एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित

नेपाल एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाल महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलबाट बाहिरिएको छ। बुधबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

थाइल्यान्डले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। नेपालको ब्याटिङ शुरूदेखि नै दबाबमा रह्यो। रुबी पोद्दार शून्य, पूजा महतो २, कप्तान इन्दु बर्मा ७ तथा कविता कुँवर १ रनमा आउट हुँदा नेपाल ठूलो साझेदारी बनाउन असफल रह्यो।

सोनि पाख्रिनले १५, सम्झना खड्काले १२ रन बनाइन् भने रुबिना क्षेत्री बेलबासी २० र सीता राना मगर १२ रनमा अविजित रहिन्। थाइल्यान्डकी थिपाचा पुथ्थावोङ, सुनिडा चतुरोङरत्ताना र सुलेपोर्न लाओमीले समान २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो। नान्नापाट खोनचारोएनकाईले अविजित ६२ रनको उत्कृष्ट इनिङ्स खेलिन्। फान्निता मायाले २६ रन जोडिन्।

नेपालका लागि रुबिना क्षेत्री बेलबासी, कविता कुँवर र रिया शर्माले समान १–१ विकेट लिए।

समूह डीको उपविजेता हुँदै क्वार्टरफाइनल पुगेको नेपाललाई थाइल्यान्डले रोक्दै सेमिफाइनल यात्रा तय गरेको छ।