उकालोकर्मी सागर बुढाथोकी ‘रोटरी जर्नो अवार्ड २०२६’ बाट पुरस्कृत

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यस वर्षको 'रोटरी जर्नो अवार्ड २०२६' अन्तर्गत मातृ तथा बाल स्वास्थ्य विधाको पुरस्कार उकालोकर्मी सागर बुढाथोकीलाई प्रदान गरेको छ।

काठमाडौँ– उकालोकर्मी सागर बुढाथोकी 'रोटरी जर्नो अवार्ड २०२६' बाट पुरस्कृत भएका छन्। जनस्वास्थ्य विषयमा पत्रकारिता गर्ने बुढाथोकीले मातृ तथा बाल स्वास्थ्य विधामा अवार्ड प्राप्त गरेको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले जनाएको छ।

बुढाथोकीले लुम्बिनी प्रदेशको मातृ मृत्युदर र कपिलवस्तु जिल्लाको कुपोषणको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेका थिए। उनले तयार पारेका 'सुगम लुम्बिनीको दुर्गम नियतिः गर्भ बसेपछि मृत्युको भय' र 'मृत्यु कुरिरहेछन् कुपोषित बालबालिका, सरकारसँग छैन बचाउने योजना' शीर्षकका दुई रिपोर्टका लागि रोटरीले उनलाई यो अवार्ड प्रदान गरेको हो।

यस वर्ष अन्य ६ वटा विधामा पनि अवार्ड वितरण गरिएको छ। जसअनुसार कान्तिपुर सुदीप कैनीले 'आधारभूत शिक्षा, साक्षरता र डिजिटल साक्षरता' विधामा र कान्तिपुरकै बाँके संवाददाता रूपा गहतराजले 'स्थानीय शान्ति, द्वन्द्व रोकथाम/समाधान' विधामा अवार्ड प्राप्त गरे।

त्यस्तै, खानेपानी, सरसफाइ र स्वच्छतातर्फ सुनसरीका पत्रकार विकल रेग्मी, रोग रोकथाम र उपचार विधामा गोरखापत्रका पत्रकार सरोज ढुंगेल, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा सगरमाथा एफएम काठमाडौँकी उर्वशी बस्न्यात तथा सामुदायिक र आर्थिक विकासमा पोखराका पत्रकार विजय नेपालले अवार्ड प्राप्त गरेको अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले जनाए।

समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई यस वर्षको 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्रदान गरिएको छ। यो अवार्ड यसअघि वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भारतदत्त कोइरालालाई प्रदान गरिएको थियो।

रोटरी जर्नो अवार्ड २०२६ का लागि खुला आवेदन र मनोनयनमार्फत ५० जना पत्रकारका २५७ वटा समाचार प्रतिस्पर्धामा सहभागी थिए। तीमध्येबाट उत्कृष्ट ७ विधामा पत्रकारहरूले प्रस्तुत गरेको रिपोर्टिङका आधारमा विजेता छनोट गरिएको छनोट समितिका सदस्य पत्रकार तीर्थ कोइरालाले बताए। अवार्ड प्राप्त गर्ने पत्रकारहरूलाई जनही नगद ५१ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०११-२०१२ देखि पत्रकारहरूका लागि यो अवार्ड प्रदान गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा समाचार लेखनमार्फत योगदान पुर्‍याएका पत्रकारहरूलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने रोटरी डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले जनाए।