नेपालमा भारतीय पर्यटक व्यवस्थापनको चुनौती

यतिबेला नेपाली पर्यटन क्षेत्रकै आत्मविश्वास उकास्नेगरी आइरहेका भारतीय पर्यटकको उचित व्यवस्थापन समयमै सही तवरबाट गर्न नसकिए यसबाट लाभभन्दा ज्यादा नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ।

यो वर्ष मनसुन शुरू हुनुअघि नेपालका पहाडी र हिमाली पर्यटकीय गन्तव्यहरूमा गर्मी छल्ने भारतीय पर्यटकको उपस्थिति अपेक्षा भन्दा र बिगतमा भन्दा धेरै देखियो। यसका विभिन्न कारण हुनसक्छन्। मेरो बुझाईमा चाहिँ यसको प्रमुख कारण हो भारतीय ट्राभल तथा फूड ब्लगर (भ्लगर) हरू तथा भारतीय बाइकर्सहरूद्वारा व्यापक रूपमा गरिएका नेपालका सुन्दर गन्तव्यहरूको व्यापक प्रचारप्रसार।

युट्युब, इन्स्टाग्राम, फेसबुक र अन्य सोसल मिडिया प्लाटफर्महरूमा लाखौँ फलोअर्स भएका भारतीय कन्टेन्ट क्रिएटरहरूले नेपाललाई राम्रो मौसम, सुरक्षित, सफा, सस्तो र स्वादिष्ट खानाको गन्तव्यका रूपमा प्रस्तुत गरे। कम बजेटमा विदेश यात्रा, हिमाल अवलोकन, धार्मिक, साँस्कृतिक र साहसिक यात्राको उत्कृष्ट गन्तव्य जस्ता सन्देश बोकेका भिडियोहरूले भारतका मध्यमवर्गीय परिवार, युवा र साहसिक यात्राप्रेमीलाई नेपालतर्फ धमाधम आकर्षित गरे, गरिरहेका छन्।

डिजिटल प्रचारको शक्ति
अलि पहिलेसम्म कुनै देशको पर्यटन प्रवर्द्धनका लागि सरकारले करोडौँ खर्च गरेर विज्ञापन गर्नुपर्थ्यो। अहिले चाहिँ त्यो अवस्था छैन। बरु एकजना चर्चित युट्युबर वा भ्लगरको एक भिडियोले लाखौँ मानिसको धारणा परिवर्तन गर्न सक्छ। भारतका धेरै ट्राभल ब्लगर ९भ्लगर० हरूले काठमाडौँ, पोखराको फेवाताल, नेपालका विभिन्न हिमाली क्षेत्र, पर्यावरण, मुस्ताङको मरुभूमि, पशुपतिनाथ, थकाली खाना, सरसफाई, नेपाली आतिथ्यता तथा सस्तो होटलको खुलेर प्रशंसा गरे।भारतको विशाल जनसंख्या र बढ्दो मध्यम वर्गका लागि नेपाल जस्तै वातावरण भएको विदेशी मुलुक घुम्न ठूलो खर्च लाग्ने भएकाले नेपाल उनीहरूका लागि सहज र सुलभ विकल्प बनेको छ।

खुला सीमा, भाषागत समानता, धार्मिक तथा सांस्कृतिक निकटताले पनि भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाएको छ।

यस वर्ष भारतीय पर्यटकको अप्रत्यासित बद्धिले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक रूपमा फाइदा पुर्‍याएको छ। होटल, रेष्टुरेन्ट, यातायात, स्थानीय उत्पादन तथा रोजगारीका अवसरहरू बढेका छन्। तर पर्यटक संख्या तीव्र गतिमा बढ्दा कतिपय गन्तव्यमा व्यवस्थापनको कमजोरी पनि स्पष्ट देखिन थालेको छ।पार्किङको अभाव, ट्राफिक जाम, सार्वजनिक शौचालयको कमी तथा पर्यटकीय स्थलहरूमा अव्यवस्थित भीड देखिएको छ। कतिपय ठाउँमा भारतीय पर्यटकले सवारी तथा यातायात व्यवस्था ऐनबिपरीत गैरकानूनी र असामाजिक काम गरेको भन्दै स्थानीय बासिन्दाले नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका भिडियो सार्वजनिक भइरहेका छन्।

यदि अहिले देखिएको अव्यवस्था सुधार गर्न सकिएन भने नेपालले आफ्नै सफलताको भार थेग्न नसक्ने अवस्था पनि आउन सक्छ। यही अवस्थालाई बुझाउन विश्वभर एक उखान प्रचलित छ– ‘टुरिजम् किल्स टुरिजम्।’

‘टुरिजम् किल्स टुरिजम्’को अर्थ
यो शब्दावलीको अर्थ पर्यटन आफैमा खराब हो भन्ने होइन। यसको वास्तविक अर्थ हो– यदि पर्यटनलाई उचित व्यवस्थापन गर्न सकिएन भने अत्यधिक पर्यटकको चापले त्यही गन्तव्यको आकर्षण समाप्त गर्न सक्छ।

विश्वका धेरै पर्यटकीय गन्तव्य र शहरहरूले यो समस्या भोगिसकेका छन्। अत्यधिक पर्यटकका कारण स्थानीय जनजीवन प्रभावित भयो, फोहोर बढ्यो, प्राकृतिक सम्पदा नष्ट भए, मूल्यवृद्धि भयो र अन्ततः त्यहाँको पर्यटनको आकर्षण नै घट्न थाल्यो। नेपालले पनि यही तीतो अनुभव दोहोरिन नदिन अहिले नै आवश्यक तयारी गर्नुपर्छ।

सुरक्षा चुनौतीहरू
कुनै पनि ठाउँमा पर्यटकको संख्या ह्वात्तै बढेसँगै सुरक्षा सम्बन्धी चुनौती पनि बढ्छन्। जहाँ मानिसको ठूलो भीड हुन्छ, त्यहाँ अपराधका सम्भावना बढ्छन् नै। त्यो अवस्थामा पाकेटमारी, चोरी, ठगी, नक्कली ट्राभल एजेन्सीको बिगबिगी, साइबर अपराध, लागू पदार्थको कारोबार लगायतका गतिविधिहरू बढ्न सक्छन्।

भारतीय पर्यटकहरूको ठूलो संख्या नेपाल आउन थालेसँगै नेपालले पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ। यसका लागि पर्यटक प्रहरीको संख्या वृद्धि, पर्यटकीय क्षेत्रमा सीसीटीभीको विस्तार, आपतकालीन सहायता प्रणाली, बहुभाषिक सूचना केन्द्र तथा डिजिटल निगरानी प्रणाली आवश्यक देखिएको छ।

अन्तर्राष्ट्रिय आतङ्कवादी समूह, संगठित अपराध समूह वा अन्य आपराधिक तत्वहरूले खुला सीमाको दुरुपयोग गर्न सक्ने सम्भावनालाई पनि बेवास्ता गर्न सकिँदैन। त्यसैले पर्यटन सुरक्षा केवल आर्थिक विषय होइन। खासमा यो राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो।

अपराध र सामाजिक प्रभाव
पर्यटकको संख्या बढेपछि अर्थतन्त्रका धेरै अवयव चलायमान हुन्छन्। स्थानीय अर्थतन्त्रमा पनि पैसा आउँछ। तर यो सँगसँगै सामाजिक असर पनि पर्न थाल्छ। घरभाडा बढ्ने, स्थानीय वस्तुको मूल्य वृद्धि हुने, अवैध व्यवसाय बढ्ने, यौन व्यवसाय, जुवा र लागुपदार्थको कारोबार जस्ता गतिविधिहरू फैलिन सक्ने सम्भावना पनि ज्यादा रहन्छ।

यस्तो अवस्थामा यदि पर्यटनको लाभ स्थानीय समुदायसम्म नपुग्ने र केवल सीमित व्यवसायीमा मात्रै केन्द्रित हुने हो भने स्थानीय स्तरमा विभिन्न खाले असन्तुष्टि पनि बढ्न सक्छन्। यसले सामाजिक तनावसमेत सिर्जना गर्न सक्छ। त्यसकारण पर्यटनको विकास समावेशी हुनुपर्छ। त्यसका लागि सरकारले अबिलम्ब ध्यान दिनुपर्छ।

पर्यावरणीय चुनौती
नेपालको पर्यटनको प्रमुख आधार भनेको यहाँको प्रचुर प्राकृतिक सौन्दर्य हो। हिमाल, पहाड, नदीनाला, वनजंगल र जैविक विविधता नै नेपालका प्रमुख पर्यटकीय आकर्षणका स्रोत हुन् भन्दा फरक पर्दैन। तर अत्यधिक पर्यटक आगमनले यिनै सम्पदामा दबाब बढाउँछ। फोहोर व्यवस्थापन अहिले नै पनि ठूलो समस्या बनिसकेको छ। प्लास्टिकका बोतल, खाद्यान्नका प्याकेट र अन्य फोहोरले हिमाली तथा पदयात्रा मार्गहरू प्रदूषित हुँदै गएका छन्। पानीका स्रोतमा दबाब बढेको छ। वन्यजन्तुको बासस्थान प्रभावित भएको छ।

यदि पर्यावरण संरक्षणमा ध्यान दिइएन भने पर्यटनले दीर्घकालीन रूपमा आफ्नै आधार नष्ट गर्ने जोखिम छ। अनि प्रकृति नै बिग्रियो भने भोलि पर्यटक पनि घट्नेछन्।

पर्यटन पूर्वाधार
यसपालि विदेश घुम्न जाने पर्यटकलाई भारत सरकारले डलर सटही सुविधामा कडाई गरेपछि उनीहरूको गन्तव्य भारतीय मुद्रा (भारु) ले नै काम चल्ने नेपाल बनेको देखिन्छ। आउँदा वर्षहरूमा गर्मी छल्ने भारतीय पर्यटकको संख्या अझ बढ्ने सम्भावना बलियो पनि छ। भारतको बढ्दो मध्यम वर्ग, डिजिटल प्रचार र नेपालप्रतिको सकारात्मक धारणा हेर्दा यो प्रवृत्ति निरन्तर रहने देखिन्छ। त्यसकारण हामीले हेक्का राख्नुपर्ने के हो भने नेपालले अहिले नै निम्न क्षेत्रमा लगानी बढाउनुपर्छ–

  • पर्यटकीय सडक तथा यातायात सुधार
  • होटल तथा होमस्टेको गुणस्तर वृद्धि
  • फोहोर व्यवस्थापन प्रणाली
  • सार्वजनिक शौचालय
  • डिजिटल सूचना प्रणाली
  • आपतकालीन उद्धार तथा स्वास्थ्य सेवा
  • पार्किङ र भीड व्यवस्थापन 
  • पर्यटक सुरक्षाका लागि विशेष प्रहरी संयन्त्र

दिगो पर्यटन 
पर्यटक संख्या बढ्नु आफैँमा सफलता हो, तर केवल संख्या बढ्नु नै पर्यटन विकास होइन। दिगो पर्यटन भनेको पर्यटक, स्थानीय समुदाय, अर्थतन्त्र र वातावरणबीच सन्तुलन कायम गर्नु हो।नेपालले गुणस्तरीय पर्यटन मा जोड दिनुपर्छ। धेरैभन्दा धेरै पर्यटक भित्र्याउने भन्दा पनि राम्रो सेवा, सुरक्षित वातावरण र दिगो व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।

स्थानीय समुदायलाई पर्यटनबाट हुने लाभमा सहभागी–हिस्सेदार गराउने, स्थानीय उत्पादनको प्रयोग बढाउने, पर्यावरणीय नियम कडाइका साथ लागू गर्ने तथा पर्यटकबाट पनि जिम्मेवार व्यवहार प्रवर्द्धन गर्ने नीति आवश्यक छ।

नेपाल घुम्न आउने भारतका ट्राभल तथा फूड ब्लगर–भ्लगर र बाइकर्सहरूले गरेको प्रचारप्रसारले नेपाललाई भारतीय पर्यटकको आकर्षक गन्तव्य बनाउन ठूलो योगदान पुर्‍याएको छ। यसले नेपालको पर्यटन उद्योगलाई नयाँ अवसर पनि दिएको छ। अर्थतन्त्र, रोजगारी र स्थानीय व्यवसायका लागि यो सकारात्मक संकेत हो। सँगसँगै बुझ्नुपर्ने के हो भने अवसरसँगै चुनौती पनि आउँछ। बढ्दो पर्यटक संख्या व्यवस्थापन गर्न नसकिए सुरक्षा, अपराध, फोहोर, वातावरणीय क्षति र सामाजिक समस्याहरू बढ्न सक्छन्। पर्यटकको अनुभव बिग्रिँदै गए नेपालप्रतिको सकारात्मक धारणा पनि कमजोर बन्न सक्छ।

त्यसैले आजको आवश्यकता पर्यटकको संख्या गन्नु मात्र होइन, उनीहरूको व्यवस्थापन गर्नु पनि उत्तिकै महत्वपूर्ण काम हो। पूर्वाधार, सुरक्षा, वातावरण संरक्षण र दिगो पर्यटन नीतिमा समयमै लगानी गर्न सके नेपालले भारतीय पर्यटकको यो लहरलाई दीर्घकालीन आर्थिक अवसरमा बदल्न सक्छ। अन्यथा विश्वले देखेको सत्य नेपालमा पनि दोहोरिन सक्छ। ‘टुरिजम् किल्स टुरिजम्’ अर्थात् अव्यवस्थित पर्यटनले अन्ततः पर्यटनलाई नै नष्ट गर्न सक्छ।