व्यंग्य
थोरै फुर्सद भयो र कोही सुन्ने व्यक्ति भयो भने सचिवज्यू बताउन थालिहाल्नुहुन्छ, "हेर्नुहोस्, हामीमध्ये धेरैको चक्र बिग्रिएकै कारण सबै कुरा बिग्रेको हो। मूलाधारदेखि सहस्रार चक्र…।"
सचिवज्यू अचेल ध्यान-साधनामा अकण्टक जुटिरहनुभएको छ। कहिले ज्योतिर्मय ध्यान, कहिले अलौकिक साधना। कहिले कालचक्र महायोग, कहिले तन्त्र साधना। कहिले षड्चक्र विज्ञान, कहिले ऊर्जा साधना। कहिले रहस्य चिन्तन, कहिले अन्तर्मन-जागरण महायोग।
त्यसैले त सचिवज्यू जहिल्यै चटारोमा देखिनुहुन्छ। उहाँको व्यस्त सेड्युलका कारण ड्राइभर र सहयोगीहरू पनि हैरान छन्, न खानाको ठेगान, न बस्नको। कहिले कुन साधना केन्द्र, कहिले कुन गुरुको निवासको दौडधुप। पहिले पहिले जहिल्यै राजनीतिक नेता र शक्तिकेन्द्रमा धाउने उहाँलाई अचेल राजनीतिप्रति वितरागी हुनुभएको छ। थोरै फुर्सद भयो र कोही सुन्ने व्यक्ति भयो भने सचिवज्यू बताउन थालिहाल्नुहुन्छ, "हेर्नुहोस्, हामीमध्ये धेरैको चक्र बिग्रिएकै कारण सबै कुरा बिग्रेको हो। मूलाधारदेखि सहस्रार चक्र…।"
साधनामा सचिवज्यूको दौडधुपका कारण एकाघरका सदस्यले पनि सचिवज्यूसँग भनेजसरी समय बिताउन पाएका छैनन्। सिंगो परिवार पोखरा र लुम्बिनी घुम्न जाने योजना महिनौँदेखि स्थगित छ। साथीहरूले जहिल्यै खाना खान र भेट्न मरिहत्ते गर्दै बोलाउँछन्, तर सचिवज्यू बताउनुहुन्छ, "परमात्माको आज्ञा हुनेबित्तिकै म हाजिर भइहाल्छु।"
साथीभाइलाई समय दिन नभ्याए पनि सचिवज्यू साधनाकै सन्दर्भमा देशका प्रमुख सहरदेखि विदेशसमेत पुग्न भ्याउनुहुन्छ। परम योगसाधक महानन्द त्रिभुवनपतिको लकेट सचिवज्यूको घाँटीमा हरदम छुट्दैन। उहाँकै नामको झोला, उहाँकै नामको तौलिया, उहाँकै नामको धूप बत्ती, स्याम्पु, साबुन र मन्जनदेखि के के हो के के! सचिवज्यूलाई आफ्ना बाबाजीका नामबाट प्रवर्द्धित चन्दनको अत्तरप्रति विशेष लगाव छ। उहाँको अत्तरको बास्नाको चर्चा त मन्त्रालयको क्यान्टिनसम्म हुने गर्छ।
ध्यान-साधनाप्रति सचिवज्यूको लगाव कति छ भने कार्यालयका कतिपय कर्मचारीहरू पनि सचिवज्यूकै पछाडि लाग्न विवश छन्। कहिले कार्यालय सुरु हुनेबित्तिकै प्रभात योग, कहिले खाजा चियाको बेला नै तत्काल मौन साधना। हद्दु छ सचिवज्यूको कार्यालय, हद्दु छन् कर्मचारी। केहीले भने सचिवज्यूको प्रियपात्र बन्न उहाँकै जस्तो लकेट र झोला बोकेर हिँड्ने गरेका छन्।
जेनजी आन्दोलनको रापले पहिलेका मन्त्रीज्यु बिदा भएर गइसक्नुभयो। कार्यालय पूरै सचिवज्यूकै भरमै चलेको छ, तर यस्तो लाग्छ यो कुनै सरकारी कार्यालय नभएर ध्यान-साधना केन्द्र हो। सचिवज्यूको कार्यकक्षमा महानन्द त्रिभुवनपतिको ठूलो तस्बिर रहेको क्यालेन्डर झुन्ड्याएको छ। सचिवज्यू प्राय: फोनमा पनि उही ऊर्जा, साधना र चक्रको कुरामै व्यस्त देखिनुहुन्छ।
यहाँनिर के कुरा स्पष्ट पार्नु आवश्यक छ भने मन्त्रीज्यू सचिवज्यूको सत्प्रयासका कारण साधनामा छिर्नुभएको हो। दक्षिण दिशाबाट यस पुण्य भूमिमा पाल्नुभएका योगआदिगुरू महानन्द त्रिभुवनपतिको बाहुलीबाट मन्त्रीज्यूलाई साधनाको तिलक र माला पहिराउन सफल भएका कारण आफ्नो त्रिभुवनपति-समुदायमा सचिवज्यूको उतिखेर खुबै तारिफ भएको थियो। रवाफ बढेको थियो।
आफ्नो भौतिकवादी पार्टीका मुखियाले नै देवस्थल स्थापना गर्न थालेपछि पहिलेका खरो भौतिकवादी मन्त्रीज्यू पहिले त झस्कनुभएको थियो। पछि साधनामा लाग्ने कुनै मौका पर्खिरहनुभएको थियो। आफूले सम्हालेको मन्त्रालयका सचिवले नै साधनामा डोहोर्याएपछि मन्त्रीज्यूलाई 'यतैबाट छिरौँ न त' झैँ लागेको थियो। यतिखेर पूर्व मन्त्रीज्यू जेनजी आन्दोलन र पछिल्लो चुनावी परिणामका कारण घोर निराशामा हुनुहुन्छ। अनौठो नमान्दा हुन्छ–पहिलेका मन्त्रीज्यू यही दुःखको निदानको लागि हाम्रै सचिवज्यूसँग 'स्पिरिचुअल कन्सल्टेसन'का लागि केही दिनमै आउन सम्भव छ। अनि यस्तो पनि सम्भव छ यही साधनाकै नेटवर्कबाट नयाँ उदाएका शक्तिहरूसँग पूर्वमन्त्रीज्यूसँग सहकार्यको मार्ग पनि खुल्नेछ। आखिर कतिपय साधकहरू उदीयमान शक्तिकै पक्षधर हुनुहुन्छ।
अलिकति फुर्सद हुनेबित्तिकै कुर्सीमै झटपट-योग थाल्ने उहाँको मन्त्रालयको नियमित साधना भने लथालिंग छ। अनुगमन, प्रतिवेदन अध्ययन र फाइल सदरका धेरै काम रोकिएका छन्। केही कर्मचारीले यसबारे ताकेता गर्दा उहाँले भन्नुभयो, "चिन्ता चिता समानास्ति। (चिन्ता गरेर केही काम छैन, चिन्ता र चिता उस्तै हुन्।)"
सचिवज्यूको साधना रोकिएको छैन। भन्नुहुन्छ, "सबैको जड आत्मचिन्तन र शरीर साधना हो। भ्रष्टाचारको कारण आत्मचिन्तनको अभाव हो। मूलाधार चक्र जगाउन नसकेकै कारण हामी पछि परेका हौँ। संस्कार विकाश हुन नसकेरै यो देश बिग्रिएको हो। सर्वत्र सकारात्मक ऊर्जाको अभावले कुरीति र कुसंस्कार मौलाएका हुन्। त्यसैले हामीले हामीभित्रको ऊर्जा सक्रिय पार्नुको विकल्प छैन। चक्र खोल्नुपर्छ। परमात्माको कृपाले मैले त्यो खोल्न सकेँ। नत्र मेरो जीवन निरर्थक थियो। तपाईँ पनि खोल्नुहोस्।"
लाजिम्पाटको एक छेउमा दशकअघि नै चार तले सुन्दर निवास ठड्याएका सचिवज्यूले अहिले बुढानीलकण्ठतिर फराकिलो जग्गामा टहरो खडा गर्नुभएको छ। यस्तो लाग्छ, निवृत्तिपछि कुनै साधना केन्द्र खोलेर दुनियाँको चक्र सुधारेर परमार्थ सुधार्ने यत्नमा हुनुहुन्छ। अहिले पनि सचिवज्यू बेलाबेला सेतो नम्बरको गाडी लिएर त्यस टहरोमा पुग्नुहुन्छ, जहाँ विभिन्न फलफूल र बास्नादार फूलका बोटहरू हुर्काइएका छन् भने कुनापट्टि भित्तामा टाँसिएर रिपोर्ट शैलीको दुई तले अस्थायी तर सुविधाजनक आवास बनाइएको छ, जहाँ सचिवज्यूको छोराछोरी बेलाबेला 'नाइट स्टे'का लागि आफ्ना साथीसंगी लिएरसमेत पुग्छन्।
सचिवज्यूको साधनाप्रतिको अतिशय आशक्तिबारे कुनचाहिँ पत्रकारले थाहा पायो र मन्त्रालयकै कार्यकक्षमा अर्को एक सन्दर्भमा बुम तेर्स्याएर प्वाक्क प्रश्न सोधिहाल्न भ्यायो, "हैन सचिवज्यू, यहाँको मन्त्रालयमा त फाइल थुप्रिएर साध्य छैनन् रे त! कार्यसम्पादन एकदम कमजोर छ भन्ने सुनिन्छ नि!"
सचिवज्यूले भागवतकै श्लोक सापटी लिँदै भन्नुभयो, "निमित्तमात्रं भव सव्यसाचिन् (तिमी केबल निमित्त हौ।) यथासम्भव मैले गरेकै छु। बरु यसो गर्नुहोस्, तपाईँ पनि आफ्नो मूलाधार जगाउनुहोस्। मूलाधार नजाग्नाले सबैतिर नकारात्मकता मात्र फैलिरहेछ। एक चोटि हाम्रो साधना केन्द्रमा आउनुहोस् न!"
(उकालोको विचार खण्डमा छापिएका रचना लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
