देउवा हुन् या ‘सातभाइ’ वा शेखर हुन् या अन्य कोही, कांग्रेसका दाइहरूको मजबुन एउटै हो, ‘अझै नेतृत्वमा हाम्रो रोलक्रम आएको छैन, गगन अहिल्यै कसरी सभापति बन्न सक्छ?’
नेपाली कांग्रेसको विशेष महाधिवेशनसँगै त्यसको कानुनी वैधताको पाटो सल्टिन बाँकी छ। तर, यसले राजनीतिक वैधता प्राप्त गरिसकेको छ। विधानतः महाधिवेशन समयमै नगर्न राखिएका दुराशय, त्यस अवस्थामा निर्विकल्प बनेको विशेष महाधिवेशन, जसमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिको उपस्थिति तथा सर्वसम्मत नेतृत्व चयनले यसको कानुनी आधार बलियो देखिन्छ। तैपनि यो विवादरहित छैन।
राजनीतिक वैधतामा भने द्विविधा देखिन्न। सभापति देउवाको संस्थापन तथा शेखर कोइराला नेतृत्वको इतर पक्ष दुवै विशेष महाधिवेशनविरुद्ध उभिँदासमेत बहुसंख्यक प्रतिनिधिको सहभागिता स्वयंमा राजनीतिक वैधताका लागि आधारशिला हो। त्यस अतिरिक्त, गत भदौमा जेनजी विद्रोहको एउटा मुख्य अजेन्डा दलहरूमा नेतृत्व परिवर्तन थियो, जुन विशेष महाधिवेशनले सुनिश्चित गरेको छ।
कांग्रेसका अधिकांश नेता कार्यकर्ता, शुभेच्छुक, मिडिया, बौद्धिक जमात तथा जनसाधरण समेत मूलतः कांग्रेसमा नेतृत्व परिवर्तन भएको देख्न चाहन्थे। विशेष महाधिवेशनले गगन थापा, विश्वप्रकाश शर्मासहित प्राय: तिनै अनुहारलाई सर्वसम्मत चुनेको छ, जुन अधिकांश कांग्रेसजन नेतृत्वमा देख्न चाहन्थे। नेतृत्व मात्र होइन, कतिपय युगानुकूल नीति र कार्यक्रम पनि तय गरेको छ, भलै त्यसबारे नियमित महाधिवेशनमा थप विमर्श जरुरी हुनसक्छ।
देशकै सबैभन्दा ठूलो र लोकतान्त्रिक भनिएको दलले विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने किचलोमै तीन महिना खेर फाल्यो। कांग्रेसको ‘कब्जियत’ पुस अन्तिमताका नियमित माहाधिवेसन गर्ने निर्णयसँगै हल्का भए पनि संस्थापन र इतर समूह पक्षधरले नियमित महाधिवेशन वैशाखमा धकेल्ने निर्णय गरेसँगै विधानलाई टेकेर नै विशेष महाधिवेशन आह्वान भयो, यद्यपि यसको प्रक्रियामाथि एउटा पक्षले प्रश्न उठाउन छाडेको छैन।
विशेष महाधिवेशन निर्णयमा सम्पूर्ण कांग्रेसजन सहमत हुन सकेनन्, भलै संस्थापन समूहले पछिल्ला वार्ताका क्रममा उक्त महाधिवेशनको स्वामित्व लिने सहमति बनिसकेको थियो।
अहिलेको परिस्थितिमा नेपाली कांग्रेस सग्लो रहन नसक्नु दुःखद विडम्बना हो। यसमा कुन पक्ष कति जिम्मेवार भन्ने हरेकका आ–आफ्ना बुझाई र हिसाब–किताब होलान्। यद्यपि, यसमा सभापति शेरबहादुर देउवा, दलभित्र र बाहिरका उनका सारथिले समयको पदचापलाई पछ्याउन नसकेको स्पष्ट हुन्छ।
कांग्रेसको टुटफुटलाई गैरकांग्रेसीजनले राजनीतिक लाभहानीका रूपमा हेरे पनि सङ्क्रमणकालीन निकास, राजनीतिक स्थिरता, लोकतान्त्रिक पद्धति, संविधान संसोधनमार्फत् बृहत्तर राजनीतिक तथा शासकीय पुनःसंरचनामा भने यसले केही समय अप्ठेरो पर्नेछ।
दलहरू र राजनीतिकर्मी ‘असक्षम’ हुँदा राजनीतिक निर्णय अक्सर न्यायालयले निरूपण गर्छ। पुनः त्यही दोहोरिने देखिन्छ। उसै दलहरूले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा नवयुवाको विद्रोहका कारण प्रतिनिधिसभा विघटन भयो। न्यायालयमा सदन पुःनस्थापनाको मुद्दा विचाराधीन छ। अब कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकताको मुद्दा पनि निर्वाचन आयोग हुँदै अदालतमा ठोक्किने छ। अदालतको फैसला आए त्यसलाई स्विकार्न सम्बन्धित दलहरूलाई कर लाग्छ। यद्यपि, यस्ता राजनीतिक मुद्दाका फैसला विवादरहित हुन्नन्।
नेपालमा एउटा भनाई प्रचलित छ, 'न्यायका नौ सिङ'। आयोग र अदालतले जुनकुनै सिङ समातेर व्याख्या गर्न सक्ने आँकलन व्याप्त छ। कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा सार्वजनिक रूपमा राय व्यक्त गरेका प्रायः कानुनविद्ले विशेष पक्षधरहरू कानुनतः बलिया रहेको र भविष्यमा वैधानिक कांग्रेस यिनै हुने तर्क गर्छन्। आफ्ना पक्षमा फैसला पार्न देउवा समूह पनि कमजोर रूपमा प्रस्तुत हुने छैन। यद्यपि, आयोग वा अदालतको फैसला देउवाकै पक्षमा गयो भने पनि राजनीतिक रूपमा त्यो नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्श, संस्थागत विवेक र समयको बहावभन्दा फरक हुनेछ।
निर्वाचन आयोग तथा न्यायालयबाट यो मुद्दा यथाशक्य चाँडो टुंगोमा पुग्न सकेन भने आसन्न चुनाव अनिश्चित मात्र हुने छैन, राजनीतिक संक्रमण पनि तन्किने छ। यदि राजनीतिक निकास अनिश्चित बन्यो भने त्यस बखत सबैभन्दा जोखिम पुराना राजनीतिक शक्ति, र पटक पटक परीक्षित नेतृत्व र नेताहरूलाई हुनेछ। किनकि, नयाँहरूसँग जनविश्वास, अपेक्षा र भरोसा बाँकी नै रहनेछ।
‘दाइप्रथा’ विरुद्ध विद्रोह
विशेष महाधिवेशन समापनलाई सम्बोधन गर्दै गर्दा गगन थापा भन्दै थिए, “पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु त छँदैछ”। मातापिताबाट टिका थापेर विशेष महाधिवेशनमा निस्किएका गगनले पार्टीका पाका नेताबाट आर्शिवचन लिनु खोज्नु अनौठो होइन। अग्रजको आशीर्वाद लिनु हाम्रो संस्कार हो।
महाभारतमा द्रोणाचार्य एकलव्यका गुरु ठानिएझैँ, देउवा पनि एक हिसाबले विद्रोही गगनका गुरु मान्न सकिन्छ। किनकि, २०५९ असारमा देउवाले पनि संस्थापनसँग विद्रोह गरेका थिए, भलै सन्दर्भ, कारण र परिस्थिति भिन्न थियो।
यद्यपि, गगनको उक्त अभिव्यक्तिमा नेपाली संस्कार मात्र होइन, कांग्रेसभित्रको ‘दाइप्रथा’को विम्ब देखिन्छ। किनकि, कांग्रेस ‘दाइ’हरूको (दि’ज्यूहरू नगण्य प्राय: छन्) पार्टी हो। लोकतान्त्रिक दल भन्दै गर्दा पनि कांग्रेसको ‘अपरेसनल हाइरार्की’ कम्युनिस्टहरूले भन्नेजस्तो ‘अर्धसामन्ती’ (सेमिफ्युड) छ, जसको विम्ब ‘दाइप्रथा’मा देखिन्छ। दाइप्रथा ‘हलियाप्रथा’ वा ‘सती प्रथा’ भन्दा भिन्न हो, तर यसले जङ्गबहादुरले भाइहरूको ज्येष्ठताका आधारमा प्रधानमन्त्रीको ‘रोलक्रम’ तोकेजस्तो झल्को दिन्छ।
भदौमा भएको नवयुवाको विद्रोहमा त्यत्रो जनधनको क्षति भयो। ३५ वर्षदेखि उनै नेता तथा नेतृत्व देख्दा जनमानसमा दृष्टि-थकान भइसकेको अवस्था छ। सत्तामा हुँदा बिछट्टै डेलिभरी गरेका भए, आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकेका भए, जनताले तिनलाई महाथिर वा लि क्वानजस्तै उचाल्न सक्थे। त्यसको विपरीत, राज्यको न्यून डेलिभरी, राजनीतिक भागबन्डाको संस्कार, संस्थाहरूको दलीयकरण तथा चर्को भ्रष्टाचारका कारण जनतामाझ ती अलोकप्रिय बन्दै गए। त्यसैको उत्कर्ष स्वरूप भदौको विद्रोह थियो, भलै त्यसले निम्त्याएको विध्वंसमाथि निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही अपरिहार्य छ।
देशको शासन सत्ता जुमर्स्ले पल्टाउँदै गर्दा लोकतान्त्रिक दल भनिएको कांग्रेसमा बुमर्स् (१९४६ देखि १९६४ सम्मको पुस्ता) कै हैकम र रजगज युगसापेक्ष देखिन्थेन। यसको मूल जड ‘दाइप्रथा’ नै थियो। किनकि, दाइहरू रहुन्जेल वा तिनले चाहुन्जेल भाइको पालो आउने सम्भावना न्यून थियो। दाइप्रथाकै कारण कांग्रेसका कतिपय निर्णयमा निर्वाचित भाइहरूभन्दा पराजित दाइहरू हाबी भए, जसको पटाक्षेप पार्टी विशेष महाधिवेशन र टुटफुटको अवस्थासम्म पुग्यो। इतिहास केलाउने हो भने कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न कि नेतृत्व गर्नेको निधन हुनुपर्छ कि पार्टीमा विद्रोह र टुटफुट।
निर्वाचनपूर्व नेतृत्व परिवर्तनलाई रोक्न कांग्रेसमा दाइ पुस्ताले गरेको प्रयास कसैबाट छिपेको छैन। संस्थापन पक्षको कुरा छाडौँ, इतर पक्षका शेखर कोइरालाले सुरुमा निर्वाचन अघि विशेष वा नियमित महाधिवेशन हुनै पर्ने अडान राखे। उनी पक्षका धेरै नेता कार्यकर्ता विशेषको पक्षमा खुल्दा उनी भने एकाएक पछि हटे। यसमा पनि दाइ प्रथाको झल्को देखिन्छ। किनकि, नियमित महाधिवेशनका लागि थप क्रियाशील सदस्यता वितरणका क्रममा गगन–विश्व समूहका पक्षमा लहर देखिएपछि, नियमित महाधिवेशन टार्नका लागि उनैले संस्थापन पक्षलाई सहज बनाइदिए।
कांग्रेसभित्र आज पनि देउवा तथा शेखर समूहमा गगन थापा तथा विश्वप्रकाश शर्माका समर्थकको कमी छैन। उनीहरू गगन तथा विश्वहरू कांग्रेसका वर्तमान तथा भविष्य दुवै हुन् भन्नेमा द्विविधा राख्दैनन्। तर, गगन तथा विश्वले धैर्य गर्न सकेनन् भन्ठान्छन्। देउवा हुन् या ‘सातभाइ’ वा शेखर हुन् या अन्य कोही, कांग्रेसका दाइहरूको मजबुन एउटै हो, "अझै नेतृत्वमा हाम्रो रोलक्रम आएको छैन, गगन अहिल्यै कसरी सभापति बन्न सक्छ?" गगनबाट चुनौती महसुस गरेकै कारण शेखर समूहले अन्तिम घडीमा आएर अडान फेरेर संस्थापनसँग लहसिएका हुन्। तर, सबैभन्दा अहम् हो–यदि कांग्रेसमा गगन र विश्वहरूले ‘दाइहरू’लाई कुरेका हुन्थे भने आमजनताले आसन्न निर्वाचनमा कांग्रेसलाई कुर्थे?
अहिले गगन–विश्वहरूले दाइप्रथाविरुद्ध जेहाद छेडेका हुन्। यद्यपि, उनीहरूको उदयपछि पनि कांग्रेसमा दाइप्रथा कायम रहन्छ वा अन्त्य हुन्छ, त्यसमा कांग्रेसको दीर्घकालीन भविष्य र रूपान्तरण आँकलन गर्न सकिन्छ। किनकि, दाइहरूविरुद्ध (अझ भनौँ, बा’प्रथा विरुद्ध) कुनै बेला देउवाले पनि विद्रोह त गरेकै थिए!
नेतृत्वले गुमाएको अवसर
भनिन्छ, गुमेको अवसरभन्दा महँगो अरू केही हुँदैन। अझ राजनीतिमा अवसर गुमाउँदा कति महँगो पर्छ भन्ने कुरा बेलायतबाट स्वतन्त्रतापश्चात् भारतसँगै छुट्टिएको पाकिस्तानले तय गरेको राजनीतिक दिशा र दशाले छर्लंग पार्छ। स्वतन्त्रता हुँदा भारतभन्दा पाकिस्तानमा प्रजातन्त्रका लागि तुलनात्मक अनुकूल परिस्थितिमा थियो। तर, पाकिस्तान सैन्य पथमा लम्कियो, भारतले प्रजातान्त्रिक लय समात्यो। आज दुई देशबीच आर्थिक, सामरिक, कूटनीतिक, भूराजनीतिक तथा सांस्कृतिक प्रभाव र प्रभुत्व तुलना हुनै सक्तैन।
भदौमा नवयुवाको विद्रोहको माग सुरुमा सरकार र दलीय नेतृत्व परिवर्तन सायदै थियो। तर, त्यसको पटाक्षेपसँगै राजनीतिक दलका शीर्ष नेतृत्व बालुवाटार र बुढानीलकण्ठबाट लघारिएपछि त्यसको सन्देश उनीहरूको निरन्तरता पक्कै थिएन। अफसोस, सबै प्राय: दलमा तिनै नेता सर्वेसर्वा छन्। र, अझै कांग्रेस संस्थापन पक्ष र एमालेको जोडबल निर्वाचनभन्दा संसद् पुनः स्थापना देखिन्छ।
कांग्रेसले समकालीन संकटपूर्ण परिस्थितिलाई पर्गेल्ने अवसर धेरै पटक गुमाएको छ। जस कारण, जनअपेक्षा र समग्र लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई क्षति पुगेको छ। कारक तत्त्व र पात्र अनेक होलान्, तर यसका लागि पार्टीको मूल नेतृत्व सबैभन्दा जिम्मेवार हुन्छ।
२३ भदौको प्रदर्शनमा प्रहरी दमनमा क्रममा स्कुले विद्यार्थीसहित १९ जनाले ज्यान गुमाएपछि तत्काल सरकारबाट आफू फिर्ता भएको घोषणा गर्न सक्थ्यो कांग्रेसले। कांग्रेसले गुमाएको एउटा सबैभन्दा महत्त्वपूर्ण अवसर के थियो त्यो। अनि, सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि आह्वान गर्न सक्थ्यो। आफ्नो नेतृत्वमा सरकार बनेपछि नवयुवाले उठाएका माग सम्बोधन गर्ने भनेको भए सम्भवतः २४ भदौको वितण्डा देख्नु र भोग्नु पर्ने थिएन। आफ्ना सभापतिलाई भीडले कुटेको देख्नुपर्थेन। भलै, भदौ २३ मा भएको राज्य दमनबाट उत्पन्न परिस्थितिलाई विध्वंसमा रूपान्तरण गर्न केही तत्त्व सक्रिय भए पनि कांग्रेसको त्यस्तो निर्णयले सम्भवतः त्यस्ता तत्त्वहरू त्यति सफल हुन सक्ने थिएनन्, जति भए।
कांग्रेसले ओली नेतृत्वको संयुक्त सरकार छाड्न सकेको भए सम्भवतः बुढालिनकण्ठस्थित देउवा दरबारमा नोटका खात सायदै लुटिने तथा जल्ने थिए! अफसोस, कांग्रेसले उक्त अवसर गुमायो। संकटपूर्ण परिस्थितिमा पनि पार्टी नेतृत्वको मुख्य ध्येय ओलीसँग सत्ता बार्टर नै देखियो। कांग्रेस र देउवा पत्नी त सत्तामै थिए, तर देउवाले बाँकी दुई वर्षको उधारो प्रधानमन्त्रीको नशाले अर्को राजनीतिक कोर्सको दिशानिर्देश गर्ने अवसर छोप्न दिएन।
देउवाले जेनजी विद्रोह अघि नै दोस्रो कार्यकालपछि पार्टी नेतृत्वबाट बिदा लिने घोषणा गरेका थिए। असोज २८ मा पनि पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकै हुन्। त्यसो गर्दा, अरूले उनलाई झन्डै किसुनजीजस्तै सन्त करार गरिदिएका थिए! यसो हुँदा कांग्रेसले नियमित अधिवेशन नै मंसिरमा गर्न सक्थ्यो। विशेष महाधिवेशन पनि गर्न सक्थ्यो। इच्छाशक्ति भएको पुसमा पनि नियमित महाधिवेशन गर्न सकिन्थ्यो।
देउवा धेरै हिसाबले बोलीका पक्का मानिन्छन्। तर, असोज २८ मै सक्रिय राजनीति छाडेको लिखित बाचामा भने उनी अडिन सकेनन्। सायद, देउवालाई सक्रिय बनाउन परिवारका सदस्य, सात भाइको परामर्श मात्र होइन, पटक पटकका सत्तासाझेदार-दोस्तहरू ओली तथा दाहालको पनि ढाडस र आश्वासन मिलेको हुनुपर्छ।
देउवालाई लागेको हुन सक्छ–ओली र प्रचण्डलगायत राजनीतिक दौँतरीहरू आफूभन्दा लामो समयदेखि पार्टी नेतृत्वमै रमाउँदै गर्दा म किन नेतृत्वबाट पन्छिऊँ? अहिल्यै निष्क्रिय हुँदा आसन्न नियमित महाधिवेशनबाट पाखा परिने त छँदैछ, बरु अहिले पार्टी टुटफुटमा गयो भने एउटा समूहको नेतृत्वमा कायमै रहन सकिन्छ भन्ने बुझाई पनि हुनसक्छ। सम्भवतः आफू तथा परिवारको राजनीतिक तथा कानुनी संरक्षणका लागि पनि पार्टी नेतृत्व छाड्न उनलाई सकस परेको हुन सक्छ। कारण जे भए पनि अब उनलाई तेस्रो कार्यकाल र सम्भवतः आजन्म सभापति बन्नबाट कसेले रोक्न आँट गर्ने छैन, भलै पार्टी अर्कै होला।
देउवाले ओलीको तत्काल साथ छाड्न नसक्दा भदौ २४ को घटना भयो भने संस्थापन समूहका सातभाइ तथा ओलीको साथ छाड्न नसक्दाको समुच्चय हो विशेष महाधिवेशन।
भावी राजनीतिक ध्रुवीकरण
नेपाली कांग्रेसमा वैधानिकताको लडाई भर्खरै सुरु भएको छ। तैपनि, राजनीतिक कोर्स निर्वाचनतर्फ नै अघि बढेको अवस्थामा, ध्रुवीकरण मुख्यतः नयाँ तथा पुराना दलहरूबीच हुनेछ। र, त्यसको आधार जेनजी विद्रोहको मूल स्पिरिटलाई स्वीकार गर्ने वा वा अस्वीकार गर्ने भन्ने हुनेछ।
कांग्रेसमा विशेष महाधिवेशनपश्चात् नयाँ नेतृत्व चुनिएसँगै यो कित्ताकाट अझ टड्कारो हुनेछ। पुराना शक्तिहरूको नेतृत्व विशेषतः एमाले, कांग्रेसको देउवा समूह तथा नेकपाहरूले गर्नेछन्। यी दलहरू मूलतः नवयुवाले, विशेष गरी भदौ २३ मा प्रदर्शनकारीले उठाएका माग र त्यसपछि स्थापित राजनीतिक कोर्सलाई अवरुद्ध गर्ने शक्तिका रूपमा चित्रित हुनेछन्, भलै यसमा नेकपालगायत अघिल्लो सत्ताका प्रतिपक्षीहरूको बोली जेनजीप्रति नरम सुनिन्छ। यिनै शक्तिहरूले आफ्ना कार्यकर्ताको भोट र जेनजीविद्रोहलाई पूरै खारेज गर्ने जनमत बाँडिचुँडी लिनेछन्।
विशेष महाधिवेशनबाट उदाएको नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान तथा हर्क साम्पाङहरूले नयाँ तथा उदीयमान राजनीतिक शक्तिको नेतृत्व गर्नेछन्। विशेषबाट चुनिएको गगन विश्वहरूको मूल ‘स्पिरिट’ पुराना राजनीतिक शक्तिहरूको वर्चस्व र तिनले सिर्जना गरेका किल्ला भत्काउने तथा नवयुवाका आवाज सम्बोधन गर्ने नै देखिन्छ। रवि, बालेन, कुलमानलगायत समूहको पनि उद्देश्य यही देखिन्छ, तर ती कतिपय भदौ २३ र २४ को परिदृश्यपश्चात् लाभान्वित शक्ति पनि हुन्। यिनै दुई राजनीतिक शक्तिहरूले जेनजी विद्रोहपछि विकसित राजनीतिक रूपान्तरणका पक्षमा उर्लेका जनमत बाँडचुँड गर्नेछन्। यसमा रवि-बालेनहरूप्रति तुलनात्मक नयाँ र अपरीक्षित भनेर एक खालको आकर्षण हुनेछ। तर, गगन–विश्वले परम्परागत दलका परिवर्तनकामी जनमत तथा नयाँ शक्तिहरूप्रति संशय प्रकट गर्नेहरूलाई आफ्नोतर्फ खिच्नेछन्।
अब नयाँहरूको क्रेजले जित्छ वा नयाँहरूप्रतिको संशयले, त्यो चुनावी नतिजाले निर्क्योल गर्नेछ। तर, त्यसभन्दा अगाडी कांग्रेसको आधिकारिकता विवाद टुंगिनु महत्त्वपूर्ण हुनेछ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
