काठमाडौँ– गत मंसिर–पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा विश्व क्रिकेटका हस्ती, वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराको उपस्थिति प्रमुखमध्ये आकर्षण थियो। नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको ‘ब्रान्ड भ्याल्यू’ बढाउन र आफूले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइजी प्रतियोगितालाई अन्तर्राष्ट्रियकरण गर्न क्रिकेटप्रेमीलाई एकखाले ‘सरप्राइज’ दिँदै लारालाई नेपाल ल्याएको थियो।
क्यानको निमन्त्रणा (अफर) स्वीकार गरेर प्रतियोगिताको बीचतिर छोरीसहित आएका लारा चार दिन र तीन रात नेपालमा बसे। एनपीएलका खेल हेरे, क्रिकेट प्रवर्द्धनसँग जोडिएका केही गतिविधिमा पनि सहभागी भए।
लारालाई नेपाल ल्याउन क्यानले कति रकम खर्च गर्यो भन्नेबारे भने अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। एनपीएल परिचालन परिषद् संयोजकसमेत रहेका क्यानका सचिव पारस खड्काको भनाइमा लारालाई नेपाल ल्याउँदा उनी र छोरीको दुईतर्फी हवाई भाडा, आवास र खानपानको व्यवस्था गरिएको थियो। यसबाहेक छुट्टै केही रकम पनि दिइएको थियो।
“उहाँसँग मेरो राम्रो सम्बन्ध भएकाले त्यति महँगोचाहिँ परेन। उहाँसँगै छोरीको खाने बस्ने व्यवस्थासहित बिजनेस क्लासको टिकट उपलब्ध गराएका थियौँ,” पारसले उकालोसँग भने, “उहाँलाई कति रकम दियौँ भनेर चाहिँ खोल्न अलि मिल्दैन। तर उहाँलाई दिएको पैसा राष्ट्र बैंकमार्फत गइसकेको छ।”
पारसले लारालाई (विदेशी मुद्रामा) दिइएको रकम राष्ट्र बैंकमार्फत भुक्तानी गरेको दाबी गरे पनि खासमा राष्ट्र बैंकबाट भुक्तानी नै नगरिएको अनौपचारिक जानकारी पाएपछि हामीले नेपाल राष्ट्र बैंकमा यसबारे सम्पर्क गर्यौँ। शुरूमा राष्ट्र बैंकबाट यसबारे विस्तृत जानकारी प्राप्त भएन। हामीले सूचनाको हकसम्बन्धी ऐनबमोजिम राष्ट्र बैंकमार्फत् क्यानले लारालाई भुक्तानी दिएको/नदिएको आधिकारिक सूचना माग्यौँ।
यसपछि राष्ट्र बैंकले हामीलाई उपलब्ध गराएका कागजातमा पारसले भनेझैँ लारालाई त्यहाँबाट कुनै रकम भुक्तानी गरिएको देखिँदैन।
विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा ५ को उपदफा (२) मा लेखिएको छ, “कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंकबाट इजाजतपत्र नलिई नेपाली मुद्रा वा इजाजतप्राप्त व्यक्तिबाट प्राप्त गरेकोबाहेक अरू विनिमय नेपालको कुनै इलाकाबाट बाहिर लिएर जान वा पठाउन हुँदैन।”
राष्ट्र बैंकले उपलब्ध गराएको विवरणमा क्यानले प्रतियोगिताका लागि ल्याएका कमेन्टेटर र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई भुक्तानीका लागि मात्र क्यानलाई अनुमति दिएको देखिन्छ। राष्ट्र बैंकको पत्रमा उल्लेख छ, “एनपीएल २०८१ को योबाहेक अन्य शीर्षकमा क्यानलाई कुनै विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराएको विवरण नभेटिएको ब्यहोरासमेत अनुरोध छ।”
अर्को, पारसले आफूसँगको सम्बन्धका आधारमा लारालाई कम रकममै र प्रतियोगिताको बीचमै नेपाल ल्याएको बताए पनि खासमा उनलाई ल्याउने प्रक्रिया तीन–चार महिना पहिल्यै अघि बढेको देखिन्छ। उकालोलाई प्राप्त कागजातअनुसार लाराले एनपीएल शुरू हुनुभन्दा तीन महिना पहिल्यै क्यानलाई करबाहेक कुल ४० हजार अमेरिकी डलरको ‘इन्भोइस’ पठाएको देखिन्छ। त्यो इन्भोइसमा उनले रकम जम्मा गरिदिन कमनवेल्थ बैंक अफ अस्ट्रेलियाको मेलबर्नस्थित आफ्नो खाता नम्बरसमेत दिएका छन्। इन्भोइसअनुसार लारालाई भुक्तानीका लागि भनेर क्यानले राष्ट्र बैंकमार्फत् कुनै स्वीकृति नलिएको राष्ट्र बैंकबाट प्राप्त पत्रबाट पुष्टि हुन्छ।
लाराले क्यानलाई पठाएको इन्भोइस।
हामीले यसो गर्नु भनेको के हो भनेर बुझ्न वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट (सीए) भवनाथ दाहालसँग कुरा गर्यौँ। दाहालले विदेशी मुद्रामा गरिने कुनै पनि भुक्तानी राष्ट्र बैंकबाट स्वीकृति नलिएर गरिएको हो भने त्यो स्वतः गैरकानूनी काम हुने बताए। यस्तो विषयमा आयकर ऐन आकर्षित हुने, तर भुक्तानी नै नदेखिँदा व्यावहारिक रूपमा सरकारलाई जानकारी नहुने उल्लेख गर्दै उनले भने, “भुक्तानी पाउनेले होइन, भुक्तानी गर्नेले कर कट्टा गरेर भुक्तानी गर्ने हो। तर हाम्रोमा कर तिर्नु नपरोस् भनेर विदेशबाटै भुक्तानी गर्ने प्रवृत्ति पनि छ।”
आयकर ऐन २०५८ को दफा ८९ मा ठेक्का वा करारबापत ५० हजारभन्दा बढी रकम भुक्तानी गर्दा कुल रकमको १.५ प्रतिशत करकट्टा गर्नुपर्ने, मूल्य अभिवृद्धि कर ऐनअनुसार १३ प्रतिशत भ्याट तिर्नुपर्ने उल्लेख छ।
यही कानूनी व्यवस्था छल्न लारालाई बाहिरी मुलुकबाटै भुक्तानी गरिएको क्यान कार्यसमितिका एक सदस्यले बताए। “लारालाई ल्याउँदा एनपीएललाई राम्रो भयो, तर उनलाई भुक्तानी गर्दा नेपाल सरकारलाई कर तिर्नु नपर्ने बाटो किन अबलम्बन गरियो, त्यो हामीले पनि बुझेका छैनौँ,” उनले उकालोसँग भने, “जानाजान कर छली गरिएको यो घटनाले एनपीएलको हिसाबमा पनि गोलमाल भएको आशंका बढाएको छ।”
कमेन्टेटरलाई पनि कर छलेर भुक्तानी
एनपीएलको पहिलो संस्करण नजिकिँदै जाँदा यसको चर्चा बढ्दै जानुको अर्को कारण योसँग जोडिएका क्रिकेट कमेन्टेटरको नाम पनि थियो। किनभने क्यानले एनपीएलमा ६ जना विदेशी कमेन्टेटरले कमेन्ट्री गर्ने खबर सार्वजनिक गरेको थियो।
एनपीएल शुरू हुनुभन्दा तीन दिनपहिले, २०८१ मंसिर १२ गते एनपीएलको औपचारिक फेसबुक पेजबाट एन्ड्रयु लियोनार्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीले एनपीएलमा कमेन्ट्री गर्ने सूचना सार्वजनिक गरियो। ६ जनामध्ये एन्ड्रयु र मिखाइलबाहेक चारै जना पूर्वक्रिकेटर हुन्।
क्यानले ६ जना कमेन्टेटरलाई फरक–फरक पारिश्रमिक (रकम) प्रस्ताव गरेर ल्याएको भए पनि उनीहरू कसैलाई पनि नेपालको कानूनअनुसार कर तिरेर भुक्तानी नगरिएको क्यानका एक पदाधिकारी नै बताउँछन्। हामीले गरेको खोजबिनका क्रममा क्यानले कमेन्टेटरको पारिश्रमिक भुक्तानीका लागि भनेर राष्ट्र बैंकबाट ४२ हजार ३०० अमेरिकी डलरको स्वीकृति लिएको देखियो। राष्ट्र बैंकले उपलब्ध गराएको विवरणमा उल्लेख यो रकमभन्दा धेरै रकम कमेन्टेटर र म्याच रेफ्रीहरूलाई भुक्तानी गरिएको ती पदाधिकारी बताउँछन्।
उनका अनुसार कमेन्टेटर र म्याच रेफ्रीहरूलाई आधा पैसा भत्ताजस्तै खेलपिच्छे हात–हातमा दिइएको थियो। राष्ट्र बैंकले उपलब्ध गराएको विवरणमा म्याच रेफ्रीलाई भुक्तानीका लागि राष्ट्र बैंकसँग अनुमति लिइएको देखिँदैन।
“हातमै भत्ता दिन राष्ट्र बैंकबाट स्वीकृति त लिइयो, तर त्यो नै पूरा रकम थिएन। बाँकी रकम लारालाई जस्तै विदेशबाटै उनीहरूको खातामा पठाइएको हो,” उनले भने, “विदेशबाटै भुक्तानी मिलाएपछि नेपाल सरकारलाई तिर्नुपर्ने कर तिर्ने कुरा आएन।”
हामीले प्राप्त गरेको क्यान पदाधिकारीले यसबारे तयार पारेको आन्तरिक कागजातअनुसार क्यानले कमेन्टेटर एन्ड्रयूसँग आठ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो। तर उनलाई २५ सय डलर नगद भुक्तानी गरिएको थियो भने ५५ सय डलर विदेशबाटै उनको बैंक खातामा भुक्तानी गरिएको थियो। अकरम्यान र गौफलाई क्यानले १५ हजार अमेरिकी डलर तिर्ने शर्तमा ल्याएको भए पनि दुवैलाई पाँच–पाँच हजार डलर नगदमै भुक्तानी गरिएको, १०–१० हजार डलर भने विदेशमै भुक्तानी गरिएको देखिन्छ।
त्यस्तै, श्रीधरणलाई १० हजार डलर पारिश्रमिक दिनेगरी ल्याइएकोमा २५ सय डलर नगद दिइएको, बाँकी रकम विदेशमै भुक्तानीको व्यवस्था मिलाइएको देखिन्छ। मोनाली र वासवानीलाई ७६ सय र ४६ सय डलरमा ‘डिल’ गरे पनि उनीहरूलाई पनि २५–२५ सय डलर नगद दिइएको, बाँकी रकम विदेशमै भुक्तानी गरिएको देखिन्छ।
क्यानका सचिव एवं एनपीएल परिचालन परिषद्का संयोजक पारस खड्काले भने फेरि पनि कानूनअनुसार सबैलाई भुक्तानी गरिएको दाबी गरे। “सबैलाई एनआरबी (नेपाल राष्ट्र बैंक) थ्रु नै पठाएका हौँ,” उनले उकालोसँग भने, “सबै जना खुशी भएर फर्किनुभयो।”
चार्टर्ड अकाउन्टेन्ट (सीए) उमेशराज पाण्डे विदेशी नागरिकलाई राष्ट्र बैंक छलेर भुक्तानी गरिएको हो भने त्यो हुन्डी कारोबार हो भनेर बुझ्नुपर्ने बताउँछन्। पाण्डेका अनुसार यस्तो केसमा भुक्तानीकर्ताले सरकारलाई कर छल्न र मुलुकभित्रको पैसा बाहिर पठाउन चलखेल गरेका हुन्छन्।
“यसमा भुक्तानी पाउने र भुक्तानी दिने दुवै दोषी हुन्छन्। कुनै विदेशीले नेपालमा आएर नाफा कमाउँछ र सरकारलाई कर नतिरी फर्किन्छ भने हाम्रो कर कानूनले कुनै हालतमा उसलाई छुट दिँदैन,” पाण्डेले उकालोसँग भने, “भुक्तानीकर्ताले पनि टीडीएस नकाटेरै भुक्तानी गरेको हो भने यो राजस्व अनुसन्धान विभागले हेर्ने विषय हो। यो अवस्थामा राजस्व कार्यालयले जरिबानासहित कर तिराउने व्यवस्था छ।”
यो पनि–
फलोअप : एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण
एक्सक्लुसिभ : नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ