मौसम पूर्वानुमानमा अहिले हाम्रो क्षमता बढेको छ। जल तथा मौसम विज्ञान विभागले आउँदो तीन दिनसम्मको मौसम पूर्वानुमान दैनिक रूपमा बिहानै उपलब्ध गराउँछ। अलि अप्ठ्यारो मौसम हुने भए पाँच दिनसम्म वा सात दिनअगावै पनि पूर्वानुमान दिन थालेको छ।
यस वर्षको सेप्टेम्बरको २७/२८ मा ठूलो पानी पर्न गइरहेको छ भनेर विभागले प्रक्षेपण गरेको थियो। राति यात्रा नगर्नू भनेर विपद् प्राधिकरणले सचेत गराएको पनि थियो। सरकारले थप सूचना पनि निकाल्यो। सूचना ग्रहण भएन। बाटोमा बस पहिरोमा पर्यो। ज्यानको क्षति भयो। मानिसहरूले त्यसलाई कसरी ग्रहण गरे भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। भविष्यमा यस्ता क्षति कम गर्न कसले के गर्नुपर्छ?
बाढीमा मानवीय क्षति भयो, पूर्वाधार भत्के, बगे। २४९ जनाको मृत्यु भयो। विपद् प्राधिकरणको पछिल्लो दस्ताबेजअनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५५९ रुपैयाँ बराबरको विनाश भयो। यस पटकको विपत्तिले हामीलाई सोच्न बाध्य पार्नुपर्ने हो, कहाँ, के र कसरी क्षति भयो भनेर।
योसँगै हामीले ढुंगा, बालुवाको दोहनबारे पनि सम्झौँ। सडक, घर, पुल, जलविद्युत्लगायत संरचना निर्माणका लागि बालुवा, ढुंगा, गिट्टीको माग बढेको छ, जुन हाम्रा विकासका आधार हुन्। तर उत्खननको उचित अनुगमन र सीमा छैन। काँचो प्राकृतिक स्रोत बेच्ने मुलुकको ऐतिहासिक अर्थराजनीतिअन्तर्गत आफ्नै अर्थ राजनीति चलायमान छ।
हामीले नदीलाई जथाभाबी दोहन र मनपरी गरेका हौँ। आधुनिकताको यात्रामा नदीलाई गर्नुपर्ने आदर हरायो। काठमाडौँको बागमती र यसका प्रशाखा नदीहरू प्रत्यक्ष उदाहरण हुन्। पुण्यमती भनिने रोशी खोलाको पिँधमा ढल निर्माण गरिएको दृश्य पनि हामीले देखेकै हौँ। नदी आसपास र जलाधारमा व्यापक उत्खननका तस्वीर पनि सार्वजनिक भए।
बाढीको यो पहिलो घटना होइन। यस क्षेत्रमा व्यापक वर्षा भएको विगत छ। सन् १९५४ र १९९३ मा परेको वर्षाले व्यापक विपद् ल्याएका थिए। ७० वर्ष भए पनि सन् १९५४ को विपद् सम्झने पुस्ता अझै हुनुहुन्छ। हाम्रो पुस्ताका थुप्रै भुक्तभोगी छन् सन् १९९३ को विपद्को। सन् २०१७ मा मेचीदेखि महाकालीसम्मको तराई क्षेत्रमा व्यापक वर्षाले बाढीको विपद् ल्याएको थियो। सन् २०१९ मा काठमाडौँको तल्लो बल्खु भेगको नदी किनारा डुबेको थियो बाढीले।
प्रकृतिले संकेत गरेको गरेकै छ। विषम मौसमी घटना र त्यसको सामाजिक र राजनीतिक व्यवस्था सितको अन्तरसम्बन्ध बिर्सेका छौँ। हाम्रो समाज र राज्य व्यवस्था सिक्न चाहँदैन। विगतका अनुभवबाट नसिक्ने, सार्वजनिक नीति परिमार्जन नगर्ने र नीतिअनुसार नगर्ने शैलीले मलाई चीनमा प्रचलित एउटा परम्परागत आख्यान याद आउँछ, ‘स्वर्ग माथि छ र वादशाह धेरै टाढा छन्।’ सिक्न र गल्ती नदोहोर्याउन हामीले विपद्को इतिहास पनि अध्ययन गर्नैपर्छ।
प्रकोप बुझौँ
प्रकोपको कुरा गर्नुपूर्व हामीले यसका मान्यता र केही विषय बुझ्नुपर्ने हुन्छ। शब्दका भाष्य हेरौँ र स्पष्ट पारौँ। प्रकोप, संकटको स्थिति, जोखिम र विपद्। २०७२ सालमा भूकम्प आउँदा कमजोर घर तथा विभिन्न खाले भवन र संरचना बनाउँदा भूकम्पका बखत त्यसले मानिसलाई मार्छ भन्ने तथ्य बुझे। भूकम्पले मानिस मर्ने होइन, कमजोर घर तथा संरचनाले हो भन्ने थाहा भयो। बलियो संरचना निर्माणमा राज्य व्यवस्थाको सहयोगी भूमिका नहुनु हो भन्ने थाहा भयो।नवनिर्मित घरहरूमा भूकम्प प्रतिरोधका पक्ष राखिएका छन्। जाजरकोटको भूकम्पमा के सिकियो, वस्तुपरक लेखाजोखा गरौँ। कोही मान्छे नभएको मरुभूमिमा भूकम्प जाँदा कसैलाई हानि गरेन, त्यो विपद् पनि भएन। समुद्रमा आएको सुनामी किनारासम्म पुगेन र त्यसले मान्छेलाई कुनै क्षति गरेन, त्यो विपद् भएन।
जब घटनाले वा प्रकोपले समाजलाई हान्छ, मानवीय र अरू खालका क्षति हुन्छन्, तब मात्र त्यो विपद् बन्छ। अहिले आएर विश्वव्यापी रूपमा के मानिएको छ भने विपद् प्राकृतिक होइन। घटना प्राकृतिक हुन्। पानी पर्नु, भूकम्प र हावाहुरी आउनु प्राकृतिक हुन्। तर हाम्रो सामाजिक तौरतरिका, नीति र संस्थागत व्यवस्थाले विपद् सिर्जना हुने गरेको छ। यो कुरामा स्पष्ट होऊँ। ‘प्राकृतिक विपद्’ भन्दै नभनौँ।
पोहोर पनि मनसुन शुरू हुँदा पूर्वी नेपालमा व्यापक वर्षा भयो। वर्षाले ल्याएको बाढीले धनजनको विनाश भयो। त्यहाँ बन्दै गरेका र निर्माण भइसकेका जलविद्युत् योजना बिग्रे, भत्के। पुलहरू बगे। पोहोरको बाढी र यसपालिको बाढी बीचको अवधिमा हाम्रा तौर तरिकामा के सुधार गरियो वा हुन सकेनन्? जोखिम के हो? र, त्यसको सामना गर्न कति प्रयत्न गर्यौँ भन्ने कुराले अर्थ राख्छ।
बाढीको चपेटामा परेर सन् २०१३ मा भारतको उत्तराखण्डको केदारनाथमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाएको अनौपचारिक तथ्यांक छ। किन यति धेरैको ज्यान गुम्यो? बाढी आउने जोखिम भएको त्यस ठाउँमा हजारौँलाई धार्मिक आस्थाले डोर्याएको थियो। उनीहरू दर्शनका लागि उपस्थित थिए। त्यस बखत त्यहाँ उनीहरू नपुगेको भए त्यति ठूलो क्षति हुने थिएन।
त्यस कारण, घटना र घटनासितको साक्षात्कार पहिलो हो। दोस्रो कुरा प्रकृतिको स्थिति हो। वर्षा विषम (धेरै र कम) भयो भने प्राकृतिक प्रणाली अति दोहन भएको जलाधारमा बाढी र खडेरीजस्ता विपद् भइहाल्छ। अनुभव र अध्ययनहरू थुप्रै छन्। माथिल्लो भेगमा क्षति भएका जलाधार, शहरीकरणले मिचिएको डोल क्षेत्र र बाटोले मिचिएको नदी प्रणाली भएको स्थितिमा मुसलधारे वर्षा भएपछि विनाश अवश्यम्भावी छ। यो रकेट विज्ञान होइन। जमिनलाई केन्द्रबिन्दुमा राख्ने जलनिधिलाई बेवास्ता गर्ने शहर विकासको प्रचलित ढाँचाको प्रतिफल हो यो।
जलको तह तल पुगेको भूमिगत जल भण्डार भएको क्षेत्रमा वर्षा भएन भने चापाकलले काम गर्दैन। खानेपानी आपूर्ति हुँदैन। पोहोर वीरगन्ज सेरोफेरोमा यस्तै भएको थियो। एउटै जलाधारमा एकै वर्षमा बाढी र खडेरीले प्रभाव गर्न सक्छ। विगत केही वर्षयता खडेरीका महिनामा डढेलोका घटना बढ्न थालेका छन्।
हामीले बनाएका पूर्वाधारहरूको गुणस्तर विपद् कम गर्न त्यत्तिकै महत्त्वपूर्ण छन्। पुलको डिजाइन बाढी थेग्ने छ कि छैन, बाटो निर्माण गर्दा स्थानीय जलचक्रको सही ध्यान राखेको छ कि छैन? गुणस्तरीय निर्माण गरेका छौं? छौं भने मात्र त्यसले हामीलाई गुणस्तरीय सेवा दिन सक्छ।
गुणस्तरीय पूर्वाधारहरूले यस्ता खाले विषम परिस्थितिमा क्षति कम भोग्न सक्छ होला! सेवाग्राही र व्यवस्थापक अर्का पक्ष हुन्। विपद्मा जैले पनि समाजका कमजोर तप्काले असर भोग्ने गर्छन्। सो कम गर्न नीतिगत हिसाबले तीनको हित हेर्नैपर्छ। जोखिम हुने क्षेत्रमा हस्तक्षेप रोक्नु राज्य व्यवस्थाको दायित्व हो, सबै तहका सरकारको।
पुललगायत भौतिक संरचना डिजाइन र निर्माण गर्ने निकाय तथा विज्ञहरूले विगतका कमीकमजोरी तथा त्रुटिहरूको अध्ययन र मुल्यांकन गरी विधि परिमार्जन गर्नु जरुरी छ। हाम्रा नीति नियम, मार्गदर्शन र कानूनहरूका कुरा आधारभूत हिसाबले महत्त्वपूर्ण छन्। यी शासनका आयाम हुन्। नीति र कानूनहरू सहयोगी भए पुराना गल्ती नदोहोर्याएर बिग्रेको भौतिक संरचना छिटो पुनर्निर्माण गर्न सकिन्छ। बिग्रेको भौतिक संरचना आफैँ बन्दैन, बनाउनुपर्छ। प्रकोप, प्रकृतिको स्थिति, भौतिक संरचना, प्रयोगकर्ता र पद्धतिको उचित संयोजनले मात्रै हामीलाई उत्थानशीलतातर्फ लान्छ। उत्थानशीलता हरेक दिनको यात्रा हो।
जल, जमिन र समाजको सम्बन्ध
नेपालका वर्षाका सामान्यतः तीन वटा स्रोत छन्। एउटा, बङ्गालको खाडीबाट आउने मनसुनको वर्षा। अर्को, भूमध्य सागरबाट आउने पश्चिमी वायु। तेस्रो, स्थानीय स्तरमा हुने ‘लोकल सिस्टम’का कारण आउने वर्षा। हामीकहाँ चार महिना धेरै पानी पर्छ र आठ महिना कम पर्छ। यी पानी पर्ने यस क्षेत्रको प्राकृतिक संरचना हो।
६ वटा ऋतु हुने विगत हाम्रो चलन थियो। वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर। यो त अब प्राकृतिक र सामाजिक हिसाबले हराइसकेको छ। दक्षिण एसियाको संस्कृति र साहित्यमा गयौँ भने ऋतुहरूबारे उत्कृष्ट साहित्यहरू लेखिएका छन्। कालीदासको मेघदूत नै हेरौं न! त्यसबाट यस भेगमा मेघ, वर्षा, नदी, तालतलैया हाम्रो खेतीपाती र खानपानसँग जोडिएको बुझ्न पाउँछौँ हामी।
वर्षा याममा हुने अधिक वर्षा र हिउँदमा हुने सुख्खा दुई फरक समस्या होइनन्। यी एक अर्कासँग अन्तरसम्बन्धसित छन्। जेठको सुक्खा असारमा पानी परेपछि कम हुन्छ। चार महिना पर्ने पानीले हाम्रा पोखरी, ताल तलैया, नदी र सिमसारलाई भर्ने गर्छ। र, जमिनलाई सिञ्चन गरेर भूगर्भमा पानी भर्छ। त्यस पानीलाई जोगाएर सञ्चित गरेर कम पानी पर्ने वा पानी नपर्ने महिनामा जीवन र खेतीपाती हामीले बढाएका हौं।
असार र साउनमा एक थोपा पनि पानी नपरे के होला? कल्पना गर्दा पनि डरलाग्दो छ। नदीले स्वाभाविक रूपमा बाढीहरू ल्याउँछ। यो हजारौँ वर्षदेखि चलेको वास्तविकता बिर्सिनु भएन, हामीले वर्षा, नदी र समाजको सम्बन्ध बुझ्नुपर्यो। जलचक्रलाई जतन गर्ने संस्कारको बाटोमा लाग्नु समयको माग हो।
अहिले आएर विश्वव्यापी रूपमा के मानिएको छ भने विपद् प्राकृतिक होइन। घटना प्राकृतिक हुन्। पानी पर्नु, भूकम्प र हावाहुरी आउनु प्राकृतिक हुन्।
यो पनि–
पानीका कुरा– १ : वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?