विदेशबाट हुण्डीमार्फत पैसा पठाउँदा स्क्यामरको फन्दामा पर्ने र रकम गुमाउने धेरै छन्। नेपालमा प्रलोभनमा परी आफ्नो खाताबाट रकम ट्रान्सफर गरिदिने र पाउने दुवैले कानूनी झमेलासमेत बेहोरिरहेका छन्।
काठमाडौँ– अस्ट्रेलिया बस्ने एक युवकले नेपालमा पैसा पठाउन एजेन्टलाई १ लाख रूपैयाँ दिए। ती एजेन्टले नेपालमा रहेका आफ्ना प्रतिनिधिमार्फत् सेवाग्राहीले चाहेको बैंक खातामा पैसा जम्मा गराइदिए। तर उक्त खाता केही दिनमै रोक्का भइसकेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा खाता रोक्का गरेको थियो। युवकका भाइ टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेपछि मात्र थाहा भयो, खातामा जम्मा भएको रकम अस्ट्रेलियाबाट पठाएको नभई, नेपालमै ठगी गरिएको रहेछ।
ती युवकले अस्ट्रेलियामा एजेन्टलाई पैसा दिए पनि उक्त रकम उतै रोकेर नेपालमा अनलाइन स्क्याम (ठगी) गरेको रकम खातामा पठाइएको थियो। उक्त रकम ठगिएको व्यक्तिलाई फिर्ता गरेपछि मात्र खाता सुचारु गर्न प्रहरीले बैंकलाई पत्राचार गर्यो। रकम फिर्ता भएपछि खाता पुनः सुचारु भयो।
धनुषाकी एक महिला दुई साताअघि वडाध्यक्षलाई नै साथमा लिएर अपराध अनुसन्धान कार्यालय आइपुगिन्। उनको पनि बैंक खाता प्रहरीले रोक्का गरिदिएको थियो। उनलाई दुबई बस्ने छोराले घरखर्चका लागि १ लाख ६३ हजार रूपैयाँ पठाएका थिए।
उनको खातामा पैसा त आयो, तर त्यो नेपालमै स्क्याम भएको थियो। ठगिएको पैसा आएपछि प्रहरीले अनुसन्धानका क्रममा खाता रोक्का गरिदिएको थियो। उक्त रकम पीडितलाई फिर्ता दिएपछि बल्ल उनको खाता सुचारू भयो।
१२ हजारभन्दा बढी खाता रोक्का
परिवारका सदस्य वा साथीले विदेशबाट पठाएको पैसा स्क्यामरमार्फत आउँदा दुःख पाउनेको संख्या ठूलो छ। यस्तो समस्या लिएर हरेक दिन अपराध अनुसन्धान कार्यालय धाउने धेरै छन्।
नेपालमा अनलाइन स्क्याममा परेर ठगिएका व्यक्तिले प्रहरीमा जाहेरी दिएका हुन्छन्। उनीहरूको खाताको पैसा एकाएक अर्को खातामा सारिएपछि उनीहरू उजुरी लिएर पुग्छन्। तर जुन खातामा पैसा जान्छ, उनीहरूले आफन्त वा साथीले विदेशबाट पठाएको ठान्छन्।
यता प्रहरीले अनुसन्धानका क्रममा पैसा जम्मा गरिएको खाता रोक्का गरिदिन्छ। अनि प्रहरी कार्यालय पुग्दा मात्र खातावालाले आफूलाई आएको पैसा आफन्त वा साथीको नभई स्क्यामरले हालेको थाहा पाउँछन्। उता विदेशमा एजेन्टलाई बुझाएको पैसा तिनै स्क्यामरको हातमा पुगेको हुन्छ।
स्क्यामरले धोकापूर्वक जसको पैसा सारिदिएको हुन्छ, उसलाई फिर्ता गरेपछि मात्र रोक्का खाता बैंकले खुलाउँछ। उजुरी आएपछि पैसा जम्मा भएको खाता रोक्का गर्न आफूहरूले पत्राचार गरिदिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनलाइन ठगी हेर्ने पिल्लर ३ का डीएसपी आशीष अधिकारी बताउँछन्।
विदेशबाट बैंकिङ प्रणालीको साटो हुण्डीबाट रकम पठाउँदा स्क्यामरको फन्दामा पर्ने गरेका छन्। “नेपालमा घरपरिवारको खातामा पैसा आउँछ, तर त्यो यहाँ ठगिएको रकम हुन्छ,” उनी भन्छन्, “अनुसन्धानका क्रममा ठगी भएको रकम जम्मा भएको देखिन्छ र हामीले खाता रोक्का गर्छौं।”
अस्ट्रेलिया, दुबई, क्यानडा, कम्बोडियालगायत विभिन्न देशमा काम गर्ने कतिपय नेपालीले घरमा पैसा पठाउन हुन्डी र विभिन्न एप प्रयोग गर्छन्। ती माध्यममा उनीहरूले पैसा दिए पनि यता ठगीको रकम जम्मा गरिन्छ। पैसा पठाउने स्क्यामरको प्रलोभनमा परेको हुन्छ र जम्मा भएको खातावालले ठगीको पैसा पाउँछ।
तर स्क्यामर पत्ता लगाउन मुस्किल हुन्छ। कतिपय त मनी ट्रान्सफरकै सञ्चालक पनि स्क्यामरसँग मिलेका हुन्छन्। “विदेशमा मनी ट्रान्सफरमार्फत् पठाएको पैसा पनि त्यहाँका कर्मचारीको मिलेमतोमा उतै रोकेर नेपालमा स्क्याम गरिएको रकम पठाइदिएको घटनासमेत छन्,” डीएसपी अधिकारी भन्छन्, “दैनिकजसो ५० भन्दा बढी बैंक खाता हामीले अनुसन्धानका क्रममा रोक्का गर्नु परिरहेको छ।”
कार्यालयका अनुसार १२ हजारभन्दा बढी बैंक खाताहरू रोक्का गरिएको छ। दैनिक खाता रोक्का गर्ने र सुचारू गर्नुपर्ने भएकाले विवरण थपघट हुने अनुसन्धान अधिकृतहरू बताउँछन्। अनलाइन स्क्याम गर्ने गिरोहले पार्सल पठाइदिने, अनलाइन जागिरको अवसर, वैदेशिक रोजगारीमा पठाइदिने जस्ता प्रलोभन पारेर ठग्दै आएका छन्।
नेपालमा विभिन्न नाममा ठगिएको रकम स्क्यामरले चार–पाँच बैंक खाताको तह पारेर गरेर घुमाइरहेका हुन्छन्। “शुरूमा कुनै व्यक्तिबाट ठगिएको रकम विभिन्न तह पार गरेर एक खातामा जम्मा हुन्छ। विदेशमा कसैले नेपाल पैसा पठाउन भनेर रकम दिए भने स्क्यामरले नेपालमा यसअघि ठगिएको रकम जुन खातामा छ, त्यसैबाट नेपालस्थित आफन्तको खातामा ट्रान्सफर गर्दिन्छ,” डीएसपी अधिकारी भन्छन्।
शुरूमा ठगिएको व्यक्तिले प्रहरीलाई उजुरी दिन्छन्। प्रहरीले अनुसन्धानमा कुनकुन तह पार गरेर रकम आइपुगेको भनेर हेर्छ। “त्यसो गर्दा अन्तिममा विदेशबाट पठाएको पैसा जसको खातामा देखिन्छ, त्यो खाता रोक्का गरिन्छ र ती व्यक्तिले पीडितलाई पैसा फिर्ता गरेपछि मात्र खाता सुचारू हुन्छ,” अधिकारी भन्छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य विदेशबाट रकम पठाउँदा वैधानिक बाटोबाट मात्र पठाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “विदेशमा दुःख गरेर कमाएको पैसा अवैध बाटोबाट पठाउन खोज्दा स्क्यामरले नेपालमा ठगि गरेको पैसा जम्मा गरिदिन्छ। त्यसो हुँदा वैधानिक बाटोबाट पठाउने र पठाउनुअघि राम्रोसँग बुझ्ने गर्नुपर्छ।”
नेपालीका खाता स्क्यामरको नियन्त्रणमा
अनुसन्धान अधिकारीहरूका अनुसार स्क्यामरले प्रलोभनमा पारेर एकैजना नेपालीलाई पाँचदेखि सात वटासम्म बैंक खाता खोल्न लगाउने गरेका छन्। हरेक खाता खोलेबापत पैसाको प्रलोभन देखाउँछन्।
कलेज पढ्ने विद्यार्थीदेखि सोझा र आर्थिक अवस्था कमजोर भएकालाई स्क्यामरले प्रलोभनमा फसाउने गरेको एक अनुसन्धान अधिकृत बताउँछन्। उनी भन्छन्, “ती खाताको मोबाइल बैंकिङ सुविधादेखि एटीएम कार्डसमेत स्क्यामरसँग हुन्छ। त्यसपछि तिनै खातामा जम्मा भएको ठगीको पैसा दिल्लीबाट निकाल्ने गर्छन्।”
सर्लाहीका एक व्यक्तिले स्क्यामरको प्रलोभनमा परी २० हजार रुपैयाँ लिएर चारवटा बैंकमा आफ्नो खाता खोले। ती खाताको मोबाइल बैंकिङ र एटीएम कार्ड उनीहरूलाई नै जिम्मा लगाए। उनले आफ्नो लागि भने अन्य दुई फरक खाता प्रयोग गर्दै आएका थिए।
छोरा अमेरिकामा रहेको हुँदा बुहारीलाई पनि पठाउन कन्सल्टेन्सीमार्फत प्रक्रिया अघि बढाए। बैंक स्टेटमेन्ट देखाउनुपर्ने हुँदा कन्सल्टेन्सीले नै ती व्यक्तिको खातामा ६० लाख रुपैयाँ जम्मा गरिदियो। कन्सल्टेन्सीले पैसा जम्मा गर्नु र प्रहरीले कुनै ठगीसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा ती व्यक्तिको खाता रोक्का गर्नु एकैपटक भयो।
कन्सल्टेन्सीको निवेदन र आवश्यक कागजात अध्ययनपछि बल्ल ६० लाख जम्मा भएको बैंक खाता सुचारू भयो। त्यसपछि कन्सटेन्सीले आफ्नो रकम फिर्ता पायो।
स्क्यामरको फन्दामा परेको व्यक्तिले आफू ठगिएको उजुरी दिएपछि मात्र प्रहरीले अनुसन्धान अघि बढाउँछ। त्यस क्रममा जुन खातामा रकम जम्मा भएको देखिन्छ, ती खाता रोक्का गर्छ। प्रहरीले नेपाल राष्ट्र बैंक तथा अन्य बैंकलाई पत्राचार गरेर त्यहाँबाट विवरण आउँदासम्म विभिन्न खातामा जम्मा भएको रकम स्क्यामरले अन्यत्रै परिचालन गरिसकेको हुन्छ।
“चारपाँच तहमा पैसाको ट्रान्सफर भइसकेको हुनाले बैंकबाट खाता विवरण माग्दा समयमा पाइँदैन। जसकारण अनुसन्धानमा समय लाग्छ,” ती अनुसन्धान अधिकृत भन्छन्, “बैंकले ग्राहक बढाउने नाममा जथाभाबी खाता खोलिदिने, तर उक्त खाताबाट भइरहेको अस्वाभाविक कारोबारबारे ध्यान नदिँदा पनि समस्या भइरहेको छ।”
विभिन्न बैंकमा रहेका एकै व्यक्तिका खाताबाट दैनिक ५० लाख रुपैयाँसम्म कारोबार हुने गरेको अनुसन्धानबाट देखिन्छ। तर यसको नियमन हुँदैन। फितलो बैंकिङ प्रणालीको फाइदा उठाएर स्क्यामरको गिरोहले नेपालीलाई ठग्दै आइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
