मालदह आँपको भाउ दोब्बरले बढ्यो, उचित मूल्य नपाएको किसानको गुनासो

मधेश प्रदेशमा मालदह आँपको उत्पादन घटेसँगै बजार मूल्य उल्लेख्य बढे पनि बिचौलियाका कारण आफूहरूले उचित मूल्य नपाएको धनुषाका किसानले गुनासो गरेका छन्।

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरभन्दा बढीले बढेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।

दुई साताअघिसम्म १०० रुपैयाँमा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिले प्रतिकेजी १०० रुपैयाँ पुगेको छ। किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरूले भने उचित मूल्य नपाएको किसानको गुनासो छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको लाभ किसानले नपाएको बताए। उनले किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा महँगो मूल्यमा बिक्री भइरहेकाले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे।

मिथिला नगरपालिकाका किसान धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताए।

उनले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताए।

आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।