Saturday, May 04, 2024

-->

सम्झनामा सुवास नेम्वाङ
बैठक चलाउन अप्ठ्यारो पर्दा भित्रबाट चिर्कटो पठाउनुहुन्थ्यो

आफू सन्तुलित भएर नेताहरूलाई ‘कन्भिन्स’ गरेर जानुपर्छ भनेर सम्झाउनुहुन्थ्यो। संविधान लेखनमा हाम्रो कहिल्यै मतभेद भएन। ‘तपाईंले तपाईंका नेताहरूलाई भन्नुस्, म हाम्रालाई पनि भन्छु’ भन्नुहुन्थ्यो।

बैठक चलाउन अप्ठ्यारो पर्दा भित्रबाट चिर्कटो पठाउनुहुन्थ्यो

पहिलो संविधानसभामा २०६४ सालदेखि २०६९ सालसम्म सुवास नेम्वाङ अध्यक्ष म र उपाध्यक्ष भएर सँगै काम गरेका थियौँ। उहाँ असाध्यै मिलनसार, सहयोगी हुनुहुन्थ्यो। मेरा लागि अभिभावक हुनुभयो।

म पनि जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि पहिलोपटक निर्वाचित भएर संविधानसभामा गएको थिएँ। मलाई संविधानसभा र संसद नयाँ थियो। उहाँ कानूनको जानकार हुनुहुन्थ्यो। त्यसअघि उहाँसँग पटकपटक सांसद र कानूनमन्त्री भएको अनुभव थियो। उहाँले मलाई धेरै कुरा सिकाउनुभयो। उहाँको सहयोगलाई  व्यक्त गर्ने शब्द नै मसँग छैन।

पूर्णकुमारी सुवेदी

उहाँ कहिल्यै नरिसाउने मान्छे हुनुहुनुन्थ्यो। जहिले पनि हाँसीहाँसी सिकाउनुहुन्थ्यो। म नयाँ थिएँ। मैले बैठक चलाएको कार्यकक्षबाट हेर्नुहुन्थ्यो। केही अप्ठ्यारो पर्‍यो भने कर्मचारीमार्फत लेखेर पठाउनुहुन्थ्यो। ६०१ जना माननीय चलाउनुपर्थ्यो। संविधानसभाको बैठकमा त अप्ठ्यारो पर्दैनथ्यो, व्यवस्थापिका संसदको बैठकमा चाहिँ कहिलेकाहीँ समस्या आइलाग्थ्यो। समस्या परेको बेला चिर्कटोमा उहाँको सुझाव आइहाल्थ्यो।

हामी दुवै जना कम्युनिष्ट पार्टीबाट निर्वाचित भएका थियौँ। तर पार्टी फरक भए पनि एकदमै हार्दिकता थियो। 

म उहाँको मृत्युको खबर सुन्दा एकदमै स्तब्ध भएँ। विसन्चो भएर हस्पिटलमा भर्ना हुनुभएको छ भन्ने भएको भए त दौडेर गएर एकपटक भेट्थेँ। बोलीमा बोली मिसाउन पाइन्थ्यो। असाध्यै दुःखद् भयो। 

नेपालमा परिवर्तनका लागि भएका धेरै आन्दोलनमा उहाँ सरिक हुनुभयो। आन्दोलनमार्फत खारिएर परिपक्व नेताको भूमिका निभाउनुभयो। हामी जनयुद्धमा हुँदा उहाँको क्षेत्रबाट उहाँले गर्नुभएका सहयोगी भाव हामीले बिर्सेका छैनौँ।

हामीले संविधानको ८० प्रतिशत काम पहिलो संविधानसभाकै कार्यकालमा सकेका थियौँ। मस्यौदा लेखेर केही ठाउँमा खाली छोडेका थियौँ। अरू त सबै टुंगिसकेको थियो। तर संविधानसभाको अन्तिम दिनसम्म पनि हामी तनावमा भयौँ। म बानेश्वरस्थित संविधानसभा भवन गएँ। उहाँले ‘म नेताहरूलाई लिएर आउँछु, तपाई सांसदहरूसँग छलफल गरिराख्नुस्’ भनेर फोन गर्नुभएको थियो। 

आफू सन्तुलित भएर नेताहरूलाई ‘कन्भिन्स’ गरेर जानुपर्छ भनेर सम्झाइराख्नुहुन्थ्यो। हरेक विषयमा छलफल हुँदा हामीसँगै हुन्थ्यौँ। संविधान लेखन प्रक्रियामा हाम्रो कहिल्यै मतभेद भएन। बरु आआफ्ना दलका नेतालाई सम्झाउने कुरा हुन्थ्यो। ‘तपाईंले तपाईंका नेताहरूलाई भन्नुस्, म हाम्रालाई पनि भन्छु’ भन्नुहुन्थ्यो। 

एमालेमा उहाँ संसदीय दलको उपनेता, पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो। केही समय त हामी पार्टी एकीकरण गरेर सँगै काम गर्यौं। जुनसुकै सहयोग माग्दा पनि तयार हुनुहुन्थ्यो। 

हामीले एकदमै अनुभवि नेता गुमायौँ। देशलाई अपूरणीय क्षति भयो। त्यत्तिको नेता जन्माउन धेरै समय लाग्छ।

-कुराकानीमा आधारित


सम्बन्धित सामग्री