०८२: उडीउडी चुप्पा!

उँघ्दै–ब्युँतिँदै गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तीमा देश र देशवासीको हित खातिर आइन्दा यस्तो नभनिइदिउन्, “म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छु।”

काठमाडौँको भित्री बजारमा पछिल्ला महिनामा चर्चामा रहेको लघु–व्यापारको फसल हो— उडीउडी चुप्पा! अर्थात्, ९९ रुपैयाँमा हरेक थोक सामान पाइने दुकान। यो प्रसंग नेपाली राजनीति र राजनेतारूपी पात्र–प्रवृत्तिमा मिल्दोजुल्दो देखिएकाले साभार मात्रै लिइएको हो। शुरूमै कृतज्ञतासहित धन्यवाद—उडीउडी चुप्पा!  

‘चुप्पा’ कहाँबाट शुरू गरौँ भन्ने अन्योल नराखे हुन्छ। जे जताबाट गरे पनि हुन्छ। मुख्यतया देशको राजनीति ठीक पार्छु भन्दै सबैभन्दा ‘बेठीक’ तुल्याउने राजनेताहरू अग्रपंक्तिमा यो चुप्पाका भागिदार हुन्। यसमा पनि स्वभावतः सबैभन्दा अगुवा अंशियार हुन्—प्रधानमन्त्री केपी शर्मा ओली।

सामाजिक सञ्जाल र चर्चाधारीका निम्ति थाइल्यान्डमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनभन्दा प्रम ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेट सबैभन्दा चर्चामा रह्यो, २०८१ अन्तिमको सबैभन्दा ठूलो राष्ट्रिय उत्सव। ओली र मोदीबीच भएको साइडलाइन भेटवार्ता केही जानिफकार र समीक्षकका निम्ति अहिलेसम्म नभएको ‘आइस–ब्रेक’ थियो। विशेषतः दलगत कित्तामा सभक्तिपूर्वक अघिपछि गर्नेका निम्ति ठूलो ब्रेक–थ्रु र सम्बन्धको नयाँ आयाम थियो। तर, भयो चाहिँ के भन्नेमा न प्रम ओलीसँगै भ्रमणमा पुगेका कसैलाई पत्तो छ, न प्रधानमन्त्री स्वयम ‘जबाफदेही’ देखिएका छन्। सबैभन्दा उपल्लो तहको सबैभन्दा दरिलो तर्क छ, सुन्नेलाई सुनको मालाझैँ, ‘दुई देशका प्रधानमन्त्रीबीच यसरी आजसम्मै वन–टु–वन वार्ता भएकै छैन।’

दुई प्रधानमन्त्रीबीच भयो भनिएको ३५ देखि ४५ मिनेटबीचको (यकिन छैन) वन–टु–वन वार्ताले कुन ‘गाँठो’ फुकाल्यो त? के यो भेटले ६ वर्षअघि तयार भएको द्वैदेशीय प्रबुद्ध समूह प्रतिवेदन (इपीजी रिपोर्ट)को बुझबुझारथ गर्ने टुंगो गर्‍यो? अनि पुरानो सुस्तादेखि नयाँ चुच्चे नक्सा सम्मको संवाद नि? कि, बर्षौंदेखि रोकिएका उच्चस्तरीय संयन्त्रका वार्ताहरू अब सुचारु हुने भए? अथवा, सरकार गठन भएको ९ महिनायता आइरहेको ‘हिच्की’को प्रत्युत्तरमा प्रम ओलीको दिल्ली भ्रमणको फुर्सद निस्किने भयो त? 

अहँ, केही थाहा छैन। प्रधानमन्त्री यात्राका अघिपछि ‘ह्यान्डी’ बनेर गएका परराष्ट्रका उच्च अधिकारीहरू समेत बैंककबाट सिंहदरबार कार्यकक्षमा फर्किन्जेल अन्योलमै छन्— आखिर भएको के हो? यो बेला २०७७ कात्तिक ६ गतेको स्मरण हुन्छ, जतिखेर जहाँ ‘नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिन’ भारतीय गुप्तचर संस्था (रिसर्च एन्ड एनालाइसिस विङ) का प्रमुख सामन्तकुमार गोयलसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेटवार्ता गरेको प्रमाणित सूचना आएको थियो, प्रम ओलीकै प्रेस सल्लाहकारबाट। आज आएर फर्की हेर्दा ओलीले बालुवाटारमा खुफिया भेट गर्नु वा बैंककमा समकक्षी मोदी (वन–टु–वन) भेट्नुमा त्यति अन्तर छैन, जहाँ विजयोत्सव मनाइहाल्नु परोस्। 

यो कस्तो जबाफदेहिता बिनाको शासन हो, जहाँ आफ्नो देशको प्रधानमन्त्रीले कुनै खुफिया पात्रसँग भेटेको वा अर्को समकक्षीसँग भेटेको ‘बात’ पनि कोही कसैलाई थाहा छैन। फेरि दन्त्यकथा यस्तो बनाइएको छ कि किन्तु–परन्तुभन्दा माथिको यो गुफ्तगुबारे न प्रश्न छ, न उत्तर!

हो पनि। ओलीकै जवाफी शैलीमा: भेट भयो, सकियो—यसमा अर्को विषय, मुद्दा कहाँ रहन्छ र? 

⁎⁎⁎
परार सालतिर हाम्रा प्रधानमन्त्रीको एउटा उद्घोष आएको थियो—भगवान् राम भारतको अयोध्यामा जन्मेका होइनन्, नेपालकै माडी, ठोरी (चितवन)मा जन्मिएका हुन्।

यो पाला २०८१ को अन्त्यमा फेरि अर्को उद्घोष आयो—संस्कृत व्याकरणका जन्मदाता पाणिनी पाकिस्तानमा जन्मिएका होइनन्, नेपालकै पाणिनी गाउँ (अर्घाखाँची जिल्ला) मा जन्मेका हुन्। (यो अन्योलयुक्त घडीमा यो कथनबारे दर्शन–ज्योतिषीका व्याख्याता ‘ओलीवादी–प्राज्ञ’ जगमान गुरुङ (नेपाल–ऋषि) लाई सोधिहेरौँ भनेको थिएँ, उनी त रातारात घोर राजावादी पो भैसकेका रहेछन्।) 

यसरी कामकुरो एकातिर छ। कुम्लो बोकेर नेता र नेतृत्व अन्यत्र गएका गयै छन्। ‘यसरी नबत्तिनुस् न प्रधानमन्त्रीज्यू’ भनेर भनिदिने आसेपासे कोही छैनन्, सबै सभक्तीपूर्वक उद्घाटन र शिलान्यासका सूत्रधार बन्दै अघिपछि गरिरहेकै छन्। 

अस्ति भर्खरै, गठबन्धन सरकारमा शक्तिशाली परराष्ट्रमन्त्री आरजू देउवा राणा भारतको झारखण्डमा प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न सवारी भएको थियो। यसको साइडलाइनमा भने दिल्लीको राइसिना डाइलग (१७–१९ मार्च) पनि थियो नै। नभन्दै साताव्यापी धर्म–दर्शन–आरती भ्याएर काठमाडौँ उत्रनेवित्तिकै आरजूको तत्वज्ञान दुनियाँले सुन्नु परेको थियो, “होइन रहेछ, भारतले नेपालको वर्तमान गठबन्धन फेर्न चाहेको होइन रहेछ।”

ओहो, मानौँ हामी भारत वर्षको एउटा ‘राज्य हौँ’ जसलाई चलाउँछ–खेलाउँछ अरू कसैले ! यस्ता फत्तुरका कुरा गर्ने मन्त्रीज्यूमाथि न प्रश्न गरिन्छ, न प्रतिप्रश्न नै! 

फेरि अर्को वितण्डा आइपर्‍यो, पूर्व प्रधानमन्त्री एवं गठबन्धनका अर्का नाकी— कांग्रेस अध्यक्ष शेरबहादुर देउवालाई! चैत दोस्रो साताको राजावादी जुलुसमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रदर्शनीमा आएको र राजावादी अभियानमा भारतले सहयोग गरेकोबारे देउवा–तहमा दिइएको स्पष्टीकरण उस्तै ‘लज्जास्पद’ सुनियो। दुई दिनअघि मुख्यमन्त्री आदित्यनाथ दिल्लीको नेपाली दूतावासमा गएर आफ्नो कुरा खण्डन गरेको साबिती बयान दिने उनै देउवा फेरि “ए होइन रहेछ है, हाम्रा राजदूत लखनउ गएर मुख्यमन्त्रीलाई भेटेका रहेछन्। गलत सूचनाका आधारमा मैले अस्ति त्यो बोलेको रहेछु” भन्दै आफ्नै बयान फेरिरहेका थिए। 

ओली–पोलिसीका कारण द्वैदेशीय सम्बन्ध थिलथिलो बनिरहेको यो बेला बारम्बार प्रधानमन्त्री बनेका र हाल ओलीका दायाँबायाँ बनेका देउवालाई ‘गलत सूचना’ दिने को थियो? दिल्लीका राजदूत शंकर शर्माले भ्रामक सूचना दिएका हुन् कि देउवाका आसेपासेले? यस्तो गम्भीर सरोकारमा आएको–पाएको उडन्ते सूचनाकै भरमा देउवा तहका राजनेताले जे पनि बोलिदिने? 

अनि, यो गन्जागोलका माझ देउवाका दायाँबायाँ रहेका प्रम ओली चाणक्य–मन्त्र सुनाइरहेका छन्— ‘झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिन्छ, मौरीको संगत गर्दा फूलबारीमा। हेक्का राखेर संगत गर्नुहोस्।’

उफ्! यो उडनतस्तरी मन्त्रणाका माझ ओलीले योचाहिँ भनेनन् कि को हो झिँगा, के हो मौरी? ओली के हुन्? देउवा के होलान्? अनि प्रचण्ड नि ?

यो पारिवारिक टाइपको इतिवृत्तमा अब देउवा पुत्र जयवीरको तरक्की पनि मिडियामा पढिहेरौँ, जसले हालैका चार वर्षमा किनेका रहेछन्— १ अर्ब रुपैंयाको ७३ रोपनी जमिन। काठमाडौँ, बर्दिया र कास्कीसहितका थातथलोमा घरघडेरी किन्दै आएका पुत्ररत्नबारे मिडियाले पुर्जा–बकससहितको समाचार उत्खनन गर्दा पनि सम्पत्ति शुद्धीकरणको ‘नजरिया’ यता गएकै छैन। के उसो भए, पुत्ररत्नको यो तरक्कीलाई अहिले मुलुकले बेहोरेको सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची (ग्रे–लिस्ट)मा लगेर राखौँ? अहँ मिल्दैन। यही सवाललाई अलिक दह्रो गरी उठाउने हो भने फेरि लोकतन्त्रको कलिलो बिरुवामा मलको साटो बिख हालेको ठहर्न सक्छ।

भो–भो, तैँ चुप मैँ चुप !
⁎⁎⁎
२०८२ को सुरुवातमा अलिक सकारात्मक बात गरौँ कि भनेर आँट निकालिहेर्ने हो भने हिजो अस्तिदेखि रहेभएका उल्झन र गाँठागुँठी चटक्कै माया मार्नुपर्ने हुन सक्छ। जस्तो—ओम्नी कान्ड, नक्कली शरणार्थी प्रकरण, वाइडबडी, गिरीबन्धु, नेपाल ट्रस्ट, टेरामक्स, ललिता निवास, सुरक्षण प्रेस, आयल निगम भण्डारण जग्गा खरिद कान्ड आदि। यस्ता अरू दर्जनौँ काण्ड अहिले अनुसन्धानमा छन्। नीतिगत, नैतिक र चारित्रिक कान्ड त कति छन् कति! सरकारमा रहेका मन्त्रीजीहरूका प्रकरण एकपछि अर्को गर्दै सप्रमाण बाहिर आइरहेका छन्। तर, सबैजसो किन ढुक्क छन् भने यस्ता आरोप र बातहरू सिधै तामेलीमा जानेछन्, किनभने अख्तियार प्रमुख स्वयम जोडिएका थुप्रै केसहरू अहिले पनि ‘तामेली’मैं छन्। यो ‘तामेली’ प्रक्रिया आफैँमा सजिलो चिज रहेछ, कुरो मिलाउनासाथै ‘तामेली’! त्यही भएर उस्तै मस्त–कलन्दर मुद्रामा प्रम ओली भनिरहेका छन्—“देशमा भ्रष्टाचार चलिरहेको आशंका छ।” 

यो पनि: प्रतिवादीको सूचीबाट पटक–पटक हराएको नाम

यो तहको विस्मरण र विस्मृतिको अवस्थालाई शाब्दिक अर्थमा ‘मेन्टल–फग’ भनिन्छ क्यार!

पछिल्ला केही उदाहरण सम्झिहेरौँ, केवल सम्झनाका लागि। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले मुस्किलले १ वर्ष मात्रै पद धानेर राजीनामा दिएका छन्। कारण एउटै छ, प्राडाले सबै व्याख्यानसहित भनेका छन्—“प्रधानमन्त्री ओलीको दबाबकै कारण राजीनामा दिएँ।”

राजीनामापछि देशकै प्रतिष्ठित र ठूलो विश्वविद्यालयमा उपकुलपति छैनन्। आफ्नो जीहजुरी झुन्ड र आफ्नै पार्टीगत झन्डाको तावेदारी यहाँ बढ्दो छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ‘१ अर्ब रुपैंयाको चलखेल जारी रहेको’ हल्ला र आशंकाबारे पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले 'खुलासा' गरिसकेका छन्। यो तहको संवेदनशील कार्यकारी ओहदामा समेत झन्डा र झुन्ड चाहिने रहेछ भन्ने बयान सुन्दा मात्रै पनि जोकोहीको दिमागमा कुहिरो (क्लाउडिङ अफ कन्सस्नेस) भरिन थाल्छ।

अरू नजिरहरू पनि कति छन् कति! नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जबरजस्ती पदमुक्त गराउने प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्काको ‘नियत’बारे केही भन्न बाँकी नै छैन। अनि, ७ अरब रुपैयाँभन्दा बढी ठगी भएको सहकारीका भयावह प्रकरणहरूका सामु कहिले ‘असार १५ को दही चिउरा साइत’ बनाएर र कहिले आकस्मिक पक्राउ पुर्जीको बहानामा एक जना रवि लामिछानेमाथि मात्रै जे जसो भइरहेको छ— यो कत्तिको न्यायोचित छ भन्ने बहस सुरु भएकै छैन। जबकि करोडौँ रुपैयाँ ठगीमा परेकी सांसद गीता बस्नेत (राप्रपा) माथि पक्राउ पुर्जी पनि छ, तर पछिल्लो संसद् अधिवेशनमा २७ दिन अनुपस्थित रहेकी यी फरार सांसदको बिदा स्वीकृत भैसकेको छ। यता, सहकारी पीडितहरूको ५ लाखभन्दा कम बचत भएकाहरूको बचत फिर्ता गर्नेबारे संसदीय समितिले निर्णय गरेर सुझाव दिएको महिनौँ भइसक्यो। कार्यान्वयन शून्य छ। 

एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि सहकारी रकम हिनामिनामा तानिइन्। तर, उनी पनि पक्राउ नपर्दै अदालतमा हाजिर भएर १० लाख रुपैयाँ धरौटीमा छुटिन्। कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ पनि सहकारी ठगीमा परेर केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा छँदैछन्। तर, सत्ताशक्ति र झुन्ड–झन्डाका माझ धेरै र ठूलो स्वरमा बोल्नै भएन।

यहाँ देखिएको असन्तुष्टि, निराशा र प्रतिरोधको कुरा गर्‍यो भने कतै ‘राजावादीमा दर्ज भइएला’ कि भन्ने भय हुन्छ। अथवा, यति धेरै सहकारी ठग–ठगीको घनचक्करमा ‘रविलाई मात्रै किन?’ भनेर नाम लिइदियो भने घण्टी पार्टी होइएला कि भन्ने त्रास यथावत् छ। समाजशाश्त्री निर्मला ढकालले सामाजिक सञ्जालमा भर्खरै भनेकी छिन्, “रविलाई मात्रै घिसार्ने तर मुख्य आरोपी राईलाई अहिलेसम्म छुन पनि नसक्नु चाहिँ हाम्रो राज्य र सत्ताको नालायकीपन हो। पीडितलाई यो कार्यले कत्तिको सम्बोधन हुन्छ, हेर्नु पर्दैन? राहत कसरी मिलेको छ, खोइ जिम्मेवारी?”

⁎⁎​⁎
​​अझै पछिल्लो ताजा समाचार के छ भने, जनआन्दोलन दिवस सफल भएको दिन वैशाख ११ मा सत्ताधारी घटक एमालेले १ लाख युवा काठमाडौँ उतार्ने अर्को घोषणा गरिसकेको छ। राजावादी, माओवादीपछि ‘देखाइदिने’ मुद्रामा एमाले आएको छ।

चर्को सोध–प्रतिसोधसहित ‘देखाइदिने’ बहानामा सडकमा आउन लागेको एमालेको अभीष्ट र संविधान संशोधनका लागि ‘बनाइएको’ अहिलेको सरकारको हविगत उही–उस्तै हो। चैतको अन्तिम साता सिराहा जिल्लामा प्रधानमन्त्री ओली जाने समारोहमा सहभागी गराउन आगन्तुकलाई पेट्रोल/डिजेल बाँडेझैँ लामबद्ध त्यो दृष्यचित्र छिनभरलाई (अस्थायी) मात्रै हो, फेरि अर्को छिनमै प्रधानमन्त्रीले बोल्दाबोल्दै त्यो ठूलो भीड घर फर्कदैं गरेको दृश्य भने बरु दिगो र अर्थपूर्ण (स्थायी) हो। वैशाख १ को साइतमा दोलखामा पनि पर्यटन मन्त्री बद्री पाण्डेका निम्ति त्यही हालत बन्यो। कुनै ठुला भीड र समारोहमा कुनै राजनीतिक दलका राजनेताहरू त्यति सजिलै हुंकार गर्न नसक्ने आजको अवस्था यो अनुशासनहीन भीडले जन्माएको होइन, बरु नेता–नेतृ स्वयमले जन्माएका हुन्। 

यो पनि: धरहराभन्दा अग्लो ‘दमक टावर’ : दृश्यमा झुपडी र खेत, न भाडा न व्यापार

जस्तो, ‘५४ वर्ष पुरानो शिक्षा ऐन (२०२८) लाई बदलेर नयाँ ऐन ल्याइदेऊ, हामीलाई बाजेका पालाको ऐन–कानून नदेखाऊ’ भन्न काठमाडौँ उत्रिएका शिक्षकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘अहिले शिक्षक आन्दोलन किन चलेको हो, मलाई थाहा छैन’ भन्ने तहको जवाफ फर्काइरहेका छन्। शब्द ज्ञानीहरूका अनुसार, शब्दमा तीन प्रकारको शक्ति हुन्छ— अभिधा, लक्षणा र व्यञ्जना। जस्तो : ‘खोया’को शब्द शक्ति पनि तीन अभिप्रायमा हुन्छ। मकैको घोगाको भित्री डाँठ (अभिधा), यो मान्छे खोया हो (लक्षणा) र यसले खोया खाएछ (व्यञ्जना)।

मुलुकका प्रधानमन्त्रीले नबुझेको ५४ वर्षे पुरानो शिक्षा ऐनको कथा अभिधा, लक्षणा वा व्यञ्जना के होला—नबुझिसक्नु छ।

अनि, सरकार आफैले पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ‘आम मानिसमा २०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीका बेलाभन्दा अहिले बढी निराशा देखिएको’ सार देखाएको छ। आखिर किन यसो भयो होला? शायद सुशासन र जबाफदेहिताको अर्थमा हाम्रा शासकहरूको ‘आफ्नो अनुहार हेरीकन आफैँ हुन्छु झसङ्ग’को व्यञ्जना–मुद्रा देखेर/बुझेर अर्थविद् खनालको मूल्यांकन आएको हुन सक्छ, चाहे यसका सूचांक जेजे हुन्। 

शिक्षाविद् केदारभक्त माथेमाको भर्खरैको अन्तर्वार्ताको एउटा अंशले पनि त्यही यथार्थ औँल्याएको छ, माथेमा भन्छन्, “अंग्रेजीमा एउटा भनाइ छ— राइटिङ अन द वाल! अर्थात्, हाम्रा नेतागणले भित्तामा के–के लेखिएको छ, जनताले के भन्दैछन् भन्ने पढ्न नसकेको देखिन्छ। यसो भएरै संसारका सबै शासक र सत्ताहरू दुर्घटनामा परेका हुन्। नेताहरूले यो बुझ्न नसकेको स्थिति साँच्चै दुःखद छ।”

⁎⁎⁎

आफूले गर्न नसकेका, हुन नसकेका र जवाफहीन रहेका मुद्दाको सबैभन्दा सहज बिषयान्तर हो— दोषारोपण। भीडमा हाकाहाकी देखिएको र प्रमाणित दृष्यचित्रलाई प्रहरी भनिदिन्छ : डिप–फेक भिडिओ!

बेचन झा पक्राउको आर्तनादमा बालकोट दरबारको बार्दलीमा बनेको गठबन्धनलाई भनिन्छ : असार १५ को दही चिउरा!

हेलिकोप्टरमा उडेर गाउँपालिका उद्घाटन गर्न गएको राष्ट्रपतिको करुणामय दृश्यलाई भनिन्छ : शासकीय उपलब्धि!

गिरीबन्धुमा नियम नबन्दै बेचेर खाएका थिए, नियम बनाएर बेची खाने बाटो बनाइदिएँ भन्ने प्रधानमन्त्रीलाई भनिन्छ: समृद्ध नेपाल, सुखी नेपालीका बा !

यस्ता कारण र दोषारोपणहरू अनन्त: छन्। यथार्थत ‘राजा आऊ देश बचाऊ’ केही पनि होइन, यो पनि दोषारोपण मात्रै हो। अहिले रवीन्द्र मिश्रसहितको जमातलाई चौकीथुना गरिएको प्रकरण पनि दोषारोपण नै हो। भर्खरै तीनकुने काण्डमा भएको आगजनी, जिउधन र दुरुत्साहनको घटनाक्रममा रवीन्द्रहरू ‘कारक’ होलान्। तर, बर्षौंदेखि चुच्चे रेल भनेर, घरघरमा ग्याँस भनेर, समुद्रमा नेपाली जहाज भनेर, मुलुकका ६५७ पालिकामा एकै पटक अस्पताल भनेर जन साधारणलाई झुक्याएको–झुक्यायै गर्ने यी राजनेताहरू प्रश्नको कठघरामा आउँदै नआउने? भ्यू–टावर भनेर, स्वागत द्वार र सभागृह भनेर राज्यको अरबौँ रुपैयाँ हावासरि उडाउने हाम्रा प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सचिवहरू आखिरमा के हुन् त?

यहाँ निराश समाज र निराशायुक्त जमातको भाष्य एकदमै उर्लेर गएको छ। यसको कारण पनि यही हो—राजनीतिको कुर्चीमा बसेकामध्ये धेरैजसो भित्रियाहरू जबाफदेही छैनन्। उठेका सबै प्रश्नको जवाफ दिनुपर्दैन भन्ने आफ्नै मनचिन्ते ‘साइकी’ छ धेरैसँग। अनि, बाहिर बसेर कराउने महासचिव, महामन्त्री, नागरिक समाजका अभियन्ता र साखुल्लेहरू पनि पानीमा अपान–वायु गरेझैँ हविगतमा छन्—न आवाज आउने, न गन्हाउने! यो घडी जन साधारण भने बाटाको डिलमा बसेर उही दुर्गेशको गीत सुनिरहेका छन्—हामी हेरेको हेर्यै !

यसो भन्दैमा सबै सकियो, केही रहेन भन्ने अवस्था पनि होइन, छैन। जसले जति चुरीफुरी गरे पनि २०८४ त छँदैछ, जवाफ त्यस बेला त दिनै पर्ला। अहिले यत्ति हो कि चुरोट सल्केको छ, सल्काइएको छ। अब सर्को तानिरहनपर्दैन। एकबार सल्केको चुरोट आफैँ पनि सल्किरहन्छ। अझ यो ‘नेताराज’ले चुरोट थप सल्काउनेछ नै। चुरोट निभाउने हो भने ओली–देउवा–दाहाल सहितका अग्रगामी छलाङका प्रयोक्ताले आफ्नाबारे अलिक ज्यादा सोच्नुपर्ने हो कि? वानप्रस्थ उमेरमा पनि सिंहदरबारमा तस्बिर मात्रै झुन्ड्याउने यो हठलाई सबैभन्दा सुरुमा त्याग्न सक्नुपर्‍यो। ८० छेकमा लागेका र छैटौंं पटक प्रधानमन्त्री हुने ध्याउन्नमा उँघ्दै–ब्युँतिँदै गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तीमा यो देश र देशवासीको हितका खातिर आइन्दा यस्तो नभनिइदिउन्, “म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छु।”  

यसरी जहाँ जता गए पनि हाम्रा राजनेताहरूको २०८१ को तस्बिर देखिएको छ, जो क्रमशः ‘नेताराज’का पर्याय बन्दै गएका छन्। ती सभा समारोहमा खुलेर जान सक्दैनन्।  जनताका प्रश्नको जवाफ उखान–टुक्कामा मात्रै दिन सक्ने भएका छन्। अथवा युथफोर्स, वाइसीएल वा तरुण दस्ता उतारेर मात्रै जवाफी बन्न थालेका छन्। र, यिनीहरू जो हाम्रो बजारको ९९ रुपैंयामा आउने हरेक मालझैँ ‘उडीउडी चुप्पा’ बनेका छन्— सस्तोको ग्यारेन्टी हुने, टिकाउको भर नहुने ! (सुनभन्दा कम छैन, हराएमा डर छैन।)

यसलाई तत्काल अहिले नबुझिएको र नबुझिने कुरा भन्ठानिएला। तर, कवि ईश्वर वल्लभले उहिल्यै भनेझैँ यो यथार्थ त्यत्तिकै घातक छ कि जो विस्फोट भएपछि मात्रै बुझिन सकिएला :

“अन्दाज गरिरहू

कहीँ यो कुहिरोमा विस्फोट त छैन

यो शान्ति कुनै विभीषिकाको 

आयोजन त होइन 

बुझिँदै बुझिएन यी शब्दहरू

भनौला तिमी—

तर, यी शब्दहरू 

अहिल्यै बुझिँदैन !”