन,” उनी भन्छिन्, “अघिपछि झगडा गर्ने राजनीतिक पार्टीका नेताहरू पैसा चाहिँ मिलेर खान्छन्।”

‘विकृत भइरहेको राजनीतिक व्यवस्था’मा उनी स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्छिन्। पञ्चायतमा निर्दलीय निर्वाचन हुन्थ्यो। आफू स्वतन्त्र उम्मेदवार भएर जितेको भन्दै गएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई समर्थन गरेको उनले बताइन्।

अबको निर्वाचनपछि देश बनाउन युवाहरूलाई जिताउनुपर्ने उनको भनाइ छ। पार्टी वा स्वतन्त्र जोसुकै भए पनि आफूले युवालाई रोज्ने उनले बताइन्।


सम्बन्धित सामग्री