देशलाई चाहिने मानविकी र समाजविज्ञानको पढाइ, त्यसमै घट्दै विद्यार्थीको आकर्षण

हाम्रा विकास नीति–योजनादेखि कैयौँ कुरा प्रभावकारी हुन नसक्नुको एउटा प्रमुख कारण मानिस अर्थात् समाजसँग टाढिनु पनि हो। त्यसमै बाटो देखाउने मानविकी र समाजविज्ञान पढाइमा किन आकर्षण घटिरहेछ?

काठमाडौँ– करिब दुई वर्ष पहिले (सन् २०२४ जुनमा) ‘गुगल ट्रान्सलेट’मा ११० नयाँ भाषा थपिए। त्यसमध्ये एक थियो– नेपाल भाषा। यसलाई नेवार समुदायको भाषा अर्थात् नेवारी भाषा पनि भन्ने गरिन्छ।

त्यही समयदेखि अब कुनै पनि भाषाबाट सिधै नेपाल भाषा अर्थात् नेवारी भाषामा अनुवाद गर्न सकिने भएको छ। योसँगै सर्च इन्जिन गुगलमा २४३ भाषा अनुवाद गर्न मिल्ने सुविधा थपिएको छ।

नेवार समुदायले बोल्ने नेवारी भाषा (नेपाल भाषा)लाई गुगल ट्रान्सलेटमा समेट्ने काम त्यति सहज थिएन। गुगलका पूर्वकर्मचारी रहिसकेका इन्जिनियर उज्ज्वल राजभण्डारीका अनुसार एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न अत्यधिक मात्रामा डेटा (भेरिएबल्स) आवश्यक पर्छ। डेटा अर्थात् अक्षर, शब्द, शब्दावली, उखान, टुक्का, वाक्य आदि।

यस्ता भेरिएबल्स संकलनका लागि विश्वभर छरिएका नेवार समुदायका सदस्यले एक वर्षभन्दा धेरै समय लगाएर ९० हजारभन्दा ज्यादा नेवारी शब्द र वाक्यलाई डेटाको रूप प्रदान गरेका थिए। त्यसरी संकलन भएका डेटालाई गुगल ट्रान्सलेटको प्रणालीमा राख्ने प्राविधिक जिम्मेवारी उज्ज्वल राजभण्डारीले पाएका थिए।

नेवारी भाषालाई गुगल ट्रान्सलेटमा जोड्ने यो घटना मिहिन ढंगबाट केलाउँदा प्रविधि, भाषा र समुदायको महत्त्व छर्लङ्ग हुन्छ। भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरका शब्दमा समाज, त्यसका सदस्यहरू अर्थात् मानिसको भूमिका र प्रविधि एकअर्काका परिपूरक हुन् जसलाई जोड्ने केही खास कुरा छ। “भाषा कुनै निरपेक्ष उत्पादन वा ईश्वरले बनाएको कुरा होइन। भाषाले सम्बन्धित समाजको विविधता अध्ययन गर्ने स्थान दिन्छ,” ठाकुर भन्छन्, “भाषाले समाजको चरित्र बुझाउने हुँदा सम्बन्धित समाजको जीवनशैली, अर्थतन्त्रलाई झल्काउँछ।”

ठाकुरका शब्दमा त्यो खास कुरा समाजविज्ञान हो जुन हाम्रा विश्वविद्यालयमा हुने मानविकी तथा समाजशास्त्रको पढाइले सिकाउँछ, बुझाउँछ। नेवारी भाषा गुगल ट्रान्सलेटमा समेटिएपछि नेपालको एउटा समुदायविशेषको साँस्कृतिक गौरव अर्थात् भाषा अहिले भुमण्डलीकरणको हिस्सा बनेको छ, जसले मानविकी र समाजविज्ञान पढाइको महत्त्व कति छ भनेर देखाएको छ।

null

साउथ एशिया इन्स्टिच्युट अफ हिस्ट्री एन्ड फिलोसफी (एसआईएचपी) का फ्याकल्टी एसोसियट शैलेश पाण्डेका अनुसार ९० हजार शब्द नै कुनै भाषा अनुवादको लागि पर्याप्त डेटा भने होइन। यद्यपि यसले भाषाप्रति समुदायको लगावलाई झल्काएको उनी बताउँछन्। “गुगल ट्रान्सलेटदेखि ओपन एआई, च्याट जीपीटी, गुगल जेमिनाई, गुगल नोटबुक एलएम आदि अंग्रेजी भाषाको बर्चस्व हुँदाहुँदै पनि विभिन्न भूगोलमा बोलिने क्षेत्रीय भाषासमेत समेटिएका छन्,” पाण्डे भन्छन्, “यस्ता भाषा प्रविधिसँग जोडिनुपर्छ। यही विन्दुमै हो प्रविधिसँगै समाज, सामाजिक अवस्थिति र मानविकी–समाज अध्ययन पनि जोडिने।” 

मानविकी, समाजविज्ञान पढाइ
हामीले विश्वविद्यालय र क्याम्पसहरूमा धेरै पहिलेदेखि नै मानविकी संकाय देख्दै आएका छौँ। कतिपय त्यही संकायमा भर्ना भएर पढेका छौँ। खासमा यो आफ्नो देश, समाज र तीसँग जोडिने परिवेश बुझ्नका लागि पढाइ हुने जरुरी संकाय हो। मानविकी र समाजविज्ञान अर्थात् समाजशास्त्र संकायअन्तर्गत् साहित्य, दर्शन (फिलोशपी), इतिहास, भाषा, धर्मशास्त्र, सञ्चार, सामाजिक, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र, अपराधशास्त्र लगायत विषय पर्छन्।

“प्रविधिले मारेको फड्कोसँगै समाज परिष्कृत हुँदै गएको छ, त्यसले हाम्रो जीवनलाई सजिलो, सुविधाजनक बनाएको छ,” सामाजिक–राजनीतिक अध्येता हरि शर्मा भन्छन्, “यद्यपि मानविकी नै मानव जीवनको जग हो। समाज, जीवनको दर्शन हो। दर्शनको खोजी नगरीकन भौतिक वा सतही रुपमा मात्र समाजलाई बुझ्न सकिन्न।”

त्यसमै प्रश्न पनि आउँछ– अहिलेको एआईको जमानामा यी विषय पढ्नु चाहिँ किन पर्छ त? “एआईले विश्लेषण त गरिदिन्छ। यथार्थ के हो भने मेसिन वा प्रोग्रामिङ्गले संवेदना, भाव दिन सक्दैन। आध्यात्मिक पक्ष अनि चेतना दिनसक्दैन,” शर्मा भन्छन्, “हरकोहीले दर्शन बुझ्नुपर्छ, पढ्नुपर्छ भन्ने होइन। तर आफ्नो समाजलाई बुझ्न चाहने व्यक्तिले चाहिँ पढ्नैपर्छ, बुझ्नैपर्छ।”

समाज अध्ययनमा लामो समयदेखि लागिरहेको संस्था हो मार्टिन चौतारी। त्यही संस्थामा प्रकाशन निर्देशक रहेका लोकरञ्जन पराजुली समाज बुझ्न र आलोचनात्मक चेत विकास गर्न मानविकी–समाज विज्ञान आवश्यक पर्ने बताउँछन्। अन्य प्राविधिक सीप सीमित समयको अध्ययन र तालिमबाट हासिल गर्न सकिए पनि आफ्नो समाज, समुदाय अनि विश्वमा के भइरहेको छ भनेर बुझ्न मानविकी वा समाजविज्ञान–समाजशास्त्र पढ्नैपर्ने उनको भनाई छ।

हुन पनि मानविकी र समाज विज्ञानको पढाइ यस्तो कुरा हो जसको केन्द्रमा ज्ञान र चेतना हुन्छ। पछिल्लो समय त्यो पाटोमा केन्द्रित हुँदा दैनन्दिनको जीवन चलायमान राख्न आवश्यक पर्ने अर्थोपार्जनका क्षेत्र सीमित पनि हुन थाले। पढाइसँगै आउने अवसर तुलना गर्दा मानविकी र समाजविज्ञानको पढाइ तुलनात्मक रुपमा कम आकर्षक पनि हुँदै गयो।

सीप, ज्ञान र क्षमता अभिवृद्धि हुँदैजाँदा जति शीघ्र जागिर, अवसर वा अर्थोपार्जनका काम उपलब्ध हुनुपर्ने हो, त्यति नहुँदा पनि यसप्रतिको आकर्षण घट्दै गयो। पराजुली भन्छन्, “यसले गर्दा विद्यार्थीको ध्यान इन्जिनियरिङ्ग, स्वास्थ्य, विज्ञान–प्रविधि जस्ता प्राविधिक क्षेत्रमा तानियो।”

मार्टिन चौतारीका अनुसन्धान निर्देशकसमेत रहेका इतिहासविद् प्रत्युष वन्त प्राविधिक विषयमा समय लगानी गर्दा सीप र सिकाई जसले पनि सिक्न सक्ने बताउँछन्। भन्छन्, “न्युमेरेसी (गणितीय क्षमता) बुझ्ने जोकोहीलाई बैंकमा ट्रेलरसँग एक महिना ट्याग गरिदियो भने त्यसले ट्रेलरको काम मज्जाले सिक्छ, जागिर खान सक्छ। प्राविधिक विषय मुख्यतः सीप र क्षमतामा निर्भर हुन्छ।”

पढाइलाई आर्थिक उपार्जनसँग जोड्न थालिएकाले पनि हुनसक्छ, पछिल्लो समय नेपाल मात्र होइन, संसारभर नै विश्वविद्यालयमा मानविकी र समाजविज्ञान पढ्न भर्ना हुनेको संख्या ओरालो लागिरहेको छ। यसले दुईथरी प्रश्न जन्माएको छ– के अब मानविकी र समाजविज्ञानको पढाइ नै संकटमा परेको हो? या प्रविधिले मारेको छलाङ्गसँगै यसले पनि नयाँ रूपान्तरण खोजिरहेको हो?  

घट्दै विद्यार्थी, बढ्दो महत्त्व
काठमाडौँको धुम्बाराहीस्थित नेशनल कलेजले सन् २०२३ मा सोसल साइन्सको कक्षा नै सञ्चालन गरेन। कारण ३० जना विद्यार्थी भर्ना लिइने सोसल साइन्समा चार पाँचजना विद्यार्थी मात्र आउनु थियो। अर्को वर्ष त कलेजले पाठ्यक्रममै परिवर्तन गर्यो।

“त्यसमा हामीले इन्टरनेशनल रिलेसन (आईआर), एआई एन्ड सोसाइटी, क्वान्टिटेटिभ रिसर्च टेक्निक्स जस्ता विषय ल्यायौँ, जुन सोसल साइन्सका विषय हुँदाहुँदै प्राविधिक पनि थिए,” काठमाडाैँ विश्वविद्यालय अन्तर्गत् सञ्चालित सो कलेजका उपप्रधानाध्यापक छत्र कार्कीले भने, “त्यसपछि भने विद्यार्थीको संख्या पुनः बढ्यो।”

कलेजका प्रधानाध्यापक माधव न्यौपाने विधागत रूपमा परिवर्तन गर्दा विद्यार्थी संख्या स्थिर रहन थालेको बताउँछन्। सोसल साइन्स अध्ययन अन्तर्गत् मनोविज्ञान (साइकोलोजी) पढ्ने विद्यार्थी संख्या बढेको उनले बताए। मुलुकमा छिटोछिटो भइरहेका राजनीतिक बदलावका कारण आममानिसले अनेक प्रताडना भोगेको, त्यो अवस्थामा स्वास्थ्य संस्थादेखि विद्यालयसम्म साइकोलोजिस्ट (मनोवैज्ञानिक) आवश्यक देखिँदा यसको स्कोप बढेको उल्लेख गर्दै उनले भने, “यसले मानविकी वा समाजविज्ञान पढाइ संकटमा नरहेको, बरु रुपान्तरण खोजिरहेको देखाउँछ।”

धुम्बाराहीस्थित नेशनल कलेजमा मनोविज्ञान अध्ययनरत विद्यार्थी।

काठमाडौँको थेम्स कलेजमा अध्यापन गर्ने प्रणब खरेल पनि साइकोलोजी र सोसल वर्कमा धेरै विद्यार्थी आउने गरेको बताउँछन्। “पोलिटिकल साइन्स, अंग्रेजी जस्ता मुख्य आर्टस् विषयमा विद्यार्थीको खास आकर्षण देखिएको छैन, तर इकोनोमिक्स, साइकोलोजी र सोसल वोर्कमा विद्यार्थी छन्,” खरेल भन्छन्, “मानविकीभित्रै पनि कस्ता विषय कसरी गाभेर पढाउनुपर्छ भन्ने प्रयोग हुनथालेको छ। अब चाहिँ यसमा अन्तरविषयक (इन्टरडिसिप्लिनरी) अध्ययन आवश्यक देखिएको छ।”

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी तथा समाजशास्त्र विभागका डीन दुबीनन्द ढकाल यी विषय पढ्न भर्ना हुने विद्यार्थीको घट्दो संख्यालाई आंशिक सत्य मान्नुपर्ने बताउँछन्। “नयाँ पुस्तामा नयाँ विषय र स्थानप्रति अनि विश्वव्यापीकरणले गर्दा प्राविधिक शिक्षाप्रतिको आकर्षणका कारण मानविकी र समाजशास्त्रमा स्नातक पढ्ने विद्यार्थी घटेकै छन्,” ढकाल भन्छन्, “यद्यपि, स्नातकोत्तर तहमा त्रिविमा ८–९ हजार विद्यार्थी अध्ययनरत छन्।”

एमफिलका २२ विभागमा ५०० विद्यार्थी र पीएचडीमा वार्षिक ५० जना भर्ना भइरहेको उल्लेख गर्दै उनले भने, “मानविकी अन्तर्गत् नै स्नातकमा कम्प्युटर एप्लिकेसन र आईटीमा ४१ सय विद्यार्थी छन्। यसलाई लगातार घटेको भन्न मिल्दैन, हाम्रो अवस्था स्थिर नै छ।”

त्रिविबाट सम्बन्धनप्राप्त नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेज र पोस्ट ग्राजुएट डिप्लोमा अध्ययन गराइरहेको नेपाल प्रहरी एकेडेमीमा ३०–३० जना अध्ययनरत रहेको आँकडा सुनाउँदै उनले विद्यार्थी घटेको आंशिक सत्य भएपनि यसले मानविकीको पढाइ खस्केको भन्न नमिल्ने बताए।

मानविकी संकायमा देशभरका विद्यार्थीको रोजाइमा पर्ने प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट प्रत्येक वर्ष स्नातक र स्नातकोत्तरमा ठूलो संख्यामा विद्यार्थी उत्तीर्ण हुन्छन्। देशभर हरेक संकायमा विद्यार्थी भर्ना घटे पनि रत्नराज्यमा भने विद्यार्थी संख्या खासै घटेको छैन। रत्नराज्य क्याम्पसका सहायक क्याम्पसप्रमुख गोविन्दप्रसाद आचार्य विश्वविद्यालयमा पढाउने शैली ‘आउटडेटेड’ हुनुलाई यसको कारण मान्छन्।

“हामी (शिक्षक) जहिल्यै पढाउने नाममा सरलीकरण गराउँछौँ। शिक्षक फ्यासिलिटेटर मात्र हुनुपर्ने थियो,” आचार्य भन्छन्, “शिक्षण पनि यस्तो भयो कि विद्यार्थीलाई ज्ञानको बीज रोप्ने भन्दा परीक्षामा पास गराउने उद्देश्य मात्र रह्यो। हाम्रो पढाइ नै परीक्षामा प्रश्न यस्तो आउँछ भन्नेबाट शुरू हुन्छ। मार्कशिटमा आउने नम्बरमा पढाइ सीमित हुँदा पढ्नेले भविष्यमा कस्तो कामको अवसर पाउलान्?”

त्रिविको मानविकी तथा समाजशास्त्र विभागका डीन ढकाल अहिले मानविकी र समाजशास्त्र मात्र नभई सबै क्षेत्रमा विद्यार्थी घटेको उल्लेख गर्दै भन्छन्, “पहिले त्रिवि मात्र थियो, अहिले धेरै विश्वविद्यालय भइसके। पाठ्यक्रम पनि धेरैथरी छन्। यसले गर्दा पनि त्रिविमा विद्यार्थी कम देखिए होला।”

उनले मानविकी र समाजशास्त्रका धेरै विद्यार्थी निजामती, सुरक्षा निकाय र अन्य नीतिगत तहमा प्रतिस्पर्धी बनिरहेको आँकडा पनि अगाडि सारे। तर त्रिवि अन्तर्गत् अन्तरविषयक अध्ययनको अभ्यास शुरू नभएकाले यस्तो प्रयोगका लागि नीतिगत पुनर्संरचना नै आवश्यक रहेको उल्लेख गरे। 

null

अन्तरविषयक अध्ययन किन?
अन्तरविषयक अध्ययन के हो? अनि यो किन आवश्यक छ? वातावरणविद् भुषण तुलाधरले सुनाएको अमेरिकामा पर्यावरण इन्जिनियरिङ अध्ययन गर्दाको अनुभवले यसबारे धेरै कुरा भन्छ।

“मैले इन्जिनियरिङ पढ्ने विश्वविद्यालयमा ऐच्छिक विषय पनि लिनुपर्ने थियो। मैले साइकोलोजी र साहित्य रोजेँ। प्राविधिक शिक्षाले मात्र समाजलाई एक्लै अघि लैजान सक्दैन भनेर त्यसो गरिँदो रहेछ,” उनले भने, “कुनै विकास निर्माणको काम हुँदा त्यहाँ इन्जिनियरसँगै त्यहाँको वातावरणीय अनुकूलताको अध्ययन गर्न वातावरणविद्, त्यस स्थानको मनोभाव बुझ्न मनोवैज्ञानिक, समाजशास्त्री समेत आवश्यक पर्छ। यस्तोमा प्राविधिक पाटो मात्र एक्लै हिँड्न सक्दैन, मिल्दैन। त्यसले दिगो विकासलाई प्रोत्साहन पनि गर्दैन।”

उनले यसमा केही उदाहरणसमेत अघि सारे। जस्तो, सुनकोशी–३ जलविद्ययुत आयोजनाले सुनकोशी किनारमा पुस्तौँदेखि बस्दैआएका माझी समुदाय आफ्नो थातथलोसँगै संस्कृति हराउने चिन्तामा छन्। जन्मदेखि मृत्युसम्मको संस्कार नदी–खोला किनारसँग सम्बन्धित रहेकाले त्यहाँ निर्माण गरिने सुनकोशी ३ को बाँधले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका माझी समुदायको संस्कृति नै मासिने चिन्ता पैदा भएको छ।

त्यस्तै, पाथीभरामा केबलकार निर्माणको विवादले संस्कृति मासिने चिन्तामा रहेका त्यहाँका आदिवासी समुदाय र जहरसिंहपौवास्थित बोझिनी क्षेत्रमा हाइटेन्सन (प्रसारण) लाइन बन्दा विस्थापित हुने भयमा रहेका समुदायको चिन्ता अन्य उदाहरण हुन्। विकाससँग मानिस अर्थात् समुदाय नजोडिँदा यस्तो अवस्था आएको तुलाधरको भनाई छ।

तुलाधरका अनुसार यहीकारण पनि अब शिक्षामा अन्तरविषयक अध्ययन जरुरी भएको छ। त्यसले सम्बन्धित क्षेत्र, समाज र त्यहाँका मानिसको समस्या, जीवनशैली, संस्कृतिलाई सन्तुलनमा राखेर दिगो विकासलाई प्रोत्साहन दिने उनको विश्वास छ।null

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेल विकास आयोजना निर्माणका क्रममा हुने साँस्कृतिक क्षति कसैले पनि ब्यहोर्न वा पुर्ताल गर्न नसक्ने बताउँछन्। यस्ता विकासका काममा सामाजिक र भौतिक क्षतिको पूर्ति गर्न सकिए पनि साँस्कृतिक पक्षमा भएको क्षतिको पुर्ताल असम्भव रहेको उनले उल्लेख गरे। “विकास निर्माणका काममा अहिलेसम्म वातावरणीय प्रभावको अध्ययन हुने गरेको छ। त्यसभित्र भौतिक संरचना, जैविक रुपमा त्यहाँका वन्यजन्तुमा के असर पर्छ, सामाजिक रुपमा शिक्षा, स्वास्थ, रोजगारीमा के असर पर्छ भन्ने मात्र मापन गरिन्छ,” उनले भने। 

न्यु ह्युम्यानिटिजः जोड्ला ‘डिस्कनेक्टेड’ नयाँ पुस्तालाई?
समाज विश्लेषक सुजित कर्ण नेपाली समाज अध्ययन र त्यसक्रममा आवश्यक पर्ने तथ्यांकमा काम हुन नसक्दा नेपालमा समाजविज्ञान विषय नयाँ पुस्ताबाट ‘डिस्कनेक्टेड’ भइरहेको बताउँछन्। “हाम्रा अध्ययनमा पूर्वीय दर्शन र मूल्यमान्यतामा पश्चिमी वाद र तथ्यांकले ब्रेक लागेको छ। हाम्रो वेद अनि इतिहासमा धेरै काम हुन सकेन। हामी यहीँ फेल भयौँ,” उनले भने, “६० को दशकपछि खालि सामाजिक वर्णनमा मात्र काम भयो। थारू कस्तो, राई कस्तो, जनजाति कस्तो भन्ने मात्र भयो। पहिलो पुस्ताका सामाजिक वैज्ञानिकले त्यस्ता काम मात्र गरे।”

नेपाली समाजको सम्बन्धबारे डोरबहादुर विष्टले एक हद्सम्मको अध्ययन गर्न खोजेको ठान्ने कर्ण विष्ट जस्ता अरु सामाजिक वैज्ञानिकले गर्नुपर्ने अध्ययनका धेरै काम भए पनि त्यसो हुन नसकेको बताउँछन्। त्यसयता सामाजिक अध्ययनमा मार्टिन चौतारीले केही हदसम्म काम गरिरहे पनि यस्ता संस्थाको विद्यार्थीमाझ पहुँच कम भएको उनको बुझाई छ। “नेपाली समाजमा के कुरा परिवर्तन भइरहेको छ, इतिहास के छ भन्नेबारे मार्टिन चौतारीले गरेको काम शैक्षिक संस्थासम्म पुग्न सकेको छैन,” कर्ण भन्छन्, “दोस्रो पुस्ताले यो अवस्थालाई केलाएर नयाँ विचारधारा दिने काम गर्नुपर्ने थियो, तर त्यो हुन सकेन। यसले गर्दा हामीले नयाँ पुस्तालाई सोसल साइन्सको महत्त्व नै बुझाउन सकेनाैँ।”

समय यस्तो आएको छ कि अहिलेको पुस्ताका लागि दुई मिनेटको ‘बिट्स एन्ड पिसेस’मा पर्ने क्याची–लाइन नै शाश्वत् सत्य झैँ हुनपुगेका छन्। दुई मिनेटको भिडियो बनाउन जुन प्रक्रिया, अध्ययन, बहस र बुझाइ आवश्यक हुन्छ, नयाँ पुस्ताले त्यसको अनुमान गर्न नसकेको कर्णको बुझाई छ।

“उनीहरूले त बजारमा देखिनुपर्छ भन्ने मात्र बुझे। यसले गर्दा सामाजिक पाटोबाट अलग (डिस्कनेक्टेड) भए। विद्यार्थीलाई सोसल साइन्स र दर्शनको महत्त्व बुझाउन नसक्दा उनीहरू हामीबाट वा हामी उनीहरूबाट अलग भयौँ,” उनले भने।

लेखक कनकमणि दीक्षितका अनुसार मानविकी तथा समाजविज्ञान अध्ययनको महत्त्व यसकारण पनि छ कि समाजलाई प्राज्ञिकदेखि नीतिगत तहमा दखल दिनसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने छ। देशमा राणाकाल अन्त्यसँगै त्यसबेलाको दरबारनजिक रहेका बाहुन र नेवार समुदायका प्रशासक–विद्वान् तथा अर्को खेमामा ब्रिटिश इन्डियाकालीन पटना विश्वविद्यालय पढेका विद्वान्हरूले नेपाल हाँकेको ठान्ने दीक्षित त्यसपछि उपेन्द्रमान मल्ल, प्रयागराज शर्मा जस्ता केही विद्वान् देखापरेको बताउँछन्। पञ्चायतकालपछि भने आधुनिक नेपाललाई चाहिने तौरतरिकाका विद्वान् उत्पादन हुननसकेको उनको बुझाई छ।

“पञ्चायतकालको शुरूमा सिनास, एप्रोक्सजस्ता संस्था खडा भए जसले समाज अध्ययनमा काम गरे। त्यसपछि डोनरहरू नेपाल भित्रिएसँगै तिनको प्रभावका कारण प्राज्ञिक क्षेत्र कमजोर हुनपुग्यो,” उनी भन्छन्, “अक्सर दक्षिणी गोलार्धका विश्वविद्यालयले पश्चिमी विश्वविद्यालयकै पाठ्यक्रम कपी–पेस्ट गरिरहेका कारण पनि समाज अध्ययनको विषय डिस्कनेक्टेड भएको हुनुपर्छ।”

उनको समेत पहलमा खुलेको साउथ एशिया इन्स्टिच्युट अफ हिस्ट्री एन्ड फिलोशपीले समाज, वातावरण र प्रविधि अन्तर्गत गणितसँगै मौसम पूर्वानुमान लगायतका विषयमा अध्ययन–अध्यापन शुरू गरेको छ।

समाज तथा राजनीतिका अध्येता–विश्लेषक हरि शर्माको भने केही फरक धारणा छ। “हिजो समाज सानो थियो, आकार र आयतन सानो थियो, त्यही भएर विद्वान‍्को ओज ठूलो थियो। समाज अध्ययन गर्ने स्वदेशी वा विदेशी विद्वान् रोलमोडल पनि थिए,” शर्मा भन्छन्, “अहिले समाज विज्ञानको विधा धेरै बृहत् भएको छ। समाज जति समतामूलक भयो, रोलमोडलको खोजी पनि त्यति नै कम हुन्छ। व्यापकताको कारण ओज घटेको जस्तो लागेको मात्र हो, धेरै राम्रा नयाँ पुस्ताका विद्वान् हाम्रै वरिपरि छन्।”