Thursday, January 23, 2025

-->

निराशाको नाडी
निराशाका आयाम

अहिले राजनीति गर्नेहरूको रोमान्स अनि भाइभाइबीचको ‘ब्रोमान्स’ जारी छ। उनीहरू नार्सिसस् ग्रन्थिले काम गर्छन्। जे मुड आयो, त्यो बोल्छन्।

निराशाका आयाम

हिजोआज नेपालमा निराशा व्याप्त छ। केको निराशा हो अनि यसका कारण के हुन् भन्ने गाँठी प्रश्नहरू हुन्। तिनका उत्तर छन् तर ती जुन कुनै बनिबनाउ दर्शन भएर आउँदैनन्। त्यो यसै भेटिने नरनारीका कुरामा आउँछन्। बाटोमा हिँडेका सर्वसाधारण नरनारीलाई टक्क अड्याएर जीवन र समय विषयमा सोधिएका प्रश्नमा तिनले टेलिभिजनका स्क्रिनमा दिएका उत्तरमा निराशाका कुरा सुन्न सकिन्छ। पत्रपत्रिकामा प्रवाहित समाचारमा देख्न र सुन्न सकिन्छ निराशा। आक्रोशित मुद्रामा बोल्ने राजनीतिकर्मी अनि तिनका अनुयायीका बोलीमा सुन्न सकिन्छ निराशा। 

हिजोआज निराशाको आयाम फराकिलो हुँदै गएको छ। यो झन् जटिल हुँदै गएको छ। एक साहित्यकार भएकोले विषयको जटिलता र बहुल पक्षलाई हेर्दा यसलाई निराशाको तेस्रो आयाम भनौँ कि जस्तो पनि लाग्छ। निराशाको विषयमा छलफल, चिन्ता र आलोचना गर्न सकिन्छ। तर खास अर्थमा निराशाको मीमांसा कसले गर्ने त? यो प्रश्न अनुत्तरित छ। म निराशाको विषयमा छलफल गर्छु भने के म निराशामुक्त छु भन्ने प्रश्न आउँछ। त्यो पनि अनुत्तरित छ। मलाई पनि निराशाको वातावरणले प्रभावित गरेको छ। सबैतिर निराशा मात्र देखिन थालेपछि त्यसको प्रभाव सबैलाई पर्छ भन्ने कुरा सत्य हो।

आम निराशा एउटा शाश्वत तर वर्तमानसँग जोडिएको विषय हो। यो कुनै अमुक ठाउँको चरित्र होइन। यो सार्वभौमिक र सर्वकालिक हुन्छ। यो दर्शन र अधिचेतनाको विषय हो। यो वैरागीहरूको प्रिय विषय भएको छ। यसबाट गीतहरू जन्मिन्छन्, गाइन्छन्। यो विद्रोह गर्नेहरूको पनि आधार हो। घोर निराशा भएपछि मानिसहरू त्यसको कारण र निराकरण खोज्न जरक्क एकैसाथ उठ्छन्। नेपालमा बढ्दै गएको निराशाको वातावरण र मनोगत अवस्था हेर्दा निराशाको परिणाम के हुने हो भन्नेबारे हामीले सोच्नुपर्छ भन्ने लाग्छ। 

त्यसो त निराशाबाट साहित्य र कला जन्मिन्छन्। तर सबैभन्दा चाखलाग्दो कुरा, निराशा राजनीति गर्नेहरूले खेल्ने विषय हो। राज्य र राजनीति सञ्चालन गर्नेहरूले चलाउने विषय हो। तिनका बोली, वचन र कर्मले गर्दा निराशा जन्मिन्छ तर ती थाहा पाउँदैनन्। थाहा पाएर पनि ती केही गर्ने हैसियत राख्दैनन्। यो छोटो लेख निबन्धजस्तो हुँदै गएको छ, तर यसको उद्देश्य त्यो होइन। 

देशहरूले अहिले भोगेका निराशाका कुरा जटिल छन्। निराशा चिन्ता र चिन्तनको विषय हो। तर दिनदिनै मानिसको हत्या, मान्छेका घरगाउँ, शहर र बाटाघाटा ध्वस्त हुने अवस्थामा निराशा पनि मानिसको एउटा टड्कारो गुण भएको छ। 

हिजोका एकाध कुरा गर्छु। युरोपको साहित्य अलिक बढी पढेको बेला थियो त्यो। दोस्रो विश्वयुद्ध र त्यस पछिको युरोपेली साहित्यको उदाहरण लिन्छु। साहित्यकार र चित्रकार अनि संगीतकार र वास्तुविद्हरूले अभिव्यक्ति दिएको विषयको कुरा गर्छु। उनीहरूले समयले सिर्जना गरेको मुड र अवस्थाको विषयमाथि काम गरे। निराशा उनीहरूको विषय थियो। तर उनीहरूले निराशाको ठाडो चित्रण गरेनन्। त्यसको चरित्र र प्रभावको चित्रण गरे। अब आशा छैन, कुरा बिग्रिसक्यो, खासै केही गर्न सकिँदैन भन्ने अवस्था हो निराशा। 

त्यस्तो निराशा युरोपतिर युद्ध र त्यसपछिको कठोर जीवनले जन्माएको अवस्था थियो। जर्मन बमले १९३७ मा ध्वस्त पारेको स्पेनी बास्क प्रान्तको शहर गुएर्निकामा गएर पाब्लो पिकासोले बनाएको अर्द्धअमूर्त भित्तेचित्र अहिले त्यो बेलाको निराशाको युगीन चित्र भएको छ। त्यसलाई साहित्य र कलामा मोडर्निज्म–लगभग आधुनिकतावाद–भनियो। 

प्यारिसको सडक छेउको त्यो बेलाको एक एकान्त ठाउँमा प्रसिद्ध मूर्तिकार अगस्त रोदाँले बनाए। प्रथम विश्वयुद्धपछिको निराशाजन्य काल अथवा १९१९ मा पूरा गरेर राखेको 'चिन्तक' शीर्षकको एउटा मानिसको मूर्ति छ। ठूलो र प्रभावकारी छ। तर अहिले त्यस निराश चिन्तकको वरिपरि भीड लाग्छ। त्यो एक्लो मानिसको मूर्तिकै नक्कलमा बनाएका मूर्तिहरूका ससाना आकार बेचिन्छन्। त्यो उत्तर निराशा वा उत्तर आधुनिक निराशा भएको छ। निराशाका पनि धारा र पारा हुन्छन् आजको युगमा। हाम्रा निराशा पनि जटिल भएका छन्। 

अहिले त्यो आयाम नै अर्कै भयो। अहिले गाजा क्षेत्रमा बमले ध्वस्त अमुक घरको चित्रण नै हुँदैन। त्यो भयावह छ। त्यो निराशा मात्र होइन, बीभत्स अवस्था हो। फ्रान्सेली साहित्यमा अस्तित्वमाथिका तीव्र चिन्तन र चिन्ता अनि विचारहरूबाट बुझिने निराशाको सार विसंगत जीवन भयो। 

एउटा घोर निराशामाथि फ्रान्सेली उपन्यासकार झँ पोल सार्त्रले लेखेका अंग्रेजीमा अनूदित रोड टु फ्रिडम शृङ्खला अनि निराशालाई विचारमा बदलेर अलबर्ट कामुले लेखेका विचार र उपन्यास खुबै चाखले पढेको थिएँ। भारत र पाकिस्तानको जन्म हुँदाको घोर हिंसा र बिचल्लीको विषयमाथि सदात मन्टोले लेखेका कथामा कठोर हिंसा र तनावले जन्माएका अवस्थाको चित्रण छ। त्यसमा निराशाको चित्रण छ। नेपाली साहित्य र कलामा पनि छन् चित्रण। साहित्य र कलाको प्रसङ्ग यत्ति नै। 

गएका झन्डै एक दशकभन्दा बढी समयदेखि नेपालमा आएका परिवर्तन कुनै हामीले नै ल्याएका थियौँ भने कुनै प्राकृतिक महामारी कोभिड र भूकम्पले ल्याएका थिए। कुनै निराशाहरू माओवादी र राज्यको युद्धका दश वर्षका परिणाम थिए। सबै एकैसाथ आइलागे। तर अहिले आएका परिवर्तन उत्तरवादी चरित्रका छन्। यसलाई पोस्टालिटी भनेर हामी छलफलमा ल्याउँछौँ। ती परिवर्तनबारे नेपालका विज्ञ अनि विद्वान अनि इतिहासकारहरूले लेखेका छन्। उत्तरवर्ती परिवर्तनका मैले बुझेका चरित्रबारे केही लेख्छु अनि निराशाको विषयमा त्यसबाट निस्केका कुरा राख्दै यो छोटो लेख सिद्ध्याउँछु। 

नेपालको उत्तरवर्ती चरित्र गणतन्त्रात्मक प्रजातन्त्रको स्थापना भएर आएको संविधान हो। यो ठूलो उपलब्धि हो। यसले काम गर्ने, राम्रा प्रयोग गर्ने, यो देशका मानिसको जीवन सुन्दर बनाउने अनि पुरानो सामन्ती युगका संस्कार बदल्ने अवसर र स्वतन्त्रता दियो। त्यो स्वतन्त्रता एउटा परम जीतको अवस्था थियो जनताको। त्यो अहिले पनि छ। तर त्यो स्वतन्त्रता र उत्तेजनाको ठीक प्रयोग गर्ने कुरामा हामी अलिक असफल हुँदै गयौँ। स्वतन्त्रताले ल्याएको उत्तेजनामा सिर्जनशीलता पनि हुन्छ। अथवा त्यो अवस्थामा मान्छे सिर्जनशील हुन्छन्। अब के–के न गर्ने अवसर मिल्यो भन्ने भावना राख्छन्। हामीले राख्यौँ। त्यो सही हो। तर त्यो उत्तेजनाले लिएका गति सबै ठीक किसिमका भएनन्। बढी धनको दुरुपयोग गर्‍यौँ। यसको मामलामा भ्रष्ट नै भयौँ। हाम्रा भ्रष्टाचारी काम र राजनीतिको रुमानी सम्बन्ध गरायौँ। 

धन आर्जनको कुरामा, जनताले तिरेको करको दुरुपयोग गर्ने कुरालाई लिएर रोमान्टिक भयौँ। दुःखको कुरा, यसो गर्नेमा राजनीति गर्नेहरू नै भए। संविधानले दिएको प्रजातन्त्र र त्यो प्रणालीबाट शासनमा आउनेहरूले भ्रष्ट आचरण गरी धन कमाउने र राज्य र शासनशक्तिमा बस्ने दुई कुराको रोमान्टिक सम्बन्ध बनाए। अहिले राजनीति गर्ने मानिस बिचरा नेता हुन्, तिनलाई कानून लगाउनु हुँदैन। यत्ति रोमान्टिक कुरा बुझ भन्ने सन्देश व्यापक भयो। कत्राकत्रा धनका भ्रष्टाचार हुँदा रहेछन्! 

सर्वसाधारण नरनारीले त्यो रोमान्स बुझेनन्। त्यसले जन्माएको राजनीतिको उत्तेजना मात्र बुझे। अनि थाहा पाए, अब केही हुने छैन। सुधारको आवाजहरू राख्ने संयन्त्र व्यापक भए तर तिनले केही नहुने बुझियो। साहित्य र संगीत अनि चित्रकलामा त्यो परिवर्तन र निराशा अथवा पूरा नभएका आशा युवकयुवतीले कसरी व्यक्त गर्छन् त भन्दै मैले केही साहित्यकार र संगीत मर्मज्ञहरूलाई सोधेँ। अहिले अकर्मण्य निराशा मात्रै छ कि केही अर्थ राख्ने निराश छ? 

सजिलो र सीधै जानकारी पाइने हुनाले संगीतकार, गायक लेखक र स्टुडियो सञ्चालक गिरीश सुवेदीलाई सोधेँ। मैले भनेँ, ‘भियतनाम युद्ध वरिपरि ताकाको अमेरिकी संगीतले विश्वव्यापी मुडमा परिवर्तन ल्यायो। त्यो समयको निराशालाई रक गायक जिमी हेन्द्रिक्सले एक विद्रोही स्वर र संगीत रचनाबाट चिरे। गितारै भाँचेर जान्थे ती मञ्चबाट। निराशाको अभिव्यक्तिको उदाहरण थियो त्यो। हाम्रो संगीतमा त्यस्तो के छ?’ 

मैले उत्तर पाएँ, ‘छ, अहिले युवाहरू निराशा व्यक्त गर्छन् संगीतमा। र्‍याप र त्यसका शब्द चयनमा छ सबै।’ नेपाली लोकदेखि आधुनिकसम्म धेरै लेखेकी र लेखिरहेकी बीबीसी र अन्य मिडियामा संलग्न लेखक सेवा भट्टराईलाई सोधेँ। तिनले भनिन्, ‘गायनमा, लोक गायनमा पनि मुड हुन्छ। तिनमा समय चेतना आउँछ, आइरहेको छ। साहित्यकारहरूले आफ्ना भेला, लेखन अनि राजनीतिभन्दा अलग मञ्च र प्रकाशनमा निराशा व्यक्त गरिरहेका छन्। राजनीतिबाट सिधै प्रभाव पर्ने सर्वसाधारण जनता हुन। तिनका उत्तरहरू मिडिया, खासगरी प्रसिद्ध पोर्टलहरूबाट थाहा हुन्छ।’

म झसङ्ग हुन्छु। उनीहरूका उत्तरमा निराशा छ। राज्य र राजनीति चलाउनेका कामप्रति अविश्वास छ। अहिले राजनीति गर्नेहरूको रोमान्स अनि भाइभाइका ‘ब्रदर्स’ सम्बन्ध अथवा 'ब्रोमान्स' जारी छ। नार्सिसस् ग्रन्थिले काम गर्छन् ती। जे मुड आयो, त्यो बोल्छन्। एउटै सिद्धान्त मान्नेहरूले अस्तित्ववादी कुण्ठाजस्ता कुरा र विचार दिएको सुन्छौँ टिभी र पत्रिकामा। विचार र सिद्धान्तले काम गर्दैन। अहिले आएको निराशा यही सन्धि भंग अथवा दायित्व निर्वाह नगर्ने तर दायित्व बोकेका मानिसहरूका कर्मबाट जन्मिएको चरित्र हो भन्ने देखिन्छ।

लेख लामो हुन्छ। यो लेखमा आफूलाई लागेको कुरा उठान मात्र गरेको हुँ। अहिले नेपालमा व्याप्त निराशा अमुक व्यक्तिका चरित्रले मात्र भएको होइन, ती र तिनका संगठन, सरकार र दायित्व बोक्नेहरूका असरल्ल कर्मबाट आएको हो। सरकारमा भएका मानिस मात्र होइन अरू संघ, संस्था र संगठनका चरित्र त्यस्तै हुँदै गएका छन्।

एकैसाथ जादुजस्तो यो सबै कसैले ठीक गर्न सक्तैन। धेरै ढिलो हुनुभन्दा पहिला नै सबैलाई चेत भयो भने यो देशमा धेरै कुरा बिग्रिसकेको छैन। निराशा चिर्ने कर्म गर्न सकिन्छ भन्ने लाग्छ। तर अहिलेको स्थिति हेर्दा र जताततै निराशा व्याप्त भएको र निराकरणमा काम गर्नेहरू अनुत्तरदायी र आत्मकेन्द्रित भएको देखेर हामी सबै किञ्चित निराश भएकै हौँ। तर समाधान भने झन् निराशामा भेटिने छैन।

यो पनि: तथाकथित निराशाको युगमा


सम्बन्धित सामग्री