भुटानी शरणार्थी मुद्दा— ‘दिगो समाधान’ माथि कथा-उपन्यास मात्रै बन्यो!

अंग्रेजी लेखक जर्ज अरवेलको ‘एनिमल फार्म’मा रहेको भिन्न चेतना र प्रयोग झैँ भुटानी शरणार्थी समस्याको भिन्न आयाम र सरोकारमा उपन्यास लेखिएको छ ।

काठमाडौँ— सन् ९० को दशकमा नेपालमा भुटानी शरणार्थीको संख्या १ लाख नाघेपछि राष्ट्रियभन्दा बढी अन्तर्राष्ट्रिय सरोकार र दवावमा शरणार्थी समस्या समाधानको एउटा अचुक उपाय निकालियो—तेस्रो देशमा पुनर्वास।

अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत युरोपेली गरेर ८ वटा देशमा शरणार्थी बसोबास गराइने भन्दै ल्याइएको यो विकल्पमा त्यति वाद–प्रतिवाद रहेन, चर्को पक्ष–विपक्ष देखिएन। ‘तेस्रो देशमा बसोबास गराइने’ भन्नासाथै शरणार्थी समस्या समाधानका मुख्य विकल्प स्वेच्छिक घरफीर्ति वा स्थानीय बसोबासमाथि बहस परामर्शसमेत बन्द भैहाल्यो। शरणार्थी समस्यामा एकमात्र स्थायी र दिगो समाधान भनेकै पुनर्वास मात्रै हो भनेझैँ निर्क्यौल निकालियो, अनि टुङ्गोटाङ्गी भैहाल्यो।

यो प्रकृयासँगै सन् २००७ को शुरूआतबाट थालिएको पुनर्वासको वृहत् अभियान सन् २०१६ को अन्त्यसम्म जारी रह्यो जसमा झन्डै १ लाख १५ हजार भुटानी नागरिक शरणार्थी हैसियतमै तेस्रो देश पुगे। पुनर्वासमा जान नचाहेका वा नपाएका ६ हजार ५ सय जति शरणार्थी अझै पनि झापा (बेलडाँगी) र मोरङ(पथरी–शनिश्चरे)का शिविरमा शरणागत छँदैछन्। बरु, यही अनागरिकको जत्था मात्रै अझै पनि आफ्नो आगत–विगत सम्झँदै शरणार्थी समस्याको ‘दिगो समाधान’ पर्खिरहेकै छन्।

 हो, सारसंक्षेपको समाचार जस्तो लाग्ने यो सूचनाभित्र कति मानवीय, अमानवीय वा कति गहिरो संवेदना लुकेको छ भन्ने जान्न चाहेमा ‘दिगो समाधान’ नामकै आख्यानभित्र प्रवेश गरे हुन्छ। भुटानी राजा–राज्यको दासताबाट आफैँ लखेटिएका र अझै बेलडाँगी शिविरमा शरणागत रहेका हेम गुरागाईंले हालै प्रकाशनमा ल्याएको ‘दिगो समाधान’ आख्यानमा तथ्य र यथार्थको अनुपात निकै बाक्लो छ। बरु, काल्पनिकता भने गौण रूपमा निरुपण गरेर मात्रै थाहा पाउन सकिन्छ।

सन् २०२३ डिसेम्बर शुरू भएको आख्यानको प्लटमा केही पात्र र उपकथा यथार्थ छन्, अरु भने धेरै काल्पनिक। उपन्यासमा भुटानभित्र वा सिमावर्ती भेगका नामहरू यसरी(यतिधेरै) आएका छन् कि लेखक हेम गुरागाईं केवल ९ वर्षकै उमेरमा(१५ अप्रिल, १९९२) चिराङ्गको डम्फु नजिकै मिथुन गाउँबाट देशनिकालामा परेका हुन् भन्ने लाग्दैन। डम्फु जुनियर स्कुल हुँदै डाछाङ्ग, गेलेफु, चिराङ्ग, साम्ची, सर्भाङ, दागाना, दादघारी, गर्गन्डा जस्ता गाउँठाउँको बयान र ती भेगमा जरोकिलो गाढेर बसेका पात्रपात्राको रौंचिरा वृतान्त निकै जीवन्त लाग्छ।
दक्षिणी भुटानबाट लखेटिएर भारत हुँदै नेपाल र पुनर्वासमा अमेरिका पुगेका शरणार्थीलाई सम्बोधन गरेर जन्मिएको संवादमा भनिएको छ—
“दिगो समाधान खोज्दै अमेरिका गएका होइनन् र ?”

“कि त भुटानसँग मुद्दा जितेर अलिकति भए पनि मान्छे फर्केपछि समाधान हुन्छ। कि चैँ बाँकी रहेका मान्छे नेपालले थान्को लगाएपछि समाधान हुन्छ।”

सबैलाई थाहा छ— ‘दिगो समाधान’ नाममा मात्रै छ, व्यवहारमा शून्य!    
उपन्यासकार हेम गुरागाई जो आफैँ शरणार्थी हुन् र, आँखैसामु भुटानी राजा–राज्यको जातीय सफाया बेहोरेर, बोध गरेर तेस्रो देश(भारत नाघेर)मा बसोबासमा आइपुगेका पात्र हुन्। कति यथार्थ बुझेर हो वा नबुझीकनै, तेस्रो देश पुर्नस्थापनामा जान नचाहेका थोरै ढिट पात्रमध्येका एकसमेत हुन् गुरागाईं। आज उनका बाबुआमासहितका परिवार अष्ट्रेलिया पुनर्वासमा गैसकेका छन्। तर, उनी भने श्रीमती, छोराछोरीसहितको परिवारमा दमक–बेलडाँगीतिरै घुमिरहेका छन्। यो बुझाइ र भोगाइको अन्तर्यमा गएर उनले ‘दिगो समाधान’ लेख्न सकेका हुन्। उनका अनुसार, भुटानी शरणार्थी मामलामा रहेभएका र यसअघि आएका सबै कथा–व्यथाभन्दा पर्तिर उभिएर एउटा राजनीतिक तहको व्यङ्गय लेखेका रहेछन् उनले। नाम मात्रै कुनै निबन्धको झैँ रह्यो— ‘दिगो समाधान’ !

“मैँले राजनीतिक व्यङ्गय लेख्न चाहेको हो, किताबको टाइटल ‘दिगो समाधान’ भए पनि समाधानभित्रको डामाडोल स्थिती देखाउन चाहेको हुँ,”दमक, झापामा हालै भेटिएका उपन्यासकार गुरागाईंले सुनाए—“अंग्रेजी लेखक जर्ज अरवेलको ‘एनिमल फार्म’ झैँ भिन्न चेतना र प्रयोगमा यो उपन्यास लेख्न चाहेको हुँ। यो स्वैरकाल्पनिकभन्दा बढी यथार्थवादी हुन सक्छ। यसमा यथार्थ र कल्पनालाई मिसमास (ब्लर) गरिएको छ।”

सवाल–जवाफमा ‘ब्लर’ गरिएको भने पनि उपन्यासकारले केही सन्दर्भलाई भने सोचनीय ढङ्गमा उठाएका छन्, जस्तो मष्तिष्क नियन्त्रण(माइन्ड कन्ट्रोल) ! भुटानी अधिकारकर्मी टेकनाथ रिजालले मष्तिष्क नियन्त्रण विषयमा पुस्तक मात्रै लेखेका छैनन्, बरु भुटानमा राजबन्दी रहेका बेला आफूलाई ‘मष्तिष्क नियन्त्रण’को भागिदार बनाइएको दाबी समेत गर्दै आएका छन्।
मष्तिष्क नियन्त्रण पुरापुर ‘काल्पनिक’ हो भन्दै तथ्यभन्दा बढी प्रतिकात्मक अभिप्रायमा आफ्नो लेखाइलाई पुष्टि गर्न हरसम्भव प्रयत्न गरेका छन् उपन्यासकारले। उपन्यासमा लेखिएअनुसार, केन्द्रीय औषधी मानक नियन्त्रण संगठनले गरेको सम्मोहक औषधीबारेको अनुसन्धानपछि ‘गुलिब्लाइजर’ (सही शब्दार्थमा गलिब्लाइजर)को आविष्कार भएको हो। भुटानी शरणार्थी समस्या उब्जाउनेदेखि अलपत्र पार्नेसम्मको औषधी ‘गलिब्लाइजर’मा आजको औषधी विज्ञानदेखि प्राचीन आयुर्वेदिक ज्ञानको उपयोगसम्म मिसमास भएको छ। उपन्यासकारको कल्पनामा भनिएको छ— “गुलिब्लाइजर मिन्ट फर कन्ट्रोलिङ द तार्गेट फर लाइफटाइम...।”

कतिसम्म भने एउटा सन्दर्भमा भनिएको छ— “सन् १९८४ मा भारतीय प्रधानमन्त्री राजीव गान्धी भुटान भ्रमणमा आए जहाँ उनले गलिब्लाइजर मिसिएको पान ल्याएर राजा जिग्मे सिङ्गे वाङ्गचुकलाई ख्वाए र नेपालीभाषीको जातीय सफायामा ‘कन्भिन्स’ बनाएर छाडे। बुम्थाङ्गको एउटा तीर्थस्थलमा राजा जिग्मे र राजीव गान्धी चार दिन गोप्य वार्तामा थिए। त्यहीँ गलिब्लाइजर–पानको उपयोग गरिएको थियो।”

उपन्यास कथ्य अनुसार, पछि गएर भुटानी जेलमा थुनिएका सबै राजबन्दी तथा भागेर आएका आरके बुढाथोकी र अरु नेताहरू सबैलाई ‘गलिब्लाइजर’ (औषधी) चढाइएको छ, प्रयोग गरिएको छ। जुलाई, १९९० देखि भारतमा निर्वासित रहेका भुटानी नेता–कार्यकर्तालाई कुनै न कुनै माध्यमबाट गलिब्लाइजर ख्वाइएको थियो। भुटानमा जेल परेका जति सबैलाई जेलमा नै पर्याप्त डोजमा गलिब्लाइजर दिइएको थियो।

null

एउटा यस्तो ‘एपिसोड’ जहाँ हो–होइन भन्नै नसकिने काल्पनिकता र प्रयोग मिसाएका छन् उपन्यासकारले। एकातर्फ माइन्ड–कन्ट्रोल भन्दै नेता रिजालहरू बहसमा हिँडिरहेकै छन्, अर्कातिर गलिब्लाइजर औषधी(धुलो, गोली, झोल र इन्जेक्सन)को प्रयोग (उपभोग) पनि यहाँ देखिएको छ।

यसकारण— ‘दिगो समाधान’मा कल्पना–यथार्थ मिश्रणको शैली छ, फ्यान्टासी–रियालिटी ब्लेन्ड !
⁎   

यो पनि नक्कली शरणार्थी निर्माताका ‘दागलागी’ नामहरू

नेपालोफोबिया...!

एउटा शब्दको रचना र चयन गरेका छन् उपन्यासकारले जहाँ कुनै कुरा(वस्तु)प्रति बिरक्ती, असन्तुष्टी वा नकारात्मक भाव जगाउने ‘फोबिया’ यहाँ नेपाल (देश) र नेपाली(जाती)मा निहित गरिएको छ। भुटानी शरणार्थी समस्या जन्माउनु र बल्झाउनुमा भुटान र नेपाल बीचको छिमेकी भारतको हात थियो भन्दै उपन्यास संवादमा प्रयोग गरिएको छ—“इन्डिया ह्याड अ मास्टर प्लान अन्डर राजीव गान्धी लिडरसिप। इन्डिड गान्धी ह्याड द प्लान !”

यो ‘फोबिया’ फैलाउन र षडयन्त्रको योजना अघि बढाउन देखिएका बुँदागत घटनाक्रमहरू जोड्दै उपन्यासकारले लेखेका छन्—भुटानबाट ल्होत्साम्पा जातीय सफायाबारे भारत–भुटानबीच सन् १९७७ मै गोप्य सहमती भैसकेको थियो।

१. भुटानमा सन् १९८० देखि ८२ सम्ममा वैवाहिक अंगिकृत नागरिक र तिनका सन्तानहरूलाई अनागरिक बनाउने कानून ल्याइसक्ने,
२. सन् १९८५ मा भुटानले नागरिकता अधिनियम संशोधन गरी नेपालीभाषीलाई अनागरिक बनाउन अभियान शुरू गर्ने,
३. सन् १९८८ मा दक्षिण भुटानमा जनगणना गर्ने र, सन् १९८५ को अधिनियम कार्यान्वयन गरी नागरिकता खोस्ने अभियान चलाउने,
४. सन् १९८८ मा भारतले डुबर्स क्षेत्रमा र, सन् १९८९ मा भुटानले दक्षिण भुटानमा नेपाली भाषालाई पाठ्यक्रमबाट हटाउने,
५. कुनै प्रकारको प्रतिरोध भएमा:
—भुटानले सैनिक दमन गरी नेपालीभाषीलाई देश निकाला गर्ने,
—भुटानका असन्तुष्ट तत्वलाई भारतले आसाम र पश्चिम बंगालमा आश्रय दिने र, पछि तिनलाई धोका दिने,
—देश निकालामा परेकाहरूले भारतमा आश्रय लिएमा भारतले अर्ध–सैनिक बल प्रयोग गरी नेपाल पुर्‍याउने। नेपाललाई भारतले नै दबाब दिएर शरणार्थी राख्न बाध्य पार्ने,
—भारत–भुटानले मिलेर भुटानका नेपालीभाषी जनताबीच जातीय विद्वेष पैदा गराउने, 
—देश निकाला भएका शरणार्थीलाई देश फर्कन वा सिमाछेद गरी घुसपैठ गर्नबाट भारत सरकारले रोक्ने।

यहाँ पनि कल्पना–यथार्थ मिश्रणको शैली छ। उपन्यासलाई रहस्यमयी बनाइरहने र आँखै सामुका कतिपय घटनाक्रमलाई पुष्ट्याई मिल्ने गरी कथानक तन्काइरहने लेखकको शैलीले ‘दिगो समाधान’ लाई थप पठनीय बनाएको छ। जस्तो— इतिहासको कुरा स्मरण गरिरहँदा ‘रिजाल सिजालहरू नि जेल हाली गो’ भन्दै ‘९ अप्रिल, १९८८ का दिन टेकनाथ रिजालले राजालाई बिन्तीपत्र बुझाए’ र, ‘४ जुन, १९८८ का दिन रिजाल पक्राउ परे’ भनेर यथास्थिती घटनालाई सम्झाइएको पनि छ। तर, कथानक मोड र कुतूहल जन्माइराख्ने निहुँमा सन् २००१ मा भएका तीन अलग (नमिल्दा) घटनालाई समेत लेखकले एउटै सूत्रमा जोडेर उपन्यासमा राखेका छन्। राजा वीरेन्द्रको वंशनाश, आरके बूढाथोकीको हत्या र, तेस्रो देश पुनर्वासको प्रारम्भिक योजनाको यो ‘प्लट’ लाई उपन्यास पढिन्जेलको कुतूहल लाग्ने शैलीमा लेखिएको छ। 
⁎ 
आखिर के हो त दिगो समाधान ?

“दिगो समाधानको अन्तिम उपाय (निचोड) भन्दै हाम्रो एजेन्डामैँ नभएको कुरा एकाएक ल्याइएपछि मैले अलिक भिन्न रुपमा सोचेँ। मजस्ता राजनीतिक रूपमा सचेत र साक्षर शरणार्थीलाई एकाएक आएको पुनर्वास(थर्ड कन्ट्री सेटरलमेन्ट)को एजेन्डाले झस्कायो नै। यो पक्कै पनि कहीँकतै गएर बल्झन्छ नै, दिगो समाधान हुँदै होइन भन्ने मलाई लाग्यो,” उपन्यासकार गुरागाईं भन्छन्—“कुनै दिन भुटानमा घर फिर्ती सम्भव भएमा पनि हामी सिधै दोस्रो दर्जाको नागरिक भइहाल्नेछौँ, अनेक शर्तनामाहरूका कारण। ‘एकपटक देश छाडी फर्किएको अवस्थामा’ भन्ने दफा त यथावत छँदैछ। ती कानूनहरू भुटानको राज्यसंयन्त्रमा शाश्वत छँदैछन्, जडसूत्रका रूपमा। घर फर्कन चाहनेहरू शर्तमा मात्रै फर्कन चाहन्छन्, जबकि भुटानलाई शर्तबन्दी मान्य छैन। विरोधाभास यही छ र, यो तत्काल हल हुनेवाला छैन।”

अलिक वृहत् आयाममा हेर्दा, भुटानी शरणार्थी समस्या उब्जनु र दिगो समाधानबिनै बल्झेर बसिरहनुमा धेरै पक्ष(कुरा) भूराजनीतिक परिणती पनि हो नै। अथवा, ग्लोबल वा क्षेत्रीय भूराजनीति कारण पक्कै हो नै। “अमेरिका, युरोपसहितको अन्तर्राष्ट्रिय समुदायले भुटानलाई जानीजानी ‘प्याम्पर्ड’ गरेका छन्। भुटानको भूराजनीतिक अवस्थिती (चिकेन–नेक पोजिसन)ले यस्तो भएको हो। जस्तो, भारतकै हकमा कुनै पनि कारण वा अवस्थाले भुटान बिच्किएर ‘प्रो–चाइना’ नबनोस् भन्ने सदीच्छा होला, हुन सक्छ। कतिपयले कन्सपिरेसी–थ्यौरी पनि भन्छन्, तर यस्तो सिद्धान्त मात्रैको कुरा होइन यो,”गुरागाईं भन्छन्।

गुरागाईं जस्तै राजनीतिक रूपमा सचेत केही शरणार्थी पात्रका बुझाइमा, दिगो समाधानका नाममा आखिरमा हुँदै नभएको (हुनै नसक्ने) अन्तिम विकल्पमा (मेनिफेस्टोमै नभएको) उभिएर पुनर्वासको योजना त सफल भयो भने अब समाधानको उपायका रूपमा स्थानीय बसोबास(नेपालमा)का बारेमा पनि सोच्नुपर्ने हुन्छ। “अहिले घरफिर्ती पक्षधरहरू निकै कम छन् शरणार्थी शिविरमा। नेपाल सरकारले भने राष्ट्रिय सुरक्षाका कारण नेपाली नागरिकता दिन चाहेको छैन।

बरु, शिविरलाई बस्ती व्यवस्थापन भनेर घुमाउरो तरिकाले ‘लोकल सेटलमेन्ट’ लाई प्रश्रय दिन चाहेको देखिन्छ,” उपन्यासमा नलेखिएको राय–विचारबारे उपन्यासकार भन्छन्—“यदि अवसर दिइएमा पुनर्वासमा गएकामध्ये ५ प्रतिशत जति मात्रै भुटान फर्कनेछन्, बाँकी ३० प्रतिशत जति नेपाल आउन चाहन्छन्, नेपालसँगकै सम्बन्धलाई जोगाएर राख्न चाहन्छन्। यसो गरिएमा तेस्रो देश गएका भुटानी समुदायबाटै रेमिट्यान्सदेखि लगानीका अनेक ढोकाहरू खुल्न सक्छन्।”

भुटानी शरणार्थीका हकमा उब्जिएको र फैलिएको सरोकारबारे उनलाई लागेको निर्क्यौल छ—“अमेरिका, युरोप पुगेर केही(जातीवादी वा अन्य) कारणले ती नेपालीभाषी फर्कनुपर्ने अवस्थामा कसले के गर्ने? आज अमेरिकाबाट भुटान डिपोर्ट गरिएका झन्डै १ सयजति भुटानी शरणार्थीका हकमा कसले बोल्न सक्यो र? नेपालले पनि कूटनीतिक लाचारीबाहेक के गर्न सक्यो र? कुन शरणार्थी नेता बोल्यो र? बरु नेपालले नयाँ कानून ल्याएर ग्रिन कार्ड(पीआर)जस्तो दिएर जो भुटानी शरणार्थी यहाँ बस्न चाहन्छन्, तिनलाई मार्गप्रसस्त गरिदिए हुन्छ। यो ग्रिनकार्डको अवधि १० वर्षको तोके हुन्छ, म्याचुरिटी–पिरियड। अनि शिविर खारेज गर्नुपर्छ। त्यसपछि पनि स्थानीय बसोबास नचाहनेले पुनर्वासका पक्षमा आआफ्नो ‘लबिइङ’ गर्न सक्नेछन्। सम्पूर्ण अवगाल र अन्यौल हटाउन पनि यही उपाय हो। दिगो समाधान भनेकै यही हो।” 

कल्पना, यथार्थ वा व्यंग्यका अनेक प्लटहरू यथावत रहे पनि उपन्यासका घटनाक्रम र घटनास्थल आँखै सामुका जीवन्त पनि छन्, लाग्छन्। उपन्यासको एउटा प्लटमा लेखिएको छ—“घरमा को हुनुहुन्छ ?”
“म एक्ली बूढी। यौटा भाको छोरा भुटानको जेलमा छ। छोरी अस्टेलिया। बाबै उहिल्यै स्वर्गेबास भइगए। म मात्रै बाँचीराकी छु कालले बिर्सेर।”
 
यहाँनेर भुटानी चेम्गाङ जेलमा १८ वर्षदेखि राजबन्दी हैसियतमा थुना परेका ओमनाथ अधिकारीको सम्झना हुन्छ। ओमनाथकी ७० वर्षीया आमा डम्बरकुमारी अहिले पनि  शरणार्थी शिविरको डी १, २२ झुप्रोमा बसेकै छिन्। साथमा भएकी एउटी छोरी धनमायाँ पनि अष्ट्रेलिया जाने अन्तिम तयारीमा छिन्, बूढी आमालाई एकै शिविर झुप्रोमा छाडेर।

ओहो, माथि आकाश पनि छैन, तल धर्ती पनि छैन। यस्तो अवस्थामा कस्तो अनभूती हुन्छ? ‘दिगो समाधान’को स्वैरकल्पना जस्तो लाग्ने उपाय सुझाउने उपन्यासकार हेम गुरागाईं भन्छन्—“अब त अभ्यस्त भइसकियो। कुनै रिक्तता वा निरासा बोध हुनै छाडिसक्यो। बरू, वकालत गरिरहने हो। आफ्नै पालामा आफ्ना सपनाहरू पूरा होलान् भन्ने लाग्दैन, पुस्तौँपुस्ता लाग्न सक्छ। शरणार्थीको परिचय आफैँमा एकदमै अमूर्त कुरा(प्रश्न) हो। यो भावना र व्यवहार दुबै जोडिएको प्रश्न हो जसको जवाफ छैन।”

यो पनि अवकाशको अन्तिम घुम्तीमा ‘डासो रिजाल’