‘जसले ती बच्चाहरू मार्‍यो, त्यसलाई जेलमा कोच्नैपर्छ’ (भिडियोसहित)

'अध्ययन प्रतिवेदनहरू लुकाउने हो सुशासन? अध्ययन प्रतिवेदनहरू सार्वजनिक नहुने हो भने अहिलेको र अघिल्लो सरकारबीच के फरक रह्यो?'

राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध रहेर सांसद र मन्त्री बनेकी सुमना श्रेष्ठले पार्टीभित्र एक व्यक्ति एक पदको लडाई लड्ने भएर आफैँ 'स्वतन्त्र' बन्नुपर्यो। झन्डै २ वर्ष मात्रै सक्रिय राजनीतिमा रहेर भिन्न आवाजसहित जिम्मेवार प्रतिनिधि बन्न सफल सुमना पछिल्ला महिनामा भने बढी सामाजिक अभियन्ता बनेकी छिन्। आफ्ना फरक विचार र विषयगत रूपमा रचनात्मक टिप्पणी तथा स्वतन्त्र पार्टीसँग सम्बन्ध नरहेको अवस्थाको आरोह–अवरोहबारे सुमनाले उकालोसँग संवाद गरेकी छिन्। कहिले राष्ट्रिय सभामा लगिने र कहिले काठमाडौँ महानगर मेयरको प्रस्तावित उम्मेदवार बनाइने जस्ता मिडिया–ट्रायलबाट उम्कँदै सुमनाले यतिखेर रोजेको बाटो जति अचम्मको छ, त्यति नै कुतूहलपूर्ण पनि देखिन्छ। किनभने यो स्वभाविक छ, जोसँग अलिक बढी आशा र अपेक्षा हुन्छ, जसमा वैचारिक र राजनीतिक फरक दृष्टिकोण भेटिन्छ, त्यसैलाई प्रश्न बढी गरिन्छ। जवाफ थोरै आए पनि वा आउँदै नआए पनि प्रश्न त बाँकी रहन्छ नै। उकालो संवादमा सुमनाले सांसद, मन्त्रीहुँदै जेनजी विद्रोह र अझै पूरा हुन नसकेका प्रतिबद्धताहरूको चर्चा गरेकी छिन्। उनले तत्काल कुनै राजनीतिक दल वा समूहमा आवद्ध नरहने बताउँदै आफू रचनात्मक आलोचक बनेर नागरिक समाजको भूमिकामा रहन चाहेकी छिन्।  

हामी सधैँ किन प्रणाली भन्दा एउटा भगवानको खोजी गरिरहेका हुन्छौँ, जसले रातारात यहाँ आएर केही गरिदियोस्?
हो, यस्तो देखिन्छ। खासमा हामी धेरैजसो सिद्धान्त र दर्शनको कुरा गर्छौँ, तर त्यो नीतिमा कहिल्यै आउन सकेको छैन। लोकतन्त्र पढाउने नाममा सामाजिक शिक्षा राख्यौँ, तर घोकेन्ते विद्या मात्रै राख्यौँ। यो हाम्रो शिक्षा प्रणालीको कमजोरीसँगै राजनीतिकर्मीहरूको आचरणको समस्या पनि हो। सामन्तवादविरुद्ध लडेर आएकाहरूले पनि व्यवहारमा आफ्नै तीन-चार जनाको सानो घेराभन्दा बाहिर कहिल्यै जान सकेनन्। हाम्रो आचरणमै सामन्ती प्रवृत्ति छ। यस्तो अवस्थामा लोकतन्त्रको के कुरा गर्ने? सामन्ती प्रणालीमा एकजना हुन्छ, जे गर्छ उसैले गर्छ। हामी जुन कुराको विरोध गर्छौँ, त्यही कुरा आफूले शक्ति पाएपछि दोहोर्‍याउँछौँ। आचरण नबदलिएसम्म नायक खोज्ने प्रवृत्ति रहिरहन्छ। 

हामीकहाँ हिजोसम्म नायक मानिएको व्यक्तिलाई रातारात खलनायक बनाइन्छ, फेरि खलनायकलाई नायक बनाइन्छ। किन?
नेपालका राजनीतिकर्मीहरू केही फरक भयो भने विदेशी हस्तक्षेप भनिदिन्छन्। समाजमा यस्तो त्रास बसालिएको छ कि हरेकपटक त्यही त्रासलाई ‘ट्रिगर’ गरिन्छ। एकाएक सीआईए एजेन्ट वा अरू कुनै एजेन्ट भनिदियो, कुरा त्यत्तिकै सकिन्छ। मैले बसुन कन्सल्टिङ ग्रुपमा काम गरेकी थिएँ। मलाई त्यही आधारमा बीसीजी एजेन्ट भनियो। राजनीतिक प्रतिस्पर्धामा कसैलाई कमजोर बनाउन आमजनमानसमा रहेको त्यही सन्त्रासलाई प्रयोग गरिन्छ। यति धेरै एजेन्ट र एजेन्सी छन् भने राज्यसत्ताले यसबारेमा खोजबिन किन नगर्ने?

null

कुशासनको विरोध र आलोपालो राजनीतिविरुद्ध उठेको जेनजी विद्रोहको उपलब्धि हालै सम्पन्न निर्वाचन र कार्की आयोगको (लुकाइएको) प्रतिवेदन मात्रै हो त?
होइन। एउटा मुख्य माग भनेको गलत गर्ने व्यक्ति सजायको दायरामा आउनैपर्छ भन्ने हो। जसले ती बच्चाहरू मार्यो, त्यसलाई जेलमा कोच्नैपर्छ। यो निर्वाचनको नतिजा यसरी नआएको भए के हामीलाई चित्त बुझ्थ्यो र? ८४ को निर्वाचन ८२ मै गरिएको भन्दै विरोध हुन्थ्यो होला। खासमा अहिलेसम्मको परिणाम परिवर्तनका पक्षमा ८२ को चुनाव भएजस्तो लाग्छ, यसकारण हामी यसलाई गजब भनिरहेका छौँ। फेरि भनौँ, नागरिक सरकारबाट राखिएको अपेक्षा के हो भने जसले ती बच्चाहरू मार्यो, त्यसलाई जेलमा कोच्नैपर्छ। त्यो त गरिएन। आँट गर्नुभएन, सपोर्ट भएन वा जे कारणले होस्।

अर्को जेनजी आन्दोलन सुशासनको एजेन्डामा उठेको हो। तर सुशासन भनेको के हो? अध्ययन प्रतिवेदनहरू लुकाउने हो सुशासन? अध्ययन प्रतिवेदनहरू सार्वजनिक नहुने हो भने अहिलेको र अघिल्लो सरकारबीच के फरक रह्यो? विशेषगरी कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने केको सुशासन, कस्तो सुशासन? अरूमाथि औँला ठड्याएर आफू उम्किन सजिलो हुन्छ।

null

यहाँ नमिलेको कुरा के हो? बालेनजी भन्नुहुन्छ- सडक नबनेमा ठेकेदारलाई बाँध्नुपर्छ, थुन्नुपर्छ । गगनजी भन्नुहुन्छ- होइन, सडक निर्माण र ठेकेदार पद्धतीमा रहेका ४१ वटा कानून संसोधन नगरी यो निर्माण संरचनाको काम फत्ते हुँदैन। सही के हो?
यो दुवै कुराको मिश्रण हो। हामीकहाँ आवश्यकभन्दा अनावश्यक र तालमेल नमिलेका कानूनहरू बढी छन्। तर मुख्य समस्या कार्यान्वयनमा छ। यहाँ विज्ञता भनेको के हो? त्यसको ख्याल गरिँदैन। डिग्री भएकालाई मात्र विज्ञ ठान्ने प्रवृत्ति छ, तर अनुभव र व्यवहारबाट आएको ज्ञानलाई कम आँक्ने गरिन्छ। नामअघि ‘डाक्टर’ लेखिएपछि मात्र विज्ञ मान्ने प्रवृत्ति समस्या हो।

नेपोटिज्म र नातावादको विरोध गर्दै आएको जेनजी आन्दोलन भएको थियो। तर, अझै पनि स्वयम राष्ट्रपति आफ्ना दुवै छोरीको विशिष्ट राजनीतिक स्थान र प्रधानमन्त्री आफ्नो कित्ताका सामान्य कर्मचारीलाई विज्ञ हैसियत चाहिने विशिष्ट पदमा लैजान अपहत्ते गरिरहेका छन् त ? 
हो, यस्तो अवस्था अझै देखिन्छ। हाम्रो आचरण अझै सुध्रिएको देखिन्न। समाजमा मानक स्थापना गर्नैका खातिर भए पनि कुनै पद ग्रहण गर्ने कुरामा श्रीमान–श्रीमतीकै केसमा एकजना पछि हट्नैपर्छ। यो व्यक्तिगत आचारणमा भर पर्ने कुरा हो।