कमाण्डरले निमेषभरमै सही निर्णय नलिएको भए उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीको जीवन नै तलबितल हुन सक्थ्यो। भदौ २४ गते टुकुचामा हाम्फालेर जोगिएका उनीहरू खरानी टकटक्याउँदै ड्युटीमा फर्केका छन्।
काठमाडौँ– चोट लागेर सुन्निएको घाँटी, बोल्दा पनि असहज। थकित अनुहार, आँखामा प्रष्ट देखिने तनाव। हामीले भेट्दा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी यही अवस्थामा थिए। तर चोट, थकान र तनाव सबथोक बिर्सेर उनलाई जिम्मेवारीले थिचेको थियो।
भदौ २४ गते जेनजी आन्दोलनका नाममा आगजनी गरिँदा रामशाहपथस्थित उनले नेतृत्व गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालय खण्डहर बनेको छ। जलेर छियाछिया बनेको भवन प्रयोग गर्न सकिने हालतमा छैन। प्रहरीका आफ्नै र नागरिकका समेत कागजात, उपकरण र दशकौँका स्मृति खरानी बनेका छन्। त्यही खण्डहर र खरानीभित्रै नयाँ जीवन शुरू गर्न कस्सिएका छन् अधिकारी।
गत शनिबार त्यहाँ पुग्दा उनी कहिले चर्को घाममा उभिएर, कहिले टेन्टभित्र बसेरै आफ्नो टोलीलाई हौसला बाँडिरहेका भेटिए। त्यहीक्रममा भन्दै थिए, “जस्तोसुकै परिस्थिति आए पनि हामी हाम्रो जिम्मेवारीबाट पछि हट्न हुन्न।”
भदौ २४ को त्रास भुलिनसकेका र बिलखबन्दमा परेका मातहतका प्रहरीहरूलाई उनको यस्तो ढाडसले ठूलो बल दिइरहेको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयभित्र आगोको धुवाँले कालो बनेको एउटा भवन छ। त्यहाँ शिशु स्याहार केन्द्र र ट्राफिक (मेट्रो) एफएम सञ्चालनमा थिए। पूरै खण्डहर बन्नबाट जोगिएको यही भवनबाट ट्राफिक प्रहरी कार्यालयले नयाँ यात्रा शुरू गर्ने जमर्को गर्दै छ। थाहा छ, शून्यबाट उठ्न सजिलो छँदै छैन। तर यहाँका ट्राफिक प्रहरी त्यसमा जुटिरहेका छन्।

कोही धुवाँले कालो बनेका पर्खालमा फेरि रङ लगाइरहेका छन्। रङ लगाइरहेका दुई ट्राफिक प्रहरी जवान भन्दै थिए, “हेर न, कालोमा सेतो रङ लगाउँदा कस्तो आशा पलाउँदो रहेछ।”
कोही खरानी बनेका कोठा सरसफाइ गर्दै थिए, कोही चाहिँ जलेर अवशेष मात्र बाँकी रहेका गाडीहरू हटाइरहेका थिए। लगाएका कपडा र जुत्ताचप्पल खरानीको रङमा मिसिएका थिए, तर उनीहरू जिम्मेवारी पूरा गर्ने संकल्पसहित उठ्ने जमर्को गर्दै थिए।
उनीहरूलाई सघाइरहेका एसएसपी अधिकारीले दोहोर्याइरहे, “हामी जुट्नुपर्छ। हामी उठ्नुपर्छ।”
संकटबाट जोगिने त्यो सतर्कता
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि काठमाडौँमा असुरक्षा बढेको थियो। अरू त अरू, प्रहरी पनि आफूहरूमाथि ठूलो आक्रमण हुनसक्ने भयमा थिए। उपत्यका ट्राफिक प्रमुख, एसएसपी अधिकारीले पनि त्यो खतरा महसुस नगर्ने कुरा भएन। त्यहीकारण उनले मातहतका युनिटलाई उच्च सतर्कतामा बस्न निर्देशन दिँदै महत्त्वपूर्ण कागजात र विद्युतीय उपकरण नजिकैका प्रहरी कार्यालयमा सार्न भनेका थिए।
२४ गते बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अरू दिन झैँ काम शुरू भयो। ‘हाम्रो काम ट्राफिक व्यवस्थापन हो, हामीलाई केही नहोला’ भन्ने विश्वासमा सबै जना आ–आफ्नो ड्युटीमा खटिए। त्यही विश्वासले निषेधाज्ञा र कर्फ्युबीच उनीहरू ड्युटी सम्हाल्न गए।

जो कार्यालयमै थिए, उनीहरूले भने अरू दिन भन्दा फरक पोसाक लगाए। ट्राफिक प्रहरीको पोसाकको साटो प्रहरीको साधारण पोसाक लगाए। कारण, बाहिर केही ठूलो घटना हुनसक्ने आभास भइसकेको थियो।
बिहान १० बजेर १२ मिनेट भएको थियो, सञ्चार सेटमा नेपालटार ट्राफिक प्रहरी प्रभागमा आन्दोलनकारीले आगजनी गरेको खबर आयो। यो खबरले उनीहरू थप सतर्क बन्नुपर्ने निष्कर्षमा पुगे। कम्तीमा कार्यालयका कागजात, उपकरण र पोसाक जोगाउनतिर लागे।
त्यहीबीच एउटा समूह उपत्यका ट्राफिक प्रहरी कार्यालयको गेटमै आइपुग्यो। त्यो समूहका केहीको आवाज सुनियो, “यो त ट्राफिक कार्यालय हो, यसलाई छोडौँ।”
आन्दोलनकारीको समूह आएपछि त्रस्त बनेका ट्राफिक प्रहरीलाई यो आवाजले केही राहत दियो। त्यो समूह भित्र पसेन, अगाडि बढ्यो।
तर दिनैभर यहाँका ट्राफिक प्रहरी उच्च सतर्कतामा उभिइरहे। दिन ढल्कँदै थियो। करिब साढे चार बजेको हुँदो हो। उनीहरूलाई लाग्यो, अब त केही नहोला।
तर त्यस्तो भएन। दिन ढल्दै गर्दा आन्दोलनकारीको एउटा ठूलो समूह आइपुग्यो। त्यो समूह सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गरेर त्यता आइपुगेको थियो। कार्यालयको गेटमा आइपुगेको त्यो समूह गेट खोल्न अघि बढ्यो। तर गेट नखुलेपछि पेट्रोलले भरिएका बोतलहरू सडकबाटै कार्यालयभित्र फ्याँक्न थाल्यो। त्यसले कार्यालयमा आगो लाग्यो। क्षणभरमै त्यहाँ धुवाँ फैलियो।
भित्र ट्राफिक प्रहरी काममा खटिरहेकै थिए। त्यहीक्रममा कार्यालय भवनहरू जल्न शुरू भए। सयौँको भिड गेट तोड्दै भित्र पस्न खोजिरहेको थियो।
एसएसपी अधिकारी सम्झन्छन्, “हामीसँग लगाउने गियर र कुनै सुरक्षा उपकरण थिएन्। हातहतियार थिएनन्। उनीहरूलाई सम्झाउने शब्दबाहेक अरू केही थिएनन्। हामीले आगो नलगाउन र तोडफोड नगर्न अनुरोध गर्यौँ, तर त्यो आवाज त्यहीँ हरायो।”
कार्यालयभित्र रहेका ८० जना ट्राफिक प्रहरी एकैपटक ज्यानकै जोखिममा परे। यो संकट बुझेरै एसएसपी अधिकारीले ढिलो नगरी कमान्डरको भूमिका देखाए। उनले आफ्नो टोलीलाई पछाडि हट्न निर्देशन दिए, “हिम्मत हार्नु हुँदैन, हामी फेरि उठ्छौँ। अहिलेलाई ब्याक हौँ।”

टुकुचा खोलामा हाम्फालेर प्राणरक्षा
आक्रोशित भीड कार्यालयभित्रै पसेर आक्रमण शुरू गरिसकेको थियो। दुई जना ट्राफिक प्रहरी जवान घाइते भइसकेका थिए। अरू दुई जनाको खुट्टामा चोट लागेको थियो। त्यहीबीच एसएसपी नवराज अधिकारीको घाँटीमा ढुंगा बजारियो।
गेट फोडेर प्रदर्शनकारीले कार्यालय कब्जा गरिसकेका थिए। एसएसपी अधिकारीले चलाखीपूर्वक एक समूहलाई ब्यारेक पछाडिपट्टिको गल्ली हुँदै सुरक्षित रूपमा बाहिरिन भने। बाँकी करिब ४५ जनाको समूहलाई भने आफूसँगै लिएर टुकुचा खोलामा हाम्फाले। उनले त्यो टोलीलाई टुकुचाबाट भृकुटीमण्डपतर्फ निस्कन भनेका थिए।
टुकचाको गहिराइ कति छ, कसैलाई थाहा थिएन। कसैलाई पौडिन आउँछ कि आउँदैन भनेर सोधखोज गर्ने समय पनि थिएन। हिलो र फोहोरसहित बगेको खोलाबाट दुर्गन्ध आइरहेको थियो। “हाम्फाल्दा पानी आधा–आधा आयो। हामी खोलै–खोला भृकुटीमण्डपस्थित हङकङ बजारतिर निस्कियौँ,” अधिकारीले भने।
सुखद कुरा, त्यहाँ आन्दोलनकारी थिएनन्। केही मनकारी भेटिए जसले उनीहरूलाई कपडा उपलब्ध गराए। भिजेको प्रहरी पोसाक उतारेर सुरक्षित राख्दै उनीहरूले त्यही सादा पोसाक लगाए। सबै टोली सकुशल रहेको खबर बुझिसकेपछि उनले देखे– कार्यालय दन्दनी जलिरहेको थियो। त्यो अझ पीडादायी दृश्य थियो।
त्यसपछि घाइते प्रहरीलाई तुरुन्तै अस्पताल पठाइयो। बाँकीलाई आफन्तकहाँ सुरक्षित रूपमा रात बिताउन पठाइयो। अधिकारी भन्छन्, “त्यो रात निदाउने सम्भावनै थिएन। सायद कोही पनि निदाउन सकेनन्।”

भोलिपल्ट, भदौ २५ गते एसएसपी अधिकारी सबेरै कार्यालय पुगे। कार्यालय के भन्नु, त्यहाँ भग्नावशेष मात्र बाँकी थियो। एक दिन अघिसम्म सेवाग्राहीको भीडभाड हुने ठाउँ युद्ध हारेको भग्नावशेषमा बदलिएको थियो। त्यही भग्नावशेष हटाउँदै नियमित दैनिकी शुरू गर्नुको विकल्प थिएन।
अधिकारी अहिले त्यसकै नेतृत्व गरिरहेका छन्। आफ्नो टोलीका प्रत्येक सदस्यलाई सुरक्षित राख्दै निरन्तर ट्राफिक सेवा शुरू गर्न कार्यालय, पूर्वाधार र उपकरणहरूको पुनः व्यवस्था गर्नुपर्ने छ। अनि सडकमा ट्राफिक व्यवस्थापन पुनः सञ्चालन गर्दै नागरिकमा ट्राफिक नियम र अनुशासन पनि लागू गराउनु छ।
आन्दोलनकारीले उपत्यका ट्राफिक कार्यालय जलाएपछि त्यहाँ रहेका सबै कागजात जलेर नष्ट भएका छन्। कन्ट्रोल रुम, एफएमका उपकरण र ट्राफिक प्रहरीका पोसाकसमेत लुटिएका छन्। अधिकारी भन्छन्, “कार्यालय र कागजात जलेको, उपकरण र पोसाक लुटिएको भए पनि हाम्रो कर्म र मर्म जलेको छैन, जल्दैन पनि। हामी फेरि उठिसकेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
