जेनजी आन्दोलन

आन्दोलन त रोकियो, न्याय खोजिरहेछन् परिवार र आफन्त

जेनजी आन्दोलनको उथलपुथलले सरकार–संसद् विघटन भएर गैरदलीय अन्तरिम चुनावी सरकार बनेको छ, दलहरू दर्शकदीर्घामा पुगेका छन्। यो आन्दोलनमा प्रियजन गुमाएका परिवार–आफन्त भने सोधिरहेछन्– हामीलाई न्याय कहिले मिल्छ?

काठमाडौँ– पशुपति आर्यघाटमा मुसलधारे पानी परिरहेको थियो, घाटमा उपस्थित मलामी र आफन्त भन्दै थिए, “आकासले पनि आज आँसु रोक्न सकेन।” 

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई अन्तिम बिदाइ गर्न आर्यघाट पुगेका मलामीको यस्तो बिलौना सुनिइरहँदा लस्करै राखिएकामध्ये दुई नम्बर चितामा अलि फरक दृश्य देखियो। अन्दाजी १३–१४ वर्षका एक बालक त्यसको वरपर ओहोरदोहोर गरिरहेका थिए। कहिले चिताको छेउ पुग्थे, कहिले ओत लाग्थे त कहिले भक्कानिन्थे। 

सोधीखोजी गर्दा थाहा भयो– उनी जेनजी आन्दोलनमा मारिएका सुवास बोहराका भाइ सन्दीप बोहरा (१४) रहेछन्। दाइको अन्तिम बिदाइ यही दुई नम्बर चिताबाट भइरहँदा उनलाई दाइबाट टाढिन मन लागिरहेको थिएन। 

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोरखालीका २३ वर्षीय सुवास बोहराको सपना कानून पढ्ने थियो। सके न्यायाधीश बन्ने, नभए पनि कानूनको अभ्यास गर्ने यही सपनाले उनलाई विद्यालय तहको पढाइ सकेपछि धनगढीको कैलाली बहुमुखी क्याम्पससम्म डोर्‍यायो। बझाङबाट कैलाली झरेका उनी क्याम्पसमा कानून संकायमा भर्ना भए।

आफन्तका अनुसार न्याय क्षेत्रमा योगदान दिने सुवासको सपना थियो। “अन्यायविरुद्ध लड्ने, अलि विद्रोह गरौँ भन्ने स्वभावको थियो,” सुवासका काका नाता पर्ने स्थानीय गगन रावतले सुनाए, “भेट्दा अंकल, म वकिल भएर केही गर्छु भन्थ्यो।”

तर कानून पढ्न शुरू गरे पनि आर्थिक अवस्था कमजोर थियो। परिवारले उनको पढाई खर्च जुटाउन सकेन। उनको पढाई बीचमै रोकियो। गरिबीले पढाइमा ब्रेकसँगै सामाजिक अपमान र आत्मसम्मानमा संकट सामना गर्नुपरेपछि सुवासले कमाउन बिदेसिने सोच बनाए। र बाआमासँग यही प्रस्ताव राखे। मजदुरी गरेर दुई छोरा हुर्काइरहेका आमा कैली र बुबा दीपक बोहरालाई सुवासको कुरा ठिकै लाग्यो।

पढाईभन्दा बिदेसिन ऋण दिने समाजको मनोविज्ञान सुवासले राम्ररी बुझेका थिए। बाआमाको पनि सकारात्मक सल्लाह पाएपछि उनी बिदेसिने सुरले काठमाडौँ आए। 

भाषा र सीप सिकेर विदेश जाँदा मात्र सहज हुन्छ भन्ने उनलाई थाहा थियो। त्यही भएर काठमाडौँमा उनले जापानी भाषा सिक्न थाले। ऋणसापट, मजदुरी गरेरै भए पनि छोरालाई जापान पठाउन कैली र दीपक लागिरहे। 

२०८१ चैतमा काठमाडौँ आएका सुवासले केही महिनाको भाषा सिकाइपछि जापान जाने प्रक्रिया थालेका थिए। तर त्यही बेला अर्को दुःख आइलाग्यो। मजदुरी गर्न भारत पुगेका बुबा दीपक एक्कासि सम्पर्कविहीन भए। उनको अहिलेसम्म अत्तोपत्तो छैन।null

सुवासलाई बुवाको खोजी र जापानको तयारी सँगसँगै गर्नुपर्ने भयो। उता श्रीमान् सम्पर्कविहीन बनेपछि मजदुरी गरेर जेठो छोरा विदेश पठाउने, कान्छोलाई हुर्काउने सबै जिम्मेवारी आमा कैलीको काँधमा आइलाग्यो। त्यसपछि मजदुरीका लागि उनी बैंग्लोर पुगिन्।

आमा उता लागेपछि भाइ सन्दीपलाई सुवासले काठमाडौँ ल्याएर सुन्दरीजलको ओखरेनी माध्यमिक विद्यालयमा भर्ना गरे। नजिकै डेरा लिएका थिए। सुवास र सन्दीप आमासँग फोनमा कुरा गरिरहन्थे। काम, जापान जाने पैसा र बुबा तीनै कुराको खोजीमा थिए, सुवास। 

भदौ २३ गते। सुवासले बिहानै खाना बनाए। भाइलाई खुवाएर स्कुल पठाए। सन्दीपले सम्झिए, “दाइले आज साँझ ढिला आउन सक्छु। होमवर्क गर्नू, सकेपछि खाना पकाउनू भन्नुभएको थियो।”

साँझ पर्‍यो, तर सुवास कोठामा फर्किएनन्। रात छिप्पिन थालेपछि बरु छिमेकीले खबर सुनाए, “तेरो दाइलाई त गोली लाग्यो रे, केएमसी अस्पतालमा छ रे!”

सन्दीप हतार–हतार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल पुगे। त्यहाँ पुग्दा देखे, दाइ सुवासको छातीमा गोली लागेको रहेछ। बिहान आफूलाई ढिला आउन सक्छु भनेका दाइको शव उनको आँखाअगाडि थियो। 

“दाइलाई त मारिहालेछन्, त्यहीँबाट आमालाई फोन गरेको हुँ,” सन्दीप भन्छन्, “मेरो सहारा भनेकै दाइ त हुनुहुन्थ्यो।” 

आमा कैली चार महिनादेखि बैंग्लोरमा मजदुरी गरिरहेकी थिइन्। यता छोरालाई गोली लागेको खबर सुन्दा आमाको मन कतिसम्म विछिप्त भयो होला, कैलीले त्यही भोगिन्। छोराको सास गइसकेको थियो, लास मात्र भए पनि हेर्छु भनेर उनी नेपाल फर्कन बैंग्लोरस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्। तर सक्कली नागरिकता नभएको भनेर विमान कम्पनीले उनलाई उडाउन मानेन। 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक दिनपछि उनको कागजपत्र बनाइदियो। अनि छोरा मारिएको तीन दिनपछि कैली काठमाडौँ आइपुगिन्।

“गोली हानेर मारिदिएछन्। मेरो बच्चा मार्नेलाई कारबाही गरिदिनुपर्‍यो,” हामीले कुरा गर्न खोज्दा कैली योबाहेक बोल्न सकिनन्। छोराको अन्तिम बिदाइका लागि आर्यघाट पुगेकी उनी घरी बेहोस हुन्थिन्, घरी बरबराउँथिन्। 

null

छोरा किन मारिए भन्ने कैलीलाई अझै थाहा छैन। उनी यही प्रश्नको उत्तर खोजिरहेकी छन् र छोरालाई मार्नेमाथि कारबाही होस् भनिरहेकी छन्। 

‘छानबिन होस्, कारबाही होस्’
त्यस दिन पशुपति आर्यघाटमा सुवासको बलिरहेको चिताको छेउमै प्रहरी जवान उत्तम थापाको चिता पनि दन्किएको थियो। वरिपरि भेला भएका आफन्त र मलामी स्तब्ध थिए। त्यही भीडमा उत्तमकी काकी पार्वती चिच्याउँदै थिइन्, “डीएसपी भन्दै अपराधीले कुटीकुटी बाबुको ज्यान लिए।” 

जेनजी आन्दोलनले देश सूचना प्रविधिमा कति अभ्यस्त भइसकेको छ र अहिलेको पुस्ता यसमा कुन हदसम्म अभ्यस्त भइसकेको छ भन्ने छर्लंग पारेको छ। दार्चुलाको लेकम गाउँपालिका–३, गुमाखोलीमा भने अहिलेसम्म भरपर्दो सञ्चार सुविधासम्म छैन। त्यहाँको कठिन जीवनकै कारण काम, पढाइ र रोजगारीका लागि धेरै मानिस जिल्लाभन्दा बाहिरै बस्छन्। 

त्यही गाउँका उत्तम थापा करिब नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए। छोरो प्रहरी बनेपछि आमा निर्मलाले सहारा पाएकी थिइन्। उत्तमले घरखर्च पठाइदिन्थे, घरमा कान्छो छोरा महेश आमाको हेरचाह गर्थे। २०८१ मंसिरमा भीरबाट लडेर महेशको मृत्यु भयो। null

त्यसपछि उत्तम नै आमाको एक मात्र सहारा थिए। 

भदौ २४ गते काठमाडौँको महाराजगन्जमा जेनजी आन्दोलनकारीले उनलाई कुटेर मारे। सार्वजनिक भएको भिडियोमा उनलाई ‘डीएसपी’ भन्दै निर्घात कुटिएको देखिन्छ। उत्तमको मृत्युपछि निर्मलाको अन्तिम सहारा पनि ढल्यो। 

डायबिटिजका बिरामी श्रीमान‍्को मृत्युपछि निर्मलाले छोराहरूमै आफ्नो सहारा भेटेकी थिइन्। त्यसपछि सात महिनाअघि कान्छो छोरा महेशलाई गुमाएकी निर्मलाको बाँकी एउटै छोरा उत्तमलाई जेनजी आन्दोलनले खोसिदियो। अहिले दार्चुलामै रहेकी उनले टेलिफोन सम्पर्कमा भनिन्, “लखेटी–लखेटी मेरो छोरा मार्नेलाई कारबाही हुनुपर्छ।” 

उनका आफन्तले १३ दिनको किरियाकर्म सकिएपछि निर्मलालाई काठमाडौँ ल्याउने तयारी गरिरहेका छन्। निर्मला र आफन्त २४ गते उत्तमले फोन गरेर भनेको कुरा सम्झिरहेका छन्। त्यस दिन उत्तमले स्थानीय राजेन्द्र पुजारालाई फोन गरेर आफू सुरक्षित रहेको बताएका थिए। छिटै घर आउँछु पनि भनेका थिए। 

“उत्तमलाई मारिएको भिडियो आयो। शुरूमा विश्वास गर्नै सकिएन। प्रहरीसँग पुष्टि गर्दा बाबु नै रहेछन्,” काकी पार्वती थापाले सुनाइन्, “उनलाई लखेटी–लखेटी हत्या गरिएको हो। छानबिन गरेर दोषीमाथि सजाय हुनुपर्छ।”null

बानेश्वरमा प्रहरीको गोलीबाट मारिएका इटहरीका श्रेयम चौलागाईं (१९)का परिवारले पनि यही माग गरिरहेको छ। बानेश्वरस्थित ग्लोबल कलेजमा १२ कक्षामा अध्ययनरत श्रेयम गोली लाग्दा कलेजकै पोसाकमा थिए। 

“स्कुले बच्चालाई गोली हानेर हत्या गरेका छन्,” श्रेयमका मामा नाता पर्ने अमित कार्की भन्छन्, “यसको छानबिन गरेर कारबाही हुनुपर्छ।”

भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागसहित भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति अझै यकिन भएको छैन। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार अहिलेसम्म आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।