काठमाडौँ– ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुनास्थित कमलपोखरीको कित्ता नम्बर १४० को २ रोपनी ११ आना सार्वजनिक जग्गा विभिन्न तह हुँदै अहिले व्यवसायी डा. रूप ज्योति अध्यक्ष रहेको मणिहर्ष क्यान्सर एण्ड जनरल हस्पिटल प्रालिको नाममा दर्ता भएको छ। यो अस्पतालमा अधिकांश लगानी रूप ज्योतिकै छ।
अस्पतालको थोरै शेयर अरुको नाममा पनि छ। जस्तो, एक शेयरहोल्डर सिद्धि इन्भेष्टमेन्ट प्रालि पनि हो। यो प्रालिको स्वामित्व व्यवसायी राजेन्द्र शाक्यमा छ। शाक्य चाहिँ रूप ज्योतिका व्यावसायिक साझेदार पनि हुन्। कमलपोखरीको सार्वजनिक जग्गा तिनै शाक्य हुँदै रूप ज्योतिको अधिकांश लगानी रहेको निजी अस्पतालका नाममा आइपुगेको हो।
यो सार्वजनिक जग्गालाई निजी सम्पत्ति बनाउन भएको चलखेलको फेहरिस्त गत साउन ९ गते उकालोले उजागर गरेको थियो। त्यसपछि यो प्रकरणका थप पहेली खुल्न थालेका छन्। सार्वजनिक जग्गा निजी स्वामित्वमा पुर्याउन वडा कार्यालयबाटै चलखेल भएको अर्को तथ्य फेला परेको छ।
भू–माफियाको चलखेलमा जब वडाले नै लगाइदियो ‘लाहाछाप’
कमलपोखरीको सार्वजनिक जग्गामा आफ्नो हकदाबी गर्ने चलखेल धेरै पहिलेदेखि चलिरहेको थियो। त्यस्तो दाबी गर्नेहरूले खडा गरेका नक्कली लगत र लिखतहरू, मोही, सर्जमिनबिनै सम्बन्धित वडा कार्यालयले गरेको सिफारिस र वडा कार्यालयसँगै पोखरीका सबै सँधियारहरूलाई सहभागी नगराई गरिएको सर्जमिनका आधारमा यो जग्गा व्यक्तिको नाममा पुर्याइएको तथ्य र प्रमाणले देखाउँछन्।
त्यस्तो सर्जमिनलाई आधार मानेर मालपोत कार्यालय ललितपुरले २०६४ फागुन १७ गते सार्वजनिक पोखरी रहेको जग्गा सानुमैया राजोपाध्याय, केदार ज्वालानन्द राजोपाध्याय र घनश्याम राजोपाध्यायको संयुक्त नाममा दर्ता गरिदिएको थियो।
त्यति मात्र होइन, मालपोत कार्यालयले आफू भन्दा माथिको निकाय (भूमिसुधार तथा व्यवस्थापन विभाग) ले दिएको निर्देशनअनुसार पोखरीको जग्गा सार्वजनिक हो या होइन भन्नेबारे कुनै छानबिनसम्म नगरी राजोपाध्यायहरूको नाममा जग्गा दर्ता गरिदिएको भेटियो। जबकि नापी कार्यालय ललितपुरको २०२२ सालको फिल्ड–बुकमा यो जग्गाको विवरणलाई पोखरी भनेर उल्लेख गरिएको छ। मालपोत कार्यालयकै स्रेस्ताको जग्गा विवरण महलमा र मोहीको महलमा समेत यसलाई कमलपोखरी भनेर लेखिएको छ। त्यसरी पोखरी लेखेको जग्गा मालपोतले नै व्यक्तिको नाममा दर्ता गरिदिनु थप सन्देहपूर्ण बनेको छ।
ललितपुरको कमलपोखरी आसपासमा अहिले एक आना जग्गा ७० लाखदेखि एक करोड रूपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ। यस हिसाबले हेर्दा कमलपोखरी रहेको २ रोपनी ११ आना जग्गाको मूल्य न्युनतम ३० करोड १० लाख रूपैयाँ पर्छ। व्यवसायी रूप ज्योतिको ९६ प्रतिशत शेयर रहेको मणिहर्ष क्यान्सर एण्ड जनरल अस्पतालले यो जग्गा हत्याएर मात्र कम्तीमा ३० करोडको सम्पत्ति आर्जन गरेको देखिन्छ।
कमलपोखरी जावलाखेल–एकान्तकुना सडकसँग जोडिएको तिब्बती शरणार्थी क्याम्पनजिकै पूर्वतर्फ छ। पोखरीबाट करिब २०० मिटरमा रिङ–रोड पर्छ। ज्योति अध्यक्ष रहेको अस्पतालले राजेन्द्र शाक्यबाट २०७५ चैत १९ गते १७ करोड रूपैयाँमा त्यो जग्गा खरिद गरेको कागजातले देखाउँछन्।
मणिहर्ष क्यान्सर एण्ड जनरल हस्पिटल प्रालिलाई बिक्री गरेको जग्गा राजेन्द्र शाक्यले २ पटक गरी राजोपाध्यायहरूबाट खरीद गरेका थिए। शाक्यले २०७५ जेठ ७ गते विन ज्वालानन्दको नाममा रहेको कित्ता नम्बर १४४६ को १० आना ३ पैसा जग्गा १७ लाख २० हजार रूपैयाँमा खरीद गरेको देखिन्छ। त्यस्तै, शाक्यले सोही दिन योगरत्न डंगोलको नाममा रहेको कित्ता नम्बर १४४५ को १० आना ३ पैसा जग्गा १७ लाख २० हजार रूपयाँमै खरीद गरेका थिए। उनले २०७५ जेठ २३ गते सानुमैया राजोपाध्याय, केदार ज्वालानन्द राजोपाध्याय र घनश्याम राजोपाध्यायको संयुक्त नाममा रहेको कित्ता नम्बर १४३९ को १ रोपनी ५ आना २ पैसा जग्गा ३४ लाख ४० हजार रूपैयाँमा खरीद गरेको मालपोतका कागजातले देखाउँछन्।
मालपोत कार्यालय ललितपुरका एक कर्मचारीले भने, “भू–माफियाहरूले शहरको केन्द्रमा रहेको ऐतिहासिक, धार्मिक र सार्वजनिक पोखरीको जग्गा मिलोमतोमा एकपछि अर्कोलाई बिक्री गराएको देखिन्छ। स्वार्थी समूहको व्यावसायिक नाफालाई केन्द्रमा राखेर सबै चलखेल भएको देखिन्छ।”
यो चलखेलमा राज्यका निकाय मात्र होइन, स्थानीय सरकार पनि उसैगरी जोडिएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १३ (साविक वडा न ४ ख) का वडाअध्यक्ष गणेश केसीका अनुसार यो पोखरी भएको ठाउँ सार्वजनिक जग्गा मात्र होइन, यसको ऐतिहासिक र साँस्कृतिक महत्वसमेत छ। केसीले उकालोसँग भनेका थिए, “यो ऐतिहासिक सार्वजनिक पोखरी हो, म यहीँ पौडी खेल्दै हुर्किएको हुँ।”
तिनै केसीले विभिन्न चरणमा चलखेल गर्दै अहिले रूप ज्योति अध्यक्ष रहेको मणिहर्ष क्यान्सर एण्ड जनरल अस्पताल प्रालिको नाममा दर्ता हुन आएको कमलपोखरीको रजिष्ट्रेसन पास गर्न सक्रिय भूमिका खेलेको तथ्य फेलापरेको छ। यो जग्गाको रजिष्ट्रेसन पासका लागि उनले नै घर/बाटो प्रमाणित सिफारिस मालपोत कार्यालय ललितपुरलाई पठाएको देखिन्छ। केसीले मालपोतलाई पठाएको घर/बाटो प्रमाणित सिफारिस–पत्रमा उल्लेख छ, “हाल उक्त रैकर निजी कमलपोखरीमा घर छैन। बाटो छैन। चक्रपथ भित्र पर्दछ।”
केसीले भने कमलपोखरीको जग्गा मालपोत कार्यालयले नै व्यक्तिको नाममा दर्ता गरिसकेकाले आफू बाध्य भएर सिफारिस दिएको दाबी गरे। “यो सार्वजनिक जग्गा हो भन्नेमा कुनै दुविधा छैन। स्थानीय निकायमा जनप्रतिनिधि नभएका बेला यो जग्गा व्यक्तिविशेषको नाममा दर्ता भएको रहेछ। दर्ता भइसकेको जग्गाको रजिष्ट्रेसन पासका लागि हामीले घर/बाटो प्रमाणित गरिदिएका हौँ। हामीलाई महानगरले पनि सिफारिस दिन निर्देशन दिएको थियो,” केसीको दाबी छ।
ललितपुर महानगरपालिकाले २०७४ असोज २९ गते वडा कार्यालयलाई यो जग्गाको रजिष्ट्रेसन पासका लागि घर/बाटो प्रमाणित सिफारिस गर्न भनेको कागजातले देखाउँछन्।
कसरी बनाइयो सार्वजनिक पोखरीलाई निजी?
ललितपुरको एकान्तकुनास्थित कित्ता नम्बर १२४ को २ रोपनी ११ आना जग्गामा रहेको कमलपोखरी ललितपुरबासीमाझ सार्वजनिक मात्र होइन, ऐतिहासिक र साँस्कृतिक सम्पदाका रूपमा समेत परिचित छ। २०२२ सालको नापी कार्यालय ललितपुरको फिल्ड–बुकमा यो जग्गालाई ‘कमलपोखरी’ भनेर प्रष्ट लेखिएको छ जसले यो सार्वजनिक जग्गा भएको प्रमाणित गर्छ। त्यो बेलाको नापी कार्यालयको नक्सामा पनि यो जग्गामा कमलपोखरी नै उल्लेख छ। मालपोत कार्यालय ललितपुरको स्रेस्ताको जग्गा विवरणमा पनि यसलाई कमलपोखरी लेखिएको छ। स्रेस्ताको मोही महलमा समेत कमलपोखरी नै लेखिएको छ।
२०४६ फागुन २ गते ललितपुरका सानुमैया राजोपाध्याय, चण्डिका राजोपाध्याय र तुतुनानी राजोपाध्यायले कमलपोखरी रहेको यो जग्गामा आफ्नो हक लाग्ने भन्दै आफूहरूको नाममा दर्ता नामसारीको माग मालपोत कार्यालय ललितपुरमा निवेदन दिएका थिए। त्यसबेला मालपोतले भने नापी कार्यालयको फिल्ड–बुकमा यो जग्गामा कमलपोखरी उल्लेख भएकाले व्यक्तिविशेषको नाममा दर्ता गर्न नमिल्ने अडान लिएको थियो।
त्यसपछि निवेदकहरूले एकपछि अर्को लगत भिडाउन मालपोतलाई आग्रह गरी उक्त जग्गा आफ्नो नाममा दर्ता गर्ने प्रयास गरेका थिए। तर पनि मालपोतले निवेदकहरूको नाममा जग्गा दर्ता गर्न प्रक्रिया अघि बढाएको थिएन।
त्यसपछि उनीहरूले नक्कली मोही खडा गरेर जग्गा दर्ता गर्ने प्रयास गरेका थिए। त्यसपछि पनि मालपोतले उनीहरूको नाममा जग्गा दर्ता नगर्ने अडान लिएपछि उनीहरूले मालपोत भन्दा माथिको निकाय, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई जग्गा दर्तामा सहयोग गर्न आग्रह गर्दै निवेदन पेश गरेको देखिन्छ। उनीहरूले त्यसबेला भूमिसुधार मन्त्रीलाई झुक्काएर उक्त जग्गा आफ्नो नाममा दर्ता गर्ने प्रयास गरेको समेत भेटियो।
राजोपाध्यायहरूले २०४८ असार २६ गते मालपोतले ‘माननीय मन्त्रीज्यूको दिनू भन्ने तोकादेश भएमा दिन सकिने’ भनेको भन्दै तत्कालीन मन्त्रीलाई निवेदन लेखेका थिए। तर मन्त्रीले यसबारे तत्कालै सोधपुछ गर्न लगाउँदा मालपोतले त्यसो भनेको हो या होइन भन्नेबारे जवाफ दिएको भेटिँदैन। राजोपाध्यायहरूले पटक–पटक आफूहरूको संयुक्त नाममा कमलपोखरीको जग्गा दर्ता गर्न माग गरेपछि २०५८ वैशाख १४ गते तत्कालीन प्रमुख मालपोत अधिकृतले सम्बन्धित वडाध्यक्षको रोहवरमा सर्जमिन गरेर जग्गाको यथार्थ विवरण पेश गर्न आदेश दिएका थिए। तर वडाले सर्जमिन गरेर यथार्थ विवरण पेश गरेको देखिँदैन।
सर्जमिन नै नगरेको जग्गा दर्ताका लागि सम्बन्धित वडा नम्बर १३ को कार्यालयले २०५८ माघ १९ गते सिफारिस गरेको देखिन्छ। वडाका तत्कालीन कार्यवाहक मुरारी गजुरेलले यस्तो सिफारिस पठाए पनि मालपोतले भने त्यो बेला व्यक्तिको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाएको देखिँदैन।
त्यसको ६ वर्षपछि तत्कालीन प्रमुख मालपोत अधिकृतले मालपोत कार्यालयका कर्मचारी (खरीदार) ऋषिराम बुढाथोकीलाई सर्जमिन गरी मुचुल्का पेश गर्न निर्देशन दिएको देखिन्छ। तर सम्बन्धित वडा कार्यालयको रोहबरमा मात्रै सर्जमिन गर्नु भन्ने प्रमुख मालपोत अधिकृतको आदेश भए पनि ती कर्मचारीले सर्जमिन गर्नुपूर्व नै त्यसबारे प्रतिवेदन तयार पारेर मालपोतमा पेश गरेको देखियो। प्रतिवेदन पेश भइसकेपछि गरेको भनिएको सर्जमिनमा वडा कार्यालयका कोही पनि सहभागी भएको देखिँदैन। पोखरीका एक जनाबाहेक अरू सँधियार पनि सर्जमिनमा सहभागी भएनन्। करिब एक महिनापछि वडा कार्यालयले भने २०५८ माघ १९ गते आफूले पठाएको सिफारिसलाई नै मान्यता दिएर पुनः मालपोतलाई पत्र लेखेको भेटिन्छ।
त्यसपछि मालपोतले व्यक्तिविशेषको नाममा जग्गा दर्ताका लागि प्रक्रिया अघि बढाएको, सोही प्रक्रिया अन्तर्गत् मालपोतले २०६४ मंसिर २६ गते भूमिसुधार तथा व्यवस्थापन विभागलाई उक्त जग्गा दर्ताका लागि सहमति मागेको देखिन्छ। विभागले मालपोतलाई यो जग्गा सार्वजनिक हो या होइन भन्नेबारे एकिन गरेर मात्र व्यक्तिविशेषको नाममा दर्ता गर्न निर्देशन दिएको थियो। तर मालपोतले यसबारे थप कुनै छानबिन नगरी २०६४ फागुन १७ गते निवेदकहरूको नाममा जग्गा दर्ता गरिदिएको थियो।
मालपोतको निर्णयविरूद्ध पोखरीको हकदाबीसहित धुब्र ज्वालानन्द राजोपाध्याय पुनरावेदन अदालत पुगे पनि उनले मुद्दामा विपक्षी बनाएका सानुमैया राजोपाध्याय, केदार ज्वालानन्द राजोपाध्याय र घनश्याम राजोपाध्यायसँग २०६५ पुस २३ गते मिलापत्र गरेका थिए। त्यसका आधारमा मालपोतले २०६५ माघ २६ गते कित्ता नम्बर १४० लाई फोडेर १४३८ र १४३९ बनाएको, त्यसमध्ये कित्ता नम्बर १४३८ को आधा (१ रोपनी ५ आना २ पैसा) जग्गा विन ज्वालानन्द उपाध्यायको नाममा दर्ता गरेको, कित्ता नम्बर १४३९ भने सानुमैयालगायत ३ जनाकै नाममा कायमै राखेको थियो। २०६६ असोज १९ गते फेरि कित्ता नम्बर १४३८ फोडेर १४४५ र १४४६ बनाएर १४४५ योगरत्नको नाममा दर्ता गरेको देखिन्छ।
त्यसको १९ वर्षपछि, २०७५ जेठ ८ गते यो पुरै जग्गा व्यवसायी राजेन्द्र शाक्यले खरीद गरेको, शाक्यबाट व्यवसायी रूप ज्योति अध्यक्ष रहेको मणिहर्ष अस्पतालको नाममा दर्ता भएको भेटिन्छ।