Thursday, April 25, 2024

-->

‘टर्निङ पोइन्ट’ बनेको त्यो टेपकाण्ड

‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो।

‘टर्निङ पोइन्ट’ बनेको त्यो टेपकाण्ड

आक्रोश, भावुकता आदिको फ्युजनयुक्त फेसबुक स्ट्याटस र डाक्टरद्वय शेखर कोइराला र गोविन्दराज पोखरेल अनि महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई छोटोमा उस्तै भावुक सन्देश पठाएपछि सामाजिक सञ्जाल डा. स्वर्णिम वाग्ले कांग्रेस परित्यागको चर्चामा व्यस्त छ। क्याफे/भट्टीमा यसबारे गफगाफ भइरहेका छन्। स्वर्णिमले शनिबार कान्तिपुर दैनिकमा पार्टीबाट ‘पर्सना नन ग्राटा’ (कूटनीतिज्ञलाई देशनिकाला) गर्न खोजिएको भेउ पाएरै कांग्रेस परित्याग गरेको बताएका छन्। उनलाई साँच्चिकै पार्टी निकाला गर्न खोजिएकै थियो त? केही केस:

राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्णिमलाई बोलाएर आर्थिक सल्लाहकार भइदिन अनुरोध गरे, स्वर्णिमले सशर्त स्वीकारे पनि–अवैतनिक सल्लाहकार। सुनिएअनुसार देउवा दम्पतीले हस्तक्षेप गरेपछि राष्ट्रपति हच्किए। केही वर्षअघि पौडेलकृत कृषिसम्बन्धी एउटा बेतुकको किताबको लोकार्पणमा ‘यो पुस्तक किसानका लागि गीता हो, बाइबल हो, कुरान हो’ भनेर भक्तिगान गाउने डा. चिरञ्जीवी नेपाल आर्थिक सल्लाहकार नियुक्त गरिए।

मंसिर ४ को आमचुनावका लागि काठमाडौँ–५, चितवन–१ र गोरखा–१ मध्ये जहाँबाट भए पनि कांग्रेसको उम्मेदवार हुन लालायित थिए। टिकट प्राप्त गर्न उनले हरसम्भव प्रयत्न गर्ने नै भए। यही मेसोमा उनका शुभचिन्तकले शेरबहादुरपुत्र जयवीरसिंह देउवालाई भन्दा जवाफ आयो, ‘वाटर ह्याज क्रस्ड द ब्रिज’। त्यस्तै शेरबहादुरका साला भूषण राणासँग समेत सम्पर्क भएका अर्का शुभचिन्तकले कुरा गर्दा जवाफ पाए, ‘त्यो स्वर्णिमको कांग्रेसमा योगदान नै के छ?’ अर्कोले विदेशबाटै म्याडमलाई फोन लगाए, जवाफ अझै कडा। यिनै जवाफहरूकै कारण हुनुपर्छ स्वर्णिमले लेखेका छन्, ‘जननायक बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र किशुनजीको दल अहिले अहिले दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’

२०७८ सालको २९ असारमा शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री हुँदै गर्दा यूएनडीपीको आर्थिक सल्लाहकारका रूपमा न्यूयोर्कमा कार्यरत स्वर्णिमले सांसद नै नरहे पनि आर्थिक राज्यमन्त्रीको आकांक्षा व्यक्त गरेका थिए। तत्कालीन अवस्थामा स्वार्णिमसँग घनिष्ट दोस्तीयारीमै रहेका डा. विश्व पौडेलले बताएअनुसार अर्थ मन्त्रालय माओवादीको पोल्टोमा परेपछि परराष्ट्रमन्त्री भए पनि चलेगा भन्न थाले। अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुन कुरिरहेका डिल्ली चौधरीले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारक हुन पाए स्वर्णिम नेपाल फर्किन ‘रेडी’ रहेको सन्देश बालुवाटार पुर्‍याउँदा म्याडमको जवाफ थियो, ‘त्यल्लाई त यहाँको ढोका पनि खुल्नेवाला छैन।’

गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिने निधो गरिसकेका थिए। आफूले जित्दै आएको काठमाडौँ–४ मा स्वर्णिमलाई टिकट दिलाउन सकिनेमा उनी ढुक्कै थिए। मनोनयन दर्ता गर्न असोज २३ गते बिहानै ७ बजेको बुद्ध एयरको काठमाडौँ–सिमराको उडान हुँदै सर्लाही पुग्न चार वटा टिकट रोकाइएको थियो। सर्लाही कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंह देशमै सबैभन्दा भव्य मनोनयन दर्ताको योजना बुनेर गाउँगाउँबाट मान्छे ओसार्न सवारीको बन्दोबस्तमा जुटेका थिए। अघिल्लो दिन बालुवाटारमा टिकटकै वितरणको बैठकमा सहभागी महामन्त्रीले काठमाडौँ–४ को टिकट नैनसिंह महरलाई दिइसकिएको खबर पाए। ‘घटनास्थल’ बाटै गगनले कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर महामन्त्रीको क्षेत्रको टिकट महामन्त्रीलाई नसोधी कसरी अरूलाई दिएर पठाउनुभयो भनेर सोधे? जवाफमा पौडेलले ‘लु मलाई त सभापतिज्यूले महामन्त्रीसँग छलफल भइसक्यो नैनसिंहलाई दिनु भनेर फोन गर्नुभएको थियो त’ भने। जबकि, देउवाले नैनसिंहलाई टिकट दिने सम्बन्धमा केही कुरा गरेकै थिएनन्। महर टिकट लिएर हिँडेपछि गगनको सर्लाही–४ जाने उडान रद्द भयो,  काठमाडौँ–४ को टिकट आफैँ लिए। देउवा नैनसिंहलाई टिकट दिनभन्दा पनि सायद स्वर्णिमलाई वञ्चित गर्न थाहन्थे।

मन्त्रिमण्डल गठनकै छलफलका क्रममा हालै गगनले सभापति देउवासँग अर्थमन्त्री बन्ने इच्छा जाहेर गर्दा ‘भाइले पहिले पनि राम्रो काम गरेको स्वास्थ्यमन्त्री बन्ने स्वास्थ्य’ भनेर ठाडै इन्कार गरिदिए। अर्थमन्त्री बने स्वर्णिमलाई सल्लाहकार बनाउँछ भनेर पनि गगनको प्रस्तावमा सोच्नै नचाहेको अडकलाइजेशन डा. शेखर कोइरालाको छ।    

आखिर देउवा परिवार स्वर्णिमलाई यो हदको नफरत किन गर्छ?
कांग्रेसमा उनलाई टिक्नखान नदिने वातावरणको बीजारोपणचाहिँ चार वर्षअघि नै भएको थियो। ०७४ सालको आमचुनाव सम्पन्न भई केपी ओली सरकार बनिसकेको थियो, स्वर्णिम र डा. गोविन्दराज पोखरेल चौधौँ महाधिवेशनमा पार्टी सभापति शेखर कोइराला भनेर क्याम्पेनमै जुटिसकेका थिए। डाक्टरत्रय स्वर्णिम, शेखर र गोविन्दराज बालुवाटारको ‘डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्याङ्क्वेट’ मा छिर्छन्। गफगाफसँगै हल्का नास्ता गरेर निस्किन्छन्। रेस्टुराँबाट त निस्किनु थियो, निस्किए। टेबलमा भएको कुराकानीले स्वर्णिमलाई अन्ततः शेरबहादुर देउवाको घेराबाटै ‘नकआउट’ गरिदियो। छिर्नुअघि रेस्टुरेन्टको मालिकबारे सोधीखोजी गरिन्न, डाक्टरको तिकडीले पनि गर्ने कुरा भएन। खासमा त्यो रेस्टुरेन्ट शेरबहादुर देउवाका भतिज, त्यतिबेला डा. आरजुका पीए, अहिले सुदूरपश्चिम सरकारमा मन्त्री प्रकाश देउवाको हो। उनीहरूले प्रकाशलाई त चिन्थे, प्रकाशको रेस्टुरेन्ट चिनेनन्। बसेपछि म्याडम देउवाबारे टीकाटिप्पणी शुरू भयो। स्वर्णिम लाउड त सुनिन्छन् नै बोली एकदम स्पष्ट पनि छ। चन्द्रशमशेर महाराजका पालामा भित्ताका पनि कान हुन्छन् भनिन्थ्यो रे। अहिले मोबाइल जताततै छन्। प्रकाशका कुनै स्टाफले मोबाइलमा उनको टिप्पणी टेप गरिदिए, प्रकाशको जिम्मा लगाइदिए। प्रकाशले त्यो टेप काकी आरजुलाई फरवार्ड गरिदिए। एकचोटी सो रेस्टुरेन्टमा तीनैजना छिरेको बताउने स्वर्णिम आफूले म्याडम देउवाबारे आपत्तिजनक टीकाटिप्पणी गरिनँ होला भन्छन्। ‘मलाई त त्यस्तो कुनै टेप छ भन्नेमै विश्वास छैन,’ शनिबार उनले भने, ‘आसेपासेहरूले कुरा लगाइदिएको र टेपको हल्ला फिँजाइदिएको जस्तो लाग्छ।’ देउवा निकटस्थ एक जना त त्यो टेप फरवार्ड हुँदै आफूकहाँ पनि आइपुगेको सुनाउँछन्। टेपमा म्याडमलाई भ्रष्ट महिलाका रूपमा टिप्पणी गरिएको थियो। लामो समय आफूसँग सुरक्षित त्यो टेप मोबाइल चेन्ज गर्दा मिसप्लेस भएको शुक्रबार उनले सुनाए।

देउवा प्रधानमन्त्री हुँदा दुईचोटि प्रेस हेर्ने जिम्मेवारी पाएका गोविन्द परियार आफूले त्यस्तो हल्लीखल्ली सुने पनि टेप नै चाहिँ नसुनेको बताए। एक साँझ देउवाकै किचन क्याबिनेट सदस्य उमेश श्रेष्ठको घरमा सन्ध्याकालीन बैठकी चल्दै थियो। सहभागी सबै देउवाको किचेन क्याबिनेट सदस्य भन्न मिल्ने आसेपासेहरू। ‘दाइ (देउवा) त मान्छे ठीक हुन, भाउजू (डा. आरजु) लाई त मेरो बस चल्यो भने जेल जाक्दिन्छु’ बैठकीमा एकछिन् सन्नाटा छायो। 'किन किन'? कसैले सोध्यो। स्वर्णिमले उही आर्थिक कारण गिनाए। यसमा पनि स्वर्णिमले ‘यतिको आर्थिक अनियमिततामा लिप्त हुँदा अन्यत्र भए हतकडी लागिसक्थ्यो’ सम्म भनेको हुनुपर्छ भने।   

सबै कुरा देउवा निवासमा फरवार्ड भइरहेको थियो, डा. आरजु ‘आगबबुला’ हुने नै भइन्। ‘टेपकाण्ड’अघि नै डाक्टरद्वय डा. शेखरको पक्षमा खुलिसकेकाले यसै आगो थिइन् नै। उनीहरू गगन थापा महामन्त्री हुनेगरी शेखरको टिम बनाएर चुनावी अभियान शुरू गरिहाल्ने हतारोमा थिए। गगनलाई मनाउन मिटिङमाथि मिटिङ गरिरहेका थिए। यी बैठकमा शुरूशुरूमा पुरञ्जन आचार्य, डा. विश्व पौडेलसमेत सहभागी हुन्थे। डा. आरजु अध्यक्ष रहेको युल्लेन्स स्कुलको ट्रस्टी भएपछि विश्वले ‘बुढानीलकण्ठ दरबार’ मा एन्ट्री मारे। डा. आरजुले पनि स्वर्णिमको विकल्पको रूपमा प्रमोट गरिन्। शेखर, गगन, स्वर्णिमलाई लिएर गृहजिल्ला प्युठानमा कार्यक्रम गरेपछि डा. आरजुले डा. गोविन्दलाई सारमा ‘अब टिकट पाउलास्’ भन्ने बेहोराको 'टेक्स्ट' सेन्ट मेरिज र सिमलामा पढेर खारिएको स्तरीय अंग्रेजी भाषामा पठाएकी थिइन्। यो म्यासेज त गोविन्दजीको मोबाइलमा अहिले पनि सुरक्षित हुनपर्छ। 

यी सबका बाबजुद स्वर्णिमको शेरबहादुर देउवासँग सम्पर्क विच्छेद भइसकेको थिएन। भेटघाट पातलिएकोसम्म थियो। तीन वर्षअघि वाग्ले यूएनडीपीको आकर्षक जागिर पक्कापक्की भएपछि जाऊँ कि नजाऊँ भनेर परामर्श गर्न देउवाकहाँ पुग्दा देउवाले त्यस्तो आकर्षक अवसर नगुमाउन सुझाएका थिए। न्यूयोर्कमा कार्यरत रहेकै बेला पहिलोचोटि बिदामा आउँदा उमेश श्रेष्ठले आफैँसँग लगेर देउवासँग भेटघाट गराएका थिए। म्याडम देउवाको मात्र होइन विनोद चौधरीको पनि खप्की सुन्न परेपछि चाहिँ उमेशले पनि कन्नी काटे, स्वर्णिमको शेरबहादुरसँग भेटघाट एकैचोटि कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा भयो। नेपाल आएपिच्छे भेटघाट मिलाइदिन भानु देउवालाई भने पनि उनले समय पाएनन्। चुनावको सुरसारसँगै उनी ढुक्कै बस्ने गरी फर्किए, सभापति भेट्न पाएनन्। 

०७४ सालको आमचुनाव अघिसम्म देउवाको दाहिना
आमचुनावमा कांग्रेस वाम गठबन्धनसँग ‘चारोखानो चित्त’ हुनुअघिको नजारा फरक थियो। स्वर्णिम योजना आयोगका उपाध्यक्ष थिए। आयोगको अध्यक्ष नै प्रधानमन्त्री हुन्छन्, उपाध्यक्षसँग भेटघाट भइरहनु स्वाभाविकै हो। शेरबहादुर–स्वर्णिम सम्बन्ध त्यतिमै सीमित थिएन। प्रधानमन्त्रीको निकटस्थ विश्वासपात्र भइसकेका थिए, प्रधानमन्त्रीले खोजिरहने गर्थे। त्यसबाहेक स्वर्णिम र गोविन्दसहित विनोद चौधरी, उमेश श्रेष्ठ, अनिल रुंगटाको एउटा समूह नै बनेको थियो, देउवाका पुराना राजनीतिक सहयोगीहरूले नै असुरक्षित महसुस गर्नेगरी। स्वर्णिमसँग घनिष्ठताका कारण समूहमा डा. गोविन्द साथै रहे पनि देउवा दम्पतीले विश्वास गर्थेनन्। एकचोटि देउवा सचिवालयकै एक जनाले स्वर्णिमले जहिल्यै गोविन्दलाई साथै लिएर आएकोमा देउवा दम्पती खुशी नभएको भन्दै मलाई स्वर्णिमसम्म सन्देश पुर्‍याइदिन भनेका थिए। ०७४ सालको चुनावको पूर्वसन्ध्यामा उमेश श्रेष्ठको धोबीघाटस्थित घर– डा. स्वर्णिम डा. गोविन्द आदि कांग्रेसले टिकट दिनुपर्नेको सूची बनाउँदै थिए। दाइले नै यस्तो जिम्मेवारी दिएको सुनाइरहेका थिए। यो पनि बीचमा त्यो बैठकीमा एकछिन् बसेर फर्किएकाले सुनाएका हुन्। भलै हाम्रा खुर्राट नेताहरूले बडेबडेका बफादारी, विश्वास जित्न टिकटमा सिफारिस गर्ने कामसमेत अह्राइदिन्छन्। जिम्मेवारी पाउनेले पनि टिकट पाउनुपर्नेको सूची बनाएर दिन्छ। तिनले टिकट पाउनुपर्ने भनेर सिफारिस गरेकामध्ये धेरैले आखिरमा टिकट पाइनै हाल्छन्। किनकि प्रभावशाली छुट्टाउन खासै गाह्रो हुँदैन। ‘जिम्मेवारी’ पाउने हामीले सिफारिस गरेका यति जनाले टिकट पाए भनेर यसै मक्ख। नेताले त तिनले सिफारिश गरे पनि नगरे पनि टिकट दिने तिनै हुन्छन्।

चुनावपछि स्वर्णिमले गुलाटी मारे, गोविन्दसँग डा. शेखरलाई पार्टी सभापति बनाउने क्याम्पेन थाले। भेटरान डा. विमल कोइराला लगायतको इच्छाका बाबजुद देउवाले उमेरमा जुनियर स्वर्णिमलाई उपाध्यक्ष नै बनाएका थिए। जबकि, त्यतिबेला सदस्यमै दोहोरिन पनि तयारै थिए। अझ किचेन क्याबिनेटमै पुगेका थिए। तैपनि गुट परिवर्तन किन त? उतिबेलै स्वर्णिमले सुनाएअनुसार ठूलाबडाको सामिप्यमा पुग्दा शुरूमा ‘एक्सक्लुसिभ’ लाग्छ। नेताको फोन आयो भने पनि सँगै साथीसंगी भए देखाउँदै रिसिभ गरिन्छ। नेताले बोलाएर भेटेकोमा गौरवान्वित भइन्छ, अरूलाई सुनाउँदै हिँडिन्छ। बिस्तारै त्यो ‘रुटिनाइज’ हुन्छ, सामान्य लाग्न थाल्छ। बिस्तारै अन्तर्यका कुरा थाहा पाइन थालेपछि ‘डिसअपोइन्टमेन्ट’ को चरणमा पुगिन्छ। ‘मलाई पनि त्यस्तै भयो,’ उनले सुनाएका थिए। चुनावको क्रममा आर्थिक कारोबार देखेपछि मोहभंग भएको बताउँछन्। संकलित अर्थ चुनावका लागि कम, निजी गोजीमा जाने गरेको आभास भयो।         

अति महत्त्वाकांक्षा र महात्त्वाकांक्षा परिपूर्ति गर्न अस्थिर र अधैर्य
स्वर्णिम उनकै अनुसार गर्भे कांग्रेस हुन। उनी जन्मिनुअघि नै उनका बुवा कांग्रेसका शुभचिन्तक थिए, नेताहरूसँग सम्पर्कमा थिए। बुढानीलकण्ठ स्कुलमै मास्टरी गरिरहेका कारण पार्टीमै औपचारिक आबद्धताचाहिँ थिएन। कांग्रेस पार्टीमा लागेर राजनीति गरी नेता बन्ने सपना देख्थे। पढाइ र जागिरको सिलसिलामा बाहिर बाहिरै रहेका उनले सुशील कोइराला प्रधानमन्त्री भई योजना आयोगको सदस्य अफर भएपछि घर वापसी गरेका हुन्। त्यसअघि ०६५ सालमै तत्कालीन अर्थसचिव रामेश्वर खनालले तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई विश्व बैंकमा कार्यरत उनकै गृहजिल्लाकै मेधावी अर्थशास्त्री स्वर्णिम वाग्लेलाई आर्थिक सल्लाहकार बनाउन सुझाएका थिए। स्वर्णिमको पृष्ठभूमि बुझेपछि भट्टराईले खनाललाई ‘त्यस्तो चर्को कांग्रेसलाई सल्लाहकार बनाए पार्टीमा मलाई कहाँ टिक्नखान दिन्छन् र’ भनेका थिए।

दोस्रो संविधानसभा चुनावपछि ०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री डा. रामशरण महतले योजना आयोग उपाध्यक्षमा अफर गरेपछि रामेश्वर खनालले भद्र अवज्ञा गरी स्वर्णिमलाई उपाध्यक्ष बनाउन सुझाए। उमेरमा निकै जुनियर नै भएकाले विरोध गर्छन् भन्दै डा. महतले सदस्य बनाउन सकिने बताएपछि खनालको इमेल सन्देशमा नेपाल ओर्लिएका थिए।

सुशील कोइराला सरकारको बहिर्गमनसँगै योजना आयोगबाट बाहिरिएपछि उनी आयआर्जन हुने कन्सल्टिङको कामसँगै रवीन्द्र मिश्रसँग नयाँ पार्टी गठनको तयारीमा पनि लागे। मुख्यसचिवबाट सेवानिवृत्त लीलामणि पौडेल पनि सक्रिय थिए। रवीन्द्र, स्वर्णिम र लीलामणिको संयुक्त लेख कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो। यसबीच स्वर्णिमले ‘बुढानीलकण्ठ दरबार’ मा एन्ट्री मारे। पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा माओवादी–कांग्रेस सरकारले चीनको राजदूत बनाएपछि पौडेलले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता देखेनन्। बिचरा रवीन्द्र छाडिए एक्लै। देउवा निवासमा प्रवेशअघि बुवासँग सम्पर्कको कारणले पनि रामचन्द्र पौडेलसँग बढी नजिक थिए, तेह्रौँ महाधिवेशनमा पौडेलले नै जितुन् भन्ने चाहन्थे। देउवा सभापति भएपछि देउवा निकटका अनिल रुंगटा र उमेश श्रेष्ठले आरजु देउवामार्फतै किचेन क्याबिनेट सदस्य बनाएका थिए। त्यसपछिको उनको घनिष्ठताबारे माथि चर्चा भइसकेकै छ।

अति महत्त्वाकांक्षी उनी महत्त्वाकांक्षा हासिल गर्ने हुटहुटीमा अधैर्य र अस्थिर सुनिन्छन्। योजना आयोगको सदस्यबाट बाहिरिएपछि रवीन्द्र मिश्रसँग मिलेर नयाँ राजनीतिक दल गठनतिर लहसिनुमा उनकै यही चरित्रले काम गरेको थियो। सांसद र अर्थमन्त्री बन्ने महत्त्वाकांक्षाका लागि कांग्रेसमा लामो न लामो सिँढी उक्लिनुपर्ने देखेरै नयाँ दल बनाउन सक्रिय भएको अनुमान गर्न सकिन्छ। कांग्रेस सभापतिकै खासमखास भइसकेपछि छड्के प्रवेश (ल्याटरल एन्ट्री) बाटै माथि पुगिने भयो, अर्को दल बनाइरहनपर्ने आवश्यकता देखिएन। २०७४ मा कांग्रेसको पराजयसँगै डा. शेखरलाई सभापति र गगन थापालाई महामन्त्रीसहितको टिम बनाउने उनको क्याम्पेनको कारणमा उनैले भनेअनुसार देउवा परिवारसँगको ‘डिस्अपोइन्टमेन्ट’ भनेर शंकाको सुविधा दिन पनि सकिएला, चुनावमा पराजयसँगै देउवाको दिनगन्ति भएको अनुमान गरेर अर्को जहाजतिर गुलाटी मारेको अन्दाजीफिकेसन पनि गर्न सकिएला। आगामी चुनावमा टिकटको आकांक्षा गरेको मान्छे विदेशमा यूएनडीपीको जागिर जाने कुरालाई पनि उनको यही चरित्रकै ‘बाइप्रडक्ट’ भन्न सकिन्छ। आखिरमा त्यही कदम नै उनलाई जसरी भए पनि छिर्न नदिने देउवा परिवारलाई टिकटबाट वञ्चित गर्ने बहाना भयो। भलै उनले जानुअघि कांग्रेसका नेताहरूलाई भेटेर आफूले देशको लागि, पार्टीको लागि फलदायी बनाउन सकिने जागिरको अवसर पाएको भन्दै ‘जाऊँ कि नजाऊँ’ भनेर सोध्ने बठ्याइँ गरेका थिए–भोलि ‘विदेशमा जागिर खान जाने, अहिले टिकट चाहिने’ भनेर खेदिइने जोखिमलाई ख्याल गर्दै। उनको यो बठ्याइँ कारगर भएन। चौधरी ग्रुपले अघि सारेको ‘बलियो नेपाल’ को नेतृत्वमा आए। आलोचित भएपछि बोर्डमा चौधरी परिवारको कोही पनि नहुनुपर्ने भनेर निहुँ खोजेपछि विनोद चौधरीसँग खटपट भयो, स्वर्णिम बाहिरिए। अखिरमा एउटा दुस्मनी नै थपे मात्र।  

स्वर्णिममा ज्ञान छ, ज्ञानभन्दा बढी त्यसलाई अरूसमक्ष प्रस्तुत गर्ने शिल्प छ, अझ त्योभन्दा पनि क्षमता स्वप्रवर्द्धन गर्ने अदभूत क्षमता छ। आफ्नो मार्केटिङ गर्न माहिर छन्। त्यसैले त पूर्वमुख्यसचिव डा. विमल कोइराला भन्ने गर्छन् रे, ‘मैले नेपालमा दुइटा तगडा बौद्धिक देखेँ पहिलो रामबावु खनाल (तत्कालीन चिफ इन्जिनियर) र डा. स्वर्णिम।’ स्वप्रवर्द्धन गर्ने क्रममा उनी यदाकदा यसरीसम्म प्रस्तुत भइदिन्छन् कि कोही  ‘टुटपुँजीया’ बौद्धिक बोलिरहेको होस्। शेरबहादुर देउवासँग सुमधुर सम्बन्ध छँदा उनले अंग्रेजीमा एकाध भाषण मस्यौदा गर्ने जिम्मेवारी पाए। गगनसहितका नेतासँग भेटघाटमा आर्थिक विषयमै छलफल हुने नै भयो। नेताको भाषण, विचारमा जसको योगदान भए पनि नेताले स्वामित्व लिएपछि त्यो उसैको हुन्छ, सल्लाह दिने, लेखिदिने गौण। नेताको त्यो भाषण त मैले लेखिदिएको हुँ नि, त्यो विचार त मेरै हो नि भन्नु अशोभनीय हुन्छ। गगन थापाले पछिल्ला दिनमा आर्थिक विषयमा निरन्तर परिपक्व विचार व्यक्त गर्न थालेपछि त्यसका पछाडि स्वर्णिमकै दिमाग देख्नेहरूको कमी छैन। जबकि गगन थापालाई अर्थशास्त्रकै ट्यूसन पढेका छन्, पढाउने माणसाप स्वर्णिम होइनन् त्रिविबाटै एमए गरी त्यही पढाइरहेका माणसाप हुन्। विश्व बैंक, एडीबी आदिमा कार्यरत, विख्यात विश्वविद्यालय पढेका पढिरहेका शास्त्रीहरूसँग उनी सम्पर्क साँधिरहेकै हुन्छन्। गगनले सरकारमा गएपछि डेलिभर गर्न अग्रिम तयारी गर्नुपर्छ भनेर शुरू गरेको ‘प्रोजेक्ट गभर्मेन्ट’ मा स्वर्णिमको योगदान शून्य नै हो। भेटघाटमा कुराकानी हुँदा ज्ञानको विनिमय त हुन्छ नै।

यो ‘विदेशमा आकर्षक अवसर छाडेर देश फर्केको’ भन्ने पनि बकवासै हो, जसले मार्केटिङ गरे पनि। संसारै एउटा गाउँ भनेपछि मन लागे विदेश जाने, मन नलागे स्वदेश फर्किने कुरा सामान्य हो। न बिदेसिएको, विदेशको नागरिकता ग्रहण गरिनुलाई छिछि गर्न मिल्छ, न स्वदेश फर्किदा वाहवाही। यि सब हाम्रा इच्छाका कुरा हुन। स्वर्णिमलाई नेता, मन्त्री बन्ने महत्त्वाकांक्षा थियो, फर्किए। गगन थापाका तीन दाजुभाइ बिदेसिए, उनी प्रधानमन्त्री महात्त्वाकांक्षा पालेर यतै रहे। न स्वर्णिम फर्किएकोमा फुटेज दिन जरुरी छ, न गगन नगएकोमा नै। एक जना थिए, सिद्धी अर्याल। विदेशमा यतिको जागिर, उतिको सुविधा छाडेर आएको भनेर साझा पार्टीले मार्केटिङ गर्‍यो। नेता बन्ने महत्त्वाकांक्षा बोकेर आएका थिए, पार नलाग्ने देखेपछि फर्किए– यो उनको नैसर्गिक अधिकारभित्रको कुरा थियो। न आउँदा जयजयकार गर्न जरुरी थियो, न फर्किंदा गाली नै।     

स्वर्णिमले ‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो। एनी हाउ पैसा कमाऊ, देश भनेको यसै चलिरहन्छ। झन् कमजोर त गगन, विश्वप्रकाश, प्रदीपहरू हुनेछन्, जो स्वर्णिमहरू पार्टीमा आउन, रहुन् भन्ने चाहन्छन्। स्वर्णिमलाई टिकट दिइछाड्ने हैसियत तिनको छैन, अनि स्वर्णिमलाई पार्टीमै राखिरहन नसकेको आरोप पनि तिनैले खेप्न पर्नेछ।


सम्बन्धित सामग्री