ललितानिवास जग्गा किर्ते प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेयता दुई महिनादेखि कर्मचारीको तलब र सामान आपूर्तिकर्ताको भुक्तानी दुवै रोकिएको छ।
काठमाडौँ– ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई गत असार १२ गते पक्राउ गर्यो। त्यसयता भाटभटेनीका कर्मचारीहरूको तलब भुक्तानी रोकिएको त्यहाँ कार्यरतहरूले बताएका छन्।
उक्त सुपरमार्केटमा कार्यरत एक कर्मचारीले दुई महिनादेखि तलब नपाएको गुनासो गरिन्। दुई वर्षदेखि काम गर्दै आउँदा नियमित पाइरहेको तलब विगत दुई महिनादेखि रोकिएको उनले बताइन्। बैंक खातामा सञ्चालक गुरुङको मात्र हस्ताक्षर चल्ने भएकाले तलब रोकिएको भन्ने आफूले सुनेको उनले बताइन्।
“मीनबहादुर थुनामा परेदेखि नै यहाँ काम गर्नेले कसैले पनि पैसा पाएको छैन। स्यालरी दिन सरकै साइन चाहिन्छ भन्छन्,” नाम नखुलाउने शर्तमा उनले भनिन्। तलब रोकिएयताका दुई महिनाको कोठा भाडा पनि तिर्न नसकेको उनको गुनासो छ।
भक्तपुरस्थित भाटभटेनीको एक आउटलेटमा कार्यरत सुरक्षा गार्डले पनि दुई महिनादेखि तलब नपाएको बताए। “हामीलाई यहाँ ड्युटी गर्न बाहिरको कम्पनीले खटाएको हो। तर पनि हामीले समेत दुई महिनादेखि तलब पाएका छैनौँ। कारण के हो थाहा पाउन सकेको छैन। भित्र काम गर्नेलाई सोध्नुस् न अझ कति समस्या होला,” उनले भने।
भाटभटेनीका सामान आपूर्तिकर्ताहरूको भुक्तानी पनि गुरुङ पक्राउ परेयता रोकिएको छ। समयमा भुक्तानी नपाउँदा त्यहाँ सामान आपूर्ति गर्ने साना उद्यमी/व्यवसायी समस्यामा परेको समाचार उकालोमा यसअघि नै प्रकाशित भएको थियो।
काठमाडौँको मनमैजुमा ‘नेपाली मन उद्योग’ सञ्चालन गरिरहेकी बासुमाया तामाङ पनि बिक्रीका लागि पठाएका सामानको तीन महिनादेखि भुक्तानी नपाएको गुनासो गर्छिन्। उनले टिमुरको छोप, मासुका विभिन्न परिकार, खुर्सानीको अचार लगायतका परिकार दुई वर्षदेखि भाटभटेनीलाई बेच्दै आएकी छन्। तर ती सामग्री बिक्रीबापतको रकम पाउन भने उनलाई शुरूदेखि नै समस्या पर्यो। अहिले पनि करिब ३० लाख रुपैयाँ लिन बाँकी रहेको उनले बताइन्।
“पहिला समस्या भए पनि बीचमा डेढ–दुई महिनाको फरकमा भुक्तानी दिइराखेको थियो। अहिले त तीन महिनाको बाँकी छ। चेकमा सही गर्ने मान्छे छैन भनेका छन्,” तामाङले भनिन्। भुक्तानी रोकिए पनि सामान भने पठाइरहेको र अब चाहिँ सोच्नुपर्ने बेला आएको उनी सुनाउँछिन्।
भाटभटेनी स्टोरका आउटलेटमा सामान राख्न आपूर्तिकर्ताले उसको बालुवाटारस्थित गोदाममा सूचीकृत भएर पर्खनुपर्छ। दिएको खेप बिक्री भइसकेर दोस्रो खेपको अर्डर लिएपछि बल्ल पहिलेको भुक्तानी दिन शुरू गर्ने आपूर्तिकर्ताहरू बताउँछन्।
गोदाममा सामान पुर्याएपछि मूल्यको स्टिकर टाँस्नेदेखि प्याकिङ गर्नेसम्मका सबै काम आपूर्तिकर्ताले नै गरिदिनुपर्छ। गोदाममा उत्पादन राख्ने ठाउँ पनि आफैँ खोज्नुपर्छ। सामान गोदामबाट भाटभटेनीका स्टोरहरूमा पुर्याउँदा गाडीमा लोड गर्ने जिम्मेवारी पनि पहिलेदेखि नै आपूर्तिकर्ताकै काँधमा छ। “यो नियम अहिले पनि उस्तै छ, दिनभरि हाम्रो मान्छे गोदाममै बस्नुपर्छ,” बासुमायाले भनिन्।
नुवाकोटको ककनीमा स्ट्रबेरी खेती गर्दै आएका छेसाङ तामाङले समयमै पैसा नपाएको कारण भाटभाटेनीमा सामान पठाउनै छाडेका छन्। त्यसको सट्टा अहिले बेकरी पसलहरूलाई स्ट्रबेरी पठाउँदा पैसा पनि समयमै पाइने गरेको उनले सुनाए। यसअघि भाटभटेनीले भुक्तानीका लागि ३/४ महिनासम्म झुलाइदिने गरेको उनको अनुभव छ। काठमाडौँसहित देशैभर भाटभटेनीका हाल २५ वटा आउटलेट छन्।
कर्मचारी तथा सामान आपूर्तिकर्ताको भुक्तानी रोकिएकोबारे बुझ्न भाटभटेनी सुपरमार्केटमा सम्पर्क गर्दा त्यहाँका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले रकम भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरे। “सञ्चालक पक्राउ परेको कारण भुक्तानीमा कुनै समस्या छैन, नियमित नै भइरहेको छ,” उनले टेलिफोनमा भने। तर सामान सप्लायर्स र विभिन्न आउटलेटमा कार्यरत कर्मचारीहरूसँग बुझ्दा भने उनीहरूले भुक्तानी नपाएको गुनासो दोहोर्याएका छन्।
सरकारी लिखत किर्ते कसुरमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसहित परिवारको नाममा ललिता निवासको करिब ३० रोपनी जग्गा भेटिएको छ। गुरुङले पत्नी सावित्री घले गुरुङ, छोरा कल्याण, आफन्त तथा भाटभटेनी डेभलपर्सको नाममा जग्गा राखेको भेटिएको हो। कतिपय जग्गा भने उनले बिक्रीसमेत गरिसकेको पाइएको छ।
सरकारी जग्गा व्यक्तिको नाममा सारेको मुद्दामा विशेष अदालतले २०७७ माघमा उनलाई दुई करोड धरौटीमा छोडेको थियो। अहिले त्यसैसँग जोडिएको ललितानिवास जग्गा किर्ते मुद्दामा प्रहरीको सीआईबीले अनुसन्धान सकेको छ। त्यही क्रममा पक्राउ परेका गुरुङसमेतका २९० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
