कथा
निकै बेरको सन्नाटापछि आफूलाई सम्हाल्दै उसले भन्न थाली, ‘‘यो मेरो गल्ती होइन, मेरो सत्य हो। म तपाईंलाई धोका दिन चाहन्नँ। म तपाईंलाई कहिल्यै पनि पतिको रूपमा हेर्न सक्दिनँ।’’
‘‘लौन, यो त अहिलेसम्म तयार भएकी रहिनछे। केटाको परिवार आइपुग्न लागे रे!’’
एक टकले झ्याल बाहिर नियालेर बसिरहेकी अपेक्षाको एकाग्रता शान्तिको आवाजले बिथोलियो। अपेक्षाले बडो आँट गरेर सानो आवाजमा भनी, ‘‘आमा म विवाह गर्दिनँ नि!’’ अपेक्षाको मुखबाट निस्किएको यो अनपेक्षित वाक्यले शान्तिको दिमाग रन्थनियो। उनले सके जति बल प्रयोग गरेर भनिन्, ‘‘यो के भनेकी हँ? तिमीभन्दा मुनि बहिनी पनि छे। सबैको पालैपालो बिहे गर्नुपर्छ। तिम्रै यो उमेरसम्म विवाह भएको छैन। गाउँलेले कुरा काट्न थालिसके। मलाइ त बाहिर निस्किन पनि लाज लाग्छ।’’ आमाले यति भनेपछि अपेक्षाले दोहोरो केही बोल्न सकिन। अपेक्षाका आमा र बुवा दुवै जना कडा स्वभावका थिए। उनीहरूले कुनै निर्णय गरेपछि अपेक्षा र उसको बहिनीको केही लाग्थेन। बाउआमाको निर्णयमा समर्थन जनाउन बाध्य हुन्थे।
अपेक्षाका बुवा श्यामकृष्ण रौतहट गौरका अवकाशप्राप्त सरकारी शिक्षक थिए। उनको राम्रो बानी र मिठो बोली वचनका कारण गाउँमा सबैले इज्जत गर्थे। बाहिर इज्जत गरे पनि भित्रभित्र कुरा काट्नचाहिँ छोड्दैन थिए। त्यसको एउटै कारण थिई–अपेक्षा। ३० वर्षको उमेरसम्म विवाह नभएपछि अपेक्षा र उनको परिवार दुनियाँलाई कुरा काट्ने कारण बनेको थियो। श्यामकृष्ण स्वयं शिक्षक भएर पनि होला, छोरीहरूले राम्रै शिक्षादीक्षा पाएका थिए।
...
‘‘लल, ट्वाल्ल परेर हेरेर नबस, छिटो तयार बन। काठमाडौँमा घर भएको, यत्तिको राम्रो, पढेलेखेको कूलघरानको केटो पाउन मुस्किल छ। त्यसमाथि केटाको कुनै कुलत छैन। आफ्नै व्यवसाय गरेर बसेको छ। यत्तिको केटा त अब टुक्की बालेर खोज्दा पनि भेट्न सकिँदैन।’’
‘‘फेरि तिम्रो उमेर पनि जान लाइसक्यो। तिम्रो उमेरमा त म आमा बनिसकेकी थिएँ,’’ आमासँग केही गरेर जित्न नसकिने भएपछि अपेक्षा आफ्नो ईच्छाविपरित विवाह गरेर जान तयार भई। घरमा केटा र उसको बुवा आमा अपेक्षालाई हेर्न आए। केटाको नाम अशोक रहेछ। केटा पक्षले अपेक्षालाई देख्नासाथ मन पराए। अपेक्षाको घरमा वर्षौँपछि उल्लासको वातावरण छायो, सबै हर्षित देखिए। तर अफसोस यो थियो कि अपेक्षाबारे कसैले केही सोचेनन्। अपेक्षा र अशोकलाई एकान्तमा गफ गर्ने मौका पनि कसैले दिएनन्। उसलाई यस्तो लाग्यो कि मानौँ उ आफ्नै परिवारको लागि बोझ भएकी छे, परिवार उसलाई सके जति छिटो पन्छाउन चाहन्छन्। अन्ततः आफ्नो इच्छाकै बलिदान दिएर अपेक्षाले अशोकसँग विवाह गरी। विवाहमा सबै परिवार नाचगान गरेर खुब रमाए। अपेक्षाको मन भने अँध्यारै रह्यो। उ खुलेर हाँस्न र बोल्न सकिनँ।
विवाहको पहिलो रात अशोक अपेक्षाको समीप आउन खोज्यो, तब अपेक्षाले प्रतिकार गरी।
“कृपया... मलाई नछुनुहोस्,” अपेक्षाको स्वर थर्थरायो।
अशोक एक छिन छक्क पर्यो। जसको सिउँदो उसले रंगाएको थियो र जसको गला उसले भरिदिएको थियो, उसैले अशोकलाई नजिक आउनबाट रोकिरहेकी थिई। यता, अपेक्षा भने बेसरी रोइरहेकी थिई। माइतीमा बसुन्जेल उसले रुने काँध र आँसु पुछिदिने हात पाएकी थिइन। तर यहाँ कमसेकम उसले आशु पुछिदिने हात पाई। अशोक अघि सरेर बिस्तारै अपेक्षाको आँसु पुछिदियो। शान्तसँग उसले सोध्यो , ‘‘के भयो? तिमीलाई म मन नपरेको हो?’’
अपेक्षा निःशब्द भई। निकै बेरको सन्नाटापछि आफूलाई सम्हाल्दै उसले भन्न थाली, ‘‘यो मेरो गल्ती होइन, मेरो सत्य हो। म तपाईँलाई धोका दिन चाहन्नँ। म तपाईँलाई कहिल्यै पनि पतिको रूपमा हेर्न सक्दिनँ।’’
अशोक झस्कियो, ‘‘तर किन?’’
उसले त्यसपछि धाराप्रवाह बोल्दै गई, ‘‘मेरो बुवा आमा लगातार छोरी जन्मेकोमा निराश हुनुहुन्थ्यो। त्यसैले उहाँहरूले मेरी दिदीको विवाह १८ वर्षमै गरिदिनु भयो। दिदीको विवाह हुँदा म १५ वर्षकी थिएँ होला। सबै कुरा त बुझ्दिन थिएँ, तर केही कुरा बुझ्ने भइसकेकी थिएँ। धनी, अस्ट्रेलियाको पिआरवाला केटा भनेर बुवा आमाले दिदीलाई विवाहको लागि दबाब दिनुभयो। सानैदेखि कठोर संस्कारमा हुर्केका हामी कहिल्यै बुवा आमाको विरुद्ध गएनौँ। त्यसैले होला दिदीले पनि आफ्नो विवाहको कुरा चल्दा मौन समर्थन जनाई। स्नातक पढ्दापढ्दै बाँकी पढाई अस्ट्रेलियामा पूरा गर्ने सपनामा उसले विवाह गरी, कुनै अनजान व्यक्तिसँग जसलाई उसले पहिले कहिल्यै देखेकी थिइन।’’
‘‘उसको र मेरो उमेरमा धेरै फरक थिएन। त्यसैले म उसलाई ‘तँ’ नै भनेर सम्बोधन गर्थेँ। दिदी र मैले बाल्यकालका मिठा पलहरू बितायौँ। एक पटक त दिदी र म स्कुल नगएर घुम्न गएका थियौँ। तराईको ठाउँमा छोरीहरूलाई डर हुन्छ भनेर बुवाले कतै जान दिनुहुन्नथ्यो। हामी लुकेर मौका छोपेर घुम्न जानुपर्थ्यो। त्यस दिन घुम्न जाने निर्णय मेरो थियो। हामी हलमा चलेको चर्चित हिन्दी फिल्म हेर्न गयौँ। फिल्म हेरेर घर फर्किँदा ढिलो भइसकेको थियो। बुवाले यो कुरा थाहा पाएर मलाई पिट्न खोज्दा दिदीले नै मलाई छेकेर बचाएकी थिई। दिदी बुवा आमासँग डराउँथी, तर मलाई भने खासै डर लाग्थेन। अलि हक्की स्वभावकी थिएँ। मेरी दिदी केही गर्नुभन्दा अगाडि हजार पटक सोच्थी।,’’
यति भन्दा भन्दै अपेक्षाको आँखाको गाजल लतपतिइसकेको थियो। अशोकले गिलासमा पानी हालेर पिउन दियो। पानी पिएर केही राहत महसुस गरी अपेक्षाले।
फेरि सुँक्कसुँक्क गर्दै बोल्न थाली, ‘‘खानदानीको ट्याग भिरेका, हेर्दा भद्र भलाद्मी देखिने ती पुरुषसँग दिदीको विवाह भयो। दिदीको विवाहमा बुवा आमाले कुनै कमी हुन दिनुभएन। दिदी विवाह गरेर गएपछि मैले नितान्त एक्लो महसुस गर्न थालेँ। केही महिनासम्म त खुसी भएर दिदी माइती आउँथी। तर चार-पाँच महिनापछि दिदी आउँदा उसको व्यवहारमा परिवर्तन आएको देखिन थाल्यो। एक दिन मैले उसको हातमा निलो डाम देखेँ। मैले के भयो भनेर धेरै पटक सोधेँ, तर उसले लडेको भनेर कुरा टार्न खोजी। मलाई पक्कै केही गडबड छ जस्तो लाग्न थाल्यो। मैले बुवा आमासमक्ष यो कुरा राखेँ। तर बुवा आमाले विवाह गरेर गएकी छोरीको जीवनमा हस्तक्षेप गर्नुहुन्न भनेर मलाई थप कुरा गर्न दिनुभएन। विवाह गरेको एक वर्षमा दिदी अस्ट्रेलिया गई। कहिलेकाहीँ भिडियो कलमा दिदीसँग कुरा हुँदा पनि भिनाजुलाई कहिल्यै देख्दिन थिएँ। दिदीलाई सोध्दा यहाँ कामको ठेगान हुँदैन। भिनाजु काममा जानुभएको छ भन्थी।’’
‘‘अस्ट्रेलिया गएको तीन वर्षपछि दिदी एक्लै बिदामा नेपाल आई। नेपाल आएपछि उसले हाँसेको मैले कहिल्यै देखिनँ। उ टोलाएर बस्थी, बोलाउँदा झस्किन्थी। बुवा आमाले पनि धेरै पटक कुरा गर्न खोज्नु भयो। तर उसले केही बताउन चाहिन। हामीले भिनाजुसँग पनि सम्पर्क गर्ने कोसिस गर्यौँ, तर भिनाजुले हामी सबै परिवारलाई फेसबुकबाट ब्लक गरिदिनुभएछ। भिनाजुको नेपालस्थित घर गयौँ। तर त्यति नै बेला उहाँहरूको परिवार घरमा ताल्चा लगाएर बाहिर जानुभएको रहेछ।’’
‘‘लाखौँ कोसिस गर्दा पनि कसैसँग सम्पर्क हुन सकेन। दिदी दिनप्रतिदिन शिथिल हुँदै थिई। एक दिन म कौसीमा लुगा सुकाउँदै थिएँ। त्यति नै बेला कोही कराएको आवाज आयो। म हतार हतार तल ओर्लिएँ। बुवा आमा पनि आत्तिँदै आवाज आएको कोठातिर लाग्नुभयो। त्यो दृश्य यति कहालीलाग्दो र भयानक थियो कि के भनौँ! हामी सबै आफ्नो काममा व्यस्त हुँदा दिदीले आत्मदाह गरिछे। खाना पकाउँदाखेरि छुस्स कतै पोल्यो भने त डराउने मेरी दिदीले कसरी सकी आफैँलाई जलाउन? के कारण थियो होला आखिर त्यस्तो? आजसम्म पनि हामीले त्यसको उत्तर भेटाउन सकेनौँ। बुवा आमाले दिदीको आत्मदाहको जिम्मेवार आफूलाई ठान्नुभयो। दिदीले आत्मदाह गरेर आफ्नो जीवन सकाई। बुवा आमाले आफ्नी छोरी गुमाउनुभयो। मैले दिदी।’’
‘‘दिदीको मृत्युको केही महिनापछि मैले अचानक बाटोमा भिनाजुको ठुलीआमालाई भेटेँ। त्यतिखेर उहाँले भनेपछि मात्र थाहा भयो। दिदीको लागि विवाहको कुरा ल्याउँदा त केटोले सुपारीसमेत खाँदैन भनेको सुनिएको थियो, तर भिनाजु त कुलतमा फसिसकेका रहेछन्। विवाह गरेपछि छोरा सुध्रिन्छ भनेर नै मेरी दिदीसँग परिवारले विवाह गराइदिएका रहेछन्। तर अस्ट्रेलिया पुगेपछि रातरातभर हराउने र पोकर खेलेर पैसा उडाउने गर्न थालेछन्। भिनाजुले नेपाल पैसा पठाउनुसाटो उल्टै नेपालबाट अस्ट्रेलिया पैसा मगाउँदा रहेछन्। छोराको लागि कुनैचाहिँ बुवा आमाले त्याग नगरेका होलान् र? भिनाजुलाई पैसा पठाउँदा पठाउँदा भिनाजुको परिवारको शहरको घरै बेच्नुपर्ने अवस्था आएछ। घर बेचेर उहाँहरू गाउँ जानुभएछ।’’
‘‘दिदीलाई मार्न बाध्य पार्ने भिनाजुसँग मलाई धेरै रिस उठ्यो। तर रिसाएर नि के गर्नु? मेरी दिदी त गइसकेकी थिई। उसको यादमा हामी सबै परिवार तड्पी तड्पी बाँच्यौ। हाम्रो बाल्यकालको मिठो पल फर्केन। कपडामा लागेको मैलो पो साबुनले धुँदा जान्छ त, मनमा लागेको मैलो कसरी जाओस्? बाहिर मिजासिलो देखिने भिनाजुको मनको मैलो हामीले देख्न सकेनौँ। त्यही दिनदेखि मैले दृढ संकल्प गरेँ कि म कुनै पुरुषसँग संगत गर्दिनँ। मलाई पुरुषसँग गहिरो नफरत छ। म प्रत्येक अर्को पुरुषलाई भिनाजुकै अर्को अवतार देख्छु।’’
‘‘तपाईँसँग मैले विवाह गर्नु मेरो आमाबुवाको रहर पूरा गरिदिने उपाय मात्र हो। खासमा मैले बाआमासँगै यो कुरा बताउन पर्थ्यो, कुन्नि केले रोक्यो। मेरो लाचारी र कमजोरीले रोक्यो या अरू केही। बेकारमा तपाईँलाई दुःख दिएँ।’’
अपेक्षाले आँसु पुछ्दै भनी, ‘‘म कुनै पुरुषसँग प्रेम गर्ने कुरा त झन् सोच्न पनि सक्दिन अब। त्यसैले आजकल मेरो मन महिलाप्रति आकर्षित हुन्छ। म यतिका वर्षदेखि यो कुरा आफैँभित्र लुकाएर बाँचिरहेकी थिएँ। तर आज म लुकाउन सक्दिनँ।’’
“मेरी प्रेमिका छे,” यतिका बेरसम्म चुपचाप अपेक्षाको कुरा सुनिरहेको अशोकको मुखबाट फ्याट्ट निस्कियो, “के? के भन्यौ तिमीले? तिम्रो प्रेमिका? यसको मतलब…हे ईश्वर! म यो के सुन्दैछु।” अशोकले आफ्नो दुवै कान थुन्यो, तर अपेक्षा बोलिरही, “तपाईँले कान थुन्दैमा मेरो सत्य बद्लिँदैन। तर समाजले म र मेरी प्रेमिकाको मायालाई स्विकार्दैन। परिवारले त झन् स्विकार्ने कुरै भएन। तर म अब आफूलाई धोका दिन सक्दिनँ,” अपेक्षाले बिस्तारै भनी।
त्यो रात उनीहरू दुवै राम्ररी सुत्न सकेनन्। अशोकले शायद सयौँ पल्ट कोल्टे फेर्यो। समस्या अपेक्षाले किन अशोकलाई बेवास्ता गरी भन्नेमा थिएन। समस्या त यसमा थियो कि अब अपेक्षाले कुनै पुरुषलाई प्रेम गर्न सक्दिन थिई। अपेक्षाको मनमा महिलाप्रति मात्र प्रेम र सद्भाव थियो। जुन कुरा आजको दिनसम्म अपेक्षाबाहेक कसैलाई थाहा थिएन। अशोक सोचमग्न भयो। आफूलाई मन परेकी केटी, झट्ट हेर्दा राम्री। अपेक्षाले एउटै घटनाको कारण आफ्नो पहिचान बदली। दिदीको जीवनमा घटेको डरलाग्दो घटनाकै कारण उसको मनमा सम्पूर्ण पुरुषप्रति गहिरो वितृष्णा जाग्यो।
धेरै बेर मनमा सोचहरूले कुस्ती खेलेपछि अशोकले अपेक्षाको हात समाउँदै भन्यो, “म तिम्रो भावनाको कदर गर्छु, तिम्रो रोजाइको सम्मान गर्छु। तिमीलाई आफूसँग बाँधेर राख्नुको कुनै अर्थ छैन। जाऊ, तिमी यो सम्बन्धबाट स्वतन्त्र भयौ।” अशोकको कुराले अपेक्षा अचम्मित भई, तर अशोकले यो कुरा मनैदेखि गरेको हो कि होइन भनेर उसको मुहार नियाली। उ ढुक्क भई कि अशोकले ढाँटिरहेको थिइनँ। अब अपेक्षाले अशोकसँग छुटिएर अर्कै संसार बनाउने तय गरी।
बिहानको किरण झुल्किन नपाई अपेक्षा अशोकको घरबाट निस्की। निस्किनु अगाडि उसले अशोकलाई सोधेकी थिई, “घरमा के भन्छौ?” अशोकले मुस्कुराउँदै भन्यो, “त्यसको पिर तिमी नगर। म सबै मिलाउँछु।”
अपेक्षा निस्केपछि अशोकको नजर भित्तामा झुन्डाएको लगनको पोतेमा गयो, जुन उसले अनजानमा अपेक्षाको गलामा पहिराएको थियो। अशोकको मन थर्थरायो। पोतेले उसको सम्पूर्ण सपनाको भार बोकेको थियो। प्रेम र भविष्यको कल्पना बोकेको थियो। उसले भित्ताबाट पोते निकाल्यो, हातमा लिएर केही बेर नियाल्दै मनमनै भन्यो, “कसैको साँचो प्रेमलाई जालोमा बाँध्न खोज्नु अपराध हो।” उसले पोतेलाई जीवनको अनौठो स्मृतिका रूपमा सँगालेर राख्ने निर्णय गर्यो।
‘‘चरो उडेर गए पनि पिँजडा किन फ्याँक्नु र?’’
बिहानको हावा चिसो थियो, तर अपेक्षाको मनमा अनौठो न्यानोपन थियो। पहिलो पटक उसको हृदय हलुका भएको थियो। यसको एक मात्र कारण उसले आफैँलाई स्वीकारेकी थिई। समाजको ठुलो ढोका बाहिर निस्कँदा उसले पछाडि फर्केर हेरी। अशोक झ्यालबाट नियाल्दै मुस्कुराइरहेको थियो। त्यो मुस्कानमा वियोग थियो, तर द्वेष र कपट थिएन।
अपेक्षाले बर्षौंदेखि आफूभित्र लुकेको पहिचानलाई उजागर गर्ने दृढ संकल्प गरी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
