Monday, April 29, 2024

-->

हेलो मिडिया, आफूलाई ऐनामा हेर्ने कि?

'ट्विटर पञ्चायत' नै पत्रकारिता र लेखनको आदि र अन्त्य होइन। यही सत्य नबुझ्दा नेपाली बौद्धिकता धरमराएको छ।

हेलो मिडिया आफूलाई ऐनामा हेर्ने कि

मौसम सुख्खा छ। बनले डढेलो कुरेर बसेको छ। यता 'ट्विटर पञ्चायत' दुई शब्दको आगोले सल्किएको छ। हातमा 'मास हिस्टेरिया' शब्दको अगुल्टो लिएर ऊ आफू र आफ्नाबाहेकको समाजको मुखमा झोस्न हिँडेको छ। सञ्चार जगत‍्मा प्रश्नको आगो झोसिएको दुई साता बढी भइसक्यो। धुवाँ पुत्ताउन छोडेको छैन। आगो केले झोसियो? प्रदूषित प्लास्टिकले वा घिउले? यो बहस हुन सक्ला। आगो त झोस्नै पर्ने थियो, झोसियो।    

ट्विटर पञ्चायत नै पत्रकारिता र लेखनको आदि र अन्त्य होइन। यही सत्य नबुझ्दा नेपाली बौद्धिकता धरमराएको छ। सामाजिक सञ्जालमा गालीको हथौडा लिएर उभिने मानिसहरूको जत्था मात्रै समाज होइन। मानिसहरूको आकांक्षाको प्रतिनिधित्व गर्ने ल्याप्चे लाएको समूह पनि यो होइन। यसैलाई समाज मान्दा 'सञ्चार जगत‍्'को सातो गएको छ। 

सामाजिक सञ्जालमा उफ्रिरहने केही मानिसहरूमा आफ्नो भरोसा खोज्ने नेता र सञ्जालका धुन्धुकारिको नाममा समग्र समाजलाई हिलो पोत्ने सञ्चारकर्मी दुवैले आफ्नो धरातल नाप्न जरुरी छ। यिनै दुई अतिको बीचमा अहिले समाज कतै हराएको छ। समग्र समाजलाई 'हिस्टेरिक' भनेर आरोपित गर्दा ट्विटरमा रमाएका लेखक र बौद्धिकहरूको सामूहिक खुशीले नै बोलिरहेको छ, नागरिक र बौद्धिक तप्काबीच कत्रो खाडल छ। आममानिसलाई यति होच्याएर यो हदको दुरीमा आफूलाई उभ्याउने सञ्चार र बौद्धिक जगत् निरंकुशतन्त्र मात्र सम्भव छ। समाज त चुपचाप बस्छ, आफ्नो बाटो पहिल्याई छोड्छ। दुःखको कुरा, ट्विटर पञ्चायत आमचुनाव गर्न सक्दैन, वैचारिक परिवर्तनको मानक बन्न सक्दैन।  

सञ्चार जगत् आफूमाथि उठेका  प्रश्नहरूको प्रतिकारको होहल्लामा व्यस्त छ। समाज के हो र के होइन, यसको भिन्नता र सार नाप्ने धैर्य उसमा देखिन्न। ऊ आफैँ भुलभुलैयामा छ। बाँकी समाजको चेतना नाप्न भने डोरी लिएर हिँडेको छ। आफ्नो चेतनाको गहिराइ आँकलन गर्ने इमान उसले गुमाएको छ। उसलाई बाटो देखाउने बौद्धिक समूह उसैको 'जय जय' गाउँदै पछिपछि छ। समाजलाई अभद्र गाली गर्दा पाएको क्षणभरको आनन्द केही दिन टिक्ला। कुनै अमुक व्यक्तिसँग इवि साध्न समाजका आममानिसको चेतनामाथि गरेको अपमानको प्रभाव लामो रहन्छ। त्यसको धक्का कता पर्छ, बुझ्नेलाई इशारा काफी छ।   

रोगी समाज कि रोगी सञ्चार चिन्तन?
देशको प्रमुख र विश्वसनीय भनेर दाबी गरिरहेको कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो लेखमा समाजप्रति लक्षित गरी 'मास हिस्टेरिया' भन्ने शब्द चलाए। सामाजिक सञ्जालमा निरन्तर गालीगलौजमा लागिरहने एक तप्कालाई भनेजस्तो गरी आफूप्रति प्रश्न लिएर उभिने हर कोहीको तेजोवध गर्ने कोसिस गरे। समाज को हो र को होइन, उनको विश्लेषणमा प्रस्ट देखिन्न। कुनै व्यक्ति, विचार वा संस्थालाई सधैँ अमर्यादित गाली मात्र गरिरहने मानिसहरूको हुल समाज हो र? यही नै उनको निष्कर्ष हो भने पचास–सय जना ट्विटर सज्जनकै लागि सारा मिडियाले किन मिहिनेत गरिरहेछ? होइन, हुलदंगा गर्ने र गाली बेइज्जतीमा उत्रने समाजभित्रका बदमास मात्र हुन् भने उनीहरूको नाममा यत्रो शक्ति खर्च किन? कसलाई कति बेला गाली गरौँ भनेर गौँडा ढुकेर बस्ने मानिसहरूलाई 'समाज'को पगरी गुथाउने लाइसेन्स उनले कहाँबाट लिए? आफ्नै हातमा सञ्चारको डाडुपन्युँ लिएर सामाजिक मनोविज्ञानलाई 'मिसलिड' गर्न मिल्दैन। आफू प्रश्नले रन्थनिएको बेला छ भन्दैमा पूरै समाजलाई हिलो छ्यापेर बस्ने अख्तियारी एक सञ्चारकर्मीले कहाँबाट पायो?

नेपाली समाजको मुख्य गुण अरूको दुःख र सुखमा सामेल हुनु हो। सहानुभूतिको जगमा उभिएको नेपाली समाजलाई 'अर्काको जन्तीमा नाच्दै हिँड्ने र मलामीमा रुँदै हिँड्ने' जोकरहरूको भीड भनेर खिसी गरिएको छ। साताअघि गोंगबुमा भएको लुटपाटको दोषको भारी पनि समाजलाई थमाइएको छ। तर समाज किन र कसरी असुरक्षित छ भन्ने प्रश्न, गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रचण्डलाई किन गरिएन? जिम्मेवार भनिएका सञ्चारगृह आग्राको प्रसंगहरू ग्राग्रासँग मिसाएर पूरै समाजलाई कलंकको टीका लगाउन लागेका छन्। प्रतिशोध र प्रत्युत्तरको नाममा नेपाली समाजमाथि गरिएको ज्यादती हो यो। 

उदेकको कुरा, आफ्नो नामको अघिपछि समाजशास्त्र झुन्ड्याइरहन मन पराउने लेखकहरूले यो विचारमा प्रश्न गर्नु त परको कुरा, जयजयकार गरिरहेछन्। के हाम्रो वैचारिक तप्का 'मिडिया कभरेज'को लालचमा डुबिसकेको हो? आफ्ना लेख-रचनाभन्दा बढी 'फिचर' र अन्तर्वार्ताको आडमा जनतामा छाइरहने लेखकहरूले विवेक गुमाएकै हुन्? या उनीहरूसँग सञ्चार जगत‍्को कमीकमजोरी विश्लेषण गर्ने जाँगर र साहस अझै बाँकी छ?

भारतमा लोकतन्त्र किन कमजोर हुँदै गइरहेको छ। बौद्धिकहरूबीच विभिन्न छलफल भइरहेको देख्न पाइन्छ। एक अन्तर्वार्तामा इतिहासकार रोमिला थापरले भनेकी छन्– 'हामीले लोकतन्त्र हुनु नै सबै थोक हो भन्ने सोच्यौँ। यसका मान्यताहरू मूर्त बनाउन हामी स्वतन्त्र विचार राख्ने मानिसहरूले पनि मेहनत गर्नै पर्दथ्यो। त्यो गर्नुपर्ने जति गरिएन।' लोकतन्त्रको मर्मलाई बलियो बनाउनु मिडिया हाउसको सामग्रीको जय जय गर्नु होइन। उसलाई प्रश्न गर्ने हैसियत राख्नु पनि हो। कुनै सञ्चारगृहका मानिसले आफूलाई 'डिफेन्स' गर्न समाजमाथि ज्यादती गरिएका सामग्री ढुक्कै 'इन्डोर्स' गर्नु बौद्धिक भन्न मन पराउने तप्का डगमगाउनु हो।    

लोकतन्त्रको माला मात्र जपिरहेका नेताहरूसँग वाक्क भएका नागरिक, कहिले कता त कहिले कता भरोसा खोज्दै छन्। उनीहरूलाई कहिले इराक घटनाका 'हुलदंगाबाज', कहिले हृतिक रोशन काण्डका हुल्लडबाज, कहिले गोंगबुका लुटेरा त कहिले सामाजिक सञ्जालका 'गाली-उस्ताद'हरूसँग तुलना गरेर लेखक र बौद्धिकहरूले हुर्मत लिइरहेका छन्। नागरिकको चरम निराशामा आफ्नो एक हिस्सा जिम्मेवारी खोज्ने सानो प्रयास पनि कसैले गरेको देखिँदैन। 'अन्टसन्ट टाइटल' थमायो, सकियो। 

सञ्चार जगत‍्ले सूचनाको संकलन मात्र गर्दैन, त्यसको प्रयोग आफूअनुकूल धारणा बनाउन पनि प्रयोग गर्दछ। पछिल्लो समय गोंगबु घटनालाई यसैगरी प्रयोग गरिएको छ। यो घटनालाई लिएर गृहमन्त्रीको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाललाई प्रश्न किन गरिएन? यो प्रश्न सञ्चार जगत‍्ले अनदेखा गर्छ। सामाजिक सञ्जालका अभद्र गालीको विश्लेषणमा पूरै शक्ति खन्याउनेले नागरिकको गुनासोलाई 'बालै फरर'को शैलीमा नजरअन्दाज गर्दछ। 'हामीलाई गाली होइन, गुनासो गर्नुस्' भन्नेले गुनासो परै राख्नुस्। पहिला फरक विचार स्वीकार गर्न छाती फराकिलो पार्नुस्।  

सूचना र तथ्यहरूलाई घुमाएर प्रस्तुत गर्ने मिडिया 'साइकी' हामीले किन बुझ्नुपर्छ? भारतीय लेखक अमु जोसेप र कल्पना शर्माद्वारा लेखिएको 'हुज न्युज' नामक पुस्तकमा यस्तो व्याख्या छ, 'आजको सञ्चार जगत‍्ले हिजोको परिवार, धार्मिक संस्था, औपचारिक शिक्षा आदिको भूमिका गर्न थालेको छ। यसले सूचना मात्र प्रवाह गर्दैन। मूल्य, मान्यता र सोच्ने तौर-तरिका पनि तय गरिदिन्छ। मानिसको व्यवहार र जीवन जिउने तरिकामै असर पारिदिन्छ।' 

यो कुरा नेपाली लेखक बौद्धिकहरूलाई थाहा छैन या लालचको पर्दाले केही थाहा दिँदैन? आफूसँग यति बलियो हतियार छ भन्ने थाहा भएका मिडियाकर्मीले सामाजिक अवधारणा निर्माण गर्ने क्रममा देखाउनु पर्ने जिम्मेवारी निभाएका छन्? मिडियामा आउने सामग्रीहरूको विश्लेषण मात्र गर्दा लोकतन्त्रविरोधी करार गरिने अवस्था छ। पुस्तक नै कसैले लेख्यो भने, मिडिया र ट्विटर पञ्चायतले फाँसीकै सजाय सुनाउने पो हो कि! 

आँगन छोडेर परदेशिने युवाहरू समाज हुन्। लघुवित्तले दिएको आतंक छल्दै जंगलमा लुक्ने महिला र आफ्नै बलमा उद्यम धन्दा चलाउने मानिसहरू पनि समाज हुन्। दलको छाताभित्र नबस्ने, सञ्चारगृहको भरथेगमा पनि नचल्ने स्वतन्त्र विचारकहरू पनि समाज हुन्। समाज एक विशाल वृक्ष हो। कीरा लागेका केही हाँगा र रोगले पहेँलिएका पात मात्र समाजरूपी वृक्ष होइन। एक होइन, अनेक रङका विचार र जीवन भएका मानिसहरूको समूह हो समाज। यसको अवधारणा एउटा लेखको शीर्षक जति खुम्चिएको छैन। के सञ्चार जगत् यी सबै थरिका लागि हुन सकेको छ त? 

लोकतन्त्र र बहुल विचारको पक्षमा उभिने मिडिया सिद्ध्याउन कुनै समाज लाग्दैन। विचारको एकै नाशका शंखहरू एकैपटक बजाएर होहल्ला गर्नु लोकतन्त्रको रक्षा गर्नु होइन, बरु 'सञ्चारको सत्तामा हेर को छ?' भन्ने भावमा अहंकार र उन्माद देखाउनु हो। सञ्चार जगत‍्लाई अहिले बनको बाघले होइन, मनको बाघले खाएको छ। जनताकेन्द्रित र बहुलताको रक्षक गर्ने मिडियासँग आक्रोश र प्रतिउत्तर मात्र हुँदैन, आत्मविश्वास र सहिष्णुता हुन्छ। नागरिक र समाजप्रति क्षुब्ध अपमान होइन, सम्मान र भरोसा हुन्छ। यस्तो सञ्चार जगत‍्लाई नागरिकले जोगाएर लैजान्छ। विश्वास आर्जन गर्ने कुरा हो, कराएर माग्ने कुरा पनि होइन। 

भारतका प्रसिद्ध पत्रकार विनोद मेहता आफ्नो किताब 'एडिटर अनप्लग्ड'मा लेख्छन् 'लोकतन्त्रमा कुनै सानो मिडिया बन्द हुनु मात्र पनि लोकतन्त्रको एक टुक्रा मर्नु हो।' अहिले लोकतन्त्रको बचाउ गर्नु भनेकै मिडिया सञ्चालकहरूको बचाउ गर्नु र नागरिकप्रति जस्तो सुकै अमान्य तर्क पेस गर्नु हो भन्ने भाष्य निर्माण भएको छ। मिडियाको हतियार प्रयोग गरेर निर्माण गरिएको वैचारिक 'हेजीमोनी' हो यो। यस्तो भाष्यसँग सतर्क हुनु आवश्यक छ। विचारको एकलौटी सत्तामा प्रश्न गर्नु नै लोकतन्त्र र सञ्चार जगतको जगेर्ना गर्नु हो। गलत मानिसको हातमा नागरिक विश्वास नपुगोस् भन्नका लागि पनि यो आवश्यक छ। 

मूलधारकै मिडियालाई भरोसा गरी लेखिरहेका मानिसका लागि सञ्चारमाध्यमको साख गिर्दै गएको हेर्नु झनै दुखद हो। यस्तोबेला नेताको काखमा नबस्ने, प्रचारको मोहमा मिडियाको जय जय मात्र पनि नगाउने लेखक पत्रकार चाहिन्छ। सञ्चारले लामो बाटो तय गर्ने हो भने लालचमा डुबेका बौद्धिक र लेखकहरूको काँधमा सुस्केरा हालेर कतै पुगिन्न। म र मेराहरूको घेरामा विचारको 'म्युजिकल चियर' खेलेर बहुलवादसहितको लोकतन्त्र बलियो हुँदैन। लामो यात्रा तय गर्न, आफूलाई निर्धक्क आलोचना गर्न सक्ने विचार निर्माणकर्ताहरूसँग आँखा जुधाएर हिँड्न सक्नुपर्छ। यसो गर्न नसक्ने हो भने निरंकुश शासक र मिडियामा फरक नै के रह्यो? 

रोगी को हो? समाज कि, सञ्चार जगत‍्को रुग्ण अहंकार ? अहिलेको सवाल यही हो। 

पत्रकार–नेता, भाइ–भाइ
धर्मनिरपेक्षता होस् या प्रेस स्वतन्त्रताको सवाल, भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु उदारवादी चरित्रका नेता मानिन्छन्। नेहरुले भारतीय प्रेसबारे कडा टिप्पणी गरेका थिए। 'जुट प्रेस' भनेर टाइम्स अफ इन्डियाको तितो आलोचना गरेका थिए। टाइम्स अफ इन्डिया चलाउने साहु जैन परिवारले कलकत्ताको सेन्ट्रल जुट मिल पनि चलाउँथ्यो। यो प्रसंग भारतका हस्ति पत्रकार विनोद मेहताको पुस्तक 'एडिटर अनप्लग्ड'मा उल्लेख छ। नेपालको सन्दर्भमा नेहरुकै कोटीको उदारता र व्यक्तित्व भएको नेतामा बीपी कोइरालाको नाम अग्र पंक्तिमा आउँछ। उनले आफू गृहमन्त्री भएको बखत मिडियाले कसरी सताएका थिए भनेर आफ्नो आत्मवृत्तान्तमा बताएका छन्। पृष्ठ नम्बर १७० को मध्य भागमा उल्लेख छ, 'मेरो खिलाफमा अखबारहरू निस्कन थाल्यो। सारा अखबारहरू मेरो खिलाफमा निस्कन्थे।' त्यतिबेलाका अखबार र नेताहरूको जुहारीका प्रसंग अलग होलान्, आजको अलग होला। नौलो कुरा भने होइन।  

'लोकतन्त्रका पिलर हुँ' भन्ने दाबी गर्ने सञ्चार र राजनीतिबीच बेलाबखत रस्साकस्सी हुनु लोकतन्त्र नै सिद्धिनु होइन। खतरा त सञ्चारमाध्यम र राजनीतिको जुगलबन्दी हो। आजको दिनमा राजनीतिका एक्का दुक्का खेलाडीबाहेक बाकी उस्तादसँग मिडियाको दाजुभाइको सदाबहार 'लविडवि' या  'हिरिम-पिरिम' देखिन्छ। यो चाहिँ गजब रमाइलो हो।

केही समयअघि भारतीय पत्रकार रविस कुमार नेपाल आएका थिए। उनको सदाबहार भनाइ हो, 'चुनाव जितेर सत्तामा पुगेको दिनदेखि पत्रकारले नेता चिन्नु हुँदैन।' प्रस्ट छ, राजनीति र सञ्चारले एक अर्कासँग दुरी बनाइराख्नु पर्दछ। तर त्यस्तो देखिन्न। राजनीति र सञ्चारको पिरतीको कबाबमा जनता हड्डी भएको देखिन्छ। यसैको परिणाम होला, नागरिकलाई होच्याउँदै रोगी करार गरिएको 'मास हिस्टेरिया' जस्ता शब्द, 'मिडिया डार्लिङ' नेताहरूले बिनाहिचकिचाहट 'इन्डोर्स' गर्छन्। 

सञ्चारगृहमा ताला लगाउने आज कोही ज्ञानेन्द्र छैनन्। सञ्चार जगत‍्ले म र मेराहरूद्वारा चाहेको विचार र विश्लेषण एकपक्षीय रूपमा राखिरहेकै छ। फरक यत्ति हो, यस्ता विश्लेषणलाई प्रश्न गर्ने सचेत पुस्ता तयार भएको छ। चुस्त प्रविधि र हात हातमा सूचना लिएर बसेको छ। हर प्रसंगलाई पूर्वराजा ज्ञानेन्द्रको सञ्चार रवैयासँग जोड्नु, लोकतन्त्रको एक मात्र पहरेदार आफू भएको ठोकुवा गरिरहनु, सञ्चार जगत‍्को अतिरञ्जना मात्र हो। सञ्चार जगत‍्मा भएका कमजोरीहरूको आलोचना गर्‍यो कि लोकतन्त्र र स्वतन्त्र प्रेसविरोधी करार गरिनु, लोकतान्त्रिक मान्यताको खिलाफ हो। 

साता अघि गोंगबु घटना हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालकै हातमा गृहमन्त्रालय थियो, तर नेपालको कुनै एक सञ्चारगृहले नागरिकको जिउधनको सुरक्षाको सवाल दाहाललाई सोधेनन्। समाज राजनीति, अर्थनीति आदि इत्यादिमा लम्बेतान विवेचना लेखेर बसे। त्यतिले नपुगेर सो लुटपाटको घटनाको पुरै दोष 'रोगी समाज'लाई दिए। विश्लेषण ठोकिदिए। रवितिर मिडिया सोझिएको बेला छविलाललाई चिट्ठै पर्‍यो। यसै त उनी मिडिया डार्लिङ नेता, त्यसमाथि मौसम मिजासिलो। 

बिस्तारै अर्का मिडिया डार्लिङ नेता माधव नेपाल सतहमा देखा पर्न थाले। २० जना सांसद आमनिर्वाचनबाट चुनेर संसद्मा पठाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई 'नेपाली राजनीतिको घाँडो' भनिदिए। रविसँग रिसाइरहेको मिडियालाई योभन्दा स्वादिलो के लाग्ला? हारे पनि जिते पनि पद चाहिने, प्रधानमन्त्री, राष्ट्रपति जे हुन पाए पनि हुने। औँलामा गन्न मिल्ने मानिसहरूलाई सधैँ सत्ताको रजगज चाहिएको छ। न प्रश्नको सामना गर्नुपर्छ, न आलोचना सहनुपर्छ। यो सबै गाल थाप्लोमा थापिदिन नयाँ राजनीतिकर्मी आएका छन्। नभए 'मास हिस्टेरिया' भएको समाज छँदै छ। जति पत्रु भाषण गरे पनि मिडियामा छाउन पाइएकै छ। यस्तो महामोज को गुमाउन चाहन्छ?   

नेपाली कांग्रेसको माओवादीसँग गठबन्धन टुटेपछि कांग्रेस स्वतः प्रतिपक्ष हुनुपर्ने हो। नैतिकता नीति स्वाट्टै पिएको कांग्रेस प्रतिपक्षमा बस्ने कुरै भएन।  लाजै नमानी प्रचण्डलाई विश्वासको मत दियो। नागरिकको मनमा अनेक प्रश्न उठे। नागरिकको मनमा उठेका अनगिन्ती प्रश्नहरू न मिडियामा देखिए, न पार्टीका नेताहरूले ख्याल गरे। जनताको सवाल झेल्नुभन्दा नेताहरू गुफा पसे। मिडियामा शान्ति छायो। प्रौढ मात्र होइन, युवा नेताहरू नै गुफाबास गए। सारा मिडियाको तारो रवि बने। सबैलाई हाइसन्चो भयो। रविको पत्रकार प्रकरणपछि सञ्चारको आवेग रवितिर झनै खनियो। 

यही मौकामा युवा नेताहरू गुफाबाट फुत्त बाहिर आए। नयाँ पार्टीका नेतालाई अर्ति उपदेश दिए। राजनीति सिकाए। मिडियासँगको सम्बन्ध पढाए। मिडियाको जुँगा चलेपछि कुरा बुझ्ने गगन थापा हुन् या प्रदीप पौडेल, चलाखी कसैका कम थिएनन्। संसद्को समय लिएर प्रदीप पौडेलले केही बेर आफ्नो गुन गाए, केही बेर केपी ओलीको निन्दामा बिताए। स्वाभाविक हो, उनी सबै मिडियामा हराभरा भए। एकै सातामा देखिने यी सबै समाचार र विश्लेषणलाई सबै नागरिकले शङ्ख बजाएरै हो हो भनिदिनु पर्ने ? होइन भन्यो कि उनीहरू विवेकहीन भिडको कित्तामा उभ्याइने। सञ्चार जगतको यो कस्तो मिठो अपेक्षा हो?

विनोद मेहताले आफ्नो पुस्तकमा कर्पोरेट मिडिया हाउसका सीमितताबारे चर्चा गरेका छन्। जब कुनै मिडिया केही व्यक्तिको हातमा सीमित हुन जान्छ, त्यसलाई पुनः 'ट्रयाक'मा ल्याउन स्वतन्त्र नागरिक समाज लागि पर्नुपर्छ। केही मानिसहरूको कब्जामा मिडिया सत्ता रहनु पनि लोकतन्त्रमाथि खतरा हो। कुनै एक सञ्चारगृह वैचारिक आफन्तहरूको घेराबाट निस्कनै नसक्नु लोकतन्त्र फैलनु होइन, लोकतन्त्रको पखेटा काटिनु हो। वैचारिक वर्चस्व डरलाग्दो कुरा हो।  

मूलधारको राजनीति, बौद्धिक र सञ्चारहरूमा नागरिकले भरोसा नभेटेको चाल पाउने मानिसहरू जागिरहेछन्। सामाजिक सञ्जालमा केही मानिसहरूको पक्षमा बगेको 'भाइरल'को खहरेसँग तर्सने मिडिया जगतको आँत कति बलियो छ? भाइरलको खहरे देखेर तर्सने लोकतन्त्र र सञ्चारको जग कति बलियो छ? आफ्नो खुट्टीको तागत नजाँचेर पूरै समाजलाई रोगी र रुग्ण भन्दैमा  सुख पाइन्छ? मानिसहरू भड्किएकै हुन् भने पनि यो भड्कावमा हामी कति दोषी छौँ?,सञ्चार जगत‍्ले आफूलाई हेर्नु पर्दैन?


सम्बन्धित सामग्री