Monday, June 17, 2024

-->

स्वर्णलक्ष्मी सहकारी बचत हिनामिना : संस्थामा समस्या आउँदा सञ्चालकहरू रातारात जग्गा किनबेचमा

गोर्खा मिडियामा स्वर्णलक्ष्मीको मात्रै ८० करोड अपचलन भएको बचतकर्ताको दाबी छ। लगानीमाथि प्रश्न उठ्न थालेपछि जीबी राईले स्वर्णलक्ष्मीको अध्यक्ष बनेर आर्थिक हिनामिना गरेको त्यहीँका कर्मचारी बताउँछन्।

स्वर्णलक्ष्मी सहकारी बचत हिनामिना  संस्थामा समस्या आउँदा सञ्चालकहरू रातारात जग्गा किनबेचमा

काठमाडौँ– सहकारीको बचत रकम हिनामिना गरेको आरोप लगाउँदै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका ५२८ बचतकर्ताले गत वैशाख २१ गते प्रहरीवृत्त कालीमाटीमा संस्थाका आठ पदाधिकारी र तीन पूर्वपदाधिकारीविरुद्ध ठगी कसुरमा जाहेरी दिएका छन्। 

संस्थाका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष दीपक लामा र कल्पनाकुमारी श्रेष्ठ तथा पूर्वप्रबन्ध निर्देशक भूपेन्द्र राईलाई प्रतिवादी बनाएर बचतकर्ताले जाहेरी दिएका हुन्। स्वर्णलक्ष्मीका वर्तमान र पूर्वपदाधिकारीले सहकारीको दुई अर्ब ७५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। 

स्वर्णलक्ष्मीका बचतकर्ताले प्रतिवादी बनाएकामध्ये राई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँदा रकम हिनामिना गरेको आरोपमा गत वर्ष भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार छन्। सूर्यदर्शनको बचत रकम हिनामिना गरेको आरोपमा त्यही बेला पक्राउ परेका रम्तेल हाल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन्। 

रम्तेलका भान्जा नवीनलाई काठमाडौँको हाम्रो कृषि सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत २७ गते पक्राउ गरेको थियो। तर जाहेरवालालाई पैसा फिर्ता गरेपछि मुद्दा नचल्ने भन्दै हाम्रो कृषि सहकारीका कोषाध्यक्ष अछामीलाई प्रहरीले गत वैशाख ५ गते थुनामुक्त गरेको थियो। 

स्वर्णलक्ष्मीका बचतकर्ताको संघर्ष समितिका सहसंयोजक नन्दु तन्डुकार आफूहरूको बचत रकम खासगरी राई, रम्तेल र अछामीको मिलमतोमा हिनामिना भएको बताउँछन्। “हाम्रो बचत उनीहरू (राई, रम्तेल र अछामी) मिलेर जग्गामा समेत लुकाएको सुनेका छौँ। यसबारे जानकारी भएकाहरू असुरक्षित अनुभव गर्दै बोल्न डराएका छन्”, तण्डुकारले भनेका थिए। 

तर स्वर्णलक्ष्मीको कारोबारसम्बन्धी तथ्यहरू केलाउँदै जाँदा तन्डुकारले भनेजस्तै राई, रम्तेल र अछामी मिलेर स्वर्णलक्ष्मीमा रहेको सर्वसाधारणको बचत आफूखुशी निकालेर जग्गामा लगानी गर्दै आएको देखिन्छ।

पदाधिकारी हुँदा राईले एकलौटी बनाए १६ रोपनी जग्गा  
२०७४ सालमा स्वर्णलक्ष्मीको अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ थिइन्। बचतकर्ताहरूका अनुसार सञ्चालक राईले सहकारीको पैसा आफूखुशी खर्च गर्न शुरू गरेका थिए। बचतको हिसाबकिताब खोज्दा राईले उल्टै धम्की दिन थालेपछि श्रेष्ठले पदबाट राजीनामा दिएको बचतकर्ताहरूको भनाइ छ। श्रेष्ठले राजीनामा दिएपछि दीपक लामा सहकारीको अध्यक्ष बनेका थिए। श्रेष्ठसँग उकालोले कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आइनन्।

बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १५ दिनभित्र स्वर्णलक्ष्मी सहकारीमा देखिएको समस्या समाधान गर्न दिएको निर्देशन।

स्वर्णलक्ष्मीको सञ्चालक रहेका बेला २०७५ सालमा राई, भरतपुर महानगरपालिका–१०, चितवनका भविन्द्र सापकोटा र काठमाडौँ महानगरपालिका–१४ का कृष्णहरि खड्काको संयुक्त नाममा ललितपुरको सैँबुमा १४ रोपनी ८ आना जग्गा देखिन्छ। सोही स्थानमा राई र भरतपुर–१०, चितवनका ज्ञानु सापकोटाको संयुक्त नाममा १ रोपनी ४ आना २ पैसा जग्गा देखिन्छ। 

स्वर्णलक्ष्मीका एक पुराना बचतकर्ताका अनुसार राईले स्वर्णलक्ष्मीकै बचत रकम जग्गामा लगानी गरेका हुन्। “राई पदाधिकारीको रूपमा आएदेखि नै सहकारीमा समस्या देखिएको थियो। राईले सहकारीकै पैसा जग्गामा हालेका हुन्,” उनले भने। 

तर २०७५ चैत २३ गते सापकोटा र खड्काले कित्ता नम्बर १३६ को ५ रोपनी ४ आना १ पैसा, कित्ता नम्बर १५६ को १ रोपनी ८ आना, कित्ता नम्बर १३४ को ४ रोपनी ५ आना, कित्ता नम्बर १३५ को १ रोपनी १२ आना २ पैसा, कित्ता नम्बर ११८ को १ आना ३ पैसा, कित्ता नम्बर १३० को १ रोपनी ८ आना २ पैसा गरी जम्मा १४ रोपनी ८ आना जग्गा तीन करोड ५७ लाख आठ हजार रुपैयाँमा राईलाई बिक्री गरेको पाइएको छ। त्यस्तै, ज्ञानु सापकोटाले कित्ता नम्बर ११६ को १२ आना १ पैसा र कित्ता नम्बर १२० को ८ आना १ पैसा गरी १ रोपनी ४ आना २ पैसा जग्गा २५ लाख ६३ हजार रुपैयाँमा सोही दिन राईलाई बिक्री गरेको देखिन्छ।

बचत हिनामिनाको आरोपपछि राईले बेचे जग्गा
सहकारीमा २०७९ सालअघि नै २८ हजार बचतकर्ता थिए। तर पदाधिकारीले बचत रकम हिनामिना गरेको गुनासो बढ्न थालेपछि बचतकर्ताहरूको संख्या १८ हजारमा झरेको थियो। कतिपय बचतकर्ताहरूको आठ करोड रुपैयाँसम्म फसेको देखिन्छ। २०७८ सालको अन्त्यतिर स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन छाडेका थिए। पदाधिकारीहरूलाई पटक–पटक भेटेर आफ्नो समस्या बताउँदा पनि बचत रकम फिर्ता नपाएपछि उनीहरूले २०७९ साउनबाट पदाधिकारीहरूको विरोध गर्न थाले। आफ्नो बचत रकम पदाधिकारीहरूले लुकाएको आशंका गर्दै जग्गा कारोबारका बारेमा पनि बुझ्न थाले।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने विस्तृत कार्ययोजना पेश गर्न दिएको लिखित निर्देशन।

बचतकर्ताहरूको भनाइमा कारोबार खुल्ने डरले राईले भैँसेपाटीमा रहेको आफ्नो २३ रोपनी १५ आना जग्गा २६ करोड ८६ लाख ७० हजार रुपैयाँमा चेनी क्यापिटल प्रालिलाई बिक्री गरेका हुन्। उक्त कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्दा राईले वास्तविक मूल्य लुकाएर सरकारी मूल्य मात्रै थैली राखेर मालपोत कार्यालय ललितपुरमा लिखत गरेको भेटिएको छ। 

मालपोत कार्यालयको अभिलेखअनुसार राईले २०७९ भदौ १ गते आफ्नो १० रोपनी १५ आना जग्गा १४ करोड ३७ लाख ५० हजार रुपैयाँमा कम्पनीलाई बिक्री गरेको देखिन्छ। उनले कित्ता नम्बर १५८ को ३ रोपनी २ आना जग्गा चार करोड रुपैयाँमा, कित्ता नम्बर ३६९ को ३ रोपनी ६ आना ३ पैसा चार करोड ३८ लाख रुपैयाँमा, कित्ता नम्बर ११६ को १२ आना १ पैसा जग्गा ७३ लाख ५० हजार रुपैयाँमा, कित्ता नम्बर ३६७ को २ रोपनी १५ आना ३ पैसा जग्गा तीन करोड ८२ रुपैयाँमा, कित्ता नम्बर १२० को ८ आना १ पैसा (रकम नखुलेको), कित्ता नम्बर १५७ को १ रोपनी २ आना जग्गा एक करोड ४४ लाख रुपैयाँमा कम्पनीलाई बिक्री गरेका थिए।

यस्तै, राईले भदौ २२ गते सोही स्थानमा रहेको १३ रोपनी जग्गा पनि १२ करोड ४९ लाख २० हजार रुपैयाँमा कम्पनीलाई नै बिक्री गरेको देखिन्छ। राईले आफ्नो नाममा रहेको कित्ता नम्बर १३० को १ रोपनी ८ आना २ पैसा जग्गा एक करोड ४७ लाख रुपैयाँमा, कित्ता नम्बर १३५ को १ रोपनी १२ आना २ पैसा जग्गा एक करोड ७१ लाख ४० हजार रुपैयाँमा, कित्ता नम्बर ११८ को १ आना ३ पैसा जग्गा १० लाख ९० हजार रुपैयाँमा, कित्ता नम्बर १३६ को ५ रोपनी ४ आना १ पैसा जग्गा पाँच करोड पाँच लाख ९० हजार रुपैयाँ र कित्ता नम्बर १३४ को ४ रोपनी ५ आना जग्गा चार करोड १४ लाख रुपैयाँमा उक्त कम्पनीलाई बिक्री गरेको कागजातबाट पुष्टि हुन्छ। 

राईले कम्पनीलाई बिक्री गरेको जग्गामध्ये करिब ९ रोपनी कहिले र कोसँग किनेका थिए भन्ने खुल्दैन।

चेनी क्यापिटलको नाममा रहेको जग्गा।

चेनी क्यापिटललाई आफ्नो नाममा रहेको जग्गा बिक्री गर्ने बेला राई गोर्खा मिडिया नेटवर्कका अध्यक्ष पनि थिए। गोर्खा मिडियामा स्वर्णलक्ष्मी लगायत विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप राईमाथि लागेको थियो। गोर्खा मिडियामा स्वर्णलक्ष्मीको मात्रै ८० करोड रुपैयाँ अपचलन भएको बचतकर्ताहरू दाबी गर्छन्। गोर्खा मिडियाको लगानीलाई लिएर प्रश्न उठ्न थालेपछि राईले स्वर्णलक्ष्मीको अध्यक्ष बनेर आर्थिक हिनामिना गरेको स्वर्णलक्ष्मीका एक कर्मचारीले बताए। “राईले गोर्खा मिडियामा उत्पन्न झमेला टार्नु छ। मेरा लागि पद छोडेर सहयोग गर भन्दै सहकारीका अध्यक्ष दीपक लामालाई फकाएको मैले सुनेको छु,” ती कर्मचारीले भने। 

घटनाक्रमले पनि यस्तै संकेत गर्छ। २०८० असोजको पहिलो साता बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित भेलामा बचतकर्ताहरूले सहकारी पदाधिकारीलाई बचत रकम फिर्ता दिन चर्को दबाब दिएका थिए। भेलामा सहभागी एक बचतकर्ताका अनुसार अध्यक्ष दीपक लामालगायत पदाधिकारीहरूले चाँडै नै बचत रकम फिर्ता गर्ने आश्वासन दिएका थिए। बचत रकम फिर्ता गर्न नसके त्यसबराबरको जग्गा जताबाट भए पनि उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले जनाएका थिए। १० लाख रुपैयाँभन्दा बढी बचत रकम भएका बचतकर्तालाई जग्गा दिने र त्योभन्दा कम भएकालाई बचत रकम नै फिर्ता दिने बाचा उनीहरूले गरेका थिए। 

तर उकालोले गरेको खोजीमा अध्यक्ष लामाले भेलाको माइन्युटमा हस्ताक्षर गरेको देखिँदैन। बचतकर्ताले बचत फिर्ता लिन दबाब बढाइरहेकै बेला एकाएक राई स्वर्णलक्ष्मीको अध्यक्ष बन्छन्। कागजात केलाउँदा २०७९ कात्तिक २८ गतेसम्म दीपक लामा सहकारीको अध्यक्ष छन्। त्यसको एक सातापछि सहकारीको साधारण सभाको स्वीकृतिबिना राई अध्यक्ष बनेको कागजातले देखाउँछन्। सरकारी निकायको मिलेमतोमा राई प्रक्रिया पूरा नगरी अध्यक्ष बनेको स्वर्णलक्ष्मीका एक अर्का कर्मचारीले बताए। “राईले हेटौँडा (बागमती प्रदेशको भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय)मा २५ लाख रुपैयाँ घुस दिएर सहकारीको अध्यक्ष बनेको सुनेका छौँ,” उनले भने।

राईले जग्गा बेचेपछि कम्पनीमा कुमार रम्तेलको प्रवेश 
बचतकर्ताहरूले सहकारीका पदाधिकारीसँग आफ्नो बचत रकम फिर्ता गर्न माग गरिरहेका थिए। तर अध्यक्ष राई र कोषाध्यक्ष कुमार रम्तेल बचतकर्ताहरूलाई पैसा फिर्ता गर्ने आश्वासन मात्र दिन्थे। उनीहरूले तत्काल बचत फिर्ता गर्न नसके कम्तीमा तीन/तीन महिनामा ब्याज दिन पदाधिकारीसमक्ष प्रस्ताव गरे। तर त्यो स्वीकृत भएन। केही उपाय नलागेपछि बचतकर्ताहरू सहकारीका पदाधिकारीविरुद्ध विभागीय मन्त्रालयमा उजुरी दिन हेटौँडासम्म पुगे। 

शुरूमा जुजुकृष्ण श्रेष्ठ र हरिशरण मानन्धरले सहकारीका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षलगायत सबै सञ्चालकविरुद्ध उजुरी दिएको देखिन्छ। सहकारीमा श्रेष्ठले २१ लाख ३८ हजार ६३९ रुपैयाँ र मानन्धरले ११ लाख ६३ हजार रुपैयाँ बचत गरेका थिए। मन्त्रालयले २०७९ मंसिर २८ गते बचतकर्ताको रकम फिर्ता गर्ने विस्तृत कार्ययोजना बनाई पठाउन सहकारीलाई पत्राचार गरेको थियो। मन्त्रालयको उक्त निर्देशनलाई सहकारीका पदाधिकारीहरूले टेरपुच्छर लगाएनन्। 

त्यसपछि मन्त्रालयले २०७९ माघ १९ मा पुनः बचतकर्ताको रकम १५ दिनभित्र फिर्ता गर्ने विस्तृत कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको देखिन्छ। त्यो बेला सहकारीको अध्यक्ष राई भए पनि मन्त्रालयले भने पूर्वअध्यक्ष दीपक लामाका नाममा पत्र काटेको थियो। मन्त्रालयको दोस्रो निर्देशनलाई पनि सहकारीले अटेर गर्‍यो।  

बरु, त्यहीताका राईले सहकारीमा रहेको सर्वसाधारणको बचत अपचलन गरेर पैसा लुकाउन सहकारीका कोषाध्यक्षसमेत रहेका गोदावरी नगरपालिका–४, ललितपुरका रम्तेललाई चेनी क्यापिटलमा लगानीकर्ताका रूपमा प्रवेश गराएको देखिन्छ। 

राईले चेनी क्यापिटललाई जग्गा बिक्री गरेको सात महिनापछि २०७९ चैत २६ गते कम्पनीको ३० प्रतिशत शेयर रम्तेलले किन्ने गरी करारनामा गरेको भेटिएको छ। तर कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको विवरण हेर्दा त्यसअगावै फागुन ३० मा कम्पनीमा रम्तेल शेयर सदस्य भएको देखिन्छ। कम्पनीका अन्य शेयर होल्डरहरूमा चेतनाथ भण्डारी, वीरगन्जको रक्षम इन्टरनेसनल प्रालिका पवनकुमार साह र रक्ष्मीदेवी साह रहेको साह कम्पनी रजिस्ट्रारको कार्यालयको लगतबाट खुल्छ। भण्डारी कम्पनीको अध्यक्ष र रक्षम इन्टरनेसनलका पवनकुमार साह तथा उनकी पत्नी रक्ष्मी सञ्चालक रहेको देखिन्छ।

चेनी क्यापिटका शेयर सदस्यहरूको नामावली।

चेनी क्यापिटल २०७३ साउन ५ गते कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको कागजातले देखाउँछ। काठमाडौँ बत्तीसपुतलीमा कम्पनीको कार्यालय भएको एक पत्रमा उल्लेख गरिएको छ। तर कम्पनीको काम र उद्देश्य भने खुल्दैन। 

चेनीलाई बेचिएको जग्गामा ३५ दिनभित्र प्लानिङयोग्य मोटरबाटो पुराउने शर्तमा रम्तेललाई कम्पनीको ३० प्रतिशत शेयर दिइएको करारनामामा उल्लेख छ। करारनामामा जग्गाको पश्चिमतर्फ रहेको मुख्य सडकबाट दक्षिण मोहडातर्फ तथा उत्तर पश्चिमतर्फ जुनसुकै तवरले ३५ दिनभित्र गुरु योजनाअनुसार मोटरबाटो पुर्‍याउन कुमार रम्तेल मन्जुर गर्छन्। जग्गामा बाटो पुर्‍याउन लाग्ने खर्च आफैले व्यहोर्नुपर्ने शर्तमा पनि रम्तेल सहमति जनाउँछन्। 

त्यही बेला कम्पनीले आफ्नो नाममा रहेको जग्गा धितो राखी हिमालयन बैंकबाट १५ करोड रुपैयाँ ऋण लिएको देखिन्छ। ऋणको सम्पूर्ण दायित्व र जिम्मेवारी रम्तेलको नभई संस्थापक सञ्चालकको हुने करारनामामा भनिएको छ। कम्पनीले ऋण तिर्न नसकेको अवस्थामा बैंकले रम्तेलको हकहिस्सामा नोक्सान नपुर्‍याउने र क्षतिपूर्ति तिर्ने जिम्मेवारी संस्थापक सञ्चालककै हुने शर्त पनि करारनामामा उल्लेख छ। करारनामामा जग्गा दुवै पक्षले आपसी सहमतिमा घडेरीको रूपमा विकास गरी बिक्री गर्ने भनिएको छ। 

चेनी क्यापिटल र स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलबीच शेयर खरिदसम्बन्धी करारनामा।

जग्गालाई घडेरीको रूपमा विकास गर्दा रम्तेलले मात्रै आफूखुशी कुनै लिखत वा कागज गर्दा जग्गा कच्चा ठहरेमा वा पूर्व जग्गाधनीको विषयलाई लिएर झमेला भएमा त्यसको सम्पूर्ण दायित्व रम्तेलको रहने समेत करारनामामा उल्लेख छ। घडेरी बिक्री गर्दा कम्पनीका संस्थापक सञ्चालकले नै ऋण क्रमशः चुक्ता गरी जग्गा फुकुवा गर्नुपर्ने शर्त पनि करारनामामा समेटिएको छ। जग्गाको मूल्य र मुनाफा वितरण गर्दा २०० आना जग्गा कम्पनीका संस्थापक सञ्चालकको सुनिश्चित हिस्सा र बाँकी जग्गा रम्तेलको रहने गरी भुक्तानी लिनु दिनुपर्ने करारनामामा भनिएको छ। 

करारनामामा प्रथम पक्षका तर्फबाट चेतनाथ भण्डारी, रक्ष्मीदेवी साह र रक्षम इन्टरनेसनलका सञ्चालक पवनकुमार साह तथा दोस्रो पक्षबाट रम्तेल आफैले हस्ताक्षर गरेका छन्। करारनामाको साक्षी स्वर्णलक्ष्मीका राई र काठमाडौँ–४ का पूर्णचन्द्र प्रधान बसेका छन्। 

राई र चेनीबीच जग्गा किनबेचको वातावरण बनाउन प्रधानले भूमिका खेलेको देखिन्छ। राईले कम्पनीमा आफ्नो कारोबार सम्हाल्न मात्रै रम्तेललाई शेयर सदस्य बनाएको सहकारीका बचतकर्ताहरू दाबी गर्छन्। “चेनी क्यापिटल पनि जीबी राईको हो भन्नेमा शंका छ। सहकारीमा समस्या आएपछि आफूलाई बचाउन राईले रम्तेललाई कम्पनीमा प्रवेश गराएको भन्ने बुझेको छु,” संघर्ष समितिका सहसंयोजक नन्दु तन्डुकारले भने।

आफ्नो हिस्सा सहकारी पीडितलाई दिन किन तयार भए रम्तेल?
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र कोषाध्यक्ष कुमार रम्तेलले जग्गाको कारोबार गरिरहँदा बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलन चर्काएको देखिन्छ। आफूविरुद्ध आन्दोलन चर्किंदै गएपछि रम्तेलले चेनी क्यापिटलमा आफ्नो ३० प्रतिशत शेयर रहेका बेला ५० प्रतिशत शेयर रहेको भन्दै उक्त शेयर बिक्री गर्दा वा हक हस्तान्तरण गर्दा बचतकर्ताको सहमति लिने भनेर सम्झौता गरेको भेटिएको छ। 

२०८० वैशाख ६ गते बचतकर्ताहरूका प्रतिनिधि कीर्तिपुर नगरपालिका–११ का प्रचन्द्रमान प्रधान र शान्तकृष्ण साहीसँग रम्तेलले यस्तो सम्झौता गरेको प्रमाण फेला परेको छ। बचतकर्ताको रकम भुक्तानी गर्न सहकारीले नसकेको, बचतकर्ताले कम्पनीको नाममा रहेको अचल सम्पत्ति बिक्री गरेर आफ्नो बचत रकम फिर्ता गर्न माग गरेको र त्यो आफूले स्वीकार गरेको रम्तेलले सम्झौतापत्रमा भनेका छन्। सम्झौतामा बचतकर्तालाई आफैले जग्गा खरिद गर्न सक्ने वा उनीहरूले ग्राहक लगाएर जग्गा बिक्री गर्न सहयोग गरी त्यसबाट प्राप्त रकम लिन सक्ने सुविधा दिइएको छ। 

तर सम्झौतापत्रमा कुन–कुन कित्ताको कति जग्गा बिक्री गर्दा वा हक हस्तान्तरण गर्दा बचतकर्ताको सहमति चाहिने हो भन्नेबारे स्पष्ट छैन। कम्पनीको नाममा रहेको पूरै जग्गाको कित्ता र त्यसको क्षेत्रफल खुलाएर सम्झौतापत्र तयार पारिएको छ। 

त्यही दिन बचतकर्ताहरूका प्रतिनिधि प्रधान र साहीसँग रम्तेलले त्यस्तै अर्को सम्झौता गरेको भेटिएको छ। सम्झौताअनुसार रम्तेलले जग्गा दिने भन्दै ५० करोड बैनासमेत गरेको देखिन्छ। उनले बचतकर्ताहरूको रकमबाट चेकमार्फत प्रतिआना २७ लाख रुपैयाँ मूल्य कायम गरी पछि सुविधासम्पन्न घरघडेरी विकसित गरेपछिको मूल्य दुवै पक्षको आपसी सहमतिमा तय गर्ने उकालोलाई प्राप्त बैनाको कागजातबाट प्रष्ट हुन्छ। 

सम्झौतामा ६ महिनाभित्र मालपोत कार्यालयमा उपस्थित भई जग्गाको जम्मा मूल्यको बैनाबट्टा बापत बुझी लिएको रकम घटाई बाँकी हुन आउने मूल्यको रकम बुझ्ने सहमति भएको उल्लेख छ। त्यतिबेला सँधियारहरूको रोहबरमा फिल्ड नापजाँच गरी नक्सा र फिल्डमा ठहरे बमोजिमको क्षेत्रफलको मात्र कारोबार हुने गरी बचतकर्ताका प्रतिनिधि वा उनीहरूले इच्छाएका व्यक्तिको नाममा रजिस्ट्रेसन पारित गरिदिने सहमतिसमेत भएको छ। 

त्यति मात्रै होइन, रम्तेलले कुनै कारणवश बचतकर्ताका प्रतिनिधिसँग गरेको सम्झौताअनुसार जग्गाको रजिस्ट्रेसन पास नभएमा आफ्नो नाममा रहेको अन्य सम्पत्तिबाट प्रचलित कानूनअनुसार रकम असुलउपर गर्न अनुमतिसमेत दिएका छन्। सम्झौतापत्रमा सहकारीका अध्यक्ष राई, व्यवस्थापक काठमाडौँ बानेश्वरका नवीन अछामी र काठमाडौँ–१४ का प्रकाश नकर्मी साक्षी बसेका छन्। सम्झौता भएपछि बचतकर्तालाई बचत रकमको २० प्रतिशत हिस्सा जग्गाको बैनाका लागि भन्दै प्रतिनिधि प्रचन्द्रमान प्रधानको नेतृत्वमा चेक संकलन गरिएको थियो।  

पक्राउ परेपछि कम्पनीको शेयर बेच्न भान्जालाई अख्तियारनामा 
रम्तेलले बचतकर्ताहरूका प्रतिनिधि प्रधान र साहीसँग गरेको सम्झौता कार्यान्वयन गर्न आलटाल गर्छन्। त्यही बेला (२०८० भदौ २५ गते) रम्तेल पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्छन्। उनी उक्त सहकारीको पनि कोषाध्यक्ष थिए। 

पूर्वअध्यक्ष रहेका जीबी राई लगायतका सात जनाले संस्थाको बचत रकम हिनामिना गरेको भन्दै ९७१ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएपछि रम्तेल पक्राउ परेका थिए। जाहेरीमा उनीहरूले एक अर्ब आठ करोड ११ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरेका थिए। रम्तेल पक्राउ गरेपछि आफ्नो बचत रकम फिर्ता होला या त्यस बराबरको जग्गा मिल्ला भन्ने आशामा रहेका बचतकर्ताहरू निराश बनेका छन्। 

पक्राउ परेपछि रम्तेलले बचतकर्ताहरूसँग गरेको पूर्वसहमति भंग गर्ने प्रयास थालेको देखिन्छ। आफू प्रहरी हिरासतमा रहेका बेला २०८० साउन २८ गतेको मिति राखेर रम्तेलले सहकारीका व्यवस्थापक रहेका आफ्ना भान्जा नवीन अछामीको नाममा कम्पनीको शेयर सार्न खोजेको देखिएको छ। पत्रमार्फत अछामीले आफ्नो नामको कम्पनीमा कायम रहेको शेयर जो कसैलाई बिक्रीवितरण र हक हस्तान्तरण गर्ने अधिकार दिएका छन्। 

स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलले व्यवस्थापक नवीन अछामीलाई शेयर बिक्रीका लागि अधिकार हस्तान्त्रण गरेको पत्र।

त्यसपछि कम्पनीमा रम्तेलको नाममा कायम शेयर के गरियो भन्ने खुल्दैन। बचतकर्ताहरू भने सम्झौता कार्यान्वयनमा नआएको भन्दै आक्रोशित छन्। यस बीचमा केही बचतकर्ताहरू रम्तेललाई भेट्न कास्की जेलमा समेत पुगेका थिए। तर रम्तेलले ‘पैसा पाउने दिवास्वप्न नदेख्नू’ भन्दै उल्टै धम्की दिएर आफूहरूलाई फर्काएको उनीहरू बताउँछन्। 

“हामीले बचत रकम फिर्ता दिलाउन सहयोग गर्नुपर्‍यो भन्ने माग रम्तेलसँग राखेका थियौँ,” उनलाई भेट्न कास्की जेल पुगेका एक बचतकर्ताले भने, “तर हामीलाई उनले अब बचत रकम फिर्ता आउँछ भन्ने दिवास्वप्न नदेख्नू भन्दै उल्टै धम्क्याए।” यस्तो सुनेका बचतकर्ताहरू त्यसयता झन् तनावमा छन्।  

गत वैशाख २१ गते ५२८ जनाको किटानी जाहेरी दर्ता भएपछि प्रहरी वृत्त कालीमाटीले सहकारीमा रहेका कागजात जफत गरेको थियो। तर महत्त्वपूर्ण कागजात यसअघि नै सहकारीबाट गायब पारिएकाले अनुसन्धान गर्न कठिनाइ भइरहेको वृत्तका एक प्रहरीले बताए। यस बीचमा बचतकर्ताहरू प्रहरी वृत्तमा पटक–पटक पुगे। तर प्रहरीले अनुसन्धान जारी रहेको जवाफ दिने गरेको उनीहरूको गुनासो छ। 

स्वर्णलक्ष्मीसँगै राई, रम्तेल र अछामी संलग्न पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, नेपालगन्जको समता र वीरगन्जको सानोपाइला सहकारीको काम एउटै सर्भरबाट हुँदै आएको थियो। सूर्यदर्शनमा बचत रकम हिनामिनाको आरोप लागेपछि उक्त सर्भर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको छ। उक्त सर्भर ल्याएर अध्ययन नगरेसम्म स्वर्णलक्ष्मीबाट कसले कति रकम हिनामिना गर्‍यो भन्न नसकिने कार्यालयका एक प्रहरी अधिकृतले बताए।


सम्बन्धित सामग्री