प्रविधिमा द्रुत परिवर्तन भइरहँदा कस्तो होला भविष्यको श्रमबजार?

एआई–प्रविधिसँगै आफूलाई परिमार्जन गर्न नसक्दा हुने डिजिटल विभाजनले नयाँ वर्ग सिर्जना हुने जोखिम छ, जसलाई युवल नोआ हरारीले ‘युजलेस क्लास’ भनेका छन्। यसले विकराल बेरोजगारीलाई संकेत गर्छ।

एआईको सहयोगमा तयार पारिएको तस्वीर।

काठमाडौँ– गाउँमा हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा हलो जोत्ने चलन बिस्तारै हराउँदै छ। योसँगै हलो–जुवा बनाउने, जोत्नेलगायत कृषिजन्य सीप पनि हराउँदै छन्। अब बाली लगाउन ट्याक्टर चलाउन जान्नुपर्ने भएको छ।

यस्तै, शिक्षकले चक र कालोपाटीको सहारामा किताबका पाना पल्टाएर अध्यापन गराउने परिपाटी हट्दै छ। कक्षामा पढाइने विषय अनलाइन, युट्युबतिर पनि पाइने भएपछि पढाइको ढाँचा परिवर्तन गर्नुपर्ने भएको छ। डिजिटल कक्षाकोठा र प्रविधिमैत्री सिकाइको अवधारणा आउन थालेको छ।

नेपालको कृषि र शिक्षा क्षेत्रमा देखिएका सीप–श्रम परिवर्तनका पछिल्ला उदाहरण हुन् यी। यस्ता परिवर्तन निर्माण, स्वास्थ्य, वित्तीयलगायत विभिन्न क्षेत्रमा देखिन थालेका छन्।

नयाँ प्रविधिको आविष्कारसँगै काम गराइका पुराना ढाँचा परिवर्तन हुन्छन्। जस्तो, युरोपको औद्योगिक क्रान्तिले सामाजिक संरचना नै बदलेको थियो। सन् १७६० देखि १८४० सम्मको औद्योगिक क्रान्तिले युरोपमा रोजगारीको क्षेत्र र श्रमिकको जीवनमा उथलपुथल ल्यायो। पारम्परिक कालिगडी कौशल ओझेलमा पर्न थाले र मेसिन चलाउने सीप (जस्तै इन्जिन सञ्चालन)को माग बढ्दै जाँदा हातले चलाइने घरेलु उत्पादन प्रणाली ढल्यो।

मेसिनबाट कम मूल्यका साथै ठूलो मात्रामा वस्तु उत्पादन तथा कार्यसहजता हुन थालेपछि ग्रामीण क्षेत्रका कालिगड र भरिया बेरोजगार बने। उनीहरूले कारखाना प्रणालीको विरोध गरे। आफ्नो जीविका हडपेको भन्दै इंग्ल्यान्डका मजदुरले धागो कात्ने मेसिनहरू तोडफोड गर्ने हिंसात्मक ‘लुडाइट आन्दोलन’ नै चलाए।

कृषि यन्त्रहरू (जस्तै, थ्रेसिङ मसिन) प्रयोग हुँदा बेरोजगार बनेका कृषि मजदुरले ‘स्विङ रिअट’ जस्ता समूह बनाएर कृषि मेसिन नष्ट गर्ने अभियान थाले। तर आन्दोलन गरेर मात्रै जागिर पाउने अवस्था थिएन। त्यसैले उनीहरू मेसिन चलाउन सिक्न थाले। विस्थापित भएकाहरू बजारको मागअनुरुप सीप सिकेर बिस्तारै श्रम क्षेत्रमा फर्किए।

लुडाइट आन्दोलको चित्र

यसरी औद्योगिक क्रान्तिले समाजको संरचना नै बदल्यो। श्रमिक आन्दोलनहरूले श्रम अधिकार, सामाजिक सुरक्षा र कानूनी संरक्षणको माग थाले। यो नै आधुनिक श्रम कानूनको आधार बन्यो।

२०औँ शताब्दीको मध्यतिरबाट कम्प्युटरको युग शुरू भयो। विशेषगरी, सन् १९७० यता कम्प्युटरको उदयले श्रम र श्रमिकको क्षेत्रमा रूपान्तरण गर्‍यो। हातले गरिने पारम्परिक कार्यहरू (जस्तै क्लर्क, डेटा एन्ट्री, सेवालगायत)लाई स्वचालित गरिदियो, जसले यी क्षेत्रका श्रमिकहरू बेरोजगार वा अल्परोजगार बन्न पुगे।

कम्प्युटरले गर्दा डिजिटल प्रविधिको विकाससँगै (सन् २००० पछि) बैंकिङ, आईटी, डिजिटल मार्केटिङका साथै ‘गिग इकोनमी’ फस्टायो। जसले गर्दा स्थायी रोजगारीको सट्टा छोटो अवधिका अस्थायी काम र ‘फ्रिलान्सिङ’ गर्न सकिने भयो। कम्प्युटर र रोबोटहरूले नियमित कार्यहरू जस्तै, बैंक टेलर वा अटोमोबाइल उत्पादनलाई प्रतिस्थापन गरेर रोजगारी घटाइदिए। अब कम कुशल कामदारहरू हट्न थाले। 

विभिन्न अध्ययनअनुसार, कम्प्युटर र प्रविधिले केही रोजगारी विस्थापित गरिरहँदा नयाँ रोजगारी पनि सिर्जना गरेका छन्। उदाहरणका लागि, म्याकिन्सीको एक अध्ययनबाट सन् १९८० देखि अमेरिकामा कम्प्युटर र इन्टरनेटका कारण करिब ३५ लाख रोजगारी गुम्दा एक करोड ९० लाख नयाँ रोजगारी सिर्जना भएको देखिएको छ।

पछिल्लो समय जेनेरेटिभ एआईजस्ता प्रविधि शक्तिशाली भएर उदाए। एआईले आजका कर्मचारीले गर्ने ७० प्रतिशत काम ‘अटोमेट’ गर्नसक्ने म्याकिन्सीकै अर्को प्रतिवेदनले देखाएको छ। अमेरिकाको सरकारी तथ्यांकअनुसार पछिल्ला दुई वर्षमै एकचौथाइभन्दा बढी कम्प्युटर प्रोग्रामिङका जागिर गुमिसकेका छन्। त्यस्ता काममा एआई धेरै प्रभावकारी साबित भएको छ।

एआईको बढ्दो प्रयोगबाट आफ्नो पेसा (विशेषगरी लेखन तथा कला) जोखिममा परेको भन्दै दुई वर्षअघि हलिउडमा हंगामा नै भएको थियो। लेखक र कलाकार गरी हजारौँ हलिउडकर्मी पाँच महिनासम्म धर्नामा उत्रिएपछि अन्ततः फिल्म निर्माता तथा स्टुडियोका अधिकारीबीच सहमति जुटेको थियो।

यसरी एआईले कामको स्वरूप, रोजगारीको संरचना, सीपको माग र श्रमिक अधिकारसम्बन्धी नयाँ चुनौतीहरू सिर्जना गरेको छ। कम्प्युटर सफ्टवेयर, डेटा एनालिटिक्स, एआई जस्ता क्षमता अहिले अपरिहार्य बनेका छन्। यसले ‘डिजिटल विभाजन’ सिर्जना गरेको छ। जसको पहुँच र प्रशिक्षण छ, उनीहरू अगाडि बढ्दा बाँकी चाहिँ श्रम बजारबाट विस्थापित हुने जोखिम छ।

इजरायली लेखक तथा इतिहासकार युवल नोआ हरारीले यसरी विस्थापित हुने वर्गलाई ‘युजलेस क्लास’ अर्थात् बेकार वर्ग भनेका छन्। आफ्नो पुस्तक ‘२१औँ शताब्दीका लागि २१ पाठ’मा उनी लेख्छन्, “प्राविधिक क्रान्तिले चाँडै नै अर्बौं मानिसलाई श्रम बजारबाट बाहिर धकेल्नेछ र सिर्जना गर्नेछ ठूलो नयाँ बेकार वर्ग।”

जागिर जोगाउन चुनौती
विश्व आर्थिक मञ्चले हालै प्रकाशन गरेको ‘रोजगारीको भविष्य प्रतिवेदन २०२५’ मा आगामी पाँच वर्षमा ९ करोड २० लाख रोजगारी गुम्नसक्ने अनुमान गरिएको छ। प्रविधि क्षेत्रमा एआईका कारण ठूला परिवर्तन देखिने छन्। यद्यपि, सन् २०३० सम्म हालको रोजगारीको १४ प्रतिशत, अर्थात् १७ करोड नयाँ रोजगारीसमेत सिर्जना हुनेछन्।

त्यस्ता नयाँ रोजगारीमा सबैभन्दा धेरै एआई र मेसिन लर्निङ स्पेसलिस्ट ८२ प्रतिशतले बढ्नेछन्। डेटा एनालिस्ट तथा साइन्टिस्ट ४१ प्रतिशत, बिजनेस इन्टेलिजेन्स एनालिस्ट ३१ प्रतिशत, सप्लाई चेन स्पेसलिस्ट ३० प्रतिशत र सस्टेनेबिलिटी स्पेसलिस्ट ३४ प्रतिशतले बढ्ने छन्। यस विपरीत विस्थापित हुने पेसामध्ये प्रशासनिक सहायक २० प्रतिशत, डाटा इन्ट्री क्लर्कहरू ४० प्रतिशत र फ्याक्ट्री वर्कर ५ प्रतिशतले घट्ने छन्।

हाल ४८ प्रतिशत कार्य मान्छेले, २६ प्रतिशत प्रविधिले र २६ प्रतिशत दुवैको संयोजनमा हुँदै आएको छ। अबको पाँच वर्षमा ३३ प्रतिशत मानव, ३४ प्रतिशत प्रविधि र ३३ प्रतिशत दुवैको संयोजनमा हुने प्रक्षेपण गरिएको छ। यस तथ्यांकअनुसार अहिले मान्छेले गर्ने काम अबको पाँच वर्षमा ह्वात्तै घट्नेछ। मानिसलाई आफ्नो जागिर जोगाइराख्न चुनौती हुनेछ।

एआईद्वारा निर्मित

हरारी भने रोजगारीमा टिकिरहन प्रासंगिकताको कुरा गर्छन्। जसरी मानिसले विगतमा शोषणविरुद्ध संघर्ष गर्नुपरेको थियो, २१औँ शताब्दीमा शोषित हुनुभन्दा पनि ठूलो संघर्ष अप्रासंगिकताको हुने छ। पुराना जागिरहरू हराउँदै जाँदा नयाँ जागिर देखा पर्नेछन् र ती पनि द्रुत गतिमा परिवर्तन हुनेछन्। नयाँ सीप छिटो सिक्न कोही सक्षम हुन्छ या हुँदैन भन्ने विषयले रोजगार हुने वा बेकार वर्गमा धकेलिने निर्धारण गर्नेछ।

इकोनोमिक फोरममा प्रकाशित एक लेखमा हरारीले भनेका छन्, “मानौँ, ५० वर्षीय ट्रक चालकले स्वचालित सवारी साधनको कारण भर्खरै आफ्नो जागिर गुमाउनुपर्‍यो। अब सफ्टवेयर डिजाइन गर्ने वा इन्जिनियरलाई योग सिकाउने नयाँ कामहरू छन्। तर ५० वर्षीय ट्रक चालक कसरी आफूलाई सफ्टवेयर इन्जिनियर वा योग शिक्षकको रूपमा ढाल्न सक्छ?”

एआई र अटोमेसनको द्रुत विकासले यस्तो अवस्था एक पटक मात्र नभएर जीवनभर बारम्बार भोग्नुपर्ने हुनसक्ने उनको भनाइ छ।

यस्तै, वर्ल्ड बैंक ग्रुपको अध्ययन प्रतिवेदन ‘फ्युचर जब’का अनुसार प्रविधिले रोजगारी सिर्जनालाई बढाए पनि दक्षता अन्तर र जनसंख्या परिवर्तनले चुनौती थपेको छ। नयाँ नीतिहरू बनाएर यस्ता चुनौतीलाई समाधान गर्न प्रतिवेदनले सुझाव दिएको छ।

परिमार्जन जरुरी
चुनौतीका बाबजुद पनि व्यक्तिगत, नीतिगत परिमार्जन गरी बदलिँदो प्रविधिसँग जुध्न सकिने यस क्षेत्रका जानकार तथा विज्ञहरूको भनाइ छ। माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले तीन वटा जागिर उल्लेख गरेका छन्, जुन उन्नत एआईले पनि अहिले वा १०० वर्षमा हटाउन सक्ने छैनन्। यसमा कोडिङ, जीवविज्ञान र ऊर्जा क्षेत्रका जागिर समावेश छन्।

बिल गेट्सका अनुसार कोडिङ गर्नु भनेको केवल टाइप गर्नु मात्र नभएर गहिरोसँग सोच्नु पनि हो। प्रोग्रामिङका कठिन समस्या बुझ्न, मानसिक सम्बन्ध बनाउन र रचनात्मक रूपमा समाधान गर्न आवश्यक हुन्छ, जसका लागि मानव मस्तिष्क आवश्यक हुन्छ। उनी भन्छन्, “कुनै पनि एल्गोरिदमले मानव कोडरको रचनात्मक छलाङसँग मेल खाँदैन।”

एआईले डेटा विश्लेषण गर्न र रोगहरू निको पार्न मद्दत गरिरहेको भए पनि यसले अझै नयाँ वैज्ञानिक सिद्धान्त सिर्जना गर्न वा नयाँ खोज गर्न नसक्ने उनको भनाइ छ। ऊर्जा क्षेत्र तेस्रो क्षेत्र हो जसको काम एआईले प्रतिस्थापन गर्न सक्दैन। “एआईले दक्षता सुधार गर्न सक्छ, तर योजना बनाउन, संकटको समयमा चीजहरू व्यवस्थापन गर्न र दीर्घकालीन रणनीतिका लागि मानवीय विशेषज्ञता चाहिन्छ, जुन एआईले गर्न सक्दैन,” उनी भन्छन्।

null

भविष्यको श्रम बजार कस्तो हुने भन्ने कुरा अहिले बहसको विषय बनेको छ। गत फेब्रुअरीमा दुबईमा सम्पन्न ‘वर्ल्ड गभरमेन्ट समिट’मा पनि यसबारे छलफल भएको थियो। गुगलका सीईओ सुन्दर पिचाईले सन् १९४० पछि सिर्जना गरिएका ६० प्रतिशत रोजगारी पहिले अस्तित्वमा नभएकाले नवीनतम प्रविधिले श्रम बजारको निरन्तर पुनर्जागरण हुने बताएका थिए।

पिचाईले युट्युब सामग्री निर्माताहरू (कन्टेन्ट क्रिएटर) जस्ताको उल्लेख गरे, जुन डिजिटल युगअघि अकल्पनीय पेशा थियो। “प्रविधिले कामको प्रकृतिलाई रूपान्तरण गरिरहेको छ, तर मानव तत्व (हाम्रो रचनात्मकता, सहानुभूति र नवीनता ल्याउने क्षमता) सधैँ केन्द्र भागमा हुन्छ,” उनले भने।

यस्तै, केही वर्तमान भूमिका/पेसा अनिवार्य रूपमा गायब हुनुका साथै नयाँ उद्योग र पेसाको उदयको अत्यधिक सम्भावना पनि रहेको बताए। तर यसका लागि सरकार, समाजले अनुकूलन र सही सीपमा लगानी गर्नुपर्ने उनको भनाइ छ।

विकसित देशमा हुने मेसिनलगायत भौतिक सामग्रीको प्रयोग नेपालजस्ता कम विकसित वा अविकसित मुलुकमा प्रवेश गर्न केही समय लाग्छ। तर इन्टरनेट र कम्प्युटरको माध्यमबाट सफ्टवेयर तथा मोबाइल एप्लिकेसनमार्फत गरिने काम र त्योसँग जोडिएको सीपमा भने बाहिरी विश्वसँगै नेपाल पनि सिधै प्रभावित भइरहेको काठमाडौँ विश्वविद्यालयका प्रा. बालकृष्ण बाल बताउँछन्।

एआईसँगै विकसित भइरहेका नवीन प्रविधिले निकट भविष्यमा रोजगारीको परिदृश्य नै बदल्ने र त्यसको असर नेपालमा पनि परिरहेको प्रा. बालको भनाइ छ। उनी भन्छन्, “जस्तो, पहिले प्रपोजल राइटिङ, कन्टेन्ट राइटिङका लागि हामी कसैलाई हायर गर्थ्याैं अहिले कुनै एआई टुलले त्यो काम सजिलै निकै कम समयमा गरिदिन्छ। भनेपछि एआईका कारण त्योसँग सम्बन्धित काम खोसियो नि त।”

तर उनी यस सँगसँगै नयाँ जागिर सिर्जना हुने भएकाले आत्तिहाल्ने अवस्था नरहेको समेत बताउँछन्। कम्प्युटर, क्यालकुलेटरको आविष्कार भएपछि धेरै जना अब सबै काम त्यसैले गरिदिने भयो भनेर आत्तिए। पछि कम्प्युटरकै कारण नयाँनयाँ रोजगारी सिर्जना भएकाले एआईको हकमा पनि त्यस्तै हुने उनको आकलन छ।

“अहिले हामीले अनुमान नै नगरेका सोच्दै नसोचेका रोजगारी आउनेछन्। श्रमको मोडेल नै परिवर्तन हुनेछ,” प्रा. बाल भन्छन्, “त्यसका लागि हामीले एनालाइटिकल हुनुपर्‍यो र श्रम बजारको मागसँगै आफूलाई परिमार्जित गराइराख्नु पर्‍यो।”

विकसित हुनु र विकासको गतिमा अगाढी बढ्नु प्रकृति र समाजको सार्वभौम नियम हो l मानिसले आफ्नो आवस्यकता पुरा गर्न २६ लाख वर्ष पहिला औजार प्रयोग गर्न थाले संगै उत्पादन(आर्थिक) र सास्कृतिक पक्षको उत्विकास भयो l जुन आजपनि निरन्तर रुपमा परिस्कृत र विकसित हुदैछ l जंगली आवस्थाबाट कृषिमा फड्को होस् ; १८औ र १९औ सताब्दीको पहिलो औधोगिक क्रान्ति वा अहिलेको AI सहितको चौथो औधोगिक क्रान्ति नै किन नहोस यी सवै त्यसैको निरन्तरता हो l यसको विकास टुंगिने भन्दापनि आझ परिस्कृत र उच्च स्तरको विकास तर्फ नै जाने हो l यो चिन्ता गर्नु पर्ने विषय हैन अझ खुसि हुने विषय हो l रह्यो वेरोजगार र असमानताको कुरा l यो प्रविधिको विकासले भन्दा पनि प्रविधिमा व्यक्तिको नियन्त्रणले गर्दा समस्या भएको हो l प्रविधिको विकास सामुहिक तथा ऐतिहासिक हुने तर त्यसमा निजि स्वामित्व हुदा मानव समाजमा तथा पृथ्वीको अस्तित्वमा नै संकट आएको हो l प्रविधि तथा उत्पादनमा असमान वितरण प्रणालीले गर्दा सामस्या भएको हो l छलफलको विषय कसरी उत्पादनको वितरणलाई आम मानिसको पहुचमा पुर्याउने भन्नेमा केन्द्रित हुनु पर्दछ न कि प्रविधिको बिकासले समस्या पर्यो भन्नेमा l

Gopal prasad Ghimire

2 months, 3 weeks ago