ब्याट्रीको प्रयोग बढेको बढ्यै, वातावरण र मानव स्वास्थ्य कसरी जोगाउने?

रिमोट, भित्तेघडी, पेन टर्च, क्यामरा, इन्भर्टरजस्ता वस्तुमा प्रयोग हुने ब्याट्री फोहरमा मिसिएर वातावरणमा पुगेकै थियो, अब ईभीको प्रयोग बढिरहँदा दशकपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने भएको छ।

काठमाडौँ– हात र भित्ताको घडी, टीभीको रिमोट, घरमा बिजुली सञ्चय गरेर राख्ने इन्भर्टर, गाडीको बत्ती वा गाडी स्टार्ट गर्न तथा हर्न बजाउन ब्याट्रीको प्रयोग भइरहेकै थियो। अब त ब्याट्रीले गाडी नै पनि गुडिसकेको छ। विद्युतीय सवारी (ईभी)को युग शुरू भएपछि ब्याट्रीले सवारी साधनको इन्धनलाई विस्थापित गरिरहेको छ।

‘हेबी मेटल’ र रसायनको मेलले बन्ने ब्याट्रीको आयु सकिएपछिको व्यवस्थापनमा भने विज्ञहरूले ठूलो चुनौती देखेका छन्। सरकारले हालै गरेको ‘विद्युतीय सवारी साधनको प्रयोग–पश्चात् ब्याट्रीहरूको समग्र व्यवस्थापन’ (१) शीर्षकको अध्ययनले पनि यसको व्यवस्थापनलाई महत्त्व दिएको छ।

जापानबाट भू–वातावरण इन्जिनियरिङमा विद्यावारिधि गरेका डा. ढुण्डीराज पाठक ब्याट्रीको गम्भीरता बुझ्न बाहिरको अभ्यासलाई नियाल्नुपर्ने बताउँछन्। ब्याट्री र औषधिजस्ता रसायनिक वस्तु वातावरणमा मिसिने हुँदा घरबाट निस्किने फोहरलाई जर्मनीलगायत कतिपय मुलुकमा जोखिमयुक्त श्रेणीमा राखिएको उनको भनाइ छ।

“यस्ता फोहरबाट बनेको मल कृषिमा प्रयोग गर्न दिइँदैन, फूलको क्यारीहरूमा मात्र प्रयोग गर्न दिन्छन्,” डा. पाठक भन्छन्, “ब्याट्रीमा प्रयोग हुने हेबी मेटल र रसायनिक वस्तुहरू वातावरणमा मिसिएपछि दुष्परिणाम सिर्जना गर्छ।”

अहिले प्रयोग भइरहेका लिड एसिडवाला र सुक्खा दुवैखाले ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण रहेको र यसमा पर्याप्त ध्यान नपुगेको उनको भनाइ छ। रिमोट, भित्तेघडी, टेबल घडी, ‘पेन टर्च’ जस्ता वस्तुमा प्रयोग भएका ब्याट्री घरघरबाट फोहरमा मिसिएर वातावरणमा पुग्छ। यस्ता साना ब्याट्रीको संख्या उल्लेख्य भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्ष (२०८१/८२) मा मात्र तीन करोड ३१ लाख ४९ हजार थान यस्ता ब्याट्री आयात भए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १० लाख ४७ हजार ब्याट्री आएका थिए।

यी ब्याट्रीमा ‘म्याङनिज डाइअक्साइड’ भनिने कालो रङको रसायन हुन्छ। युनिभर्सिटी अफ प्रोटोरियाकी प्राध्यापक हेलिना रोलिनको रिसर्च(३) अनुसार म्याङनिज डाइअक्साइड माटोमा मिसिन गए अन्न उत्पादन क्षमता बिस्तारै घट्छ। यसले अन्य वनस्पतिलाई पनि असर गर्छ। त्यस्तै, मानिसमा श्वास र स्नायुसम्बन्धी रोग निम्त्याउँछ।

डा. पाठकका अनुसार सुक्खा खालका (निकेल क्याडमियम) ब्याट्रीमा प्रयोग हुने क्याडमियम हानिकारक हेबी मेटल हो। यो मल वा माटोमा मिसिएर धानखेत पुग्यो भने त्यो चामलमा पनि आउँछ। यस्ता ब्याट्री आर्थिक वर्ष २०८०/८१ मा १४ हजार २३७ र गत आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ८२६ वटा आएको तथ्यांक छ।

लिड एसिड ब्याट्री इन्भर्टरमा पनि प्रयोग हुन्थ्यो। धेरैजसो पेट्रोलियम गाडीमा समेत लिड एसिड ब्याट्री नै प्रयोग हुन्छ। डा. पाठकका अनुसार, वातावरण र मानव स्वास्थ्यका लागि लिड खतरनाक हुन्छ। यस्ता ब्याट्री कवाडीको रूपमा बेच्दा किन्नेले एसिड फालेर बट्टा मात्र लैजान्छ। त्यो एसिड वातावरणमा मिसिन्छ।

यस्तो ब्याट्रीको आयात गत आव २०८१/८२ मा ११ लाख ९५ हजार ४१२ र आव २०८०/८१ मा १० लाख ६५ हजार २६६ थान थियो। भन्सार विभागको तथ्यांक हेर्दा नेपालमा विभिन्न किसिमका ब्याट्रीको आयात बढ्दो छ।

अहिले मोबाइल फोनदेखि ईभीसम्ममा प्रयोग भएर आउने लिथियम–आइअन ब्याट्रीको आयात पनि बढिरहेको छ। यस्तो ब्याट्री आव २०८०/८१ मा १० लाख ५९ हजार ८६० वटा आयात भएका थिए। गत आवमा १३ लाख ९५ हजार ४०६ वटा आयात भए।

अहिले कार्बन उत्सर्जन कटौतीको दृष्टीकोणले ईभीलाई राम्रो मानिए पनि त्यसको ब्याट्रीको आयु सकिएपछि समस्या हुने डा. पाठक बताउँछन्। ती ब्याट्री करिब एक दशकपछि ईभीबाट बाहिर निस्कने हुँदा सरकारसँग अहिलेदेखि नै व्यवस्थापनको रणनीति हुनुपर्छ। “जसरी समस्यासँगै सामाधान पनि आएको हुन्छ, त्यसरी नै समाधानसँग जोडिएर अर्को समस्या आउँछ। एउटा समाधान ल्याउँदा नयाँ समस्याबारे पनि सोचेनौँ भने १०–१५ वर्षपछि फेरि अर्को समस्या आउँछ,” उनी भन्छन्।

अहिले ईभीमा जोड दिएजस्तै, करिब २० वर्षअघि अमेरिकामा सौर्य उर्जाको लहर थियो। तर अहिले सोलार रिसाइकल त्यहाँ टाउको दुखाइ बनिरहेको डा. पाठकले उदाहरण दिए। यस्तोमा, ‘एक्स्टेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी’ (ईपीआर अर्थात्, उत्पादकले नै प्रतिउत्पादनको व्यवस्थापन गर्नुपर्ने) विधि अपनाउन सकिने उनको भनाइ छ।

“ईभी प्रयोग गरेर अहिले हामीले इन्धनको सट्टा कार्वन न्युट्रालिटीमा गयौँ, कालान्तरमा ब्याट्री व्यवस्थापनको समस्या आएपछि ईभी नै ठीक होइन भन्नेतिर मान्छेहरू लाग्छन्। जबकि ईभी बेठिक त होइन नी,” उनी भन्छन्, “समाधान अहिले नै खोज्नुपर्छ। पछि गाडी उत्पादकले नै ब्याट्री फिर्ता लैजाने वा यहाँ व्यवस्थापन गर्दाको लागत बेहोर्ने जस्ता उपाय चाल्नुपर्छ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको ‘विद्युतीय सवारी साधनमा प्रयोग–पश्चात् ब्याट्रीहरूको समग्र व्यवस्थापन’ अध्ययनमा यातायातको विद्युतीकरणले सन् २०३५ सम्म करिब २ गिगाटन कार्बन बचत गर्ने अनुमान गरिएको छ। यो अध्ययनले पनि ‘नेपालका भौगोलिक र आर्थिक अवस्थाले ब्याट्री व्यवस्थापनमा विशेष दृष्टिकोण आवश्यक पारेको’ औँल्याएको छ।

ईभीका वातावरणीय फाइदा धेरै भए पनि तिनलाई हासिल गर्न दीर्घकालीन रणनीति आवश्यक हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ। निर्माता, नीतिनिर्माता र तेस्रो पक्षीय संस्थाहरूले यसलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने पनि जनाइएको छ।

“ईभीको प्रयोग बढ्दै जाँदा ऊर्जा भण्डारणका लागि प्रयोग हुने लिथियम–आयन ब्याट्रीहरूको मात्रा पनि बढ्दै गएको छ, जसले वातावरणीय र व्यवस्थापनसम्बन्धी चुनौती सिर्जना गरेको छ,” प्रतिवेदनमा उल्लेख छ।

आगामी पाँचदेखि १० वर्षभित्र ठूलो मात्रामा ईभी ब्याट्रीहरू अन्त्यकालीन अवस्थामा पुग्ने अध्ययनको प्रक्षेपण छ। ब्याट्रीहरूको उचित व्यवस्थापनका लागि पुनर्चक्रण (रिसाइकल) र पुनः प्रयोग (रि–युज) मा यो अध्ययनले जोड दिएको छ।

त्यस्तै, विज्ञानसम्बन्धी वेब पोर्टल साइन्स डाइरेक्टमा उपलब्ध जर्नल एलसेभियरमा प्रकाशित ‘ब्याट्रीहरूको वातावरणीय पक्षहरू’(२) अनुसन्धानले ब्याट्रीको प्रयोग बढाउनुको उद्देश्य ऊर्जाको व्यवस्थापन र कार्वन उत्सर्जन घटाउनु भए पनि दुश्प्रभावलाई महत्त्व दिनुपर्ने उल्लेख गरेको छ। ब्याट्री उत्पादनको बेला हुने अवान्छनीय उत्सर्जन र प्रयोगपछि नष्ट गर्दा हुने प्रदूषणलाई अध्ययनले औँल्याएको छ। ब्याट्री निर्माण र नष्टको समयमा ‘पानी र धातुसँग सम्बन्धित प्रदूषण’लाई स्वास्थ्य जोखिमसँग जोडेको छ।

त्रिचन्द क्याम्पसकी सहायक प्राध्यापक रसायनशास्त्री डा. ज्योति गिरी नेपालमा ब्याट्रीको रिसाइक्लिङ प्रचलनमा नरहेको बताउँछिन्। रिमोट वा टर्चको ड्राई सेल ब्याट्री वा मोबाइल र ईभीको लिथियम ब्याट्री, कुनैको पनि व्यवस्थापन नभइरहेको उनको भनाइ छ। “अरू नयाँ खालका हाइटेक ब्याट्री पनि आइरहेका छन्। पहिला लिड एसिड ब्याट्री हुन्थ्यो, जसलाई चाहँदा लगानी गरेर रिसाइक्लिङ गर्न सकिन्थ्यो,” उनी भन्छिन्। 

लिड एसिड ब्याट्रीको थोरै मात्रामा रिसाइक्लिङ हुँदा पनि पानीमा लिड गइरहेको छ। त्यस्तै, एसिडबाट माटो र पानीमा एसिडिटी बढेको भेटिएको छ। यसले गर्दा बोटबिरुवा बढ्न छोड्ने र जमिन बञ्जर हुने उनी बताउँछिन।

ब्याट्रीको रिसाइक्लिङ कसरी गर्ने भन्ने अध्ययन र अभ्यास अझै नपुगेको डा. गिरीको भनाइ छ। “शुरूमा वातावरणमा जान नदिन (ब्याट्री) संकलन गरेर राख्नु पर्यो, रिसाइक्लिङ हुने रहेछ भने गर्नुपर्यो,” उनी भन्छिन्, “यो कुरा हाम्रो देशमा अहिले देखिएन। साना आकारका ब्याट्री वातावरणमा गइरहेकै छ।”

ईभीमा आउने लिथियम आइरन ब्याट्री महँगो हुने र ईभी आयातकर्ताले जुन देशबाट आयात गर्छन्, त्यही फिर्ता पठाउने शर्त हुने जानकारीमा आएको डा. गिरी बताउँछिन्। कुनै वस्तुको उपयोग एक ठाउँमा सकिँदा अर्को ठाउँमा प्रयोग हुनसक्ने उनको भनाइ छ। तर वासेल कन्भेन्सन (खतरनाक फोहरको सीमापार आवागमन र त्यसको विसर्जन नियन्त्रण सम्बन्धी बासेल महासन्धि) (४) ब्याट्री फिर्ता पठाउन अवरोध बन्नसक्ने उनी बताउँछिन्।

नेपालले ‘छिमेकी वा अरू देशमा खतरनाक फोहर जानेगरी उत्सर्जित गर्दैनौँ’ भनेर हस्ताक्षर गरेको छ। देशबाहिर पुरानो ब्याट्री पठाउँदा यसको उल्लंघन हुने/नहुने विषयमा पनि ध्यान पुग्न जरुरी रहेको उनको भनाइ छ।

ब्याट्रीलाई उचित तरिकाले नष्ट गर्ने विधिमा धेरै कुरा खोजी हुन बाँकी नै रहेको पनि डा. गिरी बताउँछिन्। “लथियमलाई विषेश तरिकाले नै ह्यान्डिल गर्नुपर्छ। हावाले, पानीले र आद्रताले त्यसलाई प्रभाव पारिरहेको हुन्छ। यस कारण, त्यसको ट्रिटमेन्ट खुला हावापानीमा गर्न मिल्ने या नमिल्ने भन्ने कुरा आउँछ,” उनले भनिन्, “कस्तो ठाउँमा प्रशोधन केन्द्र राखेर खोल्ने, कसरी व्यवस्थापन गर्ने जस्ता कुरा विचारणीय छन्।”  

सरकारले रिसाइक्लिङको लागि प्रविधि र पूर्वाधार आफ्नै ठाउँमा तयार गर्ने र यससम्बन्धी अनुसन्धान गर्ने नीति बनाउनुपर्ने पनि उनले बताइन्। अर्काले बनाएको प्रविधि भित्र्याउँदा त्यससँग जोडिएका समस्या पनि आउँछन्। “कुनै टेक्नेलोजी भित्र्याउँदै गर्दा वा त्यसको आयु सकिएपछि आउने दुष्प्रभावहरूलाई न्यूनीकरण गरेर कसरी हाम्रो सामाज र वातावरणलाई जोगाउने भन्ने सँगसँगै अध्ययन भएर आउनु पर्ने हो,” डा. गिरी भन्छिन्।