Monday, May 06, 2024

-->

बालेनलाई प्रश्न– यो शहर कसको हो? तपाईंले बनाउन खोजेको कस्तो शहर हो?

६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?

बालेनलाई प्रश्न– यो शहर कसको हो तपाईंले बनाउन खोजेको कस्तो शहर हो

जब-जब शहरी गरीब तथा सडकका फुटपाथ व्यवसायीका विषय छेडिन्छन्, मेरो पहिलो प्रश्न शहरी विकास मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व, अनि त्यहाँको संरचनातर्फ तेर्सिन्छ। यतिका वर्षदेखि उहाँहरू के गर्दै आउनु भएको छ? सडक तथा फुटपाथ व्यवस्थापन अहिले होइन, वर्षौं अघिदेखि बिग्रिएको विषय हो। शहरी गरीब तथा सडक व्यवसायीका विषय समयमै व्यवस्थापन गरिएको भए विगत ६ महिनादेखि फुटपाथ व्यवसायीमाथि जस्तो अत्याचार भएको छ, त्यसमा संलग्न काठमाडौँ महानगरले जे जस्ता कदम चालिरहेको छ, सायद यस्तो अवस्था नै सिर्जना हुँदैन्थ्यो।

यति भनिरहँदा हामीले भन्नैपर्छ, काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन र पैदल यात्रीको सुविधाका लागि भनेर फुटपाथ व्यवस्थापनमा गरिरहेका कामकारबाही सराहनीय छैनन्। यसमा ध्यान नपुगेको पहिलो कुरा हो, शहर भनेको के हो? शहर कस्तो हुनुपर्छ? शहरको परिकल्पना कस्तो हुनुपर्छ? यसबारे न आजसम्म कसैले कुनै खाका ल्याएको छ, न कसैलाई थाहा छ। यस विषयमा कोही पनि स्पष्ट  छैनन्। आम मानिसलाई यसबारे बुझाएका पनि छैनन्। काठमाडौँ महानगर, महानगरका मेयर बालेन शाह, नेपाल सरकारका अन्य निकायले कस्तो शहरको परिकल्पना गरेका छन्, हामी कसैलाई थाहा छैन।

शहर भनेको भौतिक संरचना मात्र होइन। यहाँ को बस्छन्, कस्ता मानिस बन्छन्, उनीहरू कस्तो स्थानमा रहन्छन् भन्ने सबभन्दा महत्त्वपूर्ण विषय हो। यसबारे मेयर बालेन शाह र काठमाडौँ महानगरपालिका मात्र नभएर नेपाल सरकार नै बेखबर छ। मुख्य समस्या यही हो।

दोस्रो समस्या, सडक तथा फुटपाथ व्यवस्थापनका लागि ठेला, गाडावालालाई समात्नु मात्र समाधान होइन। त्यो अन्तिम विकल्प त झन् हुँदै होइन। सडक र फुटपाथ व्यवसाय शहरको मुख्य समस्या पनि होइन। यी साना समस्या हुन्। तर, शहरको मूल समस्यालाई छायामा पार्ने गरी यी समस्या सामुन्नेमा आइरहेका छन्। अझ भनौँ, ल्याइँदैछ। बिना योजना सडक व्यवस्थित गर्छौं भन्दै फिल्मी शैलीमा अघि बढ्ने काम भइरहेको छ।

काठमाडौँ शहरमा कैयौँ यस्ता स्थान छन् जहाँ निजी र सरकारी गाडी पार्क भइराखेका हुन्छन्। ती स्थानमा ४–५  वटा ठेलागाडी अट्छन्। यो चाहिँ शहरको समस्या होइन? पार्किङले पनि हामीलाई ओहोरदोहोर गर्न समस्या भइरहेको छ। यस्ता साधनमा भाडा लगाएर हुन्छ वा नलगाएरै, महानगरले प्रशस्त स्थान दिएको छ। तर, ठेलागाडीमा फलफूल तथा तरकारी बेच्नेलाई चाहिँ महानगर किन आफ्नो शत्रु सम्झन्छ? उनीहरूले कहाँ कसरी शहरको सौन्दर्यलाई बिगारे?

गुजाराका निम्ति फुटपाथमा व्यवसाय गर्ने गरीबलाई लखेटेर महानगर बहादुर ठहरिन्छ? के महानगर र मेयरले बहादुरी देखाउने ठाउँ त्यही हो? अझ अनौठो त के छ भने महानगरका यस्ता कदमको सराहना गर्नेहरू तिनै छन् जसले सडकलाई गाडी पार्किङ स्थल बनाएका छन्। किनभने गरिखाने गरीबलाई त्यहाँबाट हटाउँदा उनीहरूले गाडी पार्क गर्ने ठाउँ पाउँछन्। तपाईं हामीले देखेकै छौँ, यस्ता सार्वजनिक स्थलमा दिनहुँ गाडी पार्क भइरहेकै हुन्छन्। दिनभर नै ती ठाउँ पार्किङका लागि प्रयोग भइरहेका हुन्छन्। दुई घण्टा मात्र तरकारी बेच्नेलाई लखेट्ने, दपेट्नेले २४ घण्टा गाडी पार्क गर्नेलाई भने केही पनि गर्नु नपर्ने हो?

शुरूआत चरणमा व्यवस्थित शहरको परिकल्पना नहुँदा यस्तो विकराल स्थिति आएको जस्तो लाग्छ। महानगरपालिकाले एउटा ‘स्वेत–पत्र’ ल्याओस्, हाम्रो परिकल्पनाको शहर यस्तो हो भनेर। त्यसो चाहिँ नगर्ने। कहिले टुकुचा खनिदिएको छ, कहिले सुकुम्बासी बस्ती उजाड्न खोजेको छ। कहिले सडकका निमुखालाई आक्रमण गरेको छ। पहिले महानगरले हामीलाई शहरको दृश्य देखाओस्। उनीहरूको परिकल्पनाको शहर यस्तो हो भनिदेओस्। अनि हामी सहयोग गछौँ। भारतीय सिनेमाको योजनाविहीन ‘हिरोइजम शैली’ कदापि सफल हुने छैन।

आर्थिक र परिस्थितिगत सम्बद्धता
हाम्रो आर्थिक संरचना ‘फर्मलदेखि इन्फर्मल इकोनोमी’मा आधारित छ। सामान्य तवरबाट हेर्दा पनि महानगरपालिकाको यस कदमले कति मान्छेको रोजगारी, जीविकोपार्जन र आर्थिक प्रणालीलाई असर पार्छ भन्नेमा कसैको ध्यान नै गएको छैन।

शहरको एउटा यस्तो वर्ग छ, जो दिनभर ज्याला मजदुरी गरेर साँझ फर्कने बेला ठेलागाडीबाट सागसब्जी किनेर लैजान्छ। उनीहरूको लागि किराना पसल र डिपार्टमेन्ट स्टोरमा आर्थिक हैसियत नै पुग्दैन। सागसब्जी बेचेको रकमबाट ठेलागाडी सञ्चालकहरूले पनि बेलुका बालबच्चाको छाक टार्न चामल किनेर लैजान्छन्। यसले दुई परिवारको आर्थिक दैनिकी र जीविकालाई सँगसँगै लगेको छ।  यसलाई आपसी पारिस्थितिक सम्बन्ध भनिन्छ।

हाम्रो शहरमा, काठमाडौँ महानगरमा यस प्रकारको ‘इकोसिस्टम’ चलिरहेको छ। के काठमाडौँ महानगरले यसको हेक्का राखेको छ? के नीतिनिर्माण तहमा बस्नेहरूले यसलाई बुझेका छन्? यसकारण महानगरको बलजफती कदम कतिपयलाई स्वाभाविक लाग्न सक्छ। तर, जब यो ‘इकोसिस्टम’ टुट्छ, त्यसपछि मात्र हामीलाई महसुस हुनेछ कि हामी कति भयानक गल्ती गरिरहेका छौँ भन्ने।

काठमाडौँ शहरमा रहेको ‘रेन्टल पपुलेसन’, सामान्य मजदुर, ज्याला गर्नेको संख्या कति होला? उनीहरूका लागि पनि त स्थान चाहियो। यसले गर्दा शहरको व्यवस्थापनमा पहिलो प्राथमिकता शहरमा मानिसले पाउनुपर्छ। शहरको भौतिक सुविधा यहाँ बसोबास गर्ने हरेक मानिसलाई केन्द्रमा राखेर तय गरिनुपर्छ र योजना त्यहीअनुसार तर्जुमा गरिनु पर्छ। यसो हुँदा मात्र शहरको उचित व्यवस्थापन सम्भव हुन्छ।

शहरमा एकै खालका मानिस मात्र छैनन्। यहाँ विभिन्न आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिवेशका मानिस बस्छन्। ती सबै मानिसको स्थान शहरमा कहाँ हुन्छ भनेर परिकल्पना गरिनु पर्छ।

काठमाडौँ महानगरकै सन्दर्भ हेर्दा पनि कतिपय स्थानमा मेयरले चालेका कदममा वडाध्यक्षहरूले नै विरोध जनाइरहेका छन्। बिना योजना र सूचना महानगर जसरी अघि बढिरहेको देखिन्छ, महानगरपालिका नै ‘डेमोक्रोटिक प्रोसेस’ मा चलेको छ कि छैन भन्ने प्रश्न खडा हुन्छ। अहिले त्यही भइरहेको छ।

त्यसकारण शहर जहाँको होस्, जस्तो होस्, त्यहाँ बस्ने मानिसलाई केन्द्रमा राखेर शहरको परिकल्पना गरिनु पर्छ। त्यो परिकल्पनामा सबै सहमति भएपछि मात्र अघि बढ्नुपर्छ।

बालेनको ‘क्विक एक्सन’मा वाहवाही गर्ने जमात
काठमाडौँका मेयर बालेन शाहका कदमलाई एउटा जमातले निकै चर्को स्वरले वाहवाही गरिरहेको छ। यसमा अरूभन्दा युवा पंक्तिको समर्थन बढी देखिन्छ। यसअघिका सरकार तथा सरकार चलाउने नेताहरूले न्याय दिन र सेवा प्रवाह गर्न नसक्दा पनि यस्तो मनोविज्ञान बनेको होला। न्याय र सेवा नपाएको ‘फ्रस्ट्रेड’ जमातले ‘क्विक एक्सन’लाई वाहवाही गर्छ। तर, यसको दीर्घकालीन असर कस्तो हुन्छ भन्ने भेउ पनि सायद उनीहरूलाई छैन होला।

बुझ्नुपर्ने के हो भने महानगर शहर भनेको यस्तो हुन्छ भनेर एउटा प्रष्ट दृश्य देखाउन सके मात्र पनि हामीले सक्दो सहयोग गर्ने थियौँ।

तर, हामी नागरिक मात्र होइन, नेता पनि ‘फिल्मी शैली’बाट प्रभावित हुन थालेका छौँ। आफूलाई स्ट्रक्चरल इन्जिनियर भनेर चिनाउनुहुने मेयरसाबले उहाँको इन्जिनियरिङको पक्षबाट पहिले शहरको चित्र देखाउनु पर्‍यो। आगामी पाँच वर्षमा कस्तो शहर बनाउने योजना छ, पहिले त्यो सबैले बुझ्ने गरी भन्नुपर्‍यो। अनि मात्र एक्सनमा जानुपर्‍यो। 

शहरका गरीब र ठेलागाडी हटाएर शहर सुन्दर हुन्छ भन्ने नै उहाँको निर्क्योल हो भने त्यो गलत हो। मानिसको घर भत्काएर बाटो फैलाइएको छ, त्यही ठाउँलाई फेरि गाडी पार्किङ स्थल बनाइएको छ। अहिले भइरहेको ‘शहर सुन्दर पार्ने’ काममा योभन्दा ज्यादा केही भएको छैन।

शहरको परिकल्पना गर्दा मानवकेन्द्रित हुनु पर्‍यो। काठमाडौँका मेयरदेखि शहरी विकास मन्त्रालयका उच्चपदस्थहरूलाई यसबारे अझ बढी थाहा होला, किनभने उहाँहरू विश्वका ठूला शहर घुम्नुभएको छ। रोम जस्तो शहरमा त मानिसले फुटपाथमा सामान बेचिरहेका छन् भने काठमाडौँमा किन नहुने? कैयौँ देशका सुन्दर शहरमा फुटपाथमा चित्र बनाउनेदेखि अनेक काम गरिरहेकै हुन्छन्। फुटपाथले शहरको सौन्दर्य बढाउने र जीवन्त बनाउने काम गर्छ। सवारी साधन र भौतिक संरचनामा मात्र केन्द्रित शहर मृत शहर हो। फुटपाथ व्यवसायी, मजदुर, भाडामा बस्नेहरूको अधिकारको विषयमा चाहिँ महानगरले के सोचेको छ? कि सोच्नु पर्दैन?

(मानवशास्त्री ढकालसँगको कुराकानीमा आधारित)


सम्बन्धित सामग्री