Thursday, April 25, 2024

-->

व्यक्तिको गोपनीयता : कसरी चुक्दैछौँ हामी?

स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ।

व्यक्तिको गोपनीयता  कसरी चुक्दैछौँ हामी

केही समययता सामाजिक सञ्जाल र अन्य इन्टरनेट प्लेटफर्महरूमा व्यक्तिको गोपनीयता उल्लंघनबारे चर्चा भइरहेको छ। दुई हप्ताअघि पोखरामा भएको विमान दुर्घटनाको सन्दर्भमा सर्वसाधारणले प्रदर्शन गरेका 'हर्कत' हुन् या माघ १० गते संघीय संसद् भवन, बानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएका प्रेम आचार्यको उपचारका क्रममा स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले देखाएको बच्कनापूर्ण व्यवहार होस्, तिनबारे थरिथरि टिप्पणी भइरहेका छन्। 

आम रूपमा आम मान्छे सबैको चासो र केन्द्रबिन्दुमा पर्न चाहन्छ। उसो त जनावरमा पनि 'ध्यान आकर्षित गर्ने' स्वभाव हामी देख्छौँ। मान्छेका स्वभावबारे जति अध्ययन भएको होला, जनावरबारे उति अध्ययन पक्कै भएको छैन होला। 

स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ। स्टन्टगिरि गरेर वाहवाही बटुल्दै त्यसलाई 'म्याटराइलज' गर्नेका लागि इन्टरनेटका पब्लिक प्लेटफर्महरू सहज माध्यम हुन पुगेका छन्। आचार्यको उपचार भइरहेकै अस्पताल कक्षमा देशको स्वास्थ्य राज्यमन्त्री दलबल र 'क्यामेरा क्रु'समेत छिरेर स्वास्थ्य प्रोटोकल मिचेपछि व्यक्तिको गोपनीयता रक्षा र नियन्त्रणको विषय टड्कारो रूपमा प्रकट भएको छ। 'हाई प्रोफाइल' घटनामा मात्र होइन, सार्वजनिक सडक र अन्य स्थानमा हुने गरेका मानवीय दुर्घटनाहरूमा पनि मान्छेहरूलाई त्यस्ता घटना सुल्झाउन मद्दत गर्नुभन्दा फोन ठड्याउने हतारो भएको देख्दा त्यसबारे केही बोल्नैपर्ने भएको हो। 

कोरोना-महामारीका बेला जनताका स्वास्थ्य विवरणहरू मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक गरिन थालेपछि स्वास्थ्यजस्तो संवेदनशील विषयमा गोपनीयताको महत्त्वबारे एउटा लेख लेखेको थिएँ। त्यस लेखले कति, के र कस्तो प्रभाव पार्‍यो,  आफ्नो ठाउँमा छ तर समाज र आफ्नै व्यवहारमा समेत बदलाव ल्याउन पनि यस्ता मुद्दा उठाइराख्नुपर्छ। 'यति सामान्य विषयले के फरक पर्छ र ?' भनेर हामी चुप लाग्न मिल्दैन। 

पोखरा हवाई दुर्घटनापश्चात् दुर्घटना स्थलमा थुप्रेका मानिसहरूमध्ये प्राय: सबैको चासो मद्दतमा जुट्नुको साटो फोन झिकेर सेल्फी खिच्न र भिडियो बनाउन देखियो। सार्वजनिक भएका केही भिडियोबाट त्यही बुझिन्थ्यो। त्यत्रो मानवीय क्षति भएका बखतसमेत त्यहाँ मानवीयता कमजोर देखियो। आफ्ना सामाग्रीमा 'भ्युज्', 'एक्सप्रेसन' र 'लाइक' बटुल्न तल्लीन भए सर्वसाधारण। धेरैको उत्कट चाह (इन्सटिन्क्ट) नै  कसरी त्यो कहालीलाग्दो विवरण प्रस्तुत गरेर, त्यसकै आधारमा आफू सामाजिक सञ्जालमा फैलौँ भन्ने भयो। यसो हुनुको अर्थ हाम्रो नैतिक मूल्य र मान्यतामा समेत प्रश्न उठ्नु हो। समाजका रूपमा हामी कहाँ जाँदैछौँ? सर्वसाधारणको हकमा त ती व्यक्ति अन्जान छन्, नजानेर तिनले त्यसो गरे भन्न मिल्ला। तर प्रेम आचार्यको केसमा स्वास्थ राज्यमन्त्रीको हर्कतले के संकेत गर्छ?  

जलेको बिरामीको जस्तो नाजुक अवस्था शायदै अरू बिमारीको होला। संक्रमणको दृष्टिबाट हेर्दा जलेको बिरामी ठूलो जोखिममा हुन्छ। त्यसैकारण अस्पतालको 'बर्न युनिट'लाई अत्यन्तै संवेदनशील ठानिन्छ। विशिष्ट चिकित्सकको कुरा छाडौँ,  सामान्य स्वास्थ्य समझ भएकाले समेत बुझ्नुपर्ने विषय हो यो। त्यसमा पनि एक सर्जन, सांसद, अझ स्वयं स्वास्थ्य राज्यमन्त्रीले यो कुराको बेवास्ता गर्नु लाजमर्दो हो। अस्पताल प्रशासनको अनुमति समेत नलिई दलबलसहित बिरामी कक्षमा छिर्नु खतरापूर्ण हो। त्यसमाथि, बर्न युनिटमा जाँदा पालन गर्नुपर्ने सम्पूर्ण प्रोटोकल पनि मन्त्रीले अपनाएको देखिँदैन। 

अर्को कुरा, मन्त्रीले उतिखेर उपचाररत आचार्यसँग गरेको कुराकानीका अंश सुन्दा, त्यस्तो अवस्थामा त्यस्ता प्रश्न गर्नु आफैँमा अनुचित हो। स्वास्थ्य उपचारको प्रोटोकल उल्लंघन गर्दै भिडियो खिचेर उपचारमा संलग्न नर्सलाई निर्देशन दिँदै, अझ सो विषय सार्वजनिक गर्नु नैतिकता र मानवताको नाताले सही होइन। चिकित्सा-नैतिकताका हिसाबले मर्यादाल्लंघन हो। 'सहमति दिन नसक्ने' अवस्थाको बिरामीको भिडियो बनाएर सार्वजनिक गर्नु झनै गम्भीर हो। 

मिडिया पनि चुकेका छन् 
हाम्रा मिडिया पनि व्यक्तिको गोपनीयताका विषयमा चुकिरहेका छन्। विमान दुर्घटना भएपश्चात् सरकारले नाम सार्वजनिक गर्नुपूर्व नै विमानका यात्रुका नाम मिडियाले सार्वजनिक गरे। दुर्घटनामा अपनाइने विश्वव्यापी-प्रोटाेकलभित्र आफन्तलाई जानकारी नदिई मिडियाबाट नामको सार्वजनिकिकरण गरिँदैन। जबकि त्यही नामलाई समाचार बनाएर सबै नेपाली मिडियाले हतारमा समाचार सम्प्रेषण गरे। यो अभ्यास हाम्रोमा पहिलेदेखि नै चलिरहेको छ। ब्रेकिङ न्युजमा को पहिला भन्ने दौडमा छौँ हामी। दौडमा बिरामी, घाइते, मृतक र मृतकका आफन्तको भावना, समवेदना र त्यसले पार्ने प्रभावको हामीलाई मतलब छैन। 

मिडिया त्यसै राज्यको चौथो अंगको भनेर चिनिएको होइन, त्यसो हुँदा मिडियाको गम्भीर जिम्मेवारी छ। कसैको व्यक्तिगत जानकारी खुलासा गर्नुपहिले, प्रभावित व्यक्तिहरूलाई त्यस कुराले हानी हुन्छ या हुन्न भन्नेतर्फ ख्याल गर्नु मिडियाको नैतिक दायित्व हो। मिडियाका रूपमा हामीले दायित्व निर्वाह गर्न सकेनौँ भने अन्य आर्थिक भ्रष्टाचार, नैतिकता र मूल्यका कुरा उठाउनु पाखण्डीपूर्ण हुन्छ। किनकि नैतिकता उल्लंघन आफैँमा भ्रष्टाचार हो। 

मिडियाको स्तर घटेको भन्ने निचोडका सार्वजनिक टिप्पणी गर्छौं तर त्यसलाई खण्डन गर्नेगरी आफ्नै तौरतरिका बदल्ने अभ्यास गर्दैनौँ। भ्युज, लोकप्रियता र रेटिङ बढाउने तीव्र र अस्वस्थ्य प्रतिस्पर्धाले कतिपय अवस्थामा प्रमाणीकरण नगरी सामग्री प्रसारण गर्ने अभ्यास गर्छौं। आज प्राय: सबै नेपालीका हातमा मोबाइल-क्यामेरा छन्। एक तथ्यांकअनुसार २ करोडभन्दा बढी नेपालीसँग फोन पुगेको छ। यदि चौथाइ प्रतिशत नेपालीसँग मात्र स्मार्टफोन र इन्टरनेटको पहुँच छ भन्ने मान्ने हो भने पचास लाख नेपाली त 'नागरिक पत्रकार' का हैसियतमा छन्। 

तर सरकारी निकायमा दर्ता भएर, खास सिद्धान्त अपनाएर गरिने व्यावसायिक पत्रकारिताका सामग्री र आम जनताले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्री उस्तै-उस्तै देखिनु सोचनीय हो। मिडियाबीचको तीव्र प्रतिस्पर्धाले पनि सूचनाको प्रमाणीकरणका लागि नकुर्ने अभ्यास बढेको देखिन्छ। खबर प्रतिस्पर्धा र ब्रेक गर्ने चटारोमा पनि व्यक्तिको निजत्व परेको हो। यसर्थ, कमसेकम पत्रकारले यसतर्फ संवेदनशीलता देखाउन्, ता कि अर्कोपटक कसैको व्यक्तिगत क्षेत्रमाथि अतिक्रमण नहोस्। 

मेडिकल प्रोटोकल र गोपनीयता
जहाँसम्म 'मेडिकल प्रोटोकल'को सवाल छ, चिकित्सा विज्ञानको प्रारम्भिक कक्षामा नै डाक्टर, नर्स तथा अन्य तहका सामान्य चिकित्सकलाई यसबारे सचेत गराइएको हुन्छ। बिरामी र बिरामीका विवरणबारे सार्वजनिक रूपमा लेख्नु र बोल्नु हुँदैन भनेर सिकाइन्छ। किनकि बिरामीको गोपनीयता अत्यन्त गम्भीर विषय हो। कोही बिरामी हुनुको अर्थ असुरक्षित र निःसहाय हुनु हो। त्यस्तो अवस्थामा व्यक्ति के सही र के गलत छुट्याउन नसक्ने अवस्थामा समेत हुनसक्छ। भौतिक र मानसिक रूपमा कमजोर हुन्छ। त्यस्तो अवस्थामा उसको फोटो/भिडियो खिचेर सार्वजनिक गर्नु गम्भीर विषय हो। हाम्रो स्वास्थ्य र अन्य कानूनी प्रणाली सही हुन्थ्यो भने मन्त्रीले गरेको हर्कतमा तत्काल कानून आकर्षित हुन सक्थ्यो।

बिरामीका सारा जानकारी गोप्य राख्नुपर्नेमा उल्टै जनताले नै भोट दिएर जिताएको, राज्यको दोहोरो र तेहोरो जिम्मेवारीमा भएको व्यक्तिले नै प्रोटोकल भत्काउँदा त्यसले सर्वसाधारण र स्वयं चिकित्सा अभ्यास गर्नेहरूकै बीच कस्तो सन्देश जाला? भाइरल हुने रहरमा अबका दिनमा अन्य डाक्टरले पनि डाक्टर कार्कीले झैँ बिरामीका भिडियो टिकटकमा अपलोड गर्न थाले भने कस्तो अवस्था सिर्जना होला? 

यस्तो हुनुमा हाम्रो समाजको बुझाइ, संस्कार र संस्कृति नै जिम्मेवार छ या यसमा अरू कारण छ? कुन शिक्षामा चुक्यौँ हामी? हिजोका दिनमा समाज र परिवारमा एक अर्काबीच निर्भरता बढी थियो। 'बुहुपुस्ते' परिवारमा बस्ने अभ्यास थियो। एकर्कामा मद्दत बढी हुन्थ्यो र गोपनीयता कम। तर त्यसबाट हामी बिस्तारै अघि बढेका छौँ। यसो भनेर गोपनीयता कायम राख्नकै लागि हाम्रो सहयोगी परम्परा र आचरण हटाउनुपर्छ भनिएको होइन। तर कसैको गोपनीयता भंग नगरीकनै, प्रचारप्रसार नगरीकनै पनि त मद्दत गर्न सकिन्छ। 

हाम्रो परम्परागत कहावत पनि छ, 'एक हातले दिएकोबारे अर्को हातले थाहा नपाओस्।' संसारका अन्य समाजमा पनि यस्ता अभ्यास हुन्छन्। कतिपय उच्च चेतनाका मान्छेहरू चुपचाप सेवा दान गर्छन्, देखाउन चाहँदैनन्। तर गरिब बिरामीलाई एक पोको चाउचाउ र एउटा केरा दिएर आफ्नो दानशीलता देखाउनेतिर हामी प्रवृत्त हुँदै छौँ। आचार्यको जलेको शरीरलाई नांगो हातले मुसारेर कार्कीले गरेको आखिर त्यही होइन? यो कस्तो अभ्यास हो? 

आज उपचाररत नाजुक बिरामीबारे सामाजिक सञ्जालमा पोस्ट हालियो। भोलि कसैको आर्थिक स्थितिबारे खबर आउला,  बैंकिङ विवरण आउला। तर यस्ता व्यक्तिगत विवरण पीडित व्यक्तिको 'सचेत सहमति'बिना लिइनु गलत हो। यस्ता विषयले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्न जान्छ। त्यस्ता सामग्री धेरैपटक सेयर हुँदा हामी त दंगै पर्लाउँ तर ती सामग्री पीडित र तिनका आफन्तकहाँ पुग्दा त्यसले गहिरो पीडा दिनसक्छ। सामाजिक सञ्जालमा 'डरलाग्दा र आतंकित पार्ने सामग्री'लाई नियन्त्रण गर्न खोजिनुको कारण पनि त्यही हो। आज हामीलाई अरूको गोपनीयता भंग गर्दा राम्रो लाग्ला, मजै आउला। तर हामी स्वयं पीडामा हुँदा आफन्तका बयान र भिडियोहरूमा छ्यापछ्याप्ती हुँदा कस्तो लाग्ला?

खबर सार्वजनिक गर्ने मूल जिम्मेवारी मिडियाकै हो तर कुन मूल्यमा भन्ने प्रश्न अहम् हो। कुनै सूचना बाहिर ल्याउँदा त्यसले आम रूपमा लाभभन्दा हानी बढी गर्छ भने मिडिया त्यसमा रोकिनुपर्छ। पीडित व्यक्ति वा उनका आफन्तलाई सोध्दा त्यो सूचना बाहिर ल्याउन व्यक्ति र आफन्त राजी हुन्थे या हुन्थेनन्? यसमा ध्यान पुर्‍याउनुपर्छ। त्यसो भन्दाभन्दै, सार्वजनिक सुरक्षा र स्वास्थ्यमा कसैले खलल पार्न खोज्यो भने त्यस व्यक्तिबारे समाचार बाहिर ल्याउनैपर्छ तर त्यसमा पनि पर्याप्त होसियारी आवश्यक छ। 'रेटिङ' र 'भ्युज'का लागि प्रतिस्पर्धा गर्दा निर्दोष नागरिक पीडित हुने अवस्थाप्रति सचेत रहनुपर्छ। समाजलाई सुसूचित तुल्याउने दायित्व बोकेको पत्रकार त हरदम चनाखो रहनुपर्छ। गोपनीयता हनन भएका तमाम घटनाहरूलाई मनन गर्दा र स्वयं पत्रकारिता संस्थासँग जोडिएका नाताले व्यक्तिको गोपनीयता रक्षाका लागि लाग्ने थप प्रण गर्छु।


सम्बन्धित सामग्री