हिमाली तथा पहाडी भूभागमा वर्षा, तराईमा तातो दिनको सम्भावना

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशको मौसम प्रभावित बनेको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाको शनिबारको पूर्वानुमानअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

त्यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही हिमाली क्षेत्रमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।