भक्तपुरस्थित आरपी फाउन्डेसनले संचालन गरेको नेपाल भोकेसनल एकेडेमीमा अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डीको स्मृतिमा ‘मेमोरियल रिडिङ रुम’ स्थापना भएको छ। नेपालमा झन्डै आधा शताब्दी बसोबास गरेका रिकार्डीले नेपाली कला, संस्कृति, इतिहास तथा भाषा–सिद्धान्तको अध्ययन गरेका थिए। उनै रिकार्डी (सन् १९३७–२०२०)ले आफ्नो संग्रहमा राखेका पाँच हजारभन्दा बढी नेपाल मामलासम्बन्धी पुस्तक अहिले रिकार्डी मेमोरियल रिडिङ रुम आइपुगेका छन्। पुस्तकालय आगामी माघबाट सबैका लागि सार्वजनिक हुनेछ।
रिकार्डीको निधनपछि उनकी श्रीमती एलेन कुनले यी पुस्तक तथा अध्ययन सामग्री नेपालमा निःशुल्क उपलब्ध गराएकी हुन्। युनिर्भसिटी अफ कोलम्बियामा धर्म तथा मौखिक इतिहास विषय पढाउने कुन पनि नेपाल अध्येता हुन्। रिकार्डीको नेपालप्रेम, अनुसन्धान र पुस्तकालयबारे कुनसँग उकालोका लागि आमोद प्याकुरेल र प्रबिता श्रेष्ठले गरेको कुराकानीः
तपाईंको लागि नेपाल के हो?
नेपाल मेरा लागि संसारभरकै सबैभन्दा उत्कृष्ट, रोचक र प्यारो देश हो। टेड (श्रीमान्) र मबीचमा यो साझा भावना थियो। नेपालप्रतिको यो भावना हामीबीचको गहिरो प्रेम र अनन्त वैचारिक तथा प्राज्ञिक रुचिका साझा अनुभूतिले गर्दा पनि हो।
नेपालका हरेक कुरा, विषयवस्तु ‘वन्डरल्यान्ड’ झैँ लाग्ने गरेको छ। टेड भन्ने गर्थे, “यहाँका मानिसले पिँजडालाई समेत कलाले भरिपूर्ण बनाएका हुन्छन्।” हामी दुईको अध्ययन क्षेत्र भिन्न भए पनि यो भनाइको सदैव समर्थक रह्यौँ। बास्तवमा प्राज्ञिक व्यक्तिका लागि नेपाल ‘क्यान्डी ल्यान्ड अफ वन्डर’ हो।
नेपालसँग तपाईंको झन्डै आधा शताब्दी लामो सम्पर्क–सम्बन्धका आधारमा यहाँ भएका परिवर्तनलाई कसरी हेर्नुभएको छ?
म पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएकी थिएँ। त्यस बेला विश्व मानचित्रमा नेपाल कतै पनि नभएको भान हुन्थ्यो। हुन त त्यसताका पनि केही नेपालीले विश्वका विभिन्न मुलुकको यात्रा गरेका थिए। तर अहिलेजस्तो ‘ग्लोबल सिटिजन’ नभएका हुन् कि भन्ने बुझाइ थियो जुन् पूर्ण सत्य होइन। बर्मा, तिब्बत, भारतलगायत भेगका लागि नेपाल ‘ट्रेड–रुट’ थियो। अहिले यो प्रश्न नै छैन, नेपाली ग्लोबल सिटिजन भैसकेका छन्। उनीहरू आज विश्वभर फैलिएका छन् जो निकै तीक्ष्ण र क्षमतायुक्त मात्र होइन सफल पनि देखिएका छन्। नेपालीहरू जता गएका छन्, प्रभावशाली स्थानमा छन्। राम्रो आर्थिक उपार्जन पनि गरिरहेका छन्। मलाई लाग्छ, यो साँच्चै ठूलो प्रगति हो।
अर्कातिर, सरकारको सेवा प्रवाह (विशेषगरी आर्थिक क्षेत्र)मा निकै समस्या देखिएको छ। यसकारण विशेषतः युवावर्गले (राज्यबाट) पाउनुपर्ने सेवासुविधा नपाइरहेको स्थिति देखिन्छ, रोजगारीको अभाव र कुनै अवसर नपाएकै कारण कष्टपूर्ण जीवन बिताइरहको अवस्था देखिन्छ। आज यही कारणले नेपालको जनसंख्याको ठूलो हिस्सा विदेश पलायन भइरहेको तथ्य सामुमा छ।
वातावरणीय रूपमा पहिले यो स्थान (काठमाडौँ) अति सुन्दर र हरियालीयुक्त थियो। उपत्यका अहिले सिमेन्टेड भएको छ। आर्थिक उन्नति र वातावरणीय सन्तुलनलाई समानान्तर रूपमा लैजानु निकै आवश्यक छ। नकारात्मक पाटोको कुरा गर्दा नेपालमा वातावरण संरक्षणमा जनचेतना खासै छैन झैँ लाग्छ। वातावरणीय सरोकारलाई लिएर प्राथमिकतामा कुनै आन्दोलन (मुभमेन्ट) भएजस्तो मलाई लाग्दैन।
यहाँले ठूलो सदासयता देखाएर अध्येता टेड रिकार्डीको संग्रहमा भएका पुस्तकहरू नेपाली पाठकलाई सुम्पनुभएको छ। यो संग्रहमा कस्ता अध्ययन सामग्री छन्?
सन् १६०० यताका पुस्तक र सोध सामग्री (संख्यामा पाँच हजारभन्दा बढी) अहिलेको संकलनमा छन्। कतिपय देवनागरी लिपिका पुस्तक पनि छन्। कोलोनल कर्कप्याट्रिक, हेनरी एमब्रोसे ओल्डफिल्ड लगायत इतिहासविद्का पुराना र महत्त्वपूर्ण मानिएका पुस्तक छन्। देवनागरी पूर्णरूपमा पढ्न नसक्ने कारण ती कति पुराना हुन् भनेर म किटानसाथ भन्न सक्दिनँ तर ती निकै प्राचीन लाग्छन्।
संग्रहित पुस्तकको विषयगत विविधत कस्तो छ?
यहाँ इतिहास, दर्शन, संस्कार, सम्पदा, संस्कृति सन्दर्भका पुस्तक मात्रै छन्। केही चाहिँ संगीत, दर्शनशास्त्र, भारत, मंगोलिया, बर्मा, म्यानमार, चाइनाबारेका सामग्री पनि छन्। कतिपयले मलाई ‘नेपालमा नेपालबारे पुस्तक मात्रै लगिएको भए पनि हुने’ भनेर सुझाव दिनुभएको थियो। तर यो विश्व गोलाकार छ र एक भूगोल अर्कोसँग घुलमिल भएकै हुन्छ भन्ठानेर भएको संग्रह ल्याएकी हुँ।
अन्य देशका पुस्तक पनि यहाँ ल्याउनुको अर्को उद्देश्य भनेको नेपाललाई अरूले हेर्ने हेराइमा पनि परिवर्तन आउनु पर्छ भन्ने हो। यस्ता पुस्तक–पुस्तकालय भारत, लन्डन अथवा न्युयोर्कतिर मात्रै केन्द्रका रूपमा हुनुपर्छ भन्ने होइन। पठनीय सामग्रीको ‘हब’ नेपाल हुनुपर्छ, हुनसक्छ भनेर पनि पुस्तकहरूको संग्रह ल्याएकी हुँ।
टेडका पुस्तकको अकाईभ नेपालमै फिर्ता हुनुपर्छ भन्ने किन लाग्यो?
मूलतः नेपाली विद्यार्थी तथा बुद्धिजीविले औपनिवेशकालीन समयको इतिहास, त्योबलाको सामाजिक–राजनीतिक वस्तुस्थिति (कोलोनियल डेज) जान्नु निकै आवश्यक छ। इस्ट इन्डिया कम्पनीदेखि दक्षिण एशिया क्षेत्रबारे केही लेखिएको छ भने त्यसको व्याख्यामा पूर्ण पहुँच हुनु जरुरी छ। यस्ता ओरिजनल सामग्री जो सम्बद्ध व्यक्ति (एजेन्सी)ले लेखेका छन् र प्रकाशनमा आएका छन्— ती प्रकाशित पुस्तकमा समग्र दक्षिण एशियाको भूगोल, इतिहासलगायत यावत् जानकारी छन्। औपनिवेशिकालीन समयको हेराइ, बुझाइ, अध्ययन र अवलोकन कति सही अथवा गलत थियो? उनीहरूले स्थापित गरेको भाष्य र बनाएको छवि के थियो? यसबारे राम्रा पठन सामाग्री हुन्।
मेरो श्रीमान्को खल्तीमा कहिल्यै अतिरिक्त पैसा रहेन। उनीसँग केही थप रकम हुँदा पुस्तक किनिहाल्थे। उनले पढाउने विश्वविद्यालयको अन्तिम कमाइ अहिले मेरो २७ वर्षीया छोरीले कमाउने बराबर थियो। यसकारण मलाइ लाग्छ, विद्धान्हरू आर्थिक रूपमा धनी मानिस होइनन्। नेपाली विद्धान पनि यसमा भिन्न छैनन्। उनीहरू कुनै ब्रिटिश अथवा अन्य पुस्तकालयमा फुत्त गएर यस्ता सोधपरक सामग्री हेरिहाल्न पाउँदैनन्। यसकारण पनि, टेड संकलित सामग्रीहरू नेपालमै रहनु पर्ने र यहाँका विद्यार्थी–विद्धान्को पहुँचमा हुनुपर्छ भन्ने मेरो मान्यता हो।
कतिपय विदेशी अध्येताले पूर्वीय समाज पुरातनवादी रहेको बताएका छन्। एउटा शब्दावली छ ‘पेट्रोनाइजिङ’, अर्थात् संरक्षण, सहयोगसँगै अधीनमा राख्न खोज्ने प्रवृत्ति। के ती अध्येताको सोच, लेखनीमा पनि ‘पेट्रोनाइजिङ’ टोन हुन्छ?
लेखनीमा पेट्रोनाइजड् प्रवृत्ति नहुने पक्कै हुँदैन। उनीहरूको हुर्काइ भएको वातावरणले पनि पूर्वीय समाजको बुझाइ आफ्नो तुलनामा फरक र पुरातन लागेको हुनसक्छ। त्यही कुरा लेखनीमा आउँछ। कतिमा यो अहंको रूपमा पनि विकसित हुन सक्छ। यद्यपि, कतिपय विदेशी लेखक, अध्येता जानीनजानी त्यो गरिरहेका हुन सक्छन्। यो भनिरहँदा मैले पाश्चात्य समाज कै अध्ययन, ज्ञान र विज्ञता मात्र राम्रो भन्ने बुझाउन खोजेको होइन।
उपनिवेशको समय कस्तो थियो, कसरी विश्वको पूर्वीय धु्रवलाई हेरियो, धारणा बुझ्नका लागि पनि ‘पेट्रोनाइनड् टोन’का पुस्तक पढ्न सकिन्छ। यस पुस्तकालयमा दक्षिण एशियाका लेखकको पनि पुस्तकहरू छन्। यहाँ भएका धेरै पुस्तक देवनागरीमा पनि छन् जसलाई यहाँका विद्धान्ले लेखेका हुन्। यसलाई हामीले मान्नु पर्छ। ती सबै तुलनात्मक रूपमा गुणस्तरीय छन्।
नेपाली अध्येताले यस पुस्तकालयबाट कस्तो ज्ञान हासिल गर्न सक्छन्?
यी सामग्रीका कारण, आफ्नो नयाँ संश्लेषण, नयाँ आइडिया र प्याराडाइम सिफ्टको आशा छ। यी मौलिक सामग्रीको पहुँचमार्फत केही नयाँ जानकारी आउन् भन्ने म चाहन्छु। विद्धा्नहरूमा अबको लागि पश्चिमी ज्ञानशास्त्र र प्रवचन दिक्कदारी लगाउने भइसक्यो। अबको ज्ञानशास्त्र आदिवासीको हुनुपर्छ। एक जना बोटानिस्ट, वैज्ञानकि जो नेटिभ–अमेरिकन हुन्, उनको पुस्तक यहाँ छ। अष्ट्रेलियन अबोरिजनलको पनि पुस्तक छ। के थाहा, उहाँहरूको जस्तै हामी (नेपालीका) केही नयाँ र ताजा ज्ञानशास्त्र बाहिर ल्याउन सक्छौँ कि!
टेडले दक्षिण एशिया केन्द्र प्रसिद्ध जासुसी साहित्यिक रचना ‘शरलक होम’ पनि लेखेका थिए। इतिहासका अध्येतालाई साहित्यितर्फ कसरी रुचि भयो?
सामान्यतः प्राज्ञिक व्यक्तित्व, विद्धा्नहरू लोसे र रुखा हुन्छन्, कतिपयमा साहित्यिक रस नभएको भन्ने बुझाइ छ। टेड राम्रो ‘सेन्स अफ ह्युमर’ भएका हँसमुख व्यक्ति थिए। उनी अध्ययनको एउटै विधामा एकोहोरो केन्द्रित थिएनन्। संगीत, सिद्धान्त, धर्म, भाषाका बृहत ज्ञान उनीसँग थियो। उनी आठ भाषाका ज्ञाता थिए। भाषाविद् हुनुका साथै उनको कल्पनाशीलता पनि बेग्लै थियो।
उनी बाल्यकालदेखि ‘शरलक होम्स’का फ्यान थिए। उनको आफ्नो दिमागमा घुम्ने कथालाई साहित्यमार्फत ढाल्ने गर्थे। आफूसँग भएको ज्ञानको पुञ्जलाई कल्पनाशिलतासँग जोडेर उनले ‘शरलक होम्स’ लेखेका थिए। कथा लेखनीमा उनी रमाउँथे। जर्नल, सोधपरक लेखलगायत बौद्धिक लेखनीमा पोख्न नसकेको भावना यस्ता साहित्यमार्फत भन्थे।
साथै, प्राज्ञिक लेख, मोनोग्राफभन्दा कथा, कविताजस्ता साहित्यको विधालाई पाठकले रमाइलो मान्छन्। विविध भाषाको जानकार भएको हिसाबले उनीमा प्राज्ञिकदेखि साहित्यिक दुवै दक्षता थियो भन्न सकिन्छ।
टेडले नेवार–इटालियन शब्दकोशमा पनि काम गरेका थिए, यस पछाडिको कथा के होला?
यसपछाडिको कथा निकै सुन्दर छ। कुन वर्ष त थाहा छैन तर उनी युवाकालमै एक पटक रोममा थिए। त्यो भ्याटिकन सिटी थियो। त्यहाँ रहेको एउटा ट्रेजर हाउसमा उनले एउटा ‘बुक मेटरियल’ पाए। त्यो हस्तलिखित नेवारी शब्दकोश थियो जुन अनुमानित पृथ्वीनारायण शाहको पालामा लेखिएको थियो।
यस्तो पुरानो पुस्तक भेट्दा उनी निकै खुशी भए। उनले उक्त पुस्तकको फोटोकपी मागेका थिए। त्यस दिन त्यहाँ गार्ड मात्र थिए, सोही कारण फोटोकपी गरेर सजिलै दिए। त्यसपछि भने उक्त ट्रेजर हाउसले उक्त शब्दकोश कसैलाई हेर्न नदिएको भन्ने सुनिन्छ।
भाषाविद् तथा इतिहासकारको रूपमा उक्त पुस्तकको प्रभाव उनको मनमा बसेको थियो। पछि टेडले त्यो शब्दकोशमा काम गरे। पुस्तकका लेखक पार्दे गुआलबेर्टोसँग संगत बढाएर त्यो सामग्रीलाई नेवारी–इटालियन शब्दकोशको रूप दिए। ब्राजिलका फरनान्डो अजाभिटोले यो कृतिको डिजिटल कपी राखेका छन्। नेपालमा बज्र बुक्सले प्रकाशन गरेको छ। टेडको जीवनको अन्तिम कालमा गरेको काम पनि शायद यही नै थियो। यसबीच उनलाई पार्किन्सन (दिमागको केन्द्रिय स्नायु प्रणालीमा असर गर्ने) रोग देखियो। यद्यपि, उनी काममा निरन्तर लागिरहे।
यो पुस्तकालयबाट थप अपेक्षा अथवा योजना छन् कि?
यो पुस्तकालयमा धेरैभन्दा धेरै विद्यार्थी आउन्, पढुन् र, विद्धान–अध्येताले आफ्नो पुस्तक यहाँ दान गरुन् भन्ने इच्छा राखेकी छु। एकअर्कालाई भरोसा गर्दै सामुदायिक रूपमा सबैले काम गरौँ भन्ने हो। यो पुस्तकालय विद्यार्थी, अनुसन्धानकर्ता, विद्धानहरूको विचारविमर्श गर्ने सही ठाउँ बनोस् भन्ने लाग्छ।