चार वर्षअघिको हिउँदमा वर्षा भएयता सुक्खापन बढ्दो छ। यो साल पनि हिउँदमा वर्षा कम हुने सम्भावना छ, जसले गर्दा न्यूनतम तापक्रम सरदर आसपास वा त्योभन्दा माथि रहने सम्भावना हुन्छ।
काठमाडौँ– सामान्यतः हिउँद लागेपछि चिसो बढ्छ नै, तर यस वर्षको हिउँद तुलनात्मक रूपमा न्यानो हुनेछ।
मौसम विभागका मौसमविद् अशोक बख्रेल मंसिर १५ देखि फागुन १६ गतेसम्म देशभरको न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउँछन्। उनी भन्छन्, “अधिकतम तापक्रम पनि देशैभर सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ। यो वर्ष जाडो कम हुने सम्भावना छ। अर्थात्, न्यानो मौसम हुनेछ।”
ठाउँ अनुसार सरदर न्यूनतम र अधिकतम तापक्रम फरक हुन्छ। काठमाडौँ केन्द्रको सरदर न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस हो। हिउँदमा काठमाडौँ केन्द्रकै सरदर अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस हो।
यो वर्ष गण्डकी प्रदेशका उत्तरी र दक्षिणपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग र कोशी प्रदेशका उत्तरी र दक्षिण–पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको ‘सिजनल आउटलुक’मा आकलन गरिएको छ। कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका उत्तरपूर्वी भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिण–पश्चिमी भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। लुम्बिनीका दक्षिणी भू–भाग र मधेश प्रदेशका भू–भागहरूमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना छ।
विभागको आकलन अनुसार, मंसिर, पुस, माघ र फागुन गरी चार महिनाको न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ। सुदूरपश्चिमका उत्तरी र दक्षिण–पश्चिम भू–भाग, कर्णालीका मध्य तथा उत्तरी भू–भाग, लुम्बिनीका अधिकांश भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
बागमतीका उत्तर–पूर्वी र दक्षिण–पश्चिम, मधेशका अधिकांश र कोशी प्रदेशका दक्षिणी र उत्तर–पश्चिम भू–भागमा पनि न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत नै छ। देशका बाँकी भू–मागमा भने सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ।
पानी पर्ने सम्भावना कति?
यस वर्षको हिउँदमा पानी पर्ने सम्भावना पनि कम रहेकोे मौसम विभागले आकलन गरेको छ। पानी नपर्दा सुक्खापन बढाउने अनुमान गरिएको छ। “मंसिर १५ देखि फागुन १६ सम्म तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ,” मौसमविद् बख्रेलले भने।
उनका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू–भाग र गण्डकी प्रदेशका उत्तर पश्चिमी भू–भागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना समान छ। हिउँदको सरदर वर्षा ६० मिमि हो।
यस्तै, सुदूरपश्चिमका पूर्वी तथा दक्षिणी भू–भाग, कर्णालीका दक्षिणी भू–भाग, लुम्बिनीका पश्चिमी भू–भाग, बागमतीका दक्षिणी भू–भाग, मधेशका उत्तरी भू–भाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। सुदूरपश्चिम र कर्णालीका मध्य भू–भाग, लुम्बिनीका मध्य तथा पूर्वी भू–भाग, गण्डकीका पूर्वी भू–भाग, बागमतीका मध्य तथा उत्तरी भू–भाग, मधेशका दक्षिणी भू–भाग र कोशीका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
देशका बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। विभागको यो अनुमान विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपको आकलन, थर्डपोल क्लाइमेट फोरम, दक्षिण एशियाको सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार गरिएको हो।
नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो तथा हिन्द महासागरमा विकसित हुने वायुको चापको हालको अवस्थाहरूलाई समेत मध्यनजर गरी मौसम अनुमान गरिएको विभागले जानकारी दिएको छ। “ऋतुगत आकलन लामो अवधिको आकलन भएकोले यसमा हुने अनिश्चिततालाई मध्यनजर गरी डिसेम्बर महिनाको अन्त्य सम्ममा अध्यावधिक गर्नेछौँ,” मौसमविद् बख्रेलले भने।
बढ्दो छ सुक्खापन
मौसमविद् सुदर्शन हुमागाइँका अनुसार २०७९, २०८० र २०८१ सालको हिउँदमा सरदरभन्दा कम वर्षा भएको थियो। अर्थात् यी वर्ष सुक्खा थिए।
पछिल्लो २० वर्षमा २०६२, २०६४, २०६५, २०६६, २०७२, २०७३, २०७४, २०७७, २०७९, २०८० र २०८१ साललाई सबैभन्दा बढी सुक्खा वर्षका रूपमा लिइन्छ। पछिल्लोपटक २०७८ सालमा हिउँदमा वर्षा भएको थियो। त्यसयताका वर्ष सुक्खापन बढ्दो छ।
यी वर्ष औसत वर्षा २० मिमिभन्दा कम भएको मौसमविद् हुमागाईंले बताए। वर्षा कम हुँदा न्यूनतम तापक्रम तल झर्ने सम्भावना कम हुन्छ। “पछिल्लो २० वर्षमा १३ वर्ष सरदरभन्दा बढी न्यूनतम तापक्रम रेकर्ड भएको देखिन्छ। हिउँदमा न्यूनतम तापक्रम पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहेको देखिन्छ,” उनले भने।
जलतथा मौसम विज्ञान विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूति पोख्रेल पछिल्लो समय हिउँदमा वर्षा नहुने र खडेरी पर्ने क्रम बढेको बताउँछिन्। “हिउँदमा वर्षा नै सधैँ हुनुपर्छ भन्ने हुँदैन। तर लामो समय खडेरी पर्ने, पानी कम पर्ने ट्रेन्ड छ। यो हेर्दा जलवायु परिवर्तनकै असर मान्न सकिन्छ,” उनले भनिन्।
उनका अनुसार, पानी कम पर्दा प्रदूषण बढ्नेलगायत समस्या निम्तिन्छ। तर खडेरीको सिधा असर कृषिमा पर्छ। किनकि, हिउँदेबालीहरू राम्रोसँग फस्टाउन सक्दैन।
बढी असर कृषिमा
राष्ट्रिय कृषि तथा वातावरण अनुसन्धान केन्द्रका कृषिविज्ञ प्रदीप शाह यसपालिको खडेरीको असर तराईमा धेरै हुने बताउँछन्। हिउँदमा वर्षा नहुँदा मुख्यगरी तराईतिर गहुँ उत्पादनमा असर पर्छ। “गहुँलाई कम्तीमा पनि दुई चरणमा पानी चाहिन्छ। पहिलो, गहुँ छरेको २० देखि २५ दिनभित्र, त्यसपछि ४० देखि ४५ दिनमा यसको वृद्धि हुने समयमा पानी चाहिन्छ। पानी कम भए उत्पादन कम हुन्छ,” उनले भने।
अन्यबालीहरूमा सामान्य असर पर्ने उनको भनाइ छ। “तराईमा लगाईने अर्को बाली मसुरो हो, यसमा खासै धेरै पानी चाहिँदैन। त्यति धेरै असर गर्दैन। एक पटकसम्म पानी भए राम्रो,” उनले भने।
हिमाली क्षेत्रमा कम भए पनि पानी पर्ने भनिएको हुँदा धेरै असर नगर्ने शाह बताउँछन्। तर मध्यपहाडतिर पनि सुक्खा हुने भएकाले त्यहाँ लगाइने बालीमा पनि असर गर्नेछ। तापक्रम पनि सरदरभन्दा बढी अनुमान भएकाले खेतीबालीमा किराहरूको प्रकोप हुनसक्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
