Thursday, January 16, 2025

-->

प्रदूषणको उकुसमुकुस : भागेर जाऊँ, कुन ठाउँ जाऊँ…

मानव स्वास्थ्यका लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ, लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?

प्रदूषणको उकुसमुकुस  भागेर जाऊँ कुन ठाउँ जाऊँ…

भारतीय अखबार हिन्दुस्तान टाइम्समा नोभेम्बर ५ मा प्रकाशित समाचारअनुसार भारतीय राजधानी नयाँ दिल्ली यो वर्ष ‘नो गुड एअर डेज्’ अर्थात् कुनै पनि दिन स्वच्छ वायु नभएको वर्षको रूपमा सकिँदै छ। अगस्ट ८ मा त्यहाँको वायुको गुणस्तर (एक्यूआई) ५३ थियो। ५० भन्दा कम एक्यूआई भएको वायुलाई राम्रो गुणस्तरको मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सन्तोषजनक मध्यमस्तरको र त्यसपछि क्रमशः खराब हुँदै घातक श्रेणीसम्म पुग्छ।

१०१ देखि २०० सम्मको वायुलाई मध्यमस्तरको, संवेदनशील उमेरसमूह र बिरामीका लागि अस्वस्थकर मानिन्छ। २०१ देखि ३०० सम्मको एक्यूआईलाई खराब र ३०० देखि ४०० सम्मको वायुको गुणस्तर अत्यन्तै खराब मानिन्छ। ४०० माथिको एक्यूआई त जनस्वास्थ्यका लागि आपत्काल मानिन्छ। 

इस्वी संवत् २०२४ सकिन अझै करिब ४० दिन बाँकी भए तापनि हिउँदको समयमा वायुको गुणस्तरमा सुधार हुने कुनै लक्षण छैन। वर्षभर एक दिन पनि न्यूनतम गुणस्तरको हावामा सास फेर्न नपाउनु ‘दुनियाँको ठूलो प्रजातन्त्र’को राजधानीवासीका लागि दुखद हो। युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिसी इन्स्टिच्युटको अध्ययनले भन्छ, ‘नयाँ दिल्लीको जस्तो वायुको गुणस्तरमा बाँच्दा मानिसको आयु ११.९० वर्ष छोटिन्छ।’

भारतको ‘सेन्ट्रल पोलुसन कन्ट्रोल बोर्ड’ले नोभेम्बर २० को बेलुका ४ बजे प्रकाशन गरेको नियमित एक्यूआई बुलेटिनअनुसार नयाँ दिल्लीको एक्यूआई ४१९ छ, जुन गम्भीर श्रेणीमा पर्छ। यस बुलेटिनमा भारतका २५७ स्थानमा जाँच गरिएको एक्यूआईमा जम्मा १० स्थानको वायुको गुणस्तर मात्र राम्रो गुणस्तरको (५० भन्दा कम) देखिएको छ। 

यसै समयमा नेपालका विभिन्न शहरको एक्यूआई कतै पनि राम्रो गुणस्तरको देखिएको छैन। संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (यूएनईपी) र यसको साझेदार संस्था आईक्यू एअर (आईक्यूएयर)को तथ्यांकअनुसार काठमाडौँ उपत्यकाको अमेरिकी राजदूतावास नजिकैको स्टेसनमा १३२, ललितपुरको पाटन क्षेत्रमा १२७ र हाँडीगाउँमा त झनै १५३ पुगेको छ। राजधानी बाहिरका शहरमा सबैभन्दा राम्रो गुणस्तर भनिएको पोखरामा ८९ छ। तराई–मधेश क्षेत्रका शहरको अवस्था नाजुक छ। भरतपुर, जनकपुर र इटहरीको क्रमशः १२५, १४६ र १५६ छ।

वातावरण विभागको २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार नेपालका २७ स्थानमा वायु गुणस्तर मापन केन्द्र रहेको भनिए पनि केही सीमित शहरबाहेक अन्यत्रको तथ्यांक अद्यावधिक भएको देखिँदैन।

पीएम २.५ 
हावाको गुणस्तर मापन गर्ने अर्को तथ्यांकीय औजार हो–पीएम २.५ र पीएम १०। मानव स्वास्थ्यका हिसाबले पीएम २.५ अत्यन्तै संवेदनशील मानिन्छ। हावामा रहने अत्यन्तै सूक्ष्म कणको मोटाइ २.५ माइक्रोन हुन्छ, जसलाई पार्टिकुलेट म्याटर्स (पीएम) २.५ भनिन्छ। सामान्यतया एक कपालको रौँको मोटाइ ५०/६० माइक्रोन हुन्छ भने कपालको रौँभन्दा पनि २०/२५ भाग कम मोटाइका यस्ता सूक्ष्म कणहरू नांगो आँखाले देख्न सकिँदैन। यस्तो सूक्ष्म विषाक्त कण मूलतः आगलागीबाट निस्कने धुवाँ, सवारीसाधन र कलकारखानाबाट निस्कने धुवाँ/विषालु ग्यास, निर्माण कार्यबाट निस्कने धुवाँधुलो र फोहोर जलाउँदा निस्कने ग्यास आदिका कारण वायुमण्डलमा मिसिन्छन्। 

मानव स्वास्थ्यका लागि हावामा हुनुपर्ने अधिकतम पीएम २.५ को मात्राको मापदण्ड विभिन्न देशमा फरक–फरक छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ‌)ले २४ घण्टाको अवधिभित्र यसको मात्रा प्रतिक्युबिक मिटर १५ हुनुपर्ने प्रावधान राखेको छ भने भारतमा ६० र नेपालमा ४० क्युबिक मिटर प्रतिघण्टा हुनुपर्ने व्यवस्था छ।

शुक्रबार बिहान भारतको राजधानी दिल्लीको वायुमा पीएम २.५ को मात्रा ३५४ क्युबिक मिटर छ। यो भनेको डब्लूएच‌‌ओले तोकेको मापदण्डभन्दा २३ गुणा बढी र आफ्नै देशको मापदण्डभन्दा ६ गुणा बढी हानिकारक छ। यसै समय काठमाडौँको वायुमा पीएम २.५ को मात्रा ४७ क्युबिक मिटर छ भने जनकपुरमा ८५। दक्षिणी शहरमा पीएम २.५ को मात्रा पनि अत्यधिक देखिएको छ। 

यस्ता हावाका कण अत्यन्तै सूक्ष्म हुने हुँदा श्वासप्रश्वासको क्रममा सजिलैसँग फोक्सोसम्म पुग्छन् र दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या ल्याउँछन्। उच्च रक्तचाप र हृदयाघातको समेत जोखिम बढाउँछ। बालबालिका, वृद्धवृद्धा र पहिले नै कुनै रोगले संक्रमित भएकाहरूका लागि त झनै घातक हुन्छ। यसमा घातक धातु र रसायनसमेत हुने हुँदा यसले आँखा पोल्ने, एलर्जी हुने र क्यान्सरजस्ता गम्भीर रोगको कारक समेत बन्न पुग्छ। पछिल्लो समय त वायु प्रदूषणलाई मानसिक रोगको समेत कारक मानिन्छ।  

डब्लूएचओले उल्लेख गरेअनुसार विश्वभर ९९ प्रतिशत मानिसले डब्लूएचओले तोकेको भन्दा कम गुणस्तरको हावामा श्वास फेर्छन्। अमेरिकास्थित हेल्थ इफेक्ट्स इन्स्टिच्युटको रिपोर्टअनुसार सन् २०२१ मा विश्वभर ८१ लाख मानिसको मृत्यु दूषित हावाका कारण भयो। यसमै युनिसेफको अर्को तथ्यांक भन्छ– सन् २०२१ मै दूषित हावाका कारण मृत्यु हुने बालबालिकाको संख्या सात लाखमाथि थियो। 

अपरिपक्व समयमै हुने मृत्युको कारणमा प्रदूषित हावा दोस्रो नम्बरमा उक्लेको छ, पहिलोमा उच्च रक्तचाप। बालबालिकाको हकमा मृत्युको पहिलो कारण कुपोषण र दोस्रो भने प्रदूषित हावा नै रहेको छ।

विषाक्त ग्याँस च्यामबर बन्दै दक्षिण एशिया
सन् २०२३ को औसत वायु प्रदूषणको आधारमा आईक्यूएअरले विश्वका विभिन्न शहरको सुची निकालेको छ, जसको पहिलो ५० शहरको सूचीमा ४२ वटा त भारतीय शहर छन्। तीन वटा पाकिस्तानी र एक बांग्लादेशी शहर छन्। पहिलो १०० भित्र पनि अधिकांश भारतीय शहर नै छन्।

अन्धाधुन्ध औद्योगीकरण र शहरीकरण, बेलगाम सवारीसाधन प्रयोग, प्रदूषण नियन्त्रणमा फितलो सुशासन, जीवाश्म इन्धनको बढ्दो प्रयोग, जनताको निम्छरो नागरिक चेत (सिभिक सेन्स)ले दक्षिण एशियाली शहरलाई ग्यास च्यामबरमा रूपान्तरण गर्न योगदान गरिरहेका छन्।

दक्षिण एशियामा वायु प्रदूषण र जनस्वास्थ्यको विषयलाई लिएर विश्व बैंकले सफा हावाको लागि संघर्ष (स्ट्राइभिङ फर क्लिन एयर) नामक प्रतिवेदन प्रकाशन गरेको छ। संसारका सबैभन्दा प्रदूषित १० शहरमध्ये नौ वटा खराब वायु भएका शहर रहेको दक्षिण एशियामा वार्षिक २० लाखभन्दा बढी अपरिपक्व मृत्यु खराब हावाकै कारण हुने गरेको छ। यहाँ वर्षभर वायुको गुणस्तर डब्लूएचओको निर्धारित मानकभन्दा २० गुणासम्म बढी छ।

दक्षिण एशियाली देशले वायुमण्डलमा पीएम २.५ को घनत्व नियन्त्रणमा आंशिक सफलता मात्र प्राप्त गरेको भन्दै अत्यन्तै कठोर नीति बनाइ कार्यान्वयन गर्न विश्व बैंकले सिफारिस गरेको छ। समाधानका रूपमा भने सिंगो भारतीय उपमहाद्वीपमा अन्तर्देशीय सहकार्य गर्न सुझाइएको छ।

संकटको भुमरीमा सीमान्तकृत
यसै वर्षको गर्मीयाममा तापक्रमले रेकर्ड कायम गर्दा भारतको नयाँ दिल्लीमा ’आउटडोर’ काम गर्ने गरिब, श्रमिक, अटो रिक्सा चालक, मजदुर, किसानले औसतमा १५ दिन बराबरको श्रमयोग्य समय कटौती गर्नुपरेको समाचार आएका थिए। अहिलेको विषाक्त वायु प्रदूषणको पहिलो शिकार पनि तिनै सीमान्तकृत समुदाय हुन्, जसको भूमिका न त 'हिटवेभ' सिर्जना गर्नुमा थियो, न त अहिलेको विषाक्त वायु प्रदूषणमा।

एकातिर श्रमयोग्य समयमा काम गर्न नसकिने, अर्कोतर्फ अलिअलि आम्दानी पनि वातावरणीय संकटबाट सिर्जित रोगको ओखती गर्न सक्काउनु पर्ने। ज्यानै रोगी भए भोलि काम कसरी गर्ने? एअर प्युरिफायर (हावा प्रदूषण कम गर्न कोठाभित्र प्रयोग गरिने आधुनिक मेसिन) लगाएर बन्द घरभित्र बस्ने वा प्रदूषणको उत्कर्षको समयमा टाढाको 'हिलसाइड' उक्लिएर ’डिजास्टर भ्याकेसन’ मनाउने नसिब सीमान्तकृतले कहाँ पाउनु?

वायु प्रदूषण: स्थानीय सन्दर्भ
दाङको घोराही बस्ती बीचमै छ, घोराही सिमेन्ट इन्डस्ट्रिज। सिमेन्ट उद्योग आसपास बाक्लो धुवाँले छपक्कै ढाकेको हुन्छ। दाङका दुई उपमहानगरपालिका (घोराही र तुलसीपुर) जोड्ने सडक चार लेन बिस्तार गर्ने भन्दै भत्काएर धुलाम्मे भएको चारपाँच वर्ष भयो। चार लेन कहिले बन्ने हो, ’परमेश्वर’ नै त्यो जानून्, र धुलो भने हामीले राम्रैसँग खाइरहेका छौँ। नगरवासीको अर्को पुरुषार्थ पनि छ है! त्यो के भने घरआँगन, चोकचौराह, पसल र अफिसको प्लास्टिक समेत मिसिएको फोहोर सर्लक्क बढार्छन्, सडकछेउ या कुनामा थुप्रो लगाउँदै आगो झोस्छन्, कैयौँ दिन त्यसबाट धुवाँ पुत्ताइरहेको हुन्छ। 

सवारीसाधनको प्रदूषणको मापनचाहिँ कुरै मात्र हुन्। निर्माण सामग्री (बालुवा, गिट्टी) बोक्ने टिपर बेलगाम हिँड्दा बाटाभर खस्ने बालुवा र गिट्टीको धुलोले सडकक्षेत्र सधैँ धुलाम्मे रहिरहन्छ। ससाना स्रोतबाट निस्कने धुलोधुवाँको योगबाट नै विषाक्त वायुमण्डल बन्ने हो। वातावरण विभागको ’स्ट्याटस अफ एअर क्वालिटी इन नेपाल, एनुअल रिपोर्ट २०२१ अनुसार दाङको घोराही, रामपुर सडकमा राखिएको हावाको गुणस्तर नाप्ने संयन्त्रबाट नापिएको पीएम २.५ को मात्रा सन् २०२१ मा औसतमा ३४.५६ क्युबिक मिटर रहेको थियो।

यही बिहीबार (मंसिर ६ गते) घोराही–चन्द्रौटा–तौलिहवा–भैरहवा–बुटवल सम्मको यात्रा पर्‍यो। महेन्द्र राजमार्गमा पर्ने बजार र त्यसभन्दा तलको क्षेत्र बाक्लो तुवाँलोले छोपेको छ। आँखा पोलेर हैरान। घाँटी खसखस गर्‍यागर्‍यै छ। पराल जलाउने चलन छिमेकी भारतको पन्जाबमा मात्र होइन रहेछ, हाम्रो तराई क्षेत्रमा पनि व्यापक छ। त्यसको मार पनि मानवलगायत सबैले भोगेकै छन्। 

तौलिहवादेखि भैरहवाको बीचमा निर्माण कार्य अव्यवस्थित छ, सडक धुलाम्मे छन्। बीचमा पर्ने बुद्धभूमि लुम्बिनी धुलोमा गुम्सिरहेको छ। सडक किनारका फोहोरमा आगो लागिरहेको छ। पराल बोकेका ट्याक्टरले परालको मसिनो धुलो उडाइरहँदा आँखा जोगाउन मुस्किल छ। बुटवल बजार क्षेत्रको आकाशे पुलबाट तलमाथि हेर्दा ’भिजिबिलिटी’ पातलो छ। उत्तरतर्फका नजिकैको पहाड पनि देख्न मुस्किल छ। 

संयुक्त राष्ट्रसंघले धर्तीका र मानव सभ्यताका लागि तीन महासंकटको रूपमा जलवायु संकट, जैविक विविधताको क्षयीकरण र वायु तथा प्लास्टिक प्रदूषण पहिचान गरेको छ। यसबाट पनि प्रस्ट हुन्छ कि वायु प्रदूषण कति भयावह छ भनेर। 

भयावह वायु प्रदूषण तर हाम्रो खोई हाम्रो चासो?
आजसम्म कुनै नेता शासक वा प्रशासकले वायु प्रदूषण, यसको भयावह प्रभाव र समाधानका सूत्रबारे बहस छलफल वा कुनै अगुवाइ गरेको सुनेका छौँ? मानव स्वास्थ्यका लागि यस्तो विकराल समस्यालाई समस्याको रूपमा स्वीकार गर्ने त परै जाओस्, समस्याको रूपमा पहिचान गरेको समेत बिरलै भेटिन्छ। नेता, शासक र प्रशासक मात्र नभई नागरिक अगुवा, लेखक, ’बौद्धिक जमात’ले समेत यसबारे बोलेको लेखेको कमै सुनिन्छ। 

मानव स्वास्थ्यको लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ,लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?


सम्बन्धित सामग्री