कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?
काठमाडौँ– कांग्रेस केन्द्रीय समिति बैठक शुरू भएको २५ दिन पुगिसकेको छ र तत्कालै सकिइहाल्ने छाँट छैन। केन्द्रीय सदस्यले बोल्ने क्रम लम्बिँदै गएको छ, यसको प्रमुख कारण हो– महाधिवेशनको अजेन्डा।
महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका करिब दर्जन अजेन्डा प्रस्तुत गरेका थिए। तर सबैभन्दा पेचिलो बहस महाधिवेशन आयोजनाको अजेन्डामा भएको छ। विशेष वा नियमित महाधिवेशन र निर्वाचन घोषणा गरिएको मिति फागुन २१ अघि वा पछि भन्नेमा बहस केन्द्रित छ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी प्रतिनिधिसभाको निर्वाचनमा जानुपर्ने दबाबका बाबजुद कांग्रेसको संस्थापन पक्ष निर्वाचनपछि मात्रै महाधिवेशन गर्न जिद्दी गरिरहेको छ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन्। नियमित महाधिवेशन नै भए पनि निर्वाचनका लागि घोषित मितिअघि गर्नुपर्ने मत अहिलेसम्म बोल्ने कतिपय केन्द्रीय सदस्यले राखेका छन्।
संस्थापन पक्षचाहिँ केन्द्रीय समितिको बहुमतबाट पेलपाल गरी महाधिवेशन टार्न खोजिरहेको देखिन्छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साथै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री महेन्द्र यादवलगायत नेता निर्वाचनअघि महाधिवेशन हुन नदिने अडानमा देखिन्छन्।
संस्थापन पक्षकै कतिपय केन्द्रीय सदस्य चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि खुल्न समय लागेको महामन्त्री गगन थापा बताउँछन्। “संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै महाधिवेशन नगरी चुनाव जित्ने त परको कुरा क्षेत्रमा पाइला टेक्न पनि सकिँदैन भन्ने, तर सार्वजनिकरूपमा बोल्न डराउने अजीबको अवस्था छ,” महामन्त्री थापाले उकालोसँग भने, “तर बिस्तारै खुल्दै जानुभएको छ।”
आगामी पुसमा नियमित नभए विशेष महाधिवेशन हुने थापाको दाबी छ। “पुस महिनामा विशेष गर्ने कि नियमित गर्ने छान्न कार्यवाहक सभापतिलाई भनिएको छ,” उनी भन्छन्, “पुसमा महाधिवेशन त भयो–भयो।”
निर्वाचनपछि मात्र महाधिवेशन गर्ने समाचार सामाजिक सञ्जालमा शेयर हुँदा कांग्रेस शुभचिन्तकहरूबाट कमेन्टमा आलोचनाको वर्षा नै हुन्छ, तैपनि नेताहरू किन निर्वाचनअघि महाधिवेशन चाहँदैनन त? महामन्त्री थापानिकटस्थ नेता तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी महाधिवेशनको विषय निर्वाचनमा टिकट वितरणसँग सम्बन्धित भएको बताउँछन्।
महाधिवेशन नहुँदा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा अहिलेकै पदाधिकारीको भूमिका प्रमुख हुन्छ। महाधिवेशन भए त्यसपछि आउने नेतृत्व टिकट वितरणमा हाबी हुन्छ। महाधिवेशनको विषय पार्टी नेतृत्वसँग पनि सम्बन्धित भएको सुवेदीको भनाइ छ। “केहीले महाधिवेशन अर्को मंसिरसम्म घिसार्न सके आफै सभापति भइहालिन्छ कि भनेर मनमा लड्डु फुटाइरहेका छन्,” उनी भन्छन्।
अहिले महाधिवेशनलाई निर्वाचनपछि लैजान खोज्ने नेताहरू पहिलो संविधानसभा चुनाव (२०६४ साल) देखि नै टिकट दिने हैसियतमा छन्। समानुपातिकमार्फत सांसद बनाउने पनि उनै छन्। “विशेष होस् वा नियमित महाधिवेशन सभापतिमा गगन थापा नै निर्वाचित हुने माहोल छ,” सुवेदी भन्छन्, “त्यसपछि त आफ्नालाई टिकट दिलाउने हैसियत रहँदैन भन्ने चिन्ता हो।”
कार्यवाहक सभापति खड्का र नेता सिटौला चाहिँ महाधिवेशन एक वर्षपछि धकेल्न सके शेरबहादुर देउवाको उत्तराधिकारी आफै बनिने आशमा छन्। खडकालाई कार्यवाहक दिएर सिंगापुर लागे पनि पार्टीको लगाम देउवाकै हातमा छ। १५औँ महाधिवेशनमा श्रीमती आरजु राणा देउवा स्थापित हुनेगरी आफ्नै बफादारलाई उत्तराधिकारी बनाउने देउवाले नछाडेको नेताहरू बताउँछन्।
पार्टीको महाधिवेशन फागुन २१ ‘पहिले गर्ने’ र ‘पछि गर्ने’ भन्ने दुई प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा औपचारिक रूपमा आएको छ। विधानअनुसर, यही मंसिरमा कांग्रेस कार्यसमितिको चार वर्षे कार्यकाल सकिन्छ। विशेष अवस्थामा एक वर्ष थप गर्ने विधानमा व्यवस्था छ।
जेन–जी आन्दोलनपछि कांग्रेस र एमाले सत्ताबाट विस्थापित भएर असाधारण परिस्थितिबीच अन्तरिम सरकार बनेको हुँदा अहिले विशिष्ठ राजनीतिक अवस्था सिर्जना भएको विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्। “विघटित प्रतिनिधिसभामा प्रतितिधित्व गर्ने सबै राजनीतिक पार्टीहरू अविलम्ब महाधिवेशनमा जानुपर्छ,” उनी भन्छन्, “महाधिवेशनबाट विगतमा अनुशरण गरेका नीति र नेतृत्वको बारेमा गम्भीर बहस, आत्मसमीक्षा र आत्मालोचना गर्नु अपरिहार्य छ र नयाँ नेतृत्व र नीतिको आधारमा आसन्न चुनावमा जानु उपयुक्त हुन्छ।”
यदि नयाँ नीति र नेतृत्वको आधारमा जनतामा गएनन् भने पार्टीहरूको औचित्य र भविष्यको बारेमा समेत गम्भीर प्रश्नचिन्ह खडा हुन सक्ने आकलन विश्लेषक वाग्लेले गरेका छन्।
वाग्लेका अनुसार, पार्टीको सत्ता फुत्किने कुराबाट डराएको संस्थापन निर्वाचनअगाडि महाधिवेशन गर्न चाहिरहेका छैनन्। महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा अहिलेको नेतृत्वमार्फत चुनावमा जान नसकिने बताइरहेका छन्। दुई कार्यकाल सीमाका कारण देउवा सभापतिको उम्मेदवारै हुन नपाउने भएपछि उनको समूहबाट अरू कोही सभापति बन्ने सम्भावना छैन। वाग्लेका अनुसार, 'महाधिवेशन हुनु भनेकै गगन थापा सभापति हुनु हो' भन्ने संस्थापन पक्षको बुझाइ छ।
आफूले केन्द्रीय समिति बैठकको सभापतित्व गरिरहेकाले त्यहाँ छलफलमा रहेका विषयमा अभिव्यक्ति दिन नमिल्ने कार्यवाहक सभापति खड्काले उकालोलाई प्रतिक्रिया दिए। खड्काले सहमहामन्त्री यादवले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिका व्यक्तिगत भएको बुधवार बैठकमा जानकारी गराएका थिए।
जेन–जी आन्दोलनपछि कांग्रेसमा पार्टी संगठनभित्रको प्रतिपक्ष, पार्टीभित्रको आन्तरिक मुद्दा मात्र फेरिएको छैन, कार्यकर्ता तहसम्म परिवर्तन पक्षधरको संख्या बढेको छ। १४औँ महाधिवेशनपछि केन्द्रीय समितिमा प्रतिपक्षीको भूमिकामा पुगेका नेता डा. शेखर कोइराला आफूले मध्यमार्ग कायम राखेर दुई पक्षको हुलमुलमा पार्टी नेतृत्वमा पुग्ने मौका पाइहाल्ने दाउ राखेको कतिपय नेताहरू बताउँछन्।
अहिले महामन्त्री थापा नै संस्थापनसँग आमनेसामने देखिएको विश्लेषक वाग्लेको भनाइ छ। दुईवटा ध्रुवको बीचमा समन्वयकारी भूमिका गरेर कोइराला नेतृत्वमा आउने प्रयासमा लागेको हुन सक्ने, तर यसबाट उनले उल्टै कार्यकर्ताको विश्वास गुमाउने वाग्ले बताउँछन्।
‘परिवर्तनलाई स्वीकार गर्न नसकेको’
अहिले संस्थापन भनिएको पक्ष भदौ २३ र २४ गते केही पनि नभए जसरी प्रस्तुत भइरहेको प्राध्यापक उद्धव प्याकुरेलको टिप्पणी छ। तर सभापति देउवाले पद छोड्ने अवस्था त्यही आन्दोलनका कारण आएको उनको भनाइ छ।
“पार्टी सानो भए होस्, तर ठूलो बनाएर राम्रो गरेको श्रेय कसैले नपाओस् भन्ने मनोदशाबाट पीडितजस्तो लाग्छ संस्थापन पक्ष। अघिल्लो महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण सिटौलाले नेतृत्व फेर्ने कुरामा चुनौती गर्नु नै भएको थियो,” प्याकुरेल भन्छन्, “यस आन्दोलनले धेरै कुरालाई अर्को तरिकाले हेर्नुपर्ने वातावरण बनाइदिएको छ। नेताहरूको सांसद पद गएको छ, सभापतिजीले घर र देश छोडेर हिँड्नु परेको छ। पार्टीलाई पुनर्जीवित गरेर जाने हो भने अधिवेशन गरेर बढ्नुपर्छ।”
देउवाले विशेष परिस्थितिमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेजस्ता युवालाई अगाडि बढाउनुपर्छ भनेर नयाँ सन्देश दिएको भए फरक अवस्था हुने प्याकुरेल बताउँछन्। “तर त्यो नभनेर गएकोले एक खाले भाष्य सिर्जना गर्ने प्रयास भइरहेको छ। कार्यवाहक सभापति पनि उहाँले पूर्णबहादु खड्कालाई छाडेर जानुभयो,” उनी भन्छन्।
जुनसुकै अवस्थामा पनि पार्टीमा आफ्नो वर्चश्व कायम होस् भन्ने मनोविज्ञन कांग्रेसका पुराना नेताहरूमा हाबी भएको राजनीतिक विश्लेषक विजयकान्त कर्ण बताउँछन्। “कांग्रेसभित्रको सबभन्दा प्रमुख समस्या, पुरानाले परिर्वतनलाई स्वीकार गर्न सकेका छैनन्। चुनावमा टिकट वितरणदेखि अरू कुराहरूमा आफ्नै वर्चश्व रहोस् भन्ने चाहन्छन्। पार्टीको हैसियत र आकार गुमोस कि रहोस् त्यसको मतलब छैन,” कर्णले भने, “कांग्रेस महाधिवेशन गरेर नयाँ नेतृत्व साथ जाँदैन भने जनता पुरानै नेतृत्व स्वीकार गर्न तयार छैनन्, अहिलेको परिप्रेक्ष्यमा युवासँग जोड्ने सेतु बन्न सक्ने नेतृत्व चाहिन्छ।”
नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको संस्थापन पक्षकै कतिपय नेता पनि स्वीकार गर्छन्। गत सोमबार कार्यवाहक सभापति खड्कासँगको छलफलमा संस्थापन पक्षका कार्यसम्पादन समिति सदस्यहरू फर्मुल्लाह मन्सुर, भिष्मराज आङदम्बे, रमेश रिजाल र जिपछिरिङ लामाले फागुन २१ को निर्वाचनअगाडि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिए। मन्सुर र आङदम्बे १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन्।
विशेष महाधिवेशन गरी थापालाई पार्टी सभापति बनाएर उनकै नाम भावी प्रधानमन्त्रीमा अघि सार्नुपर्ने मन्सुरले केन्द्रीय समिति बैठकमा बताएका थिए। सहमहामन्त्री डिना उपाध्यायले पनि महाधिवेशनको विवाद टुंग्याएर निर्वाचनमा जानुपर्ने मत राखेकी छन्। महाधिवेशन गरेर नयाँ नेतृत्वसहित कांग्रेस निर्वाचनमा जानुपर्ने नेतृ सुजाता कोइरालाले बताइन्। पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी र देवराज चालिसेलगायत १७ नेता हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय पुगेर विशेष महाधिवेशनको निवेदन दर्ता गराउनेमा सामेल थिए।
सोमबारयता केन्द्रीय समित बैठकमा बोल्ने १२ जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले विधानतः समय आइसकेकाले महाधिवेशनबारे बहस गर्नुभन्दा कार्यतालिका सार्वजनिक गरेर नियमित अधिवेशनमा जानुपर्ने तर्क गरेका छन्। उदयशमशेर राणा, जीवनबहादुर शाहीलगायतले विशेष महाधिवेशन गर्दा पार्टी विग्रहतर्फ जाने जोखिम देखाउँदै नियमित अधिवेशनमा जोड दिएका छन्।
महामन्त्री थापा भने खुल्ला बहस र छलफलका माध्यमले दलहरूको रूपान्तरणका लागि बोलिरहेको देखिन्छन्। बुधबार साँझ उनले फेसबुकमा हालेको एउटा भिडियोमा भनेका छन्, “पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन नभएको मात्र होइन, हाम्रो विरुद्ध भयो। के यो कुरा बिर्सेर अगाडि बढ्न सकिन्छ? हामी संसद्को पहिलो पार्टी र सत्ता पक्ष थियौँ, आज न सत्ता न प्रतिपक्ष हौँ, सडकमा आयौँ।”
दिउँसो केन्द्रीय समिति बैठकमा उनले दुई महामन्त्री उम्मेदवार बन्न नपाउने शर्तमा पनि चुनावअघि महाधिवेशन गरेर जानुपर्ने स्वीकार रहेको बताएका थिए।
दुई कित्तामा स्पष्ट फरक
अर्का विश्लेषक इन्द्र अधिकारी नियमसंगत र चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन र नेतृत्व जिम्मेवार तथा जवाफदेही हुँदा ‘महाधिवेशन बेलैमा हुनुपर्ने’ माग नै बन्न नपर्ने बताउँछिन। “नेतृत्वको सक्षमता मापन गर्ने एउटा आधार संगठन कसरी सञ्चालित छ र त्यसमा परिवर्तनका लागि नयाँ नेतृत्व बनाउन उसको भूमिका के छ भन्ने पनि हो,” उनी भन्छिन्, “नेतृत्व भन्ने कुरा आफू मात्र नेता भइराख्ने होइन, नेता जन्माउने पनि हो। महाधिवेशन बेलैमा गर्नुपर्ने माग आउनुले नै आदर्श मानिएको पुरानो र लोकतान्त्रिक पार्टीप्रति प्रश्न उठ्छ।”
परिस्थिति प्रतिकूल नै भएर महाधिवेशन हुन सकेन भने पार्टी नै अवैधानिक हुने त भन्ने एउटा आधार सिर्जना भएकोले एक वर्ष महाधिवेशन टार्न सक्ने व्यवस्था गरिएको छ। तर त्यसका लागि पर्याप्त र औचित्यपूर्ण देखाउनुपर्ने उनको भनाइ छ।
मंसिरमै महाधिवेशन गर्न आन्तरिक तयारी नपुग्ने र आमनिर्वाचनको तयारी पनि गर्न नसकिने संस्थापन पक्षको तर्क रहेको अधिकारी बताउँछिन्। “तर नसोचेको परिस्थितिमा चुनावमा जानु परेको कारण हेर्दा जेन–जी आन्दोलनले अहिलेको नेतृत्वलाई नै नकारेको हो नी त। त्यही नेतृत्वमा चुनावमा जानु पार्टीको भविष्यको चिन्ता नलिनु हो,” उनी भन्छिन्।
विश्लेषक अधिकारीका अनुसार, अहिलेकै नेतृत्वलाई मानेर जाने हो भने कांग्रेसले परिवर्तनलाई आत्मसात गरेको मान्न सकिँदैन। सांगठानिक परिवर्तन, नेतृत्व र विधिविधानको परिवर्तनसहित सन्देश लिएर निर्वाचनमा नगए कांग्रेसलाई समस्या पर्ने उनी बताउँछिन्।
पार्टीका दुई पक्षलाई हेर्दा उनीहरूको विचारको कित्ता छुट्टिने अधिकारीको भनाइ छ। “जनताको अपेक्षा अनुसार पार्टी संरचनामा पुगेका संघर्षशीलहरू र अब पनि केही गर्न सकिन्छ भन्ने आशा दिनसक्ने मान्छेहरू एकातिर छन्,,” उनी भन्छिन्, “अर्कोतिर पुच्छर समातेर मात्र पार्टीमा टिक्न सक्छु भन्ने बुझेका, नेतृत्वलाई रिझाएर कायम गरेको हैसियत गुम्ने सम्भावना भएका, विरासतका आधारमा फलानोका छोरा हुँ भन्नेहरू छन्।”
नेतृत्वलाई रिझाएर ठाउँ अगोटेकाहरू र परिवर्तनलाई नेतृत्व दिन सक्नेबीचको वैचारिक लडाइँ कांग्रेसभित्र यतिखेर मुखर भएको अधिकारीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
