Thursday, January 16, 2025

-->

पानीका कुरा–३
वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।

वर्षा नदी र जमिन कहाँ चुक्यौँ हामी

काठमाडौँको सेरोफेरोमा सन् २०२४ सेप्टेम्बरमा परेको विषम वर्षा र बाढी अघिल्ला दुई (पानीका कुरा– )लेखका प्रस्थानविन्दु थिए। विषम वर्षा अपवाद होइन, मैले काठमाडौँमा सन्‌ १९८१ को भारी वर्षाबारे उल्लेख गरेँ। त्योभन्दा व्यापक क्षेत्रीयस्तरको विषम वर्षा ७० वर्षअगाडि सन्‌ १९५४ मा भएको थियो। त्यसले मध्यपहाड र तराईमा विनाश गरेको थियो।

परिवर्तित परिदृश्य
त्यसको ३३ वर्षपछि सन्‌ १९९३ मा पनि फेरि भारी वर्षा भयो यसै क्षेत्रमा। त्यस वर्ष ओखलढुंगादेखि त्रिशूली, सर्लाही र रौतहटको आकाशमा पानी पार्ने बादल आई बस्यो र वर्षा गरायो। टिस्टुङमा २४ घण्टामा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो। धेरैको ज्यान गयो, पशुपक्षी र जलचरको विनाश भयो, घरगोठ भत्के। भौतिक पूर्वाधार बगे, विनाश भयो।

सन्‌ १९५४ को तुलनामा १९९३ र त्यसको तुलनामा सन्‌ २०२४ मा प्रकोप सम्मुखता बढेको छ र अन्य सन्दर्भ परिवर्तन भएका छन्। सन्‌ १९५४ मा काठमाडौँ र तराई जोड्ने पैदलमार्ग थियो र सामान ढुवानीका लागि मातातीर्थ–धोर्सिङ तारबाटो। त्रिभुवन राजपथ निर्माण हुँदै थियो।

सन्‌ १९९३ मा त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, कुलेखानी जलविद्युत् योजना र बागमती ब्यारेजजस्ता पूर्वाधार बनिसकेका थिए। मातातीर्थ–धोर्सिङ तारबाटो बन्द भइसकेको थियो। हेटौँडा–टेकु तारबाटो चालु थियो। पुल भत्किएर र बाटो बिग्रिएर काठमाडौँमा आपूर्ति बन्द भएको स्थितिमा तारबाटोले सामान आपूर्तिमा केही सहयोग गरेको थियो। त्यसको एक वर्षपछि नै हेटौँडा-टेकु तारबाटोको सञ्चालन बन्द भयो।

सन्‌ २०२४ मा नयाँ–नयाँ बाटा र जलविद्युत् योजना बनेका छन्। खोला किनार, फाँट र उपत्यकामा शहरीकरण बढेको छ तर सामान आपूर्ति गर्ने तारबाटा छैनन्। गिट्टीढुंगाका लागि जलाधार र नदी दोहन सन्‌ १९५४ को तुलनामा व्यापक छ। नेपालमा डोजरले उधार्न बाँकी डाँडाकाँडा कमै होलान्।

सन्‌ १९५४ मा जलवायु परिवर्तनको कुरै थिएन। सन्‌ १९९३ मा यूएनएफसीसीसी शुरू भएको भर्खर एक वर्ष भएको थियो। सन्‌ २०२४ मा जलवायु परिवर्तनले ल्याउने हानि नोक्सानी, जलवायु न्याय र रकमको छलफल चल्दै छ। सन्‌ १९५४ मा राणाशासन अन्त्य भइसकेको समय थियो भने सन्‌ १९९३ मा बहुदलीय व्यवस्था पुनर्स्थापना भएर संस्थागत हुने बाटोमा। सन्‌ २०२४ मा नेपालमा संघीय गणतान्त्रिक व्यवस्था छ।

सन्‌ १९५४ र १९९३ को वर्षामा तराईका जिल्ला प्रभावित भएका थिए। यसपल्ट तराईका जिल्ला बाढीबाट त्यति धेरै प्रभावित भएनन्। सप्तकोशी नदीको बाढी भने ब्यारेज नाघेर त्यसमाथि बनाएको पुलमा बग्यो तर ब्यारेजलाई केही हुन पाएन। सन् १९५४ मा भारत र नेपालले गरेका कोशी नदी सन्धिअन्तर्गत यो ब्यारेज निर्माण भएको हो। 

पूर्व सूचनाको विकास
सन् १९७० देखि बाढी पूर्वसूचनाबारे नेपाल–भारत सरकारले छलफल गर्न शुरू गरेका हुन् तर जमिनमा खासै केही लागू भएको थिएन। सन्‌ १९९० सम्म ‘पानी यति परेको छ’ भन्न सकिन्थ्यो, हिजोआज जस्तो मौसम पूर्वानुमान उपलब्ध गराउने विधि विकास भइसकेको थिएन। 

सन्‌ १९९० को दशकमा नेपाल जलसंरक्षण ‍फाउन्डेसनको अगुवाइ गर्थेँ। हामी बिहार र उत्तर प्रदेशका साथै नेपालका स्थानीय समूहसित बाढी कम गर्ने अध्ययनमा संलग्न थियौँ। सन् १९९० पछि नेपालमा एफएम रेडियो शुरू हुनथालिसकेका थिए। स्थानीय विद्यालयमा वर्षा नाप्ने सस्तो यन्त्र राख्ने, विद्यार्थीलाई नाप्न लगाई सो तथ्यांक एफएम रेडियोबाट प्रसारण गरी उपल्लो भेगमा परेको वर्षाको सूचना तल्लो भेगमा पुर्‍याउन सकिने प्रयास शुरू गर्नु उपयुक्त लाग्यो।

यसो गर्दा विद्यार्थीले सिक्न पाउने र समाजमा पनि वैज्ञानिक चेतना बढ्छ भन्ने मान्यता पनि राखियो। शुरूमा काठमाडौँका १९ वटा सामुदायिक स्कुलमा वर्षा नाप्ने यन्त्र राखेर पानीको तथ्यांक टेलिफोनबाट संकलन गरी त्यसलाई रेडियो सगरमाथा १०२.४ एफएमबाट प्रसारण गरियो। हामीले रोहिणी नदीमा पनि वर्षा नाप्ने सस्तो यन्त्र राखेर तथ्यांक स्थानीय एफएम रेडियोबाट प्रसारण गर्‍यौँ। रोहिणी नदी नेपालको चुरेमा शुरू भई भारतको उत्तर प्रदेशसम्म बग्छ।

यी नागरिक विज्ञानका पाइला थिए। सन्‌ १९९० दशकको शुरूमा अन्तर्राष्ट्रियस्तरमा मौसम पूर्वानुमानका क्षमता बढाउन पर्ने पैरवी शुरू भए।

त्यसपछिको समयमा नेपालमा बाढी पूर्वसूचना प्रणाली संस्थागत हुन शुरू भयो। बाढी आएको देखियोस् भनी मचान बनाएर पूर्वी राप्ती नदीमा प्रयोग शुरू गरियो। साइरन बजाएर खबर गर्न थालियो। एसएमएस र इन्टरनेट प्रविधिले पूर्वसूचना प्रणाली झन् विकसित भए। जल तथा मौसम विज्ञान विभागले यसमा अगुवाइ लियो। एनसेल र नेपाल टेलिकम दूरसञ्चार कम्पनी एसएमएसबाट पूर्वसूचना पठाउन सहभागी भए, जोखिम क्षेत्रमा रहेका उनीहरूका ग्राहकलाई। धेरै जोखिम देखिए र आवश्यक परे मौसम पूर्वानुमानको सूचना पनि एसएमएस गर्न र रिङटोनमा राखेरै सबैमा पुर्‍याउन अग्रसर छन्।

हिजोआज मौसम पूर्वानुमान गर्ने क्षमतामा धेरै प्रगति भएको छ। ‘स्याटलाइट’ (भूउपग्रह), सञ्चार प्रविधि र मौसम विज्ञानको संयोजनले तीनचार दिनअगावै मौसम अनुमान गर्न सकिने भएको छ। पश्चिमा मुलुकहरूमा मौसम विभागले ‘आज दिउँसो यति बजे पानी पर्छ’ भनेर अनुमान गरेको हुन्छ। जतिखेर भनिएको हुन्छ, उतिखेरै पानी पर्छ। यस्ता विकासका सकारात्मक प्रभाव छन्। 

करिब तीन दशक अगाडिसम्म बांग्लादेश र भारतको तटीय क्षेत्रमा ‘साइक्लोन’ (समुद्री आँधी) आयो र त्यसले लाखौँ मानिस मारिए भन्ने खबर सुनिन्थ्यो। अब त्यस्तो सुनिँदैन। अहिले ‘साइक्लोन’को बाटो तीनचार दिनअगाडि नै जान्न सकिन्छ। प्रभावित हुने सम्भावित ठाउँबाट मुख्य रूपमा मान्छे हटाइने गरिएको छ। बाढी पूर्वसूचना प्रणालीले नेपालमै पनि जोखिममा रहेका जनतालाई सतर्क बनाएर, सुरक्षित ठाउँमा सारेर जनधन बचाएका उदाहरण छन्। बाढीपहिरोबाट सबै जायजेथा जोगाउन त प्रायः असम्भव हुन्छ।

गत असार २३ मा सुदूरपश्चिमको महाकालीपारिको हाम्रो दोधारा चाँदनी नगरपालिकामा २४ घण्टामा ६२४ मिलिमिटर पानी पर्‍यो। नेपालमा २४ घण्टामा नापिएको यो सबैभन्दा उच्च वर्षा हो। घटनामा जति हानिनोक्सानी हुनसक्थ्यो, त्यो भएन। पूर्वसूचना, स्थानीय सरकारको तयारी र सुरक्षाकर्मीको अग्रसरताका कारण क्षति हुनबाट जोगाउन सम्भव भयो।

प्रविधिको व्यवस्था भए पनि समुदायले सटिक जानकारी पाउन र तिनलाई बचाउन सक्ने संयन्त्र बन्न हामीकहाँ अझै बाँकी छ। हामीकहाँ सूचना आएपछि उद्धार गर्नुपर्ने, राहत दिनुपर्नेजस्ता काम सीमित ठाउँमा भएका छन्। 

विधि र संस्थागत व्यवस्था
यस क्षेत्रमा नदी विकास र बाढी व्यवस्थापन गर्ने विधि र संस्थागत व्यवस्था भारतमा बेलायती उपनिवेशसँगै विकास हुन थालेको हो। सन्‌ १७५७ पछि भारतमा औपनिवेशिक शासन शुरू भयो। उनीहरूको उद्देश्य नदीलाई नियन्त्रण गरी फाइदा लिनुपर्छ भन्ने रह्यो। उनीहरूको ध्येय बाढीले खेतीबाली नबिगारोस् र राजस्व असुली प्रभावित नहोस् भन्ने थियो। कम्पनी सरकारका इन्जिनियरले स्थानीय ज्ञानको उपयोगिता बुझेनन्, महत्त्व दिएनन्। 

उनीहरूले कोशी नदीलाई बिहारको दुःख र दामोदर नदीलाई बंगालको दुःख भने। चाखलाग्दो के छ भने, अरू नदीलाई त्यसो भनेनन्। राजस्व तथा प्रशासनिक उद्देश्य हासिल गर्न उनीहरूले सिँचाइ योजना बनाए। उनीहरूले  योजना निर्माणको क्रममा विकास गरेको विषय नै औपचारिक शिक्षामा पढाउन थालियो। हाम्रोतिर यही शिक्षा प्रणाली, विधि र संस्थागत व्यवस्था आयो। स्थानीय ज्ञान र तौरतरिका रोजाइमा परेन। प्राकृतिक विज्ञान, समाज विज्ञान र स्थानीय ज्ञान संयोजन गरेर जल विवेक अगाडि लैजानु पर्ने थियो तर त्यसो भएन। 

अहिले हाम्रा धेरै स्थानीय ज्ञान विस्थापित भइसके र विस्थापित हुने क्रममा छन्। यद्यपि, केही लिपिबद्ध गर्ने काम भइरहेका छन्। संयोजित ज्ञान जल विवेकको एउटा आधार हो।

जल विकासको क्रममा पुँजीवादी र साम्यवादी राजनीतिक नेतृत्वले 'खेर गएको नदी' भने। नदीको पानी प्रयोग गर्न नसक्दा 'नदी खेर गयो' भन्ने गरेको सुनिन्छ। वर्षामा परेको पानी बग्नु र सोसिनुलाई पनि खेर गएको भन्ने सुनेको छु। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो। त्यसो हो भने नदी कसरी खेर गयो? सूर्यको प्रकाश र हावा पनि खेर गएको हो र?

‘खेर’ गयो भन्ने भाष्य बुझ्न हामी पुँजीवादी व्यवस्था र औपनिवेशिक शासनको थालनीमा पुग्नुपर्छ। यी व्यवस्थाले वित्तीय फाइदा नलिइको नदी खेर गएको हो भन्यो। फाइदा नलिईकन नदीलाई बगेर जान दिनुहुन्न भन्ने सोच स्थापित गरियो। त्यस्तो सोचले तल्लो भेगप्रति दृष्टि राखेन। प्रतिफल के भयो त? तल्लो भेगको प्राकृतिक र सामाजिक सन्तुलन सबै गयो। तल्लो भेग असन्तुलन हुँदा माथिल्लो भेग पनि बिग्रन्छ। नदी प्रणाली ध्वंस गर्दा अन्ततोगत्वा सर्वनाश हुन्छ। अहिले हुन लागेको त्यही हो। नातिनातिना पुस्ताले भोग्ने र देख्ने नदीबारे सोच्दा मलाई पिडा हुन्छ।  

प्रकृतिको लय, गति र चरित्र बुझ्ने ज्ञान हुनुपर्ने, तर उपनिवेशले प्रतिपादन गरेको अर्थ राजनीतिक दृष्टिकोण हाबी भयो। नदीलाई जे पनि गरे हुन्छ, नियन्त्रण गरे मालिक भइन्छ, पानीलाई जसरी र जति चलाए पनि हुन्छ भन्ने खालको मान्यता स्थापित हुन पुग्यो। तात्कालिक आर्थिक उपलब्धि ध्यानमा रह्यो, तर स्थानीय समाज, वातावरण र नदीले बेहोर्ने खर्चको लेखाजोखा विस्मृतिमा पर्‍यो। लेखिका एलिफ शफाकको उपन्यास 'देयर आर रिभर्स इन् द स्काइ'मा उल्लेख छ, ‘पानीले सम्झन्छ, बिर्सने त मान्छे हुन्।’ 

विपद्‌ प्राकृतिक हुँदैन भनेजस्तै नदीको पानी पनि खेर गएको होइन। प्राकृतिक विपद्‌ नभनौँ भन्ने निवेदन अघिल्लो अंकमा गरेँ। नदी र प्रकृतिको लयसित सामञ्जस्य गर्ने र त्यसको शैलीसित आफ्नो जीवन सन्तुलन पार्ने हो। नभए जस्ताखाले प्रकोप हामीले अनुभव गरिरहेका छौँ, त्यो अझ बढी हुने सम्भावना छ। हाम्रो आगामी बाटो हाम्रा आवश्यकता र नदीबीच सामञ्जस्य बनाउन सक्नु हो।

जलवायु परिवर्तन: विज्ञान र राजनीतिको द्वन्द्व
जलवायु परिवर्तन वर्तमानको वास्तविकता हो। जलवायु परिवर्तन भएको छैन भन्ने दृष्टिकोणका संवाहक डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन्। अमेरिकी निर्वाचनमा भोट हाल्ने जिम्मा अमेरिकी जनताको हो तर अमेरिकी नीतिले पनि विश्व जलवायु परिवर्तनको राजनीति निर्धारण हुन्छ। यो अगाडि कसरी बढ्ला, भविष्यमा प्रस्ट हुँदै जानेछ। ग्यास उत्सर्जन कम नहुने हो भने त्यसको असर समुद्र, मैदान, पहाड र हिमालयतिर र स्थानीय समाजमा  झन् देखिन थाल्नेछन्।

अहिले वर्षाको चरित्र फेरबदल हुन थालिसकेको छ। पहिलेभन्दा कहीँ बढी त कहीँ कम वर्षा हुन थालेको छ। अर्कोतिर हामीले धरातलमा जथाभाबी हस्तक्षेप गरेका छौँ। बाटो निर्माण गर्दा वातावरणीय, भौगर्भिक र जलचक्रको संवेदनशीलता हेरिएको छैन। मिडियालगायत सबैले डोजरे विकासबारे लेखिरहेकै छन्। तर नीति र प्रशासनिक तरिकाहरूमा नदी र जलचक्रप्रति संवेदनशीलता देखिँदैन। 

विषम वर्षाका घटना जलवायु परिवर्तनले गराएको हो कि होइन भनी छुट्याउने विज्ञान पहिलेभन्दा सुध्रिएको छ। तर एउटा वर्षाको घटनालाई लिएर जलवायु परिवर्तनकै कारण यसो भएको हो भनेर अझै भन्न सकिँदैन। हामी वर्षाको प्रवृत्ति हेर्न सक्छौँ। 

हाम्रो आधुनिक विकासको बाटोको इतिहास पहिलो औद्योगिक क्रान्तिसँगै जोडिन्छ। यसअन्तर्गत सामाजिक संरचना, शासन पद्धति, भूराजनीतिको परिस्थितिमा सबैको हित गर्न सकिएको छैन। असमानता र अन्याय विश्व र सबै मुलुकका वास्तविकता हुन्। 

नेपालजस्ता मुलुक र मुलुकवासीको ठूलो चुनौती दिगो विकास, जलवायु परिवर्तनले ल्याउने प्रभाव र जोखिमसित अनुकूलन पनि हो। दुःखको कुरा, जलवायु परिवर्तनको प्रभावले विद्यमान असमानता र अन्यायलाई झन् विषम बनाउन थालेको छ। अतः असमानता/अन्याय हटाउनु र जलवायु परिवर्तनका असर कम गर्नु हाम्रो दायित्व हो। विगत १०/१५ वर्षयता नेपालमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सञ्चालन गरिएका छन्। तिनका  अनुभवले के भन्छन्, लेखाजोखाको विषय हो।

उखरमाउलो गर्मी: अनुकूलनको व्यापक चुनौती
तापक्रम पहिलेभन्दा निरन्तर बढ्दो छ। वैज्ञानिक तथ्यांक र तपाईं हाम्रो अनुभवले त्यो पुस्टि हुन्छ। पानी पर्नु बढ्दो तापक्रमको एउटा असर हो। गर्मीका कारण पानी बाफिन्छ, वायुमण्डलमा त्यसले हरितगृह ग्यासजस्तै काम गर्छ। सूर्यको तातो सोस्छ, झन् गर्मी हुन्छ, थप पानी बाफिन्छ।

यो चक्रले वायुमण्डलमा पानीको मात्रा र ‘वेट बल्ब टेम्प्रेचर’ बढाउँछ। यसले गर्दा जति तापक्रम छ, त्योभन्दा बढी गर्मी महसुस हुन्छ। वायुमण्डलमा पानीको मात्रा धेरै हुँदा ३२ डिग्री तापमान पनि ३६ र ३८ डिग्रीझैँ लाग्छ। त्यस्तो अवस्थाले रनवन र जनजीवन सामान्य अवस्थामा रहँदा पनि उही तापक्रमले पार्ने प्रभाव बढी हुन्छ। 

खोल्साखोल्सी, नाला र सिमसार मासेर हामीले शहरको विकास गरेका कारण आवास क्षेत्र वरपर रूखबिरुवा र खुल्ला ठाउँको कमी छ। हाम्रा शहर कंक्रिट र सिसाका संरचनाले भरिँदा थप गर्मी हुन थालेको छ। काठमाडौँमा जेठ, असार, साउन र भदौतिर गर्मी त हुन्थ्यो तर रूखको छहारीमुनि वा घरभित्र शीतल हुन्थ्यो। अहिले गर्मी महिनामा काठमाडौँमा घरभित्र पनि उखरमाउलो हुन थालेको छ। ३०/४० वर्षअगाडिको तुलनामा काठमाडौँको वायुमण्डलमा पानीको मात्रा बढेको छ। 

बढ्दो वेट बल्ब टेम्प्रेचरको प्रभाव हरेक व्यक्तिलाई पर्छ। चुनौती कहाँनेर छ भने, हाम्रो शरीरको सामान्य तापक्रम ३५ देखि ३७ डिग्रीसम्म हो। हामीलाई गर्मी हुँदा पसिना आउँछ, त्यसले प्राकृतिक रूपमा शरीरलाई चिसो गराउँछ। बाहिरको र शरीरको तापमान बराबर भयो भने पसिना आउँदैन। यस्तो स्थितिमा बाहिर ५/६ घण्टा परियो भने टाउको दुखाइ हुने र बान्ता आउने जस्ता स्वास्थ्य समस्या आउन सक्छ। निरन्तर बाहिर परियो भने त व्यक्तिको मृत्यु पनि हुन सक्छ। 

यस्तो स्थितिमा राहतका लागि शरीरले प्रत्यक्ष चिसो खोज्छ। प्रत्यक्ष चिसो पुर्‍याउने एउटा माध्यम एयरकन्डिसन (एसी) हो। एसी सञ्चालनका लागि बिजुली चाहिन्छ। धेरै एसी चलाउन थप बिजुली उत्पादन गर्नुपर्‍यो। एसीमा प्रयोग हुने चिसो पार्ने ग्यास आफैमा हरितगृह ग्यास हो। त्यसैले वायुमण्डलमा भइरहेको हरितगृह ग्यास र त्यसलाई तत्काल कम गर्ने बाटो शुरू भएन भने तापक्रम र आर्द्रता झन् बढ्ने छ। 

धनीमानीले त एसी राख्लान्, आफ्ना घर सोहीअनुरूप बनाउलान्। कम आय भएका, खेतबारी र बाहिर काम गर्नेहरूलाई निकै गाह्रो हुनेछ प्रतिकूल वातावरणको सामना गर्न। 

बढ्दो आर्द्रता र वेट बल्ब टेम्प्रेचर नयाँ चुनौती हो। गंगा र सिन्धु नदीको मैदान क्षेत्र र हाम्रो तराईमा गर्मीमा तापक्रम धेरै हुन्छ। परम्परागत हिसाबले यी क्षेत्रमा गर्मीका महिनामा शीतल हुन राति बाहिर सुत्ने चलन थियो। हिजोआज त्यहाँ गर्मी उखरमाउलो हुँदै गएको छ। राति बाहिर सुत्ने चलन अब काम लाग्दैन, किनभने रातिको तापक्रम पनि धेरै तल जाँदैन। यसकारण गर्मीमा जनजीवन बेहाल हुन थालेको छ। 

बढ्दो आर्द्रता र वेट बल्ब टेम्प्रेचर मानवका लागि नयाँ चुनौती हो। यसले धेरैलाई एकैपल्ट असर पर्छ। यसले प्रकृतिका लगभग सबै पक्षमा र आश्रित सबैलाई एकैपटक, समानान्तर रूपमा र एकपछि अर्को गर्दै प्रभाव गरिदिन्छ। उखरमाउलो गर्मीले जलचक्र, खेती फसल, स्वास्थ्य, शहर विकासको ढाँचा, ऊर्जा आपूर्ति, स्वास्थ्य व्यवस्थालाई एकै पल्ट प्रताडित गर्छ। यस चुनौतीबारे हामीले तात्त्विक कुराकानी पनि शुरू गरेका छैनौँ। केही सरकारले ह्याप (हिट याक्सन प्लान) बनाउन थालेका छन्।

प्रायजसो परिवर्तन हामी प्रतिकूल हुनेछन्। यस्तो स्थितिमा सबैले कसरी अनुकूलित रहने? कोभिड१९ का अनुभव हाम्रा लागि उपयोगी हुन सक्छन्। सम्मुखता कोभिड१९ लाग्ने एउटा कारण मानिएको थियो। कोभिडसित जुध्न मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी राख्ने, हुलमुलमा नजाने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अवलम्बन गरियो। भ्याक्सिनको निर्माण गरी लगाउने काम पनि भयो। धेरैले लगाए तर सो नलगाउने र भ्याक्सिन लाउन हुन्न भन्नेहरू पनि थिए, अझै छन्।  

कोभिडसित जुध्न लिइएका रणनीति, व्यवहार र प्रणाली रूपान्तरणका अनुभव जलवायु परिवर्तनले ल्याउने बढ्दो आर्द्रता र वेट बल्ब टेम्प्रेचरको भविष्यसित अनुकूल रहन सहयोगी हुनसक्ने छ। तर यी दुईबीच एउटा भिन्नता छ, कोभिडविरुद्ध भ्याक्सिन निकालियो। हरितगृह ग्यासको न्यूनीकरण नै बढ्दो आर्द्रता र वेट बल्ब टेम्प्रेचरको प्रभावकारी भ्याक्सिन हो। हरितगृह ग्यासका स्रोत विविध छन्, त्यसो हुँदा न्यूनीकरणका लागि पनि विविध उपाय नै अवलम्बन गर्नुपर्छ।

२१औँ शताब्दीको बाटो
पेरिस सम्झौतामा उल्लेख भएअनुरूप वायुमण्डलको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्न नदिने हो भने चुनौतीको परिदृश्य त्यति खराब हुने छैन। त्यसो नभई पृथ्वीको वायुमण्डलले आउँदा केही वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्री नाघ्ने हो भने परिदृश्य माथि उल्लेख गरेझैँ धेरै विषम हुनेछ। तापक्रम माथि जाने हो या होइन भन्ने जिम्मा आधुनिक भौतिक विज्ञान र त्यसको जननी युरोप र अमेरिकी समाजको हो। जलवायु परिवर्तनको भौतिक विज्ञान राजनीतिक दाउपेचको भुमरीमा पर्ने त्रास छ। कामना गरौँ त्यसो नहोस्। तर तापक्रम वृद्धि १.५ डिग्रीमाथि पुग्ने संकेत देखिन थालेका छन्।  

प्रणालीगत हिसाबले जलस्रोत सदुपयोग तथा जलाधारमा पर्यावरणीय सन्तुलन, कृषि तथा पशुपक्षी पालन, स्वास्थ्य, शहर विकासको दिगो ढाँचा, ऊर्जा आपूर्ति, इत्यादिलाई बढ्दो आर्द्रता र वेट बल्ब टेम्प्रेचरसँगको अनुकूलन अगाडिको चुनौती हो। 

जल विकास र व्यवस्थापनका हाल प्रचलित विधि १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको शुरूआततिरबाट विकास हुन थाले, जतिखेर जलवायु परिवर्तनका असर खासै थिएन। अहिले जलवायु परिवर्तनको दर एकदम माथि गएको छ। परिवर्तनको प्रत्यक्ष असर जलचक्रमा परेर पानी र नदी जोडियो। पानी र नदीमा हाम्रा सबै खाले जीवन जोडिएको हुनाले असर पनि त्यसरी नै पर्छ। 

२०औँ शताब्दीको जल प्रयोग र ज्ञानका मान्यता कोट्याएर, त्यसमा भएका कमीकमजोरी निकालेर, त्यसमा सुधारेर २१औँ शताब्दीको चुनौतीसित जुध्ने बाटो तय गर्नुपर्छ। पानी र नदीसित हाम्रो सामञ्जस्य रहनु जरुरी छ।

भिडियो : 


सम्बन्धित सामग्री