आक्रामक मतदाता, रक्षात्मक उम्मेदवार

विगतका निर्वाचनमा जनताका घरदैलो पुगेर होस् वा आमसभामार्फत, उम्मेदवार आफ्ना भनाइ सुनाउँथे र भोट माग्थे। अहिले अवस्था फेरिँदा मतदाता उम्मेदवारका आश्वासन मात्र सुन्न तयार छैनन्, बरु प्रश्न गरिरहेका छन्।

काठमाडौँ– तीनपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीको काठमाडौँ–झापा ओहोरदोहोर बाक्लिएको छ। सामान्य अवस्थामा भक्तपुरस्थित गुण्डु निवासमै भेटघाट गर्ने ओली अहिले झापाको दमक, गौरादह, गौरीगन्जलगायत ठाउँका टोलहरूमा भेटिन्छन्। झापा क्षेत्र नं. ५ मा एमाले उम्मेदवार रहेका उनको चुनावी शैली यसपटक फेरिएको छ।

विगतका चुनावमा एमाले उम्मेदवारहरूलाई जिताउन ओली देशभरका सभामा सक्रिय हुन्थे। उखानटुक्काले भरिएका उनका भाषण ‘हेडलाइन’ बन्थे। आफ्नो क्षेत्रमा भने एकाध दिन बिताउँथे र एकाध सभा गर्थे। तर यसपटक उनी झापा–५ मा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

ओली ध्यानपूर्वक मतदाताका गुनासो र प्रश्न सुनिरहेका छन्। उनी विगतमा जस्तो आक्रामक सुनिँदैनन्। बरु, मतदाता नै उनीमाथि खनिएका छन्। अघिल्ला चुनावमा विकास, राष्ट्रवाद र स्थिरताको नारा अगाडि सारेका ओलीलाई मतदाताले ती सपना पूरा नभएको विषयमा सोधिरहेका छन्। कतिपयले सुकुमबासी समस्या हल नभएको विषय उठाइरहेका छन्।

झापाबाट जिताएर पठाए पनि मतदाताको पहुँच उनीसम्म थिएन। उनको सचिवालय र जिल्लाकै एमाले नेताले आफ्नो सांसद भेट्न नदिएको विषयमा पनि मतदाताको गुनासो छ। मतदाताको मनोविज्ञान बुझेका ओलीले हरेक प्रश्नको जवाफ दिन तयार रहेको बताइरहेका छन्। गत फागुन ५ गते झापा–५ का उम्मेदवारहरूको सार्वजनिक बहस कार्यक्रममा उनले भने, “हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौँ। त्यसैले हामीमाथि आलोचना र विरोध पनि सुनिन्छन्।”

केही दिनअघि झापामा एक मतदाताले ओलीकै अगाडि उभिएर लालपुर्जाको विषय उठाए। तीनपटक प्रधानमन्त्री बन्दा पनि लालपुर्जा वितरण गर्न नसकेकोमा ती मतदाता रूष्ट सुनिन्थे। उनले सोधे, “तीनपटक प्रधानमन्त्री बन्नुभयो। अहिलेसम्म गर्न सक्नुभएन, अब गर्न सक्नुहुन्छ?”

ओलीले मसिनो स्वरमा जवाफ दिए, “शुरू भएको छ त!”

तर मतदाता त्यत्तिकै रोकिएनन्। उनले भने, “शुरू भएर भएन, हाम्रो समस्या समाधान हुनुपर्‍यो। अब कति पर्खिने? पाँच वर्ष, १० वर्ष, ३० वर्ष?”

ओलीसँग मतदाताका यस्ता संवादका भिडियो सामाजिक सञ्जालमा भाइरल छन्। ओलीमाथि मात्र होइन, अन्य उम्मेदवारलाई पनि मतदाताले र्‍याखर्‍याख्ती पारिरहेका छन्। कतिपय उम्मेदवार चाहिँ प्रश्न पचाउन नसकेर मतदातामाथि नै जाइलागेका छन्।

रास्वपाबाट ललितपुर–२ का उम्मेदवार जगदीश खरेललाई घरदैलो कार्यक्रममा एक मतदाताले प्रश्न सोधेपछि उनी आक्रोसित भएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ। रास्वपालाई ‘विदेशीको एजेन्ट’ भनेपछि खरेल एकाएक आक्रोसित भएका थिए। ‘४५ वर्षदेखि देश लुटेर खाने दलको हनुमान’ भन्दै उनी मतदाताप्रति खनिए। दुई पक्षबीच निकैबेर नोकझोँक भएको थियो।

मतदाताले खरेललाई ‘बार्बरा फाउन्डेसन’सँग पनि जोडे। त्यसपछि माहोल झनै बिग्रियो। ती मतदाताले खरेललाई प्रश्न गरे, “तपाईं बारबरा फाउन्डेसनको मेम्बर हो कि होइन?’

खरेलले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै रास्वपाले मात्र देश बनाउन सक्ने दाबी गरे। उनले भने, “यो देशको भविष्य बनाउने पार्टी रास्वपा हो। ४५ वर्षदेखि कुनै पार्टीको एउटा हनुमान बनेर आज तपार्इं आरोप लगाउने? तपाईंहरूलाई शहीदले कसरी सम्झेलान्?”

पूर्वपत्रकार खरेल टेलिभिजनमा तीखा प्रश्न गर्ने प्रस्तोताका रूपमा चिनिन्थे। पाहुनालाई पूरा बोल्न नदिई उनी एकपछि अर्को प्रश्नको वर्षा गर्थे। टेलिभिजनको यस्तै पत्रकारिताबाट चर्चा पाउँदै मन्त्रीसमेत बने। चुनाव गराउने मन्त्रिपरिषद्को सदस्य बनेका उनी त्यही चुनावमा उम्मेदवार बन्न मन्त्री पदबाट राजीनामा दिए। लगत्तै रास्वपा प्रवेश गरी उम्मेदवारी दिए। अरूलाई प्रश्न गर्ने पेसाबाट आएका उनी आफै भने मतदाताको प्रश्नमा सहज देखिएका छैनन्।

निर्वाचन आयोगले गत फागुन ४ गतेदेखि उम्मेदवारलाई प्रचारप्रसार गर्न समय दिएको छ। फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन्। आयोगका अनुसार, उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्नेछन्।

प्रचार अभियानमा भएका गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजानिक पनि भइरहेका छन्। तर यसपटक उम्मेदवारले आफ्नो कुरा सुनाएर खुरूखुरू हिँड्न पाएका छैनन्। भोट माग्न गएका दलका उम्मेदवारलाई मतदाताले सिधै प्रश्न गरिरहेका छन्। पुराना वाचा सम्झाइरहेका छन्।

यसैक्रममा मोरङ–३ का रास्वपा उम्मेदवार गणेश कार्कीलाई एक मतदाताले सोधेको प्रश्नले सामाजिक सञ्जालमा चर्चा पाएको छ। मतदाताले कार्कीलाई रवि लामिछानेले चुनावअघि गरेको वाचा सम्झाउँदै भनेका छन्, “सरकारमा गएको सय दिनभित्र सय जनालाई फ्रि भिसा र फ्रि टिकटमा ल्याउँछौँ भन्नुभयो। पछि ‘के को फ्रि भिसा, के को फ्रि टिकट? देशको माया छ भने आफैँ टिकट काटेर आउने’ भन्नुभयो। यसमा हाम्रो आपत्ति हो। सरकारमा गएको दिनै निर्मला हत्याकाण्ड तु का तु निकाल्छौँ भन्नुभयो, गृहमन्त्री पनि हुनुभयो। खै त सकिएन?”

त्यस्तै, केही दिनअघि बिर्तामोडमा झापा–२ का उम्मेदवारबीच भएको सार्वजनिक बहसमा राप्रपाका उम्मेदवार स्वागत नेपालप्रति मतदाताले अघिल्लो चुनावको वाचाका विषयमा प्रश्न गरे। अघिल्लो निर्वाचनमा ‘राजा देशका लागि कुलंघार हो’ भने पनि अहिले राप्रपाबाट उम्मेदवार बन्नुको कारण मतदाताले सोधेका थिए। एक मतदाताको प्रश्न थियो, “यो राजा भनेको बाउभन्दा हजुरबाउ ठिक हो भने जस्तो मात्रै हो भन्नुभएको थियो। त्यो हजुरबाउ कसरी ठिक भो? आज उहाँ हलोमा जाँदैगर्दा कसरी उन्नत लोकतन्त्र बन्नसक्छ?”

सोही कार्यक्रममा झापा–२ बाटै एमाले उम्मेदवार रहेका निवर्तमान सभामुख देवराज घिमिरेलाई पनि यस्तै प्रश्न सोधिएको थियो। एक मतदाताको प्रश्न थियो, “यो तीन वर्षको अवधिमा हामीसँग कतिपटक सम्पर्कमा बस्नुभयो तपाईं? तपार्इं कसको सभामुख? संसद्को सभामुख कि एमालेको सभामुख? तपाईंले भ्रष्टचारको विरूद्धमा, मानव तस्करीको विरुद्धमा सांसदले आवाज उठाउँदा माइक काटेपछि तपाईंबाट कस्तो सुशासनको आशा राखेर हामी नेपाली जनताले भोट दिने?”

कैलाली–५ का उम्मेदवार प्रेम आलेका लागि भोट माग्न गएका नेकपा कार्यकर्ताहरूलाई मतदाताले उनीहरूकै अघिल्तिरै ‘भोट दिदैनौँ’ भनिदिए। कार्यकर्ताले एउटा भोट तारामा हालिदिन आग्रह गरे पनि मतदाताले मानेनन्। ती मतदाताले भने, “हामीले यी नेतालाई २०÷२२ वर्ष हेरेनौँ? आज नेपालका कति जनता विदेशमा रोजगारका लागि जानुपरेको छ!”

मतदाताले आफ्ना उम्मेदवारलाई प्रश्न गर्नु जायज भएको र यसले लोकतन्त्रलाई उन्नत बनाउने राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन्। उनी भन्छन्, “जनतासँग उम्मेदवारको आमनेसामने हुँदा र जनताले प्रश्न गर्दा लोकतन्त्र थप बलियो हुन्छ। आमनेसामने हुँदा कुनै पनि उम्मेदवार सत्यबाट भाग्न नसक्ने अवस्था आउँछ।”

यो अभ्यास अझ जीवन्त हुने हो भने उम्मेदवारहरू सच्चिन बाध्य हुने पोखरेल बताउँछन्। उनी भन्छन्, “कि त निर्वाचनबाट भाग्नुपर्यो, हैन भने मतदाताको प्रश्न फेस गर्नुपर्यो। त्यसका निम्ति हरेक उम्मेदवारको रिपोर्ट कार्ड राम्रो हुनुपर्यो। नयाँ उम्मेदवार हो भने उसले पनि सम्भव हुने कामको मात्र बाचा गर्नुपर्यो। किनभने, प्रश्न त उनीहरूमाथि पनि आउँछ।”