जेनजी आन्दोलन: निसानामा नेता र व्यापारीका घर, अझै भयभीत छिमेकी

जेनजी आन्दोलनका क्रममा देशका प्रशासकीय र प्रहरी कार्यालय, नेताका घर तथा व्यापारिक भवनसहितका संरचनामा आगजनी गर्दा सिर्जना भएको आतंकले छिमेकमा बस्ने सर्वसाधारण अझै त्रसित छन्।

चन्द्रागिरीस्थित विशाल ग्रुपको गोदाम र स्थानीय। तस्वीरहरू: दिपा/उकालो

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–५ स्थित हाइभिजन कोलोनी। कोलोनीसँगै विशाल ग्रुपको पाँचतले व्यापारिक गोदाम छ। जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते गोदाममा आगो लगाइएको थियो। गोदामबाट बिहीबार साँझसम्म पनि धुवाँ निस्किइरहेको थियो।

धुवाँका कारण कोलोनीमा असुरक्षाको वातावरण कायम थियो। छिमेकीका अधिकांश घर खाली देखिन्थे। कोही स्थानीय मास्क लगाएर धुवाँ नियालिरहेका थिए, कोही भिडिओ खिचिरहेका। सबैको अनुहारमा एउटै प्रश्न झल्किन्थ्यो, “यो आगो कहिले निभ्छ?”

गोदाममा लागेको आगो तीन दिनसम्म पनि निभेको छैन। आगलागीका कारण छिमेकी अझै भयभीत छन्। गोदामसँगै घर भएकी निर्मला रिसालले आगलागीका कारण आफ्नो मन अझै अशान्त भएको बताइन्।

“हाम्रो घरमा पनि आगो लाउँछन् भनेपछि मौन बस्नुपर्‍यो। आगो नलगाउन भनेर सम्झाउन खोजेका थियौँ। तर आन्दोलनकारीले ‘भ्रष्टाचारीलाई सहयोग गर्छौ? बढी बोल्यौ भने तिम्रो घरमै पनि आगो लगाउँछौँ’ भनेपछि चुप लाग्नुपर्‍यो। गोदामबाट रातभर निस्केको धुवाँ र सामान पड्किएको आवाज सुन्दा सुत्नै सकिएन,” उनले भनिन्। 

चन्द्रागिरीस्थित सीजी डिजिटल पार्क जलेपछि पीडित छिमेकी।

आगो ननिभेका कारण अझै पनि आसपासका घर जोखिममा रहेको अर्का छिमेकी भैरव कार्की बताउँछन्। उनी भन्छन्, “आगो लागेको तीन दिन भइसक्यो तर निभेको छैन। भित्र चार वटा गाडी पड्किए। अहिले पनि हाम्रा घर जोखिममै छन्।”

त्यहीँ डेरा बस्दै आएका कान्छालाल घिसिङको पिडा पनि उस्तै छ। “ठूला मान्छेका नाममा हामी साना मान्छे उजाडिनुपर्ने स्थिति आएको छ। कति दिन यसरी अनिँदै बस्ने,” उनी भन्छन्।

आन्दोलनकारीले चन्द्रागिरि नगरपालिका–१२ मा रहेको सीजी डिजिटल पार्कमा आगो लगाउँदा वरपरका ११ घर जोखिममा परे। त्यसमध्ये एक घरमा डेरा बस्ने उर्मिला बुढाथोकीले आगोको डरले निदाउन नसकेको सुनाइन्। “आगो लागेको दिन घरबेटी उकुसमुकुस भएर बेहोस हुनुभयो। अहिले पनि धुवाँ आइरहेकै छ। आन्दोलनकारीले ‘तिम्रो घर पनि उडाउँछौँ’ भनेर धम्की दिएका छन्। त्यसैले निदाउन सकेका छैनौँ,” उनी भन्छिन्। 

छिमेकी शोभा खड्कीले सीजी डिजिटल पार्कका कारण आफ्नो घर पनि जोखिममा परेको बताइन्। जलेर फुटेका सिसा देखाउँदै उनले भनिन्, “हामीले शुरूमा नै आवासीय बस्तीबीच यस्तो अफिस नबनाउन भनेका थियौँ। तर हाम्रो आवाज सुनेनन्। अहिले सीजीकै कारण हामी नै जोखिममा छौँ।”

स्यम्भूस्थित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको जलाइएको घर अगाडी उभिएर गुनासो गर्दै छिमेकी।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको स्वयम्भूस्थित घरमा भदौ २३ गते प्रदर्शनकारीले आक्रमण गरे। यसले छिमेकी रामचन्द्र लामिछाने पनि पीडित भए। उनी भन्छन्, “नेताको घर भनेर पहिले सामान लुटे, गाडी तानेर सडकमा जलाए। अनि घरमा आगो लगाइयो। हामी बसेको घरमा पनि ढुंगामुढा भयो। अहिले पनि त्यस्तै हुन्छ कि भन्ने डरमा बस्छौँ।”

सीतापाइलास्थित उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको घरमा आगो लाग्दा छिमेकीको भागाभाग भयो। एक छिमेकी भन्छन्, “जुलुस आइरहेको छ भन्ने बित्तिकै मैले पसल बन्द गरेर भित्र पसेँ। आँखै अगाडि त्यति ठूलो घरमा आगो लगाइएको दृश्य देख्दा आत्तिएका थियौँ।”

ठमेलमा कांग्रेस नेता प्रकाशमान सिंहको घरमा आगो लाग्दा पर्यटन व्यवसायी शालिग्राम अर्याल पनि त्रसित भए। उनी भन्छन्, “यहाँ सबै घर जोडिएका छन्। त्यहाँ आगो लागेपछि हामी सबैको घरमा आगो लाग्ने निश्चित थियो। त्यस दिन त निभाइयो, तर डर अझै मरेको छैन।”

कांग्रेस नेता प्रकाशमान सिंहको जलाइएको घर।

सिंहको घरसँगै उनका दाइ प्रदीप सिंहको घर थियो। उक्त घरमा पनि तोडफोड गरिएको छ। त्यसले यो घरमा बहालमा व्यापार गरिरहेकालाई मर्का परेको छ। 

व्यवसायी वसन्त चौधरीको घरमा लागेको आगो छिमेकी नवराज गिरीको स्मृतिमा अझै ताजा छ। “हामीले छतबाट पानी नफालेको भए मेरो होटल पनि खरानी हुन्थ्यो। अहिले बचेका त छौँ, तर भयमुक्त भने हुन सकेका छैनौँ,” उनी भन्छन्। चौधरीको घरसँगै उनको विश्वनाथ होटल रहेको छ।  

डल्लुस्थित पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालको घरमा पनि प्रदर्शनकारीले आगो लगाए। उक्त घर जल्न थालेपछि छिमेकी राजु तामाङले आफ्नो घर बचाउन रातभर पानी खन्याउनुपर्‍यो। “किचनमा खाना बनाउँदै थियौँ। आगो हाम्रो घरतिर पनि आइपुग्यो। त्यसपछि निभाउन थाल्यौँ। त्यस दिनदेखि आजसम्म त्रासै छ।”

अर्का छिमेकी दिनेश श्रेष्ठले खनालको घरमा आगो लाग्दा सुरक्षाका लागि आफ्ना बालबालिका र श्रीमतीलाई आफन्तको घरमा लगेर राखेका थिए। अहिलेसम्म पनि उनीहरू घर फर्किएका छैनन्। 

नक्सालमा शंकर ग्रुपले सञ्चालन गरेको हिल्टन होटलमा लगाइएको आगो निभाउन तीन दिन लाग्यो। यो होटलमा आगो लागेपछिको अनुभव सुनाउँदै छिमेकी सुजन कार्की भन्छन्, “तीन दिन अनिँदो भयौँ। अहिले पनि होटल भत्किन्छ कि भन्ने डर छ।”

गैरीधारामा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको घरमा सञ्चालित होटलमा आगो लगाउँदा पेट्रोल पम्पसमेत जोखिममा पर्‍यो। पेट्रोल पम्प संचालक उपेन्द्र भट्टराई, स्थानीय प्रविण श्रेष्ठ र ग्यारेज सञ्चालक राजेशकुमार शाहलगायतले ज्यान जोखिममा राखेर आगो निभाए। शाह भन्छन्, “आगो त निभायौँ, तर त्यो डर अझै ताजै छ।”

नक्सालको भाटभटेनी, विशालनगरको रेल्वे विभाग र चौधरी ग्रुपको कार्यालय जलाउँदा पनि छिमेकीहरू सडकमा भेला भएर रोए, चिच्याए, तर आवाज कतै पुगेन। विशालनगरकी एक छिमेकी महिला नाम नखुलाउने शर्तमा भन्छिन्, “ठूला व्यापारी वा नेताको भ्रष्टाचार छ कि छैन, त्यो त छानबिन होस्। तर उहाँहरूका कारण हामी जस्ता सामान्य मानिस पटक–पटक धरापमा पर्ने गरेका छौँ। हाम्रा लागि यो ठूलो पीडा बनेको छ।”

गैरीधारास्थित कांग्रेस नेता राजेन्द्र बजगाईंको होटल, होटलसँगै रहेको पट्रोल पम्प र स्थानीय।

महाराजगन्जस्थित भाटभटेनीमा पनि प्रदर्शनकारीले आगो लगाएका थिए। सँगै घर भएका एक व्यक्तिले भन्छन्, “सडकमा आन्दोलन, नेताको घरमा आगो, व्यापारीको अफिसमा तोडफोड। यी घटनाका चित्रहरू बाहिर देखिन्छन्। तर पर्दा पछाडिको यथार्थ भने फरक छ। छिमेकी सर्वसाधारण रातभर अनिदो, आकाशभरि धुवाँ, मुटुभरि त्रास, अनि मुखमा केवल मौनता मात्रै छ।” 

उनको अनुभवमा अहिले नेताको वा व्यापारीको घरमा लागेको आगो समाचार बनिरहेको छ, तर त्यस आगोको ज्वालाले पोलिएका साना मान्छेका पीडा हेडलाइन बनेको छैन। उनी प्रश्न गर्छन्, “ठूला मान्छेका नाममा साना मान्छे सधैँ धरापमा पर्नुपर्ने हो त?”