कहाँ ‘हराए’ प्रहरीका ११ सय बन्दुक र जेलबाट भागेका ८ हजार कैदीबन्दी?

जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ।

काठमाडौँ– भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित देशभरका प्रहरी कार्यालयबाट प्रहरीका हतियार लुटिए। प्रदर्शनकारीले एसएलआर, इन्सास र थ्रीनटथ्री राइफल लगायतका हतियार लुटेर प्रदर्शन गरेका, सिंहदरबार गेटलगायतका ठाउँमा तिनै बन्दुक सुरक्षाकर्मीलाई ताकेका भिडियो र तस्वीर सामाजिक सञ्जालमा अहिले पनि छ्यापछ्यापी छन्। त्यस दिन प्रहरी कार्यालयहरूबाट ठ्याक्कै कति हतियार लुटिए? 

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोड तथा त्यहाँबाट लुटिएका हतियार, गोलीगठ्ठा, प्रहरी पोसाकलगायत सामग्रीको विवरण संकलन गर्न डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठन गरेको समितिले अझै आफ्नो प्रतिवेदन बुझाएको छैन। समितिले अहिलेसम्म अध्ययनबाट फेला पारेको विवरण र प्रहरीले आन्तरिक रूपमा गरेको थप खोजबिनबाट भने करिब १३ सय बन्दुक प्रदर्शनकारीले लुटेको देखिन्छ।

भदौ २४ गतेको प्रदर्शन हिंसा र विध्‍वंसमा परिणत हुँदै प्रहरी कार्यालयमा छानीछानी आक्रमण हुन थालेपछि प्रहरीलाई आफ्नै ज्यान जोगाउन धौधौ परेको थियो। त्यहीकारण धेरै ठाउँमा प्रहरीले आफ्ना हातहतियार र सवारीसाधनसमेत जोगाउन सकेनन्।

प्रहरी ऐन २०१२ को दफा ३३, (क), (ख) र दफा ३४ मा आफ्नो साथ–जिम्मामा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमाल र कागजात आक्रमणकारीलाई सुम्पिन नहुने, भाग्न नहुने, त्यसो गरेमा पाँच वर्षदेखि आजन्म कैदसम्मको सजाय हुने व्यवस्था भए पनि प्रहरीले अवस्था यसरी बिग्रियो कि प्रहरीलाई माथिल्लो तहबाट ‘आफ्नो ज्यान, हातहतियार र सवारीसाधन जोगाएर सुरक्षित हुन’, त्यसक्रममा प्रहरी हिरासतमा रहेका थुनुवाहरूलाई समेत छाडिदिन निर्देशन दिइएको थियो। 

“ज्यानै जोखिममा परेर आत्मसमर्पण गर्नुपर्ने वा भाग्नुपर्ने स्थिति बनेपछि अरू कुराको सुरक्षा गर्न सकिएन,” काठमाडौँको एक वृत्तमा कार्यरत डीएसपीले भने, “सुरक्षा रणनीतिमै कमजोरी भएपछि फिल्डमा खटेकाले मात्र थेग्न सक्ने कुरा नै भएन।”

प्रहरी प्रधान कार्यालयले त्यसक्रममा कति हतियार लुटिए भन्ने विवरण सार्वजनिक नगरे पनि एक हजार २७६ बन्दुक (एसएलआर, इन्सास र थ्रीनटथ्री राइफल, पेस्तोल, ग्यास गनलगायत) लुटिएको तथा ९८ हजार ४९१ गोली अभिलेखमा नदेखिएको आन्तरिक रूपमा तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। यसमध्ये आगजनीमा जलेका हतियार, प्रहरीले प्रदर्शन नियन्त्रण गर्न प्रयोग गरेका गोलीगठ्ठा लगायतको विवरण छुट्याइएको छैन। 

null

नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विनोद घिमिरेले के कति हातहतियार लुटिए वा जले भन्ने यकिन विवरण तयार भइनसकेको, समितिले काम गरिरहेको बताए। “कार्यालयमा भएको आगजनीका कारण कतिपय हतियार जलेका छन्, प्रदर्शनकारीले पनि लुटेका छन्। त्यसमध्ये केही हतियार हामीले बरामद गरेका छौँ,” उनले भने। 

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले एक हजारभन्दा धेरै हतियार अभिलेखभन्दा बाहिर रहेको, त्यसमा लुटिएका र आगजनीमा परेका कति हुन् भन्ने यकिन नभएको, करिब २०० बन्दुक बरामद गरिसकेको बताए। अहिले अभिलेखमा रहेका कति गोली नभेटिएको हो भन्ने यकिन भइनसकेको उल्लेख गर्दै उनले भने, “अभिलेख राखिने कतिपय कागजात पनि जलेका छन्। आगजनी गर्न आएका समूहले हतियार भण्डारण गरिएको ठाउँबाटै पनि हतियार लुटेका छन्।” 

८ हजार कैदीबन्दी पनि ‘गायब’
भदौ २४ गतेको हिंसात्मक प्रदर्शन र विध्वंसपछि देशभरका २७ कारागार र ९ वटा बालसुधार गृहबाट कैदीबन्दी पनि भागे। त्यसबेला भागेका १४ हजार ५५५ कैदीबन्दीमध्ये केही फर्केर आएका र केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका भए पनि अझै ८ हजार २२६ कैदीबन्दी सम्पर्कबाहिर छन्। 

यसबाहेक प्रहरी कार्यालयका हिरासतबाट थुनुवा पनि भागेका छन्। कति थुनुवा भागे भन्ने विवरण अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन। कारागारबाट भागेका कैदीबन्दी र प्रहरी हिरासतबाट भागेका थुनुवा समाजमा लुकेर बसिरहँदा प्रहरीबाट लुटिएका करिब ११ सय हतियार पनि फेला नपरेपछि त्यसले सुरक्षा जोखिम बढाएको छ। दशैँ, तिहार र छठ लगायतका चाडपर्वको समयमा समाजमा लुटपाट, डकैती र चोरीका घटना बढ्ने गरेकोमा यसपालि त्यो जोखिम अझ बढ्ने देखिन्छ। 

null

नेपाल प्रहरीका पूर्वएआईजी उत्तम सुवेदी कारागारबाट कैदीबन्दी फरार हुने र प्रहरी कार्यालयबाट लुटिएका हतियार तिनकै हातमा पुग्ने अवस्था सभ्य समाजका लागि असाध्यै घातक हुने बताउँछन्। अहिले यूएई लगायतका देशले नेपालीलाई भिसा दिन बन्द गर्न थालेको घटना यही कारणले निम्तिएको उनको बुझाई छ।

“कतिपय जघन्य अपराधका अपराधीलाई प्रहरीले निकै मिहिनेत गरेर विदेशबाट ल्याउनेदेखि गहन अनुसन्धान गरेर पक्राउ गर्ने काम गरेको थियो। अब उनीहरु भागेर समाजमा पुगेपछि समाज त आतंकित हुने नै भयो,” सुवेदी भन्छन्, “यसबाट समाजमा रहेका अन्य आपराधिक मानसिकता भएका व्यक्तिहरूको पनि मनोबल बढ्छ।”

शान्ति सुरक्षा मजबुत पार्न जतिसक्दो छिटो फरार भएका कैदीबन्दी र थुनुवालाई पक्राउ गर्नुपर्ने, लुटिएका हतियार पनि फिर्ता ल्याउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने, “सभ्य मानिसको हातमा भए ती हतियार अहिलेसम्म फिर्ता भइसक्थे। ती हतियार तिनै भागेका कैदीबन्दी, थुनुवा र आपराधिक व्यक्तिको हातमा पुगेको हुनुपर्छ।” 

प्रहरी प्रवक्ता, डीआईजी विनोद घिमिरे पनि कारागारमा हुनुपर्ने अपराधी समाजमा लुकेर बस्दा सुरक्षा चुनौती थपिएको बताउँछन्। “हामीले खोजीका लागि देशैभर सर्कुलर गरिसकेका छौँ, नागरिक पनि सचेत हुनुपर्‍यो,” उनले भने, “चाडपर्वको समयमा थप असुरक्षा हुन सक्ने भएकाले नागरिकलाई साथमा लिएर गस्ती गरिरहेका छौँ। सबै मिलेर सुरक्षा बलियो बनाउन ध्यान दिनुपर्छ।”

तर यही बेला प्रहरीको मनोबल ह्वात्तै गिरेको छ। जेनजी आन्दोलनका क्रममा तीन जना प्रहरीलाई कुटेर मारिएको, अरू कैयौँ घाइते भएको र प्रदर्शनकारीले आत्मसमर्पण गर्न लगाएर लखेटेकाले कैयौँ प्रहरीको मनस्थिति अझै पनि सामान्य भइसकेको छैन। त्यसमाथि पोसाक, कार्यालय र सवारीसाधन सबै जलाइएकाले गस्ती गर्ने उपाय पनि कठिन बनेको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, एआईजी दानबहादुर कार्की अपराध गरेर फरार भएकाहरूको हातमा हतियार पुग्नु नै जोखिमपूर्ण हुने बताउँछन्। “लुटिएका हतियार नियन्त्रणमा लिन र फरार अपराधी पक्राउ गर्न प्रहरी सक्रिय भइसकेको छ,” उनले भने, “यसमा नागरिकको पनि सहयोग चाहिन्छ। समाजको सुरक्षा गर्ने दायित्व प्रहरीको हो भने नागरिकले पनि आफ्नो कर्तव्य बुझेर अहिलेको अवस्थामा प्रहरीलाई सहयोग गर्नुपर्छ।”