‘नेपाल र जर्मनीबीच दुई वर्षका लागि ४१ मिलियन युरोको सम्झौता भयो। अहिले यसको कार्यान्वयनका लागि कागजातमा हस्ताक्षर गरेका छौँ। यस रकमको करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा जानेछ।’
नयाँ राजदूतको रूपमा तपाईं नेपाल आएको दुई महिनाभन्दा बढी भयो। कस्तो अनुभव भइरहेको छ?
म काठमाडौँको बारेमा मात्र टिप्पणी गर्न सक्छु, किनभने अहिलेसम्म काठमाडौँबाहिर गएको छैन। यहाँ मेरो अनुभव अलि विशेष रह्यो। म जुलाईको अन्त्यतिर आउँदा एक महिनाजति बसेर बर्लिन फर्किएँ। काठमाडौँप्रति मेरो पहिलो छाप त्यति बेलै परेको हो। यहाँको दैनिक जीवन नियाल्न पाएँ। धेरै मन्दिरहरू देखेँ। पूजाआजा गर्न जानेहरूको भिड थियो। बाटोका किनारामा धार्मिक स्थलहरू थिए। यो मलाई विशेष र अद्वितीय लाग्यो। त्यतिबेला मैले काठमाडौँको ऊर्जा महसुस गरेँ। शायद नेपालबाहिरको स्थिति पनि यस्तै होला भन्ने अनुमान छ। मैले भेटेकामध्ये धेरैले भनेका छन्– नेपाली निकै मित्रवत् छन्, मिलनसार छन्, यहाँ शान्ति छ, राम्रो वातावरण छ, अतिथिलाई सत्कार गर्छन्।
काठमाडौँबाहिर पनि जाने योजना छ?
काठमाडौँबाहेकका ठाउँमा पनि जान मन लागेको छ। तर हेरौँ, अब कहिले मिल्छ।
गत अक्टोबर १६ मा ऊर्जामन्त्री कुलमान घिसिङलाई भेट्न मन्त्रालय नै पुग्नुभएको थियो। त्यति बेला तपाईंहरूबीच के छलफल भयो?
जर्मनी लामो समयदेखि नेपालको विकास सहयोगमा साझेदार रहँदै आएको छ। यो सम्बन्ध सन् १९६० को दशकदेखि शुरू भएको हो। हामी अहिले पनि नेपालसँग मिलेर विभिन्न क्षेत्रमा काम गर्दैछौँ। ऊर्जा त्यसैमध्यको एक हो। यसमा हामी दशकौँदेखि लागिरहेका छौँ। जलविद्युत् उत्पादनबाट यसको शुरूवात भयो, त्यसपछि दोस्रो चरणमा प्रसारणको काम भयो। अहिले अन्तिम वा तेस्रो चरण वितरणको काम हुँदैछ। यसमार्फत बिजुली सिधै उपभोक्ता र घरपरिवारसम्म पुग्छ।
करिब १० वर्षअघि नेपालमा ऊर्जा ठूलो समस्या थियो। घण्टौँ हुने लोडसेडिङले मानिसलाई हैरान बनाएको थियो। म त्यति बेला नेपालमा थिइनँ, तर यो मलाई कुरा थाहा छ। वर्षौंपछि यो समस्या नेपाल विद्युत् प्राधिकरण र हालका ऊर्जामन्त्री कुलमान घिसिङ (जो त्यस बेला प्राधिकरणका प्रमुख हुनुहुन्थ्यो) हरूको प्रयासले समाधान भएको हो। उहाँले यो समस्या सफलतापूर्वक समाधान गरेवापत् नेपाली समाजमा राम्रो प्रतिष्ठा आर्जन गर्नुभएको छ।
गत महिना मैले ऊर्जामन्त्रीलाई भेटेँ। हामीले जलविद्युतको विस्तारबारे छलफल गर्यौं। नेपालमा जलविद्युत् अझ विस्तार गर्न सकिन्छ। यो सम्भावना प्रचुर छ। तर, जलविद्युत् वर्षभरि समानरूपमा उत्पादन हुँदैन। खासखास समयमा मात्र अत्याधिक उत्पादन गर्न सकिने हो। बाँकी समयमा वैकल्पिक स्रोत खोज्न जरूरी छ। सोलार र हावाबाट विजुली उत्पादन गरेर ऊर्जाका समस्या थप न्यूनीकरण गर्न सकिन्छ। वैकल्पिक स्रोतहरू खोज्नु ठूलो चुनौती हो। यो नै हाम्रो छलफलको एउटा विषय थियो।
उहाँले ई–ट्रान्सपोर्टको विषय पनि उठाउनुभयो। अहिले नेपालमा ठूलो संख्यामा बिजुलीका सवारीसाधन आयात भइरहेको छ। इन्धनमा चल्ने सवारीमा भन्दा बिजुलीबाट चल्ने गाडीमा मान्छे आकर्षित भइरहेको छन्। ई–कुकिङको विषय पनि छ। परम्परागत रूपमा मानिसहरू दाउरामा पकाउँछन्, तर अहिले बिजुलीमा पकाउने विकल्प पनि छ। दाउरामा र इन्डक्सन चुल्होमा पकाउँदा फरक अनुभव हुन्छ। इन्डक्सन चुल्हो उपलब्ध भए पनि मानिसलाई बिजुली प्रयोग गर्न र इन्डक्सनमा बानी लगाउन केही प्रोत्साहन गर्नुपर्छ। यसमा विश्वास पनि दिलाउन पर्छ।
यदि इन्डक्सनको प्रयोग बढाइयो भने दाउरा र रुखहरूको संरक्षणमा ठूलो योगदान पुग्छ। ऊर्जाको विषय व्यापक छ। यसले धेरै पक्षहरू समेट्छ। हामीले सोचविचार गरेर काम गर्न जरूरी छ। मन्त्रीज्यू लामो समयदेखि यस क्षेत्रमा रहनुभएकोले उहाँसँग कुन कदम चाल्ने भन्नेबारे राम्रो अनुभव र समझ छ।
जर्मनीले लामो समयदेखि नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। त्यस्ता सहयोगले नेपालमा कस्तो प्रभाव पारेको देख्नुहुन्छ?
मैले यहाँका स्थानीयसँग गफगाफ गर्दा प्रायः धेरैलाई जर्मनी नेपालको विकासमा साझेदार हो भन्ने थाहा छ। उनीहरू हाम्रा कार्यान्वयन एजेन्सीहरू र तिनीहरूको काम कुन स्तरको छ भन्नेमा पनि जानकार छन्। जर्मनी यहाँ धेरै समयदेखि सक्रिय छ। मानिसहरूमा जर्मनीले गरेको कामप्रति विश्वास छ। यहाँका स्थानियबाट हाम्रा कामको प्रशंसा सुन्न पाउँदा खुशी लाग्छ। विशेषगरी म जस्ता मानिस (जो केही वर्षका लागि आउँछन् र फेरि फर्किन्छन्) का लागि आनन्दलायक क्षण हो।
हामी स्थिर र भरपर्दो प्लेटफर्ममा आधारित भएर काम गर्न सक्छौँ। यो दुई देशको सरकारबीचको सहकार्य पनि हो। तर अन्ततः यसको उद्देश्य मानिसहरूसम्म सेवा, सुविधा र उत्पादन पुर्याउने हो, जसबाट उनीहरूले यो सहकार्यको प्रत्यक्ष फाइदा लिन पाउँछन्। उदाहरणका लागि, भक्तपुरलाई लिन सकिन्छ। जर्मनीले सन् १९७० र १९८० को दशकमा भक्तपुरको मन्दिर र गाउँ क्षेत्रको पुनर्निर्माण गरेको थियो। मैले पुर्ननिर्माणमा संलग्नहरूसँग कुरा गर्दा उनीहरूले जर्मनीको भूमिका सम्झेका छन्। हामी अझै पनि नेपाललाई सहयोग गर्न सक्रियरूपमा संलग्न छौँ। हामी अझै काम गर्न खोजिरहेका छौँ।
हालै नेपाल र जर्मनीले ४१ मिलियन युरोको सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। यो रकम कसरी प्रयोग गरिन्छ? कुन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ?
हाम्रो सहकार्यका सधैँ दुई वटा मुख्य पक्ष हुन्छन्। एउटा, प्राविधिक सहयोग हो। अर्को, वित्तीय पक्ष हो, जुन केएफडब्ल्यूले सम्हाल्छ। वित्तीय पक्षलाई ध्यान दिनेहरूले प्रत्यक्षरूपमा परियोजना कार्यान्वयन गर्दैनन्, तर आवश्यक वित्तीय स्रोत र बैंकिङ सुविधा उपलब्ध गराउँछन्।
नेपाल र जर्मनीबीच दुई वर्षका लागि ४१ मिलियन युरोको सम्झौता भयो। अहिले यसको कार्यान्वयनका लागि कागजातमा हस्ताक्षर गरेका छौँ। यस रकमको करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा जानेछ। मैले पहिले उल्लेख गरेजस्तै, वितरण चरणका निम्ति काम हुनेछ। यसको अन्तिम लक्ष्य घरपरिवार र उपभोक्तासम्म बिजुली पुर्याउनु हो।
यसका साथै अरू दुई क्षेत्र, जुन लामो समयदेखि हाम्रो सहकार्यका प्रमुख क्षेत्र बनेका छन्, पहिलो हो– स्वास्थ्य। उदाहरणका लागि, अस्पताल फोहर व्यवस्थापन। अस्पतालको फोहर अन्य फोहरभन्दा फरक हुन्छ र यसलाई फरकरूपमा व्यवस्थापन गर्नुपर्छ। यो पहल केही वर्ष अघिदेखि नै शुरू भइसकेको छ। यसमा अस्पताल निर्माणका लागि वित्तीय सहयोग पनि समावेश छ।
नेपाल सरकारले स्वास्थ्य बीमा प्रणाली शुरू गर्दा हामी परामर्शदाताको रूपमा संलग्न थियौँ। यो प्रणाली अझै विकासको चरणमा छ। शुरूआत भइसके पनि पूर्णरूपमा कार्यन्वयन हुन सकेको छैन। मेरो विचारमा, समाजका लागि यो अत्यन्तै महत्त्वपूर्ण प्रणाली हो। अर्को क्षेत्र हो– दिगो आर्थिक विकास। यसअन्तर्गत कृषि सुधारमा ध्यान दिइन्छ। त्यसैले सम्झौताको २० मिलियन युरो स्वास्थ्य र आर्थिक विकासका क्षेत्रहरूमा प्रयोग गरिनेछ।
तपाईंहरूको सहयोग किन ऊर्जा क्षेत्रमा बढी केन्द्रित छ?
तपाईं अलिक गहिरिएर सोच्नुस् त– मानिसलाई साँच्चै के चाहिन्छ? उनीहरूलाई पिउने पानी चाहिन्छ, खाने खाना चाहिन्छ र तातो वा चिसोबाट जोगिन सुरक्षित बासस्थान चाहिन्छ। यही हो मानव जीवनको आधारभूत आवश्यकता। अर्को अत्यावश्यक चिज स्वास्थ्य हो, जसले मानव शरीरलाई स्वस्थ र सन्तुलित राख्छ। त्यसपछि शिक्षा आउँछ, जसले मानिसको सोच र ज्ञान विकास गर्छ।
आजभोलि हरेक काम गर्न ऊर्जा चाहिन्छ। यही कारणले विकासका निम्ति पनि अत्यन्तै महत्त्वपूर्ण छ। नेपालमा जलविद्युतको ठूलो सम्भावना देखिएकाले यो क्षेत्र रोज्नु स्वाभाविक र सहज भएको हो। हामी ऊर्जा क्षेत्रमा आएका छौँ, किनभने नेपालसँग तेल वा ग्यास होइन, जलविद्युतको विशाल स्रोत छ। पछिल्ला १० वर्षमा जर्मनीले ऊर्जालाई ठूलो जोड दिएको छ। नेपाल पहिले नै हरित ऊर्जाको मार्गमा जलविद्युतको माध्यमबाट अघि बढिरहेको थियो। पछिल्ला दशकमा, ऊर्जा कुनै पनि समुदायको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण हो भन्ने स्पष्ट भएको छ। म आफैले अफ्रिकामा केही समय काम गरेको छु र त्यहाँ कहिलेकाहीँ कुनै ठाउँमा एउटा मात्र बत्ती बल्दा मानिसको जीवन परिवर्तन हुनसक्छ।
जर्मनीले धेरै वर्षदेखि नेपालको सांस्कृतिक क्षेत्रमा पनि काम गर्दै आएको छ। नेपालमा रहँदा तपाईं खास कुन क्षेत्रलाई प्राथमिकता दिन हुनुहुन्छ?
अझै स्पष्ट छैन। यहाँ हाम्रो देशको एउटा सांस्कृतिक संस्था छ, त्यसले मुख्यतः भाषा कक्षा सञ्चालन गर्छ र भाषा परीक्षा पनि लिन्छ। त्यसले सांस्कृतिक काम पनि गर्छ। कहिलेकाहीँ तिनीहरूले कलाकारहरू ल्याउँछन्, कन्सर्टहरू आयोजना गर्छन्, प्रदर्शनीहरू आयोजना गर्छन्। मुख्य ध्यान भाषा प्रशिक्षण हो, किनकि यहाँका युवा जर्मन भाषा सिक्न चाहन्छन्। दूतावासको तर्फबाट पनि गर्न सकिने काम छ। यसबारे थप अध्ययन गर्न बाँकी छ।
जर्मनीको इतिहासमा नोभेम्बर ९ एउटा महत्त्वपूर्ण मिति हो। तपाईं त्यतिबेला जर्मनीमै हुनुहुन्थ्यो? त्यो समयको बारेमा तपाईंलाई केही याद छ?
म त्यस समयमा जर्मनीमा थिएँ। त्यो मेरो औपचारिक अध्ययनको अन्तिम समयतिर हो। मैले विदेश सेवाका लागि आवेदन दिएको थिएँ। १९८९ नोभेम्बर ९ मा म भर्खर मेरो मौखिक परीक्षा सकाएर कूटनीतिक सेवामा सहभागी हुन फर्किएको थिएँ। म जर्मनीको दक्षिण–पश्चिमी भागबाट आएको हुँ, त्यसैले हाम्रा लागि पूर्वी जर्मनी परको भूभाग थियो।
अन्ततः पुर्वी र पश्चिम जर्मनी एक भए। यसले धेरैलाई अचम्मित तुल्यायो। कसरी भयो, कति छिटो भयो र कति शान्तिपूर्वक भयो भनेर मान्छे गम्न थाले। पूर्वी जर्मनीले सधैँ दाबी गरिरहेको थियो, उनीहरूको प्रणाली अन्ततः विजयी हुनेछ। तर मानिसहरू सडकमा निस्किए, जसलाई हामी अहिले मण्डे डेमोन्स्ट्रसन भन्छौँ।
उनीहरू प्रत्येक सोमबार नागरिक अधिकारको माग गर्न सडकमा निस्किन्थे। यो अक्टोबरदेखि शुरू भयो र मानिसको उपस्थिति लगातार उकालो लाग्यो। मानिसहरू पश्चिम युरोपतर्फ जान थाले, किनभने हंगेरीमा केही सीमाना खुला भएका थिए। मानिसहरू पूर्वी ब्लकबाट बाहिर निस्कन प्रतीक्षा पनि गरिरहेका थिए। त्यस समयमा एक उच्च पदस्थ अधिकारी प्रेस सम्मेलन गर्दै थिए। सीमा खुलेको हो भनेर उनलाई मानिसले प्रश्न गरे। उनको जवाफ थियो– हो। सबै अचम्मित भए।
यो सिमानामा विगतमा अवैधरूपमा पार गर्ने मानिसलाई गोली ठोकिन्थ्यो। कहिलेकाहीँ सीमा कटेकै कारण मारिइन्थ्यो। अहिले उनीहरूले नै भने, ‘हो, सीमा खुल्यो।’ यो अचम्मको पल थियो। यसैले ९ नोभेम्बरलाई जर्मनीमा भएका परिवर्तनहरूको एउटा महत्त्वपूर्ण मितिका रूपमा सम्झिन्छन्। युरोपभर र विश्वभर पनि यसलाई शीतयुद्ध समाप्त भएको समयको रूपमा सम्झिन्छन्।
खासमा यस घटनाको औपचारिक मिति ३ अक्टोबर हो। किनभने यसै समयमा पूर्वी र पश्चिम जर्मनीबीच सन्धिमा हस्ताक्षर भएको थियो। सबैले बुझ्नुपर्छ, पूर्वी जर्मनी त्यति बेला पश्चिम जर्मनीमा मिसिएको हो। नयाँ राज्य सिर्जना गरिएको होइन। यही कारणले एकीकृत जर्मनीमा सबैकुरा व्यवस्थापन गर्न सहज भयो।
पूर्वी जर्मनीका मानिसका लागि अचानक पूर्णरूपमा नयाँ प्रणाली सामना गर्नु ठूलो चुनौती थियो। उहाँहरूले त्यसको पक्षमा मतदान गर्नुभयो, त्यसको हिस्सा बन्न चाहनुभयो। यसले धेरै परिवर्तनहरू पनि ल्यायो। यसैले ९ नोभेम्बरलाई जर्मनीमा ऐतिहासिक र भावनात्मक क्षणको रूपमा सम्झिन्छन्।
पूर्वी र पश्चिम जर्मनी पूर्णरूपमा एकताबद्ध छन्? वा अझै पनि केही भिन्नताहरू छन्?
जर्मनी पूर्णरूपमा एकीकृत छ। मानिसहरू सजिलै दुवै दिशामा जान पाएका छन्। बर्लिन पुनः राजधानी बनेको छ, जुन दशकौँसम्म विभाजित शहर थियो। तर कोही व्यक्ति सन् १९९० मा करिब ४०, ४५ वा ५० वर्षको हुनुहुन्थ्यो भने, आफ्नो जीवनको महत्त्वपूर्ण समय एउटा प्रणालीमा बिताउनु भएको थियो। उहाँहरू एउटा ढंगले बाँचिरहनु भएको थियो, अचानक सबै कुरा बदलियो। यसले जीवनमा ठूलो अवरोध सिर्जना गरेको मान्नेहरू पनि छन्। जुन कुराहरूमा उनीहरू अभ्यस्त थिए, ती हराए, र नयाँ कुराहरू आए। यसै कारणले पनि त्यस्तो विचार आएको होला।
तर आर्थिक विकास दुवैतिर बराबरी भइरहेको छ। पूर्वी जर्मनीमा नयाँ उत्पादन केन्द्रहरू बनेका छन्। बर्लिनमा दुवै दिशाका मानिस सरे। एकतापछि धेरैले शहर छोडे, नयाँ मानिस आए। त्यसैले मानिसको मिश्रण भएको छ।
पछिल्ला वर्षहरूमा केही परिवर्तन देखिन्छ। पूर्वी जर्मनीमा दक्षिणपन्थी पार्टीहरूको समर्थन बढेको छ, किनभने आफ्नो इतिहासले पूर्णरूपमा मान्यता नपाएको उनीहरूको सोचाइ छ। उनीहरू सोच्छन्, मेरो अतीत कहाँ गयो? तर दुवै प्रणालीमा ३०–४० वर्ष बिताएकाहरूले चाहिँ यी दुई अनुभवबीच सन्तुलन खोज्दै छन्।
नेपाल र जर्मनीबीच ६५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध छ। यस अवधिमा दुई देशबीचको सम्बन्धलाई कसरी मूल्यांकन गर्नुभएको छ?
यो प्रश्नको जवाफ सरल छ। सम्बन्धहरू सहजरूपमा अगाडि बढेका छन्। ठूलो अवरोध वा कूटनीतिक दुर्घटना कहिल्यै भएका छैनन्। नेपाल सन् १९५० देखि अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गरेको थियो। १९५० को दशकमा अचानक यो विश्वव्यापी परिदृश्यसँग परिचित भयो। त्यति बेला जर्मनी र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
हामी नजिकका छिमेकी होइनौँ, त्यसैले कहिलेकाहीँ टाढा हुँदा धेरै कुराहरू सजिलो हुन्छ। तीन वर्षअघि कूटनीतिक सम्बन्ध ६५ वर्ष पूरा भएको अवसरमा हामीले कार्यक्रम पनि गर्यौं। यो महत्त्वपूर्ण समय थियो। हाम्रो कूटनीतिक सम्बन्ध राम्रो छ, दुवै देशले अन्तर्राष्ट्रिय कानून, शान्तिपूर्ण विवाद समाधान र अन्तर्राष्ट्रिय नियमको सम्मान गर्छन्।
नेपालमा तपाईंलाई अनुभव गर्न मन लागेको कुरा के छ?
मलाई घुम्ने रहेर छ। म ती ठाउँमा पुग्न चाहन्छु, जहाँ अरू पर्यटक पनि जान्छन्। विशेषगरी, काठमाडौँबाहिर जाने मन छ। म काठमाडौँमै पनि धेरै ठाउँमा घुमेको छैन, यहाँ देख्न बाँकी कुरा धेरै छन्। नेपालका दृष्य हेर्न, अनुभव गर्न र मानिससँग गफगाफ गर्न मन छ। यहाँको जीवन र व्यवहार कसरी चल्छ भनेर बुझ्न मन छ। मलाई काठमाडौँबाहिर रहेको ओशो सेन्टर पनि जान मन लागेको छ। ओशो त्यो समय युरोपमा निकै विवादास्पद व्यक्तित्व थिए। उनी अन्तर्राष्ट्रिय रूपमा भारतमा र अमेरिकामा प्रसिद्ध भए। तर युरोपका मानिस उनलाई लिएर शंकालु थिए। ओशोको प्रभाव अझै बाँकी छ।
धार्मिक र आध्यात्मिक रूपमा नेपाल धनी छ। यहाँ विभिन्न धर्मका मानिस मिलेर बसेका छन्। उनीहरूबीच सहिष्णुता छ। सहअस्तित्व छ। एकले अर्काको सम्मान गर्छन्। यो सन्तुलनको अनुभव गर्न पाउनु निकै खुसीको कुरा हो।
नेपालमा जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
म बाहिरबाट आएको हुँ र नयाँ छु, मैले बोल्दा गल्ती हुन सक्छ। सामाजिक सञ्जाल बन्द गर्दा धेरै मानिसलाई असर गर्यो। सरकारले तिनीहरूलाई देशभित्र आफ्नो अपेक्षाअनुसार काम गराउन चाह्यो। तर यसले आफ्नै देशका प्रयोगकर्तालाई प्रभावित पार्यो। त्यसैले मानिसहरू प्रदर्शनमा निस्कए। माहोल बिग्रियो र गोली प्रहारसम्म भयो।
मानिसहरू रिसाए र अर्को दिन पुन प्रदर्शन भयो, जुन हिंसात्मक बन्यो। यी प्रदर्शनमा को को छन् भनेर बुझ्न कठिन हुन्छ। मानिसका अलग–अलग अजेन्डा छन्। कहिलेकाहीँ यस्ता क्रियाकलाप नियन्त्रण गर्न सकिँदैन। विभिन्न स्वार्थहरूको पनि मिश्रण हुन्छ। तर पछि सेनाले लुटपाट र विनाश रोक्यो। हामीले सोच्दा, के साँच्चिकै देशका लागि बनाइएका संरचना नष्ट गर्नु आवश्यक छ? पूर्वाधार नष्ट गर्नु सबैको लागि घाटाको कुरा हो।
मानिसमा अन्यौलको स्थिति छ। उनीहरू सबैकुरा शान्तिपूर्ण र व्यवस्थित होस् भन्ने चाहन्छन्। मलाई लाग्छ, केही सुन्दर काम गर्ने यो अवसर पनि हो। हामी सबै कुरा पूर्णरूपमा सुधार्न सक्दैनौँ, तर केही कुरामा सुधार गर्न सकिन्छ। यो विषय पार्टीहरूले पुनः कस्तो अभियान गर्ने, कुन विषयमा केन्द्रित हुने, के वाचा गर्ने र अघिल्ला अभियानभन्दा फरक हुने कुरामा पनि भर पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

जर्मनी र नेपालले श्रम सम्झौता गरेर नेपाली कामदार पठाउने कुरा गरेका थिए, तर अहिलेसम्म यो काम व्यवहारमा अघि बढेको छैन। हाम्रो जस्तो देश, जहाँ मुख्य आम्दानी remittance बाट हुन्छ, त्यसमा पनि श्रम मन्त्रालयको कमजोरी देखिन्छ कि जर्मनी सरकारको तर्फबाट काम अघि बढाइएको छैन। यस विषयमा के भएको हो भन्ने कुरा स्पष्ट हुनुपर्छ।"
Sangita Malla
1 day, 11 hours ago