केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।
आकस्मिक उलटफेरपछि मुलुकको राजनीति अब कता मोडिएला र कहाँनिर अवतरण होला भन्ने कुनै पत्यारिलो संकेत देखिइसकेको छैन। धुमिल संकेतहरूलाई पत्यारमा बदल्नेगरी न कुनै व्यक्ति/दल वा विद्वानले दृष्टि दिन सकेका छन्, न यो अन्तरिम कालको औचित्य पुष्टि र यसको उपयुक्त अवतरणमा कसैको ध्यान दृष्टि नै छ।
‘शक्ति’ र शक्ति बन्न उद्धतहरू सबै आफू मात्रै शक्तिवान् बन्ने उछलकुद मच्चाइरहेका छन्। सबै शक्तिवान् बनेर देशलाई सामूहिकताको भावनाले शक्तिशाली बनाउने सोच कतै छैन। नव समय र समझलाई नजरअन्दाज गर्दा बल्ड्याङ खाएका बुजुर्गहरूको बकबक अझै उस्तै छ। नचेतेका हुन् वा बल्ड्याङ खाएर थप चेत गुमाएका हुन्, बुझिनसक्नु छ!
सारमा भन्दा, विद्यमान अवस्थालाई पार लगाउनेतर्फ नभई गिजोल्नेपट्टि पलडा भारी छ। विद्यमान अवस्थाबाट पार पाउनु नै छ भने गिजोल्नेहरूको पलडा हल्का बनाउनुबाहेक विकल्प छैन। अहिले सबैजसो पुराना–नयाँ दल/शक्तिहरू स्वामधन्य संकटमोचक बनेका छन्। उनीहरूको दाबामा विचार, दृष्टि, उपाय, विधि जस्ता विश्वासयोग्य तत्त्वहरूको सर्वथा अभाव छ।
यही सिलसिलामा एउटा पुरानो राजनीतिक दल, जसले मुलुकलाई सही मार्गमा डोर्याउन ऐनमौकामा (सामान्यावस्थामा खासै होइन) महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। पार्टीभित्र हल्लाबोल चलिरहे पनि बाहिर ऊ मौनप्राय नै छ। मन्थनकै क्रममा बाहिरिइरहेका उसका हल्लाहरू श्रुतिमधुर अवश्य छैनन्। तर, मन्थनको नतिजा नआइहाल्दै कर्कसै भनिहाल्नु पनि हतारो ठहरिन सक्ला!
यहाँ भनिएको पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो। विद्यमान अवस्थामा नेपाली कांग्रेससँग अपेक्षित भूमिका र उसले समात्नुपर्ने बाटोबारे चर्चा गरौँ।
‘कहिलेकाहीँ तपाईंसँग स्वयंको भलाइका लागि अगाडि बढ्नुबाहेक अर्को विकल्प हुँदैन’–यो कथन अहिलेको कांग्रेसको अवस्थासँग मेल खान्छ। अर्थात् कांग्रेस अहिले त्यो कहिलेकाहीँको अवस्थामा छ जहाँबाट अगाडि बढ्यो भने मात्र उसको भलाई छ। र, त्यो अगाडि बढाई भनेको यथाशीघ्र महाधिवेशनमार्फत सान्दर्भिक नीति र नयाँ नेतृत्वको चयनसहित पार्टीको नवीनीकरण हो।
अहिले कांग्रेस पनि देश झैँ नियमित अवस्थामा छैन। देशमा उत्पन्न दुरूह अवस्थाले कांग्रेस चोटिल छ। देशका विधि–विधान र व्यवस्था भत्किएका छन्। कांग्रेसको नीति–नेतृत्व मक्किएको छ। कांग्रेस तङ्ग्रिन सक्यो भने देशलाई सही लिकमा फर्काउन असहज छैन। विडम्बना, कांग्रेस जनअपेक्षालाई सम्बोधन गर्ने मामिलामा अलमलमै अलमस्त छ। कार्यकर्ता मात्रै होइन आम मतदातामै आशा जागृत गर्नुपर्ने अर्थपूर्ण क्षणमा पेण्डुलमजसरी ढुलमुल गरिरहेको छ।
नवीनीकरण नभई फागुन २१ गतेको आमनिर्वाचन सामना गर्न सक्ने अवस्थामा कांग्रेस छैन। सभापति शेरबहादुर देउवा कार्यवाहक तोकेर उपचार र आराममा रह“दा–बस्दा उनीमाथि आश्रितहरूको भने चैन उडेको छ। आश्रितहरू तिलमिलाएका छन्, विधानले तोकेको समयमै महाधिवेशन हुनुपर्छ भन्दै बहुसंख्यकको मागलाई अवैध भनेर बरबराउन अभिसप्त छन्। विशेष महाधिवेशनको माग राख्ने प्रतिनिधिहरूको अधिकारविरुद्ध अनाप–सनाप बकेर अपमान गर्दैछन्। म्याद गुज्रिसकेका आश्रितहरू महाधिवेशन प्रतिनिधिहरूको म्याद सकिएको भन्दै आफ्नो अस्तित्व नामेट हुने समयावधि सम्भव भएसम्म लम्ब्याउने प्रयत्न गरिरहेका छन्।
मंसिरमा नियमित महाधिवेशन गर्न समयाभाव हुन्छ, विशेष महाधिवेशनले पार्टी एकताबद्ध रहँदैन भन्ने जस्ता कुतर्कद्वारा आश्रितहरूले वातावरणलाई कर्कशपूर्ण बनाएका छन्। फेरी नियमित महाधिवेशन गर्न नसक्नेहरू पार्टी मात्रै होइन देश बनाउने गुड्डी हाँक्नचाहिँ पछि पर्दैनन्। दुई महिनाकै तयारीमा २०६२ सालमा गिरिजाप्रसाद कोइरालाले महाधिवेशन गराएको सम्झिएर हामी दुई हप्तामै गर्नसक्छौँ भन्नुपर्नेमा वर्ष दिन चाहिन्छ भन्छन्।
केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।
पार्टी विभाजनसम्मको डर फैलाउँदै महाधिवेशनको खिलाफमा लागेकाहरूले नबुझेका कि बुझ पचाएका? महाधिवेशनले पार्टी निखारिएर–तिखारिएर एकताबद्ध भएर अगाडि बढ्ने पो हो, विभाजित हुने कुरा कहाँबाट आयो यहाँ? समय र सन्दर्भ पारेर महाधिवेशन गर्नुपर्छ भन्दा एकतामा असर देख्ने कस्तो दृष्टि हो? कस्तो सोच हो? के लाएर देखिन्छ यस्तो? के खाएर सोचिन्छ यस्तो?
कांग्रेसको विद्यमान केन्द्रीय कार्यसमिति संगठन सुदृढीकरण र सत्ता सञ्चालन दुवैमा असफल भएकै हो। यसलाई जति ज्यादा तन्कायो त्यति नै कांग्रेस खुम्चिने निश्चित छ। यो खुम्च्याइको मार कांग्रेस आफैभित्र मात्र सीमित पक्कै नरहला, कुनै हदसम्म देशले समेत बेहोर्नु पर्ने हुन्छ।
कार्यकर्ता तहबाट अस्वीकृत र आमजनताबाट समेत बहिष्कृत अवस्थामा पुगेका केही आत्मकेन्द्रित ‘नेताहरू’ आफ्नो हुक्कापानी बन्द हुने डरले महाधिवेशन लम्ब्याउने फिराकमा छन्। आफूहरूकै कारणले अहिलेको अवस्था आएको हो भनेर उनीहरूलाई कुनै लज्जाबोध छैन। महाधिवेशन टार्न सके निर्वाचनमा टिकट बाँडौला, पार्टीको धूल चटाई भए पनि पार्टीमा आफ्नो दुकानचाहिँ चल्छ कि भनेर अन्तिम प्रयत्न गर्दैछन्।
यसअघिको महाधिवेशनमै देउवालाई अक्षम करार गर्दै नेतृत्वका लागि प्रतिस्पर्धा गरेका तर प्रतिनिधिहरूले औकात देखाइदिएपछि देउवाकै शरण परेर अझै पार्टीमा दुकान चलाएकाहरूकै केन्द्रीय समितिमा बोलवाला छ। यी लगायतका आश्रितहरूले लज्जाबोध गर्लान् र मंसिरमै महाधिवेशन गर्न सहजै तयार होलान् भनेर सोच्नु अनि सोहीअनुसार निकास खोज्ने प्रयास गर्नु मूर्खताबाहेक अरू हुँदैन।
विद्यमान केन्द्रीय समितिको संस्थापन पक्ष गुटको भेला आयोजना गर्दै मंसिरमा महाधिवेशन नगर्न हाकाहाकी आलटाल गरिरहेकाले यहाँबाट कुनै निकास निस्कन्न भन्नेमा महाधिवेशन पक्षधरहरू प्रस्ट हुनुपर्छ। अनि मंसिरमै महाधिवेशन गर्नुलाई अपरिहार्य आवश्यकताका रूपमा आत्मसात् गर्नुपर्छ। र, आवश्यकताको सिद्धान्तअनुसार महाधिवेशनका खातिर विद्रोह र नियन्त्रणको कार्यनीति बनाएर अघि बढ्नुपर्छ।
करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूद्वारा माग गरिएको विशेष महाधिवेशनमा अब पक्षधरहरूको अर्जुन दृष्टि हुनुपर्छ। संस्थापन पक्षले केन्द्रीय समितिमा बहुमतको दम्भ देखाएर आमनिर्वाचन अगावैका लागि नियमित महाधिवेशन तय गर्ने सम्भावना नगण्य छ। यस्तो अवस्थामा फेरि पनि बहस, सङ्घर्ष र प्रक्रियागत ढंगबाट अघि बढ्ने गुञ्जायस रहँदैन। त्यसैले महाधिवेशन पक्षधर सबै प्रतिनिधिहरू केन्द्रीय कार्यालय सानेपामा भेला भई दबाब बढाउनु वाञ्छनीय हुन्छ।
यतिगर्दा पनि आनाकानी हुन्छ र केन्द्रीय समिति बैठक तानतुन पारेर वा अन्य तिकडम अपनाएर महाधिवेशन पर धकेल्ने चलाखी गरिन्छ भने महाधिवेशन पक्षधरबाट शालीन विद्रोहको विकल्प छैन। जुन विद्रोहले विधानतः विशेष महाधिवेशन गर्न आफै पहलकदमी लिनुपर्छ। महाधिवेशन प्रतिनिधिहरूको विशेष महाधिवेशनको वैधानिक मागको सुनुवाइ नगर्ने केन्द्रीय समितिको अवैधानिक कार्यलाई आधार बनाउँदै, वैधताको सीमालाई हरसम्भव ध्यानमा राख्दै, केन्द्रीय कार्यालयलाई विशेष महाधिवेशन पक्षधरहरूको नियन्त्रणमा लिनुपर्छ। र, तत्कालै विशेष महाधिवेशन लक्षित गतिविधिहरू अघि बढाइनुपर्छ।
यति गर्दा पनि संस्थापन पक्ष केन्द्रीय समितिमार्फत मंसिरमा महाधिवेशन गर्न तयार हुँदैन भने पक्षधरहरू आफै विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि थप महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ। अन्तिम समयसम्म पनि संस्थापनहरू विशेष महाधिवेशन अभियानमा सामेल हुन आउँछन् भने मन ठूलो पारौँ, स्वागत गरौँ। आउँदैनन् भने मन दह्रो पारौँ, बिदाइ प्रक्रिया यहीँबाटै शुरू गरौँ।
‘सधैँ भयभीत भइरहनुको साटो एकपटक खतरा मोलौँ’ भन्ने थोमस फुलरको यो भनाइलाई नेपाली कांग्रेसको नवीनीकरण चाहने हरेक नेता–कार्यकर्ताले गम्भीरताका साथ मनन गरौँ।
(झा, नेपाली कांग्रेसका युवा नेता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
