साम्प्रदायिक तनावको अवस्था सिर्जना हुन नदिनेतर्फ प्रयत्न भएकै छैन। यस्तै ताल हुने हो भने फेरि पनि चाड–उत्सवमा तनाव हुने नै छ र त्यसले ठूलै संहार निम्त्याउने जोखिम पनि उत्तिकै छ।
प्रजातन्त्र पुनर्स्थापना ताजाताजै थियो। आफ्नो चोक–बजारमा बरालिने उमेर शुरू भएको थियो। पाँच किलोमिटर पश्चिमको हरिवन बजारका केही मुस्लिम नवलपुर चोकमा देखिए, भेगकै प्रख्यात ‘स्टाण्डर्ड टेलर्स’का सञ्चालकसहित। दक्षिणतिर हान्निएका उनीहरू नै हरिवनमा साम्प्रदायिक तनाव बढ्न लागेका कारण सुरक्षितस्थलतर्फ लागेको बुझियो। हामी अल्लारेहरू रमित हेर्न बस चढ्यौँ।
हरिवन हाटबजारको पुछारस्थित गाउँपञ्चायत अफिसमा भीड थियो। काठको घरमा रहेको गाउँ पञ्चायत अफिसको माथिपट्टिबाट कांग्रेस नेता केशव मैनाली ह्यान्ड माइकबाट शान्त हुन अपिल गरिरहेका थिए, भीडचाहिँ उग्र थियो। ‘दोषीहरू उम्किदैनन, कारबाही हुन्छ’ भन्दै आश्वस्त पार्न खोजिरहेका थिए, केशव दाई। केही मुस्लिमहरूलाई अफिसकै एउटा कोठामा थुनिएको थियो। भीड अनियन्त्रित बन्दै थियो– भीड झ्यालबाट भाला, लौरो घूसाएर उनीहरूलाई आक्रमण गर्न खोजिरहेको थियो।
पुलिसको गाडी पनि आइसकेको थियो। उनीहरूलाई अफिसबाट ओरालेर गाडी चढाई लैजान लाग्दा गुटुटु दौडिएको देखिएको एकजना मान्छे भुईंमा लड्यो, ढुंगा/लौरो के–के प्रहार भयो, तत्कालै उसको ज्यान गयो। लगत्तै एकजना महिला लाशअघिल्तिर रुन थालेपछि हेर्न नसकी फेरी घर जान बस चढियो। अहिले बुझ्दा ती मृतक शेख नुर मोहम्मद थिए, उमेर ५० नजिक थियो। (संस्मरण सुजित महतको हो)
स्थानीय दिलिप राजभण्डारीका अनुसार हरिवन चोकको हनुमान थानमा मुस्लिमले राति मुत्दियो भनेर नजिकै बस्ने एकजनाले हल्ला गरिदिएपछि त्यो दिन बिहानैदेखि मान्छे जम्मा हुन थाले। राजमार्ग छेउमा भीडभाड देखेपछि बस/ट्रक रोकेर ड्राइभर–प्यासेन्जरहरूले के भयो सोध्न थाले। मुस्लिमले हनुमान थानमा मुत्दियो भनेको सुनेपछि तिनले भीडलाई उत्तेजित बनाइदिन थाले। केही ‘सरदारजीहरू’ (उतिबेला राजमार्गमा चल्ने केही बस र अलिधेरै ट्रकमा ड्राइभर पञ्जाबी शिखहरू हुन्थे)ले भीडलाई उत्तेजित/हिंसक बनाउन निर्णायक भूमिका खेलेको सम्झिन्छन्।
मृतकका छोरा शेष कमरुद्दीनका अनुसार २०४७ सालको कात्तिक १९ गतेको घटना थियो। हनुमान थानमा फोहोर गर्ने भनिएकाको पहिचान गरी दण्डित गर्न पञ्चायती हुने भनी उनका बुवाका साथै मामा अब्दूल वहाब, शेख असिम आदिलाई गाउँ पञ्चायत भवनमा बोलाइएको थियो। उत्तेजित भीड त्यतै जम्मा भएपछि छलफलमा पुगेका हिन्दु भद्रभलाद्मी कोठामा मुस्लिम प्रतिनिधिहरूलाई चाडेर चुकुल लगाइदिइ बाहिरिए। त्यसपछि भीड झन उत्तेजित हुँदै गर्दा उनले अभिभावक गुमाएका थिए। उनकै घरमा डेरा गरी बस्ने भारतीय नागरिक नुरुल हसनलाई लखेट्दै राजमार्गमा हत्या गरिएको थियो। मरेकै ठानेर बावुको लाशसँगै गाडीमा हालिएका उनको सास रहेकाले जनकपुरमा उपचार भयो, केही दिन अचेत भएका उनी तङ्ग्रिए।
घटनापछि आक्रमणमा संलग्न धेरैको भागाभाग भयो। केही विरुद्ध मुद्दा चल्यो। टाउकोमा ढुंगा बजारेर खुत्रुक्कै पार्नेचाहिँ विपन्न दलित समुदायका थिए। त्यतिवेला ३१ वर्षका कमरुद्दीनका अनुसार स्थानीय पञ्चहरूले षडयन्त्र गर्दा दुईजनाको ज्यान जाने उक्त घटना भएको थियो। पञ्चायतकालदेखि नै कांग्रेसी भनेर चिनिएका कारण त्यसरी फँसाइएको उनको बुझाइ छ। पञ्चायतकालदेखि कांग्रेसी कमरुद्दीन अहिले पनि पार्टीको क्षेत्रीय प्रतिनिधि छन्, महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।
भुसाहाको भयङ्कर दङ्गा
२०२८ सालको असोज १९ गते, रौतहट जिल्लाको तत्कालीन गम्हरिया बिर्ता गाउँ पञ्चायत (हाल वृन्दावन नगरपालिका) भुसाहा टोलका जाहिर मियाँले साँझ बाच्छी हलाल गरेका थिए। भोलिपल्ट छिमेकीलाई जाहिरले मासु किन्न प्रस्ताव गरेपछि तिनै छिमेकीले गाउँका हाजीलाई कुरा लगाइदिए। हाजीले फेरी मौलबी, गण्यमान्य मुस्लिमसहित बसेर छलफल गरेपछि प्रधानपञ्च रामनारायण यादवसमक्ष कुरा पुर्याउने निधो भयो। प्रधानपञ्चले नजिकैको शिवनगर प्रहरी चौकीलाई उपस्थितिका लागि खबर पठाए।
प्रहरीसहितको टोली जाहिरलाई खोज्न घर पुग्यो। भकारीमा लुकेर बसेका उनलाई समातेर हात बाँधेर ल्याई नजिकै बगैंचामा पञ्चायती बस्यो। पञ्चायतीमा करिब हाजी, मौलबी, भद्रभलाद्मीसहित ८/९ जना मुस्लिम उपस्थित रहँदा गोबध गरेकामा उत्तेजितको संख्या दुईसय जति थियो। जिल्ला पञ्चायत सदस्य दुर्गा यादवसमेत थिए। एकजना उत्तेजित युवकले अन्धाधुन्द छुरा हानेपछि हात बाँधेर खडा गरिएका जाहिरको दुवै आँखा फुटे। भीडले थप भकुर्न थालेपछि घटनास्थलमै उनको मृत्यु भयो।
त्यही समूहले जाहिरको लाशलाई मट्टिटेल हालेर जलाइदियो नै, त्यसै साँझ भुसाहा गाउँमा मुस्लिमहरूको घर आगजनी गरी अधिकांश घरहरू खरानी बनाइदियो। भीडलाई उक्साउने काम जिल्ला पञ्चायत सदस्य दुर्गा यादवले गरिरहेका थिए। उत्तेजित भीड २१ गते बिहानैदेखि भुसाहाका साथै तीन गाउँमा छिरेर लुटपाट र आगजनी गर्न थाल्यो। अघिल्लै रात भागेर चन्द्रनिगाहपुर पुगेका मौलवीले २२ गते वीरगन्ज पुगेर अञ्चालाधीशसमक्ष घटनाबारे जानकारी गराएका थिए। एसपी (नारायणी अञ्चल प्रहरीको प्रमुख) रनविर थापाले सत्यतथ्य बुझ्न सई पदमबहादुर तामाङसहित तीनजनाको टोली घटनास्थलतर्फ पठाए।
मौलबी वीरगन्जबाट रक्सोल गई रेल चढेर बैरगनियाँ पुगी सदरमुकाम गौरमा सीडीओलाई २३ गते घटनाबारे अवगत गराउँदा हिंसात्मक दङ्गाबारे सुरक्षा निकाय बेखबर झैँ सुनिए। त्यही दिन सीडीओ र इन्सपेक्टर (त्यतिवेला जिल्ला प्रहरी प्रमुख इन्सपेक्टर हुन्थे)को टोली दङ्गास्थल पुग्यो। दङ्गाईहरूले निशाना बनाउने हल्ला चलेको बिर्ता गाउँमै मुकाम गरी रात बिताएपछि घटनाबारे केन्द्रमा जाहेर गर्न भनि २४ गते बिहान सीडीओको टोली सदरमुकामतिर लाग्यो। वीरगन्जबाट गएको सई पदमबहादुरको टोली पनि पुगिसकेको थियो। सदरमुकामबाट परिचालन गरिएका थप १० जना प्रहरीको टोलीले माइकिङ गरी शान्ति बहाल गर्न अपिल गर्यो, पाँचजनाभन्दा बढी भेला हुन निषेध गरियो। तै पनि बिर्तामा त्यही दिन आगजनी/लुटपाट भइछाड्यो।
भुसाहामा आगजनी–लुटपाट भएदेखि नै त्यहाँका धेरै मुस्लिमहरूले शरण लिइरहेको लक्ष्मिनियाँ गाउँमा आक्रमण गर्न हिँडेको दङ्गाईहरूको टोलीसँग बाटैमा झडप हुँदा प्रहरीले गोली हानी तितरबितर पारेको थियो। तैपनि दङ्गाईहरूले लक्ष्मीनियाँ गाउँ घेरा हालेर आक्रमण प्रयास गर्दा प्रहरीसँग फेरी झडप भयो। दङ्गाईहरूले फायर खोलेपछि गोली हानाहान भएको थियो।
प्रहरीले गोली चलाउन थालेपछि चाहिँ दङ्गा नियन्त्रण हुँदै गयो। तीनजना मुस्लिम र एकजना हिन्दु मारिएको भनियो। घटनास्थलमा परिचालित प्रहरीहरूलाई सोध्दा ४२ जना मारिएको सुनेको बताए। तर लास बरामद खासै भएको अभिलेख भेटिएन। दङ्गा गर्न भारतीयहरू पनि मिसिएकाले पनि यकिन गर्न गाह्रो परेको देखियो।
शान्ति सुव्यवस्था कायम गर्न जिल्ला पञ्चायत सभापति हरिहर यादव (यिनै हरिहर प्रजातन्त्र पुनर्स्थापना पछि कांग्रेसमा प्रवेश गरी ०४८ सालमै टिकट पाएका थिए, २०५१ सालमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए) सदस्य दुर्गा यादवसहित १२ जनालाई सुरक्षा कानून अन्तर्गत वीरगन्जमा थुनिएको थियो। प्रहरी अभिलेखअनुसार १५८ राउण्ड गोली चलाइएको थियो।
दङ्गा नियन्त्रण भएपछि वीरगन्जमा एसपी बदली गरी सूर्यबहादुर राईलाई पठाइयो। रामनारायण श्रेष्ठलाई विशेष अधिकृतका रूपमा खटाई राहत कार्यक्रम सञ्चालन गरिएको थियो। गृहसचिव क्षेत्रविक्रम राणाको अध्यक्षतामा प्रशासनिक आयोग गठन गरी काम शुरू गरियो। सीडीओको मौखिक आदेशमा गोली हानिएको थियो, लिखित आदेश नभएका कारण इन्सपेक्टरसम्मका प्रहरीहरू कारबाहीमा परे।
तत्कालीन गृहमन्त्री शम्भुप्रसाद ज्ञवालीले दङ्गाग्रस्त क्षेत्रको दौडाहा गरी फर्केपछि इन्सपेक्टरलाई बर्खास्त गरियो। सीडीओलाई स्पष्टिकरण सोधेर अन्यत्र सरुवा गरियो। विशेष अदालत वीरगन्जमा स्थापना गरी उजुरी आह्वान गर्दा १२/१३ वटा आगजनीको मुद्दा र ज्यानसम्बन्धी सातवटा मुद्दा परेको थियो। राजाले भ्रमण गर्दा जाहिर मियाँको घर पुगेका थिए। (यो घटनाक्रम श्यामसिंह थापाको पुस्तक ‘नेपालका चर्चित दङ्गाहरू’बाट लिइएको हो, थापा अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक हुन्)
तत्कालीन गृहमन्त्री ज्ञवालीले ‘व्यक्ति र विचार’मा उल्लेख गरेअनुसार इरानका शहन्शाह महम्मद रजाशाह पहलवीको निम्तोमा रानीसहित इरानी राजसत्ताको पच्चीस सयौँ वर्ष जयन्तीको अवसरमा रानीसहित इरान जाने तयारी भइरहेकै वेला रौतहटमा दङ्गा भड्किएको थियो। त्यसैबेला मन्त्रिपरिषद् बैठकमा राजाले ‘इरान भ्रमण रद्द गर्नपर्छ कि’ भनेर सोधेका पनि थिए। प्रधानमन्त्री (कीर्तिनिधी विष्ट) र ज्ञवालीले ‘हामी छौँ, सम्हालिहाल्छौँ’ भनेपछि राजा इरान गएका थिए।
दङ्गाईहरू आगजनी/लुटपाट गर्दै अघि बढेर बारा जिल्लामा पनि फैलिसक्ता अञ्चलाधीश र सीडीओ निष्क्रिय भई बसिदिएका थिए। प्रशासकहरूलाई सक्रिय पार्न स्वयम जिल्ला जान्छु भनी रक्षा मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्रीसँग हेलिकप्टर माग्दा नपाएको गुनासो ज्ञवालीले उल्लेख गरेका छन्। गृहसचिव क्षेत्रविक्रम राणासँग सल्लाह गर्दा केन्द्रबाट सशस्त्र प्रहरीको एउटा टुकडी पठाई हवाई फायरिङ गर्दा दङ्गा रोकिने सल्लाह दिए। ‘तदनुसार आईजिपी रोमबहादुर थापालाई अह्राउँदा दशैँ बिदा परेकाले पैसा झिक्न, गाडी मिलाउन मुश्किल छ जस्ता कुराहरू गर्न थाल्नुभयो,’ ज्ञवालीले लेख्छन्, ‘कुनैकुरा जान्दिनँ, आजै त्यसतर्फ सशस्त्र प्रहरी रमाना गरी खबर गर्नुस, अन्यथा राजदरबारमा रिपोर्ट गर्न बाध्य हुनेछु भनी मैले भनेँ।’ त्यसैदिन रमाना भएका सशस्त्र प्रहरीको टुकडीले बल प्रदर्शन गरेपछि दुवै जिल्लामा दङ्गा नियन्त्रण भएको थियो।
यही सिलसिलामा नारायणी अञ्चलाधीशलाई दङ्गाबाट क्षतीग्रस्त क्षेत्रमा गई हेर्नभन्दा सञ्चो नभएको जवाफ दिएका थिए। पछि कलैयासम्म पुगेर फर्किएको जानकारी पाइयो। दङ्गा नियन्त्रण हुनासाथ कात्तिक ५ गते सडक मार्गबाट रौतहट र बारा जिल्ला पुगेर सरकारी र गैरसरकारीस्तरबाट भइरहेका उद्दार र सहायता कार्यको जानकारी लिइ कात्तिक ७ गते ज्ञवाली फर्केका थिए।
राजप्रतिनिधि परिषद्का अध्यक्ष युवराज वीरेन्द्रबाट कात्तिक ११ गते दङ्गाको जाँचबुझ गर्न सर्वोच्चका न्यायाधीश झपटसिंह रावलको एक सदस्यीय आयोग गठन गरेका थिए। आयोगले निर्धारित २२ दिनमै प्रतिवेदन बुझाएको थियो। आयोगले गोबधको निहूँमा इबि साँध्ने र धनमाल लुट्ने नियतबाटै दङ्गा गराइएको निष्कर्ष निकाल्यो। गम्भीर फौज्दारी कसुरबाट जोगिन घटनालाई साम्प्रदायिक रंग दिइएको उल्लेख गर्यो। ‘सरकारबाटै लुटमार गर्न छुट छ भन्ने भ्रम सिर्जना गरी हल्ला फिँजाई लुटेराहरूको जमात हुन गएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो अवस्थामा स्थानीय र अञ्चल प्रशासनले आफ्नो कर्तव्य समयमै पूरा गर्न नसकेकाबाट लुटेराहरूलाई मनोबल मिल्न गई रौतहट तथा बारा जिल्लाका गाउँहरूमा लुटेराहरूले लुट्ने र आगो लगाउने कार्य गरेबाट धनजनको क्षती पुग्न गएको छ।’
प्रतिवेदनअनुसार सरकारबाट हुनपर्ने कारबाही भएपश्चात एक दिन राजदरबारबाट बोलावट भएपछि गृहमन्त्री ज्ञवाली राजीनामा पत्र कोटको खल्तिमा हालेर पुग्दा राजाले दङ्गाग्रस्त क्षेत्र भ्रमण गर्न चाहेका सुनाए। ज्ञवालीले घटनाको उत्तरदायित्व लिई राजीनामा गर्न चाहेको सुनाउँदा राजाले मानेनन्।
मंसिर २२ गते हेलिकप्टरमार्फत राजा महेन्द्र दङ्गाग्रस्त क्षेत्रमा उत्रिए। अघिल्लो दिनमात्रै पूर्वी पाकिस्तान बांग्लादेशको रूपमा स्वतन्त्र राष्ट्र बनेको थियो। ‘हेलिकप्टरबाट उत्रिएर जिपतर्फ अघि बढ्दैगर्दा राजाले म र गृहसचिवतर्फ नजर हुँदै हामीलाई पनि लिबरेट गर्छ कि भन्ने हुकुम भयो,’ ज्ञवाली अघि लेख्छन्, ‘पूर्वी पाकिस्तानलाई लिबरेट गर्न भारतको भूमिकातर्फ संकेत गरेको बुझी मैले त्यहाँ र हाम्रो स्थिति फरक छ भनेर बिन्ती गरेँ।’
हेलिप्याडबाट राजा जिपमा चढेर सोझै भुसाहा गएका थिए। हेलिप्याडबाट भुसाहासम्मको दुई माइल दूरीमा बाटोको दुवैतिर राजालाई स्वागत गर्न स्थानीय लामबद्ध थिए। तिनलाई इंगित गरी राजाले दङ्गा गर्ने यिनै हुन् भनेर सोध्दा ज्ञवालीले यिनमा हुनसक्छन् भनेका थिए। भुसाहामा उनले स्थानीयलाई सम्बोधन पनि गरेका थिए। काठमाडौँ फर्केपछि राजा पुष २ गते बारा पुगेका थिए। बारामा दङ्गाग्रस्त क्षेत्रहरूको भ्रमण पछि राजाले चिउटाहाको स्कुल मैदानमा भेला भएका स्थानीयलाई सम्बोधन गरेका थिए।
नेपालगन्जमा तनावै तनाव
२०५४ साल जेठ ४ गते स्थानीय निकाय निर्वाचनको पहिलो चरणको मतदानका क्रममा वडा नम्बर ९ स्थित महेन्द्र माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्न पुगेका कमालुद्दिन अन्सारीको उमेर विवादले अन्ततः साम्प्रदायिक दङ्गाको रूप लियो। मुस्लिमबहुल सो ठाउँमा मतदाता नामावलीमा उमेर २० वर्ष उल्लिखित कमालुद्दीनलाई शिवसेना उम्मेदवारका प्रतिनिधीले १२ वर्षीय बालक भन्दै मतदान गर्न दिएनन्। भनाभन हानाहानमा परिणत हुन बेर लागेन, मतदान केन्द्रमा ढुंगामुढा, इँटा प्रहार र मतपेटिका तोडफोड हुन थालेपछि मतदाताको भागाभाग भयो।
उतिवेला शिवसेना नेपालका मध्यपश्चिमाञ्चल क्षेत्रीय कमाण्डर किरण बुढोथोकीले १२ वर्षको बच्चालाई मतदान गर्न नदिएको दाबी गरेका थिए। कमालुद्धिनले चाहिँ मतदाता नामावलीका साथै अन्य कागजातले पनि आफ्नो उमेर पुष्टि गर्ने जिकिर गरेका थिए। घटनाबारे ‘हिमाल’ (उतिवेला द्वैमासिक)का लागि शिव गाउँलेसँग कुरा गरेका एक सरकारी कर्मचारीले उमेर विवाद निहुँ मात्र भएको बताएका थिए। मुस्लिम मत संगठित रूपमा नेकपा (एमाले) का उम्मेदवारतर्फ जाने संकेत पाएपछि विपक्षी पक्षले बहाना खोजेको ति कर्मचारीले बताएका थिए।
विवाद तत्कालै वडा नम्बर ११ सम्म फैलियो। त्यहाँ मुस्लिमहरूले बुथ कब्जा गरेको हल्ला चलेपछि शिवसेना समर्थक त्यता दौडिए। यसै क्रममा चाँद अलीले त्रिभुवन चोकमा गोली चलाएपछि स्थिति झनै हिंसात्मक बन्यो। वडा नम्बर ९ स्थित चाँदनी बर्माको घरमा बसेका हिन्दु युवाहरूपनि कट्टा लिएर सडकमा ओर्लिए। बेलुका ४ बजेसम्म नेपालगन्जका वडा नम्बर ८, ९, ११, १४ र १५ मा मतदान स्थगित गरियो र जिल्ला प्रशासनले कर्फ्यू जारी गर्यो। एमालेबाट उपमेयर उम्मेदवार समसुद्दीन सिद्धिकीका भाइ चाँद अली लखनउ विश्वविद्यालयका विद्यार्थी थिए। यद्यपि कांग्रेस र एमाले दुवैले उनलाई आफूहरूले नबोलाएको बताएका थिए।
कर्फ्यू जारी भए पनि हिंसा रोकिएन। घर, पसल र बैंकमा आगजनी तथा लुटपाटका घटना भइरहे। शिव गाउँलेको रिपोर्टअनुसार नेपालगन्ज र आसपासका क्षेत्रमा करिब ९० वटा घर तथा पसलमा आगजनी भएको थियो, जसमध्ये अधिकांश मुस्लिम समुदायका थिए। कपडा, तरकारी, साइकल, आरन तथा पान पसलसमेत निशानामा परे। वडा नम्बर ४ स्थित एम.इसा कन्सर्न कपडा पसलमा पटक–पटक आगो लगाएर ध्वस्त पारिएको थियो। कतिसम्म भने फारुक अहाम सिद्धिकीको उक्त कपडा पसलमा ६ र ७ गते आगो लगाउँदा पूरा नजलेकाले ८ गते फेरि आगो लगाएर नष्ट गरिएको थियो। जेठ ४, ५ र ६ गतेसम्म कर्फ्यू जारी रहँदा पनि नेपाल–भारत सीमावर्ती गाउँ टङ्कपसेरीका मुस्लिम युवा फजल कवडियाको हत्या भयो। कर्फ्यू उल्लंघन गरेको आरोपमा पक्राउ परेका १९ जनालाई एक महिना कैदको फैसला सुनाइए पनि उनीहरू दुई दिनमै रिहा भएका थिए। यस घटनामा कुल २७ जना घाइते भएका थिए।
स्थानीयवासीले दङ्गाको प्रमुख कारण प्रशासनको फितलो सुरक्षा व्यवस्थालाई मानेका थिए। खुलेआम गोली चल्दा पनि प्रभावकारी जवाफी कारबाही नगर्नु, भीडन्त भइरहँदा सुरक्षा निकाय निष्क्रिय देखिनु तथा प्रहरीकै आँखा अगाडी लुटपाट र आगजनी हुनु प्रशासनको असफलताका रूपमा हेरिएको थियो। नेपालगन्जबाट प्रकाशित ‘शङ्खनाद’ साप्ताहिकले पनि समयमै सुरक्षा निकाय सक्रिय भएको भए हिंसा, तोडफोड र लुटपाट रोक्न सकिने उल्लेख गरेको थियो। शिव गाउँलेले जेठ ९ गतेको सम्पादकीय कोट गरेका छन्, ‘प्रहरी, प्रशासन बेलैमा सक्रिय भएको भए र अपराधीलाई कारबाही गरिएको भए यस्तो स्थिति उत्पन्न हुने थिएन। यसो भएको भए नेपालगन्जलाई हिंसा, तोडफोड र लुटमारबाट बचाउन सकिने थियो।’
नेपालगन्जमा यस्ता घटना विगतमा पनि पटकपटक भएका थिए। गाउँलेका अनुसार २०३१–३२ सालतिर महिलामाथि हातपात भएको घटनालाई लिएर दुई सम्प्रदायकै बीच विवाद चर्किएको थियो। ०४९ सालको कात्तिक तिहारमा बेला देउसी–भैलो खेल्ने र नमाज पढ्ने समूहबीच विवादले दङ्गाको रूप लिएको थियो। २०५१ सालको मंसिरमा पनि नेपालगन्जमा अशान्ति फैलिएको थियो। त्यतिबेला वडा नम्बर ४ स्थित धर्मशालाअगाडि रहेको शिवालय इनारको जीर्णोद्धार गर्ने क्रममा दुवै समुदायबीच भीडन्त भएको थियो।
नेपालगन्जमा सामान्य व्यक्तिगत विवाद साम्प्रदायिक तनावमा रूपान्तरण भएका उदाहरणहरू थिए। २०५२ साल कात्तिक ८ गते बिहान त्रिभुवन चोक पूर्व लाइनका तरकारी व्यवसायी राजु कावडिया र श्याम श्रेष्ठबीच तरकारीको मूल्यलाई लिएर उत्पन्न विवाद साम्प्रदायिक तनावमा पुगेर पसलहरू खोजी–खोजी आगजनी गर्ने हदमा पुगेको थियो। इन्सेकले सन् १९९५ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार उक्त भीडन्तमा दुवै पक्षका गरी २० जना घाइते भएका थिए भने करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको थियो।
साम्प्रदायिक तनाव बढाउने चलखेल
मधेशमा आन्दोलनको अलख जगाउने शुरूवात देखिनै उपेन्द्र यादवले मुस्लिम समुदायलाई आफूतिर आकर्षित गरे। बिहारमा मुस्लिम–यादव (एमवाई/माई) को गठजोडबाट डेढ दशक अनवरत शासन गरेका लालु यादवबाट प्रभावित देखिन्थ्यो, उनको रणनीति। यसैले मधेशमा हल्का धार्मिक ध्रुवीकरणका बावजुद मुस्लिम समुदायको साथ उनले पाए। मधेशको पहिलो पहिलो मुख्यमन्त्री मुस्लिम समुदायकै लालबावु राउतलाई रोजे। तर मधेशको रापताप थिग्रिँदै गर्दा धार्मिक ध्रुवीकरण गराउने प्रयत्न संगठितरूपमै शुरू भएको देखिन्छ। यसमा छिमेकमा गहिरिँदै गएको हिन्दुत्वको राजनीतिले काफी प्रभाव पारेको बुझ्न सकिन्छ।
संविधानमार्फत २०७२ सालमा आन्दोलनहरूले एउटा सम्झौतामा विश्राम लिए पनि संविधान जारी हुनेताका मधेशमा भएको आन्दोलनमा अधिक बल प्रयोगले गर्दा २०७४ सालको आमचुनावसम्म मधेशमा दुई साम्प्रदायबीच एकता कायमै देखिएको थियो, त्यसयता चाहिँ ध्रुवीकरणको प्रयत्नले जोड पक्रिएको देखिन्छ। धार्मिक नामका संघ–संस्थाहरू घोषणा गर्ने, तिनै नाममा अर्को सम्प्रदायलाई उत्तेजित पार्ने कामले गति लिँदै गएको छ। यसक्रममा धार्मिक उत्सवलाई शक्ति प्रदर्शनजसरी अभ्यास गर्ने, अर्को सम्प्रदायलाई ‘इरिटेट’ गर्ने गतिविधि क्रमशः संस्थागत बन्दै गएको छ।
‘कान्तिपुर’ मै प्रकाशित समाचारहरू अनुसार पनि २०७५ यता कम्तिमा १७ वटा घटनाको अभिलेख भेट्टियो। सुनसरी–बाँकेसम्म तराई–मधेशमा भएका ती घटनामध्ये ११ घटना चाडको बेला निकालिने शोभायात्रा, मूर्ति विसर्जनका क्रममा भएका थिए। (कान्तिपुर, १८ साउन)
उदाहरणको लागि २०७९ सालको रामनवमी ताका कुनै संस्थाले जानकी मन्दिरनेर रहेको मस्जिद त्यहाँबाट हटाउने माग गर्यो, केही स्थानीय अखबारले त्यसलाई ‘ब्यानर न्यूज’ बनाइदिए। रामनवमीकै दिन (चैत १६) एउटा समूहले मस्जिद अघिल्तिर पुगेर होहल्ला गर्यो। सामान्य तनाव उब्जिए पनि हिंसात्मक झडप भएन। उक्त मस्जिद जानकी मन्दिर निर्माणार्थ टिकमगढबाट आएका मुस्लिम कालीगढहरूले निर्माण गरेकाले जानकी मन्दिरजत्तिकै पुरानो इतिहास भएको मानिन्छ।
२०८१ सालको गणेश चतुर्थीको भोलिपल्ट मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि जारी कर्फ्यू/निषेधाज्ञाले सर्लाहीको मलंगवा तंग्रिन लामो समय लिएका थियो। असोज ४ देखि १४ गतेसम्म कर्फ्यू र निषेधाज्ञा लगाउन परेको थियो। यसअघि कृष्ण जन्माष्टमीको (जन्माष्टमी भदौ २०, मूर्ति विसर्जन २२) मूर्ति विसर्जनका क्रममा भदौ २३ देखि २७ गतेसम्म कर्फ्यू र निषेधाज्ञामार्फत सम्भावित दङ्गाबाट पार पाइएको थियो।
लगत्तै आएको दशैँमा मलंगवामै मूर्ति विसर्जनकर्ताको क्रममा झडप हुनसक्ने बाटोबाट जान खोज्ने समूह र अर्कै बाटोबाट लैजान खोज्ने प्रहरीको दबावको चेपुवामा परेपछि मूर्ति लोड गरिएको गाडीको चालक नै भागे। पुलिसकै ड्राइभरले गाडी चलाएर नदीमा पुर्याइदिएका थिए। तनाव सिर्जना गर्ने प्रयत्न विफल भएपछि ‘आगबबुला’ भएको समूहले प्रहरीसँगै झडप गरेको थियो, जसमा दुई प्रहरी इलाज गर्न काठमाडौँ पुर्याउनपर्ने गरी घाइते भएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले नै धार्मिक तनाव बढाई दङ्गा भड्काउने नियतले काम भइरहेको भन्दै नियन्त्रणको कार्य चुनौतीपूर्ण भएको गुनासो २०८१ सालकै असोज ४ गते प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमै उपस्थित भई गरेका थिए।
अहिले तनावमा सिर्जना गर्नमा सबैभन्दा निर्णायकमा सामाजिक सञ्जाल भनिने प्लाटफर्महरू छन। एकजना हिन्दु नामको गुमनाम व्यक्तिले २०८० सालको मोहम्मद डे (असार ११) को दिन पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गर्दा नेपालगन्जमा कर्फ्यू लगाउनपर्ने गरी तनाव उब्जियो। टिप्पणीविरुद्ध वडाध्यक्ष सराफत अली सडक प्रदर्शनमै उत्रिएपछि सहर तनावपूर्ण बन्न पुगेको थियो। फेसबुक पोष्टविरुद्ध ज्ञापन दिन गएको समूहले जिल्ला प्रशासन कार्यालय परिसरमै मुस्लिम धर्मको प्रतीक हरियो झण्डा गाडदिँदा अर्को समुदाय उत्तेजित हुन पुगेको थियो।
‘कप्तानगन्जमा जे भयो कुनै छिटपुट घटना वा एक रातको विष्फोट होइन, पछिल्ला वर्षहरूमा मधेशमा विस्तार हुँदै गरेको धार्मिक ध्रुवीकरण सीमापारीको धार्मिक–राजनीतिक प्रभाव समाजिक सञ्जालबाट तुरुन्तै फैलिने उत्तेजना र राज्यको निरन्तर बेवास्तको पछिल्लो कडी हो,’ तुफान न्यौपाने र पर्वत पोर्तेलको बाइलाइनमा साउन १८ गते प्रकाशित स्टोरीमा उल्लेख छ।
तनाव सिर्जना भएपछि ठूलो झडप नहुँदै तत्कालै कर्फ्यू/आदेश जारी गरिहाल्ने र सामसुम भएपछि खोल्दिने–पाँच/छ वर्षयता मधेशका साम्प्रदायिक तनावमा भइआएको थियो। झडपहरूमा ज्यान जानेसम्मको घटनाचाहिँ नघट्दा फैलिने र थप हिंसात्मक हुने अवस्थासम्म पुग्न पाएको थिएन। साउन १० गते सुनसरीको कप्तानगञ्जमा पुलिसको गोली लागेर एकजना तत्कालै हताहत हुनुका साथै अरु गम्भीर घाइते हुँदा विगतका तनावभन्दा धेरै जटिल हुनपुग्यो। तनाव विस्तारित हुँदा सिराहामा थप एक जनाले पुलिसको गोलीबाट ज्यान गुमाउनपर्यो नै, घर–सम्पत्ति आगजनीका काफी घटनाहरू घटे।
तनावको अवस्थै सिर्जना हुन नदिनेतर्फ प्रयत्न भएकै छैन। यस्तै ताल हुने हो भने फेरि पनि चाड–उत्सवमा तनाव हुने नै छ। तनावले ठूलै संहार निम्त्याउने जोखिम पनि उत्तिकै छ। यसैले समयमै ध्रुवीकरण र उत्तेजना बढाउन सक्रियहरूको पहिचान गरी समयमै कानून कार्यान्वयन नगर्ने हो भने बशिर बद्रले लेखेको
‘लोग टूट जाते है एक घर बनाने मे,
तुम तरस नही खाते बस्तियाँ जलाने मे’ सम्झिरहनुपर्ने हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किरण दहाल
