विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला?

सुनमा लगानी सुरक्षित मानिएकाले माग बढ्दो क्रममा रहेको र मूल्य घट्ने सम्भावना कमै रहेको जानकार बताउँछन्। यद्यपि, यस्तो अनुत्पादक क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रलाई भने फाइदा नपुग्ने उनीहरूको भनाइ छ।

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला?
फाइल तस्वीर

काठमाडौँ– नेपाली बजारमा गत असोज १२ गते सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनायो। यसअघि भदौ १३ गते पहिलो पटक प्रतितोला दुई लाख नाघेको सुनको मूल्य त्यसयता एक महिनामा नै २२ हजार ६०० रुपैयाँले बढेको हो। 

२०७८ फागुनमा पहिलो पटक एक लाखको आँकडा पार गरेको छापावाल सुनको मूल्य साढे तीन वर्षको अवधिमा एक लाख २१ हजार ३०० रुपैयाँले बढेको छ।

सुन पूर्णतः आयातित वस्तु भएकाले नेपाली बजारको मागले यसको मूल्यमा खासै असर पार्दैन। अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई नै आधार मानेर नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्यसूची सार्वजनिक गर्छ।

अन्तर्राष्ट्रिय बजारमा भने सन् २०२५ यता मात्रै सुनको मूल्य ३५ प्रतिशतले बढिसकेको छ। आयातित वस्तु भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। त्यसमाथि अमेरिकी डलरको विनिमय दर र कर शुल्कले पनि मूल्यमा केही प्रभाव पार्छ।

मूल्य किन बढिरहेको छ?
हालै फाइनान्सियल टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर कटौती गर्ने सम्भावनाका कारण सुनको मूल्य बढेको हो। ब्याजदर घट्दा संसारकै बलियो मुद्रा मानिने अमेरिकी डलर कमजोर हुने, यस्तोमा लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुने गर्छन्। 

सामान्यतया, उच्च ब्याजदर हुँदा लगानीकर्ताहरू सरकारी ऋणपत्र र बैंक निक्षेपमा आकर्षित हुन्छन्। तर, ब्याजदर घट्दा उनीहरू सुनजस्ता लगानीका अन्य विकल्प खोज्न थाल्छन्। यसबाहेक, अन्तर्राष्ट्रियस्तरमा जारी विभिन्न युद्ध र भू-राजनीतिक तनावले पनि सुनको माग बढाउन मद्दत गरेको छ।

विश्व गोल्ड काउन्सिलको युरोप, मध्यपूर्व र अफ्रिका क्षेत्र हेर्ने वरिष्ठ विश्लेषक कृष्ण गोपालले फाइनान्सियल टाइम्सलाई बताएअनुसार, मूल्यवृद्धिको मुख्य कारण विश्वव्यापी रूपमा बढ्दो अनिश्चितता हो। लगानीका लागि पहिलेदेखि नै सुरक्षित मानिएका डलर र ट्रेजरी (सरकारी ऋणपत्र) जस्ता क्षेत्रहरूमा प्रश्न उठ्दा सुनमा स्वाभाविक रूपमा लगानीकर्ताको आकर्षण बढेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्न सक्ने सम्भावनाले महँगी बढ्ने, डलर कमजोर हुने र लगानीकर्ताले सुनलाई अझ सुरक्षित विकल्प मान्ने विश्लेषण गरिएको छ। भौतिक सम्पत्ति र अन्य मुद्राको तुलनामा सुनलाई सुरक्षित मानिन्छ।

यसैगरी, चीन, भारत, टर्की, पोल्यान्ड लगायतका देशका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरेर मौज्दात बढाउने प्रवृत्तिले पनि विश्वबजारमा सुनको माग र मूल्य दुवै बढाएको छ।

वर्ल्ड गोल्ड काउन्सिलले गरेको सर्वेक्षणअनुसार, केन्द्रीय बैंकहरूमा सुनको माग पछिल्लो तीन वर्षमा उल्लेखनीय रूपमा बढेको छ। परिषद्का अनुसार केन्द्रीय बैंकहरूले पछिल्लो तीन वर्षमा वार्षिक रूपमा एक हजार मेट्रिक टनभन्दा बढी सुन भण्डारण गरेका छन्, जुन अघिल्लो दशकको औसत ४००/५०० टनभन्दा उल्लेखनीय रूपमा बढी हो।मुद्रास्फीति, अमेरिकी अर्थतन्त्रको बिग्रँदो अवस्था, फेडरल रिजर्भको स्वतन्त्रता र भू–राजनीतिक अस्थिरता बढ्दै जाँदा संसारको सबैभन्दा सुरक्षित सम्पत्ति मानिने दीर्घकालीन ट्रेजरी बन्डहरू कमजोर बन्दै गएको बताइएको छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि विश्वभर आर्थिक अनिश्चितता छाउँदा लगानीका अन्य क्षेत्रभन्दा सुन सुरक्षित मानिएकाले मूल्य आकासिएको बताउँछन्।

“ट्रम्पको आगमनपछि विश्वमा आर्थिक अनिश्चितता बढ्यो। केमा लगानी गर्दा फाइदा हुन्छ भन्ने निश्चित नभएपछि मानिसहरूले सुनलाई सुरक्षित उपकरणका रूपमा लिए,” उनी भन्छन्, “स्टक बजार जोखिमपूर्ण बन्यो, घरजग्गा व्यवसाय आम मानिसको पहुँच बाहिर गयो र विश्वभर ब्याजदर घट्न थाल्यो। यही कारणले सुनमा आकर्षण बढेको हो।”

सुनमा लगानी सुरक्षित मानिएकाले माग बढ्दो क्रममा रहेको र मूल्य घट्ने सम्भावना कम रहेको उनको विश्लेषण छ। यद्यपि, यस्तो अनुत्पादक क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रलाई भने फाइदा नपुग्ने थापाको भनाइ छ।

कतिसम्म पुग्ने प्रक्षेपण?
अमेरिकास्थित प्रसिद्ध वित्तीय संस्था गोल्डम्यान स्याक्सले लगानीकर्ताको बढ्दो आकर्षणका कारण सन् २०२६ को मध्यसम्ममा सुनको मूल्य प्रतिआउन्स चार हजार डलर पुग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो।

यदि डोनाल्ड ट्रम्पले अमेरिकी फेडरल रिजर्भको स्वतन्त्रतालाई कमजोर पार्ने कदम चालेमा सुनको मूल्य प्रतिआउन्स पाँच हजार डलरसम्म पुग्न सक्ने पूर्वानुमानसमेत गोल्डम्यान स्याक्सले गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।

त्यस्तै, अमेरिकाको सबैभन्दा ठूलो बैंकमध्येको एक, जेपी मोर्गनको प्रक्षेपणअनुसार २०२६ को दोस्रो त्रैमाससम्ममा सुनको मूल्य प्रतिऔँस चार हजार डलर पुग्ने अनुमान छ। प्रक्षेपणअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ४ हजार डलर पुगेमा नेपालमा मूल्य कति पुग्छ त?

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य ३७५८.७० डलर छ। सुनचाँदी जस्ता बहुमूल्य धातुहरू प्रतिऔँस बराबर ३१.१ ग्राम तौल हुन्छ। यीबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। नेपाल र दक्षिण एशियामा प्रयोग हुने परम्परागत १ तोला सुनको तौल ११.६६ ग्राम हुन्छ।

प्रक्षेपणअनुसार नै अन्तर्राष्ट्रिय बजारमा ३१.१ ग्राम सुनको मूल्य चार हजार डलर पुगेमा अहिलेको विनिमयदरअनुसार यसको मूल्य पाँच लाख ६० हजार रुपैयाँ पुग्नेछ। अर्थात्, प्रतितोला सुनको मूल्य दुई लाख १० हजार रुपैयाँ हाराहारी पुग्नेछ।

अझ यसमा १० प्रतिशत भन्सार शुल्क, दुई प्रतिशत विलासिता कर र वाणिज्य बैंकले सुन व्यवसायीलाई लिने एक प्रतिशत शुल्कसहित १३ प्रतिशत बराबर अतिरिक्त शुल्क थपिने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपेशरत्न शाक्य बताउँछन्।

शाक्यका अनुसार, प्रतिऔँस चार हजार अमेरिकी डलर पुगेमा उपभोक्ताले किन्दा प्रतितोला सुनको मूल्य दुई लाख ४० हजार हाराहारीमा पुग्नेछ। यसमा गहनाको डिजाइन हेरेर थप ज्याला, जर्ती लिइने उनी बताउँछन्।

“ढिक्का सुनको मूल्य नै प्रतितोला २ लाख ३५ हजार पुग्नेछ। अर्थात् उपभोक्ताले गहना किन्दा विलासिता करसहित गहना सुनको मूल्य दुई लाख ४० हजार हाराहारीमा हुन्छ, त्यो पनि ज्याला र जर्तीबाहेक,” शाक्यले भने।

सुनको मूल्य बढ्दा चाडपर्वको सिजनमा पनि किनमेल भने निकै घटेको उनी बताउँछन्। “चाडपर्व आएको केही पनि भान नै भएको छैन। बाध्यकारीबाहेक मान्छेहरूले भाउ सोध्छन्, पछि आउँछु भनेर जान्छन्। चाडपर्वजस्तो बजार छैन,” उनले भने।