Monday, April 29, 2024

-->

आधुनिक मनुवाद र 'कलीयुग'का कालीहरू

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्।

आधुनिक मनुवाद र कलीयुगका कालीहरू

२०७९ चैत २२ गते 'राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग' ले एकल महिलाबाट जन्मिएको तथा पितृत्वको ठेगाना नभएको बच्चाको जन्म दर्ता विषयमा एक सूचना जारी गर्‍यो। जसमा भनिएको छ:

–विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले  विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने,

–विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने, 

–प्रकरण नं १ र प्रकरण नं २ अनुसार बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाटै नयाँ जन्म दर्ता गराइदिने।

विज्ञप्ति जारी भइसकेपछि सामाजिक सञ्जालमा यसको भाषा र आशयलाई लिएर चर्को आलोचना शुरू भयो। महिलाले फेरि एक पटक आफू 'दोस्रो दर्जाको नागरिक' भएको महसुस गरे। आमाभन्दा मावली नजिक कसरी हुनसक्छ भन्ने प्रश्नहरू उठ्न थाले। फेरि एकपटक आनन्दले निदाइरहेको पितृसत्ता जुरमुराएर उठ्यो र भन्न थाल्यो:

'मावलीको थर' भन्ने उल्लेख हुँदा किन टाउको दुखेको हो? आमाको शुरूको थर र मावलीको थर आखिर एकै हो। नेपाली प्रचलन अनुसार महिलाको बिहेपछि थर फेर्ने चलन छ, अनि के एक ठाउँमा बच्चा जन्माएर सात ठाउँमा आमा पोइल जाँदाको अवस्थामा पनि थर फेर्दै हिँडाउने हो? (यो कमेन्ट मैले आफ्नो फेसबुक पोस्टको कमेन्टबाट लिएकी हुँ।)

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्। थर र गोत्रको भारी कति गह्रुंगो छ भन्नेबारे कि त 'सचेत महिला'लाई सोध्नुपर्छ कि त थर र जातको पिँधमा थिचिएका मानिससँग बुझ्नुपर्छ। म आफूलाई 'एकेडेमीक सर्टिफिकेट' चाहिने ठाउँमा बाहेक अन्त थर जोडेर आफ्नो परिचय दिन्न। यसैगरी थर र जात उल्लेख नगर्नेहरू कैयौँ छन्। तर हामी बाध्यताको भारी बोकेर नागरिकता तथा पासपोर्टलगायत अन्य कागजातमा नामको पछाडि जातको मोहोर लाग्ने थर झुन्ड्याउन बाध्य छौँ। 

थरसमेत विभेदको प्रतीक या संकेत हो भन्ने मैले बुझेको छु। म कैयौँ पटक 'थर' के हो भन्ने विभेदकारी प्रश्नको सिकार भएकी छु। यस्तै सिकार-मेरी आमा पनि हुनुभएको थियो। मेरो नागरिकता बनाउन जाँदा आमालाई कुनै सरकारी बाबुसाहेबले सोधेका थिए, 'तपाईंको श्रीमान् किन आउनुभएन?' उतिखेर मैले भनेको थिएँ, 'बाबाको नागरिकता छ, मम्मी आउनुभएको छ।' उतिखेर त्यसो भन्न मलाई सजिलै भएको थियो। तर आज त्यो प्रश्न मलाई अस्वाभाविक र निरर्थक लाग्छ। यस्तै निरर्थक प्रश्न र सन्दर्भले बेलाबेला 'तँ नागरिक हैनस्, यो राज्यमा तेरो औकात यही हो' भन्ने खालको विभेद र अपमान महसुस गरिरहन्छौँ। 

समाजमा एकल महिला/अविवाहित महिलाले जन्माएका सन्तानको स्थान कुन हुन्छ? अविवाहित महिलालाई सन्तान जन्माउने छुट छ कि छैन? पहिलो प्रश्न यो हो। छुट छैन, समाजको वास्तविकता हो यो। हामी यही वास्तविकतासँग पौंठेजोरी खेल्दै आफ्नो गर्भाशयको पूर्ण अधिकार मागिरहेका छौँ। मनुस्मृतिमा लेखिएको छ: 

कामान्माता पिता  चैनं यदुत्पादयतो मिथ:

संभूतिं तस्य तां विद्याद्यद्योनावभिजायते 

अर्थात्, माता र पिताले कामेच्छा पूरा गर्ने रहरले मात्रै जसलाई जन्माउँछन्, त्यस प्राणीको जन्म पशुजस्तै सामान्य हुन्छ। बच्चाको जन्मलाई पनि धर्मले 'नियम'सँग बाँधेर हेर्छ। यस परिभाषा अनुसार अविवाहित महिलाले जन्माएका सन्तान 'समाजको नियम' भित्र पर्दैनन्। यसले दिने आघातको कुराबारे त बिरलै कसैले चर्चा गर्छ। हामी त अहिले केवल त्यस बच्चाको परिचय खोजिरहेका छौँ। दु:खको कुरा, यो राज्यले पुरुषसँग नजोडिईकन महिलाले जन्माएको बच्चाको परिचय दिनसमेत अस्वीकार गर्छ। यही अस्वीकृत समाजको स्वीकारोक्ति हो, मावलीको थरमा एकल आमाबाट जन्मिएका बच्चाको जन्म दर्ता।

मनुस्मृतिकै अर्को 'संस्कारी श्लोक' यहाँ उल्लेख गरौँ: 

बाल्ये पितुर्वशे तिष्ठेत्पाणिग्राहस्य यौवनर

पुत्त्राणां भर्तरी प्रेते न भजेत्स्त्री स्वतन्त्रताम्

पित्रा भर्त्रा सुतैर्वापि नेतछेद्विरहमात्मन:।

एषां हि विरहेण स्त्री गह्र्ये  कुर्यादुभे कुले (१४८,१४९ पेज. १३५) 

अर्थात्, बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिको जीवनपछि छोराको संरक्षणमा स्त्रीले जीवन निर्वाह गर्नुपर्छ। पिता, पति या पुत्रबाट छुट्टिएर महिलाले बस्ने इच्छा गर्नुहुँदैन, किनभने यिनीहरूबाट अलग रहने स्त्रीले पतिको र पिताको दुवै कुललाई निन्दित बनाउँछन्।

पतिको र पिताको दुवै कुललाई निन्दित नबनाउन् भन्नका खातिर मनुस्मृतिको 'नयाँ संस्करण'बाट बेला मौकामा राज्यका विभिन्न अंगको विज्ञप्ति, नियम कानुनमा आइरहन्छ। कहिले आमाको नामबाट नागरिकता दिँदा 'भान्जाभान्जी' बढ्छन् भनेर यस पितृसत्ताका मामाहरू डराउँछन् त कहिले महिलालाई नागरिक मान्नै इन्कार गर्छन्। उसो त यो नौलो कुरा पनि होइन। 'सम्भोग'बाट स्वर्गको ढोका बन्द हुने डरले पत्नीलाई 'पापिनी' मान्ने श्लोक अहिले पनि श्रद्धाका साथ वाचन गरिन्छ। हामी 'आदम इभ'का कथा सुन्छौँ, 'कन्यादान' गरेर धर्म कमाउँछौँ। अब राज्यले मावलीको नाममा 'भान्जाभान्जी'को जन्म दर्ता गराइदिएर महान् बन्ने अर्को जिम्मेवारी थपेको छ।

तर सदियौँ पुरानो मनुस्मृति पल्टाएर आजका महिलामाथि शासन गर्ने राज्यसत्ताले बुझे हुन्छ, अब 'पितृत्वको ठेगान नभएका' बच्चा मात्र जन्मिँदैनन्, आमाहरूले 'पितृत्वको ठेगाना दिन नचाहेका/दिन जरुरी नठानेका' बच्चासमेत जन्मन्छन्। 'मावलीको थर' राखेर जन्म दर्ता गराउनुपर्ने पितृसत्तात्मक सत्ताको 'खुल्ला दिल'लाई अस्वीकार गर्दै 'थर'को राजनीतिलाई नै चुनौती दिने आमा थपिनेछन् र तिनकासमेत बच्चा जन्मिनेछन्। महिलाले बाबुसाहेबको सत्ताको 'निगाह' सधैँ स्वीकार गर्दैनन्, तिमीहरूको 'मावलीको थर' हाम्रो बच्चाहरूले किन स्वीकार गर्नु? 

'कलि'का कालीहरू जाग्न थालेका छन्, त्यसैले पनि ती 'मनुवादी सत्ता'विरुद्ध धावा बोलिरहन्छन्।


सम्बन्धित सामग्री